२३ फागुन, काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ का कांग्रेस नेता राजाराम सरदार शारीरिकरुपमा अशक्त छन् । उनी सबलाङ्ग सरह हिँडडुल गर्न सक्दैनन्, उनलाई ह्वील चियरको आवश्यकता पर्छ । तर, आइतबार महाधिवेशनस्थलमा मतदान गरिरहेका सरदारसँग न हि्वलचेयर थियो, न त कसैले उनलाई सहयोग नै गरिरहेको देखियो ।
कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नीति तथा कार्यक्रम तय गर्न र नयाँ नेतृत्व चयन गर्न भन्दै ३८ वर्षीय सरदार पनि अन्य देशभरका नेता कार्यकर्ताहरु जस्तै काठमाडौं आएका हुन् । तर, शारीरिकरुपमा अशक्त भएकाहरुका लागि पार्टीले अपाङ्गमैत्री व्यवहार नगर्दा अकल्पनीय कष्ट व्यहोर्नु परेकोमा सरदार दुःखी छन् ।
हातखुट्टा सद्दे भएका मानिसलाई त मतदान गर्न आधा घण्टाभन्दा बढी लाग्छ, सरदारजस्तै अपाङ्गता भएका व्यक्तिलाई झनै कति लाग्दो हो । महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले करीब १ घण्टा लगाएर मतदान गरेका थिए ।
कांग्रेसले भोट हाल्ने ठाउँमा मात्रै होइन, पार्टीको केन्द्रीय कार्यसमितिमा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि कुनै सीट छुट्याएको छैन । अपाङगता भएका व्यक्तिहरुले कष्ट सहेर भए पनि सवलाङ्गलाई नै मतदान गर्नुपर्ने बाध्यता छ ।
आइतबार मतदानस्थलमा भेटिएका सरदारले अनलाइनखबरसँग भने, ‘बुथमा राखिएको टेबुल पनि अग्लो छ, भोट खसाल्न निकै गाह्रो भयो । देशकै ठूलो, पुरानो र प्रजातान्त्रिक पार्टीले हामीजस्ता अपाङ्गहरुको लागि विशेष व्यवस्था नगरिदिएकोमा दुःख लागेको छ ।’
राष्ट्रिय सभागृहस्थित मत खसाल्ने स्थानमा विहान १० बजेर २७ मिनेटमा पुगे पनि डेढ घण्टापछि फर्किएका उनले आगामी महाधिवेशनमा शारीरिकरुपमा अशक्त भएकाहरुका लागि विशेष व्यवस्था गरिदिन माग गरे । उनले मतदानमा मात्रै होइन, पार्टी नेतृत्वमा पनि आपङ्गता भएका व्यक्तिले आरक्षण पाउनुपर्ने माग गरे ।
आफू बस्ने होटलमा ट्वाइलेट, बाथरुम, खाना खाने स्थानमा राम्रो व्यवस्था भए पनि महाधिवेशनस्थलमा दुःख पाएको उनको गुनासो छ ।
‘पार्टी कार्यालय र महाधिवेशन उदघाटन समारोहमा आउँदा-जाँदा सडकमा भिडभाड हुने भएकाले मारुती भ्यान प्रयोग गरें, त्यसको लागि आफै पैसा तिरें,’ सरदारले भने, ‘आज भोट खसाल्न पनि मारुती भ्यानमै भाडा तिरेर आएँ, यहाँ धेरै दुःख पाइयो ।’
मत खसाल्ने बुथमात्रै होइन, शारीरिकरुपमा अशक्त भएकाहरुका लागि छुट्टै लाइनको व्यवस्थासमेत गरिएको छैन । उनीहरु सबलाङ्गहरुकै लाइनमा कष्टपूर्वक लाइन बस्न बाध्य छन् ।
तस्बिर: श्रीधर पौडेल
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment