विशेषतः माओवादी कमरेडहरु । साथै, गणतन्त्र र संघीयताका पक्षधर तथा विरोधी पार्टीका अभियन्ता मित्रहरु !
मलाई माफ गरिदिनुहोला ! किनकी, यहाँहरुले चलाउँदै आएको ‘बाबुरामको भण्डाफोर गरौँ !’ भन्ने महाअभियानमा सहभागी हुन सकिन । फगत फेसबुकमा बाबुरामकाविरुद्ध दुई-चारवटा स्ट्याटस मात्र लेखेर बसेँ । पार्टीले भन्दै आएको ‘बुर्जुवा शिक्षा’लाई प्राथमिकता दिन पुगेकोमा पार्टीको संस्कारविपरीत आत्मालोचित पनि छु ।
मलाई थाहा छ, ‘बुर्जुवा शिक्षा’लाई महत्व दिएर यस्तो महाअभियानमा सहभागिता नजनाउनुलाई पक्कै पनि पार्टीले क्रान्तिको हितविपरीतको कदममात्र होइन, नेतृत्वप्रतिको अविश्वास र अभियानप्रतिको अवमूल्यनको रुपमा पनि लिएको छ । तर, ‘महान् तथा गौरवशाली’ पार्टीले चलाएको यो ऐतिहासिक कदमप्रति मेरो फरक मत भने होइन । किनकी, यी ‘अवसरवादी’ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको जति नै भण्डाफोर गरेपनि कमै हुन्छ भन्नेमा म श्रद्धेय कमरेडहरुजत्तिकै सहमत छु ।
यिनैको भरमा त्यत्रो ठूलो पंक्ति जनयुद्धमा सहभागी बनेको थियो । गाउँको एउटा गोठालोको छोरो, पढाईमा पनि अद्वितीय हुँदै पिएचडी गरेको एउटा विलक्षण प्रतिभावान् इन्जिनियरले देश बनाउँछु भनेपछि विश्वास पनि गरेकै हुन् सबैले । ‘राजा फाल्नुपर्छ, बल्ल देश बन्छ’ भनेपछि ठिकै होला ! भनेर बुझेर-नबुझेरै पनि सहयोग गरे । सशस्त्र युद्ध गर्न र यसबाट उत्पन्न परिणाम भोग्नका निम्ति पनि तयार बने ।
१७ हजारले बलिदानी दिए, हजारौँ बेपत्ता बने, हजारौँ अङ्गभङ्ग भए, हजारौँले जेलनेल खाए र लाखौँले प्रत्यक्ष–अप्रत्यक्षरुपमा साथ दिए । संविधानसभाको माग गर्दै निर्वाचनमा भाग लिएपछि जनताले प्रत्यक्षमा बहुमत र समानुपातिकमा सबैभन्दा ठूलो दलसमेत बनाइदिए उनैको पार्टी माओवादीलाई । भलै, उनी पार्टीको प्रमुख नेता थिएनन् । यद्यपी, आमबुझाई भने ‘बाबुरामको माओवादी’ भन्ने नै थियो ।
तर, पार्टीको मूल नेतृत्व सरकारमा नजाने भन्ने आफ्नै पार्टीको प्रतिबद्धतालाई कुल्चेर संविधानसभाको निर्वाचनमा पार्टी सबैभन्दा ठूलो बनेपछि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदै अर्थमन्त्री बन्ने यी बाबुरामको भण्डाफोर किन नगर्ने ?
इतिहासकै सबैभन्दा सफल अर्थमन्त्री भन्दै प्रशंसा गरेको पट्यार नै लाग्नेगरी सुन्नुपर्छ । तर, मलाई भने त्यस्तो लाग्दैन । देशकालागि अत्याधिक राजस्व उठाईदिनु र समृद्धिको योजना ल्याउनु ठूलो कुरै होइन । बरु, पार्टीकालागि के गरे र यिनले ? राजनीति गर्नेले त पार्टीका लागि कुन नेताले के गर्यो ? भनेर हो सोच्ने । हाम्रो राजनीतिक संस्कारमा ‘देश र जनताको लागि’ त भन्नेमात्र न हो ।
यिनी अर्थमन्त्री नै हुँदा पनि कार्यकर्ताले चन्दा नउठाई सुखै पाएनन् । पार्टी चलाउने खर्च जुटाईदिएनन् यिनले । पार्टीको माया हुन्थ्यो भने त अर्थमन्त्री हुँदा केही वर्षका लागि पार्टी चलाउने खर्च पनि त जम्मा गर्न सक्नुपर्ने नि ! अरु पार्टीका अर्थमन्त्रीले त भूकम्प पीडितलाई राहतकालागि आएको जस्तापातासमेत बेचेर पार्टी चलाउने खर्च जुटाए । विचरा…! त्यसैले, मलाई त पहिले नै लाग्ने गर्थ्यो कि यो मान्छेलाई पार्टीको खासै माया छैन । अर्थमन्त्री बन्नु तर, पार्टीलाई आर्थिक सहयोग नगर्नुको कारण खोजिनुपर्छ र यसको भण्डाफोर हुनैपर्छ ।
अर्थमन्त्री मात्र होइन, यी देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री समेत बने । त्यतिबेला त झनै यिनको कम्युनिष्ट चिन्तन ‘स्खलित’ भएर सतहमै छताछुल्ल भयो । त्यति ठूलो त्याग र बलिदानीपूर्ण संघर्षबाट बनेको ‘जनमुक्ति सेना’लाई पुरानो सेनामा समायोजन गरिदिए । त्यतिबेला पनि धेरै कमरेडहरुले कालोझण्डा त देखाए तर, रोक्न भने सकेनन् । शान्ति प्रक्रिया टुंग्याउने यिनको यो कदमको कम्युनिष्ट क्रान्तिकारीले जोडदाररुपमा भण्डाफोर गरिरहनुपर्छ ।
झन्झन् यिनको ‘गैरकम्युनिष्ट’ मानसिकता उजागर हुँदै थियो । त्यसको सार गोरखाको पालुङटारमा सम्पन्न राष्ट्रिय भेलामा नांगो रुपमा देखा पर्यो। सर्वहारावर्गले विद्रोहद्वारा राज्यसत्ता आफ्नो हातमा लिनसक्ने प्रवल सम्भावना हुँदा-हुँदै पनि यिनले ‘शान्ति र संविधान’को छुट्टै डकुमेण्ट पेश गरे । यिनकै कारण पार्टीले केन्द्रीय सत्ता कब्जा गर्न पाएन । बहादुर योद्धाहरुलाई यस्तो ‘कायर नेता’को भण्डाफोर नगरी बस्ने छुट छैन ।
नयाँ चुनावमा जानुपर्ने बेला प्रधानमन्त्री भएँ भन्दैमा मापदण्डविपरीतका घर भत्काउँदै हिँड्ने पनि यिनै हुन् । प्रधानमन्त्री हुँदा त उखानटुक्का सुनाउँदै जनता हँसाउने काम पो गर्नुपर्छ ! तर, यिनले सुधारका काम गर्ने भन्दै जनतालाई कालो झण्डा देखाउन र विरोध गर्दै सडकमा सुत्न बाध्य पार्ने काम गरे ।
चुनावमा जानुपूर्व त जुनसुकै तरिका अपनाएर भएपनि पैसा जम्मा गर्ने, कार्यक्रमको उद्घाटनमात्र गर्दै हिँड्ने, जनतालाई सपना बाँड्ने…, काम पो हो गर्ने ! तर, यिनी त सुधारका काम गर्नतर्फ लागे । एमाले, कांग्रेसलाई खुसी बनाएर एकपटक बजेटसमेत ल्याउन सकेनन् ।
यिनैले पेलेर जाने नीति लिएकोले मणी थापा, मातृका यादवहरुले पार्टी नै छोड्नुपर्यो । मोहन वैद्यहरु पनि यिनैका कारण पार्टी फुटाएरै जान बाध्य भए । वैद्यको पार्टीलाई कांग्रेस, एमालेलगायतका पार्टीमा भोट हाल्न बाध्य पार्ने यी बाबुरामलाई इतिहासले पक्कै पनि धिक्कार्नेछ ।
आफ्नो पार्टी तेस्रो स्थानमा पुग्दापनि संविधान बनाउन अहोरात्र खट्ने, थारु–मधेशी–जनजाति–दलितलगायतका उत्पीडित जाति, क्षेत्र र लिङ्गलाई अधिकार दिनुपर्छ भनेर अड्डी कसिरहने पनि यिनै हुन् । ‘पहाडीया’ ब्राह्मण जातको पुरुषलाई किन चाहियो अधिकार ? चाहिएकाहरु चुप रहँदारहँदै पनि यिनले साम्प्रदायिक सद्भाव ‘बिथोल्न’ खोजेका छन् । अधिकार त जसलाई चाहिन्छ, उसैले पो हो माग्ने ! तसर्थ, यस्ता ‘ढोँगी बाबुराम’को भण्डाफोर अत्यन्तै आवश्यक छ ।
यी माओवादी पार्टीप्रति असन्तुष्ट रहेको कुरा त श्रृंखलामै देखिन्छ । पार्टी परित्याग गर्नुभन्दा दुई वर्ष अघिदेखि नै ‘नयाँ शक्ति’को बहस चलाउँदै आएका थिए यिनले । पार्टी अनुशासन विपरीत विचारको बहस चलाउनु ‘अराजकताको पराकाष्ट’ नै थियो । कम्युनिष्ट पार्टी पनि नयाँ विचारले चल्छ त ? यसले त पुरानोलाई हुबहु लागुमात्र गर्नुपर्छ । विचारको पनि विकास हुन्छ ? यसको त प्रयोगमात्र हुन्छ ।
नयाँ विचार भन्दै यिनले कम्युनिष्ट विचार नै छाडे । केही समय सशस्त्र संघर्ष गरिरहेको भए युद्धबाटै सत्ता कब्जा गर्ने सम्भावना थियो । थप हजारौँ योद्धाहरु मर्न–मार्न र जस्तोसुकै संघर्ष गर्न तयार थिए । योभन्दा दोव्बर संख्यामा शहिद, बेपत्ता भएको भए पार्टी झनै ठूलो हुन्थ्यो । तर, यिनले तत्कालिन समयमा बलिदानीपूर्ण संघर्षबाट आजित भएर क्रान्तिकारी पार्टीलाई ‘सामन्ती’ (कांग्रेस) र ‘लिङ्ग नछुट्टिएको’ पार्टी (एमाले)सँग मिलेर आन्दोलन गर्ने र राजा फाल्ने ‘दक्षिणपन्थी कदम’ चाल्न बाध्य पारे ।
हुन त, त्यतिबेलै सिध्याउन खोजिएको हो यिनलाई ! तर, पार्टी नेतृत्वले छ महिनासम्म बन्दुकको नाल कञ्चटमा तेर्स्याएरै जोगायो । त्यसरी जोगाउँदै प्रधानमन्त्रीसम्म बनाउने पार्टीलाई नै छोडेर हिँडे यिनी । यस्ता ‘धोकेवाज’को भण्डाफोर अपरिहार्य नै बनिरहेको छ ।
जनयुद्धमा लागेर बलिदान गर्ने ति महान् शहिदहरुले शान्ति र विकास हो र चाहेको ? ति महान् योद्धाहरुले त क्रान्ति चाहेका थिए, ‘सत्ता’ चाहेका थिए । देश बनाउन होइन, पार्टी बनाउन हिँडेका थिए । सबै समान हुनुपर्छ भनेर हैन, झुपडीमा बस्न मन नलागेर ‘महल बनाउन’ हिँडेका थिए । सबैले खान, लाउन, बस्न पाउनुपर्छ भनेर हो र…! दुई दिनको जिन्दगीमा ‘मोजमस्ती’ गर्न पाउनुपर्छ भनेर राजनीतिमा लागेका थिए । तर, ति महान् शहिद, बेपत्ताहरुको सपनामा ‘कुठाराघात’ गर्दै यिनी देश बनाउँछु भन्दै देश दौडाहमा लागिरहेका छन् यतिबेला ।
नयाँ शक्ति बनाउने रे ! प्रधानमन्त्री भइसकेको मान्छेलाई किन चाहियो नयाँ शक्ति ? यिनलाई किन नेता बनिरहनुपर्यो ? नयाँलाई अवसर दिनु पर्दैन ? यो देश यिनैको मात्र हो र ? यो देश त सबैको साझा हो । यहाँको अवसर पनि सबैले लिन पाउनुपर्छ ।
संविधान बनेलगत्तै पार्टी छोडेर ‘नयाँ नेपाल’ बनाउँछु भन्दै हिँडेका छन् यि बाबुराम ! यस्तो सुन्दर देशको स्वरुप बिगारेर किन बनाउनुपर्यो नयाँ ? देशलाई समृद्ध बनाउँछु पनि भन्दै हिँडेका छन् । दक्षिण एसियाको सबैभन्दा गरीब भएकै कारण त हामीलाई विदेशीले सहयोग गर्दै आएका छन् । यिनले देशलाई समृद्ध बनाए भने कुन देशले दिन्छ नेपाललाई सहयोग ? तसर्थ, भण्डाफोरले मात्र पुग्दैन, यिनलाई ‘देशद्रोही’कै मुद्दा लगाउनुपर्छ ।
स्वाधीन, समृद्ध र समावेशी मुलुक बनाउने रे ! सबै नारा यिनैले लिइदिए । कुनै–कुनै एजेण्डा त अरु पार्टीलाई पनि त छोडिदिनुपर्छ नि ! कस्तो ‘एकमनावादी’ चिन्तन हो यिनको ? सबै अटाउने पार्टी बनाउने भनेर यिनले कम्युनिष्ट पार्टीको ‘खिल्ली उडाउँदै’ छन् । पारदर्शी, स्वयंसेवी, नैतिकवान्, स्वविवेकी र सक्षम व्यक्तिहरु मात्र नयाँ पार्टीमा अटाउन सक्छन् भन्ने यिनको कुराले त नेपालका कम्युनिष्ट पार्टीलाई नराम्ररी ‘प्रहार’ भएको छ । त्यसैले, कहिल्यै उठ्न नसक्नेगरी पत्याक्रमण गर्नुपर्छ हामीले पनि ।
यिनले विस्तार गरेको नयाँ शक्ति निर्माण अभियानको अन्तरिम परिषद्का व्यक्ति हेरौँ न ! नौ जना त विद्यावारिधी (पिएचडी) गरेका व्यक्ति छन्, चार जना पूर्वसचिव छन् । सबै क्षेत्रका सफल व्यक्तित्व छन् ।
ति पिएचडी गरिसकेका र आफ्नो क्षेत्रमा सफल भइसकेका व्यक्तिलाई किन राजनीतिमा ल्याउनुपरेको ? राजनीति त असफल व्यक्तिहरुले पो गर्ने हो । कतै केही गर्न नसकेपछि अन्तिम विकल्पका रुपमा प्रयोग गर्न र जीवनयापन गर्न सहयोग पुग्ने यो राजनीतिक क्षेत्रमा पनि यिनले धेरैको बाटो अवरोध गरिदिए । तसर्थ, यिनको विरुद्ध पाटीको खर्चमा मात्र होइन, राज्यकै खर्चमा सरकारबाटै भण्डाफोर अभियान चलाउनुपर्छ ।
‘नयाँ विचार, नयाँ सोच, नयाँ कार्यशैली, नयाँ संगठन र नयाँ नेतृत्वसहितको नयाँ नेपाल’ भन्दै हिँडेका यिनले हाम्रो सबै पहिचान नै मेटाईदिने भए ! यिनको पुराना पार्टीले मात्र विरोध गरेर पुगेन । पुराना शक्तिको कार्यक्रमलाई जनताले पनि पत्याएनन् । तसर्थ, बाबुराम र नयाँ शक्ति नेपालको भण्डाफोर अभियानमा सबै लागौँ !
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं