राजन शर्मा, अध्यक्ष, फ्रेड फरवार्ड एसोसिएसन
ढिलै भए पनि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको विशाखापटनम बन्दरगाह र त्यहाँको पूर्वाधार प्रयोग गर्न पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा दुई देशबीच यो सम्झौता भएको हो ।
अहिले साँघुरो र जीर्ण बन्दै गइरहेको कोलकाता बन्दरगाह मात्र प्रयोग हुँदै आएकोमा विशाखापटनम बन्दरगाहको प्रयोगसँगै व्यापारको लागत घट्ने अनुमान गरिएको छ । विशाखापटनम बन्दरगाह नेपालको हितमा रहेको फ्रेड फरवार्ड एसोसिएसनका अध्यक्ष राजन शर्मा बताउँछन् । विशाखापटनमबाट नेपाली व्यवसायीलाई हुने फाइदा, यसको कार्यान्वयन पक्ष लगायत विषयमा नवीन अर्यालले शर्मासँग गरेको कुराकानी :
भारतको विशाखापटनम बन्दरगाह नेपालले प्रयोग गर्न पाउने भएको छ । यसबाट नेपाललाई हुने लाभ के-के हुन् ?
यो कुनै नयाँ र अनौठो सम्झौता भएको होइन । हामीले सन् २००८ देखि नै यो बन्दरगाह उपयोग गर्न पाउनुपर्ने माग गरिरहेका थियौं । हामीलाई कोलकाताको वैकल्पिक बन्दरगाह आवश्यक छ । यही क्रममा कोलकाताको वैकल्पिक बन्दरगाह नजिक कहाँ हुन सक्छ भनेर खोज्दा विशाखापटनम उत्तम हुने महसुस गरियो । यहाँको विस्तृत अध्ययन गरी हाम्रा लागि फिजिबल हुन्छ भनेर हामीले माग गरेका थियौं ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकै पालामा यो बन्दरगाह प्रयोग गर्न दिने सैद्धान्तिक सहमति भइसकेको थियो । हामीले पाँच वर्षअघि विशाखापटनम बन्दरगाहको लागत अध्ययन गरेका थियौं । व्यापार प्रक्रियाको अध्ययन गरेका थियौं । अहिले त गरिएको छैन । त्यो बेला र अहिले धेरै परिवर्तन भइसकेको छ । लागत पनि बढिसकेको छ ।
त्यतिखेर विशाखापटनम बन्दरगाह कोलकाता बन्दरगाहभन्दा केही हदसम्म फाइदाजनक हुन्छ भन्ने हाम्रो निष्कर्ष थियो । पोर्टभन्दा केही हदसम्म बेटर हुन्छ कि भन्ने निष्कर्ष थियो ।
नेपाल इन्डियाको टिटीले हामीलाई तेस्रो मुलुकबाट समान ल्याउन कोलकाता बन्दरगाह र हल्दियामा मात्र सीमित राखिदिएको थियो । कोलकाता बन्दरगाह साँघुरो भइसकेको छ । त्यहाँ भोल्युम समेत बढिसकेको छ । कोलकाता बन्दरगाहको पूर्वाधार पनि विकसित गर्दै लगिएको छैन ।
कोलकातामा जहाजले समान बोकेर ल्याउँछ । त्यहाँदेखि समान नेपालमा ल्याएर अनलोड गरी खाली कन्टेनरलाई फर्काएर सिपिङ कम्पनीका यार्डमा पुर्याउन उनीहरूले दिएको समय २८ देखि ३० दिन हो । अहिले त्यहाँबाट नेपालमा समान ल्याएर कन्टेनर फिर्ता गर्नका लागि ३२ देखि ३५ दिनसम्म लागिरहेको छ ।
विशाखापटनम आधुनिक खालको बन्दरगाह हो । यहाँको बिजनेस प्रक्रिया पनि अलि खुकुलो नै रहेको छ । अन्य प्रक्रिया पनि कोलकाताको तुलनामा निकै चाँडो हुने गर्छ । विशाखापटनम ठाउँको अभाव छैन । यहाँ एकैपटक १६ सय कन्टेनर राख्न सकिन्छ । बन्दरगाहका कष्ट पनि कम नै छ । एजेन्टको कष्टहरू पनि कम रहेको छ ।
कोलकाता बन्दरगाहमा पानी कम भएको हुँदा ठूला जहाज ल्याउन मिल्दैन । विशाखापटनममा ठूला जहाजमा समान ल्याउन सकिन्छ । यसले पनि लागत घटाउँछ । कोलकातामा कुनै पनि मुलुकबाट समान ल्याउँदा सिंगापुर वा कोलम्बो हुँदै आउनुपर्छ । त्यहाँ सानो भेहिकलमा सामान राखेर कोलकाता ल्याउँदा लामो रुट हुन्छ । विशाखापटनममा यो समस्या रहने छैन । सामुद्रिक कष्ट पनि उच्च हुने हुँदा हाम्रा लागि विशाखापटनम बन्दरगाह अलि सहज हुन्छ ।
विशाखापटनम बन्दरगाह सञ्चालनमा आएपछि व्यवसायीको समय र लागत कति घटाउला ?
यति नै घटाउँछ भनेर भन्न सकिन्न । किनभने अहिले यो बन्दरगाहको अध्ययन भएको छैन । पाँच वर्षअघिको अध्ययनले अहिले हुँदैन । पाँच वर्षअघिको अध्ययनमा यो बन्दरगाह समय र लागतमा हाम्रा लागि फिजिबल देखिएको थियो ।
पाँच वर्षअघि विशाखापटनमको अध्ययन गर्दा देखिएको लागत र समय त्यतिखेरका लागि ठीक छ भनेका पनि हौं । अहिले कस्तो तरिकाले सहमति गरिएको छ भनेर पनि सम्पूर्ण कुरा बाहिर आइसकेको छैन । त्यही भएर पनि यो बन्दरगाह प्रयोग गर्दा यति नै फाइदा हुन्छ भनेर भनिहाल्न हुँदैन ।
हामीले समयलाई पनि पैसामा परिवर्तन गरेर लागत क्याल्कुलेसन गर्नुपर्छ । किनभने, त्यहाँ ब्याजका कुरा हुन्छन् । सामुद्रिक मार्गको दूरीलाई पनि हेर्नुपर्छ । सानो जहाज र ठूलो जहाज प्रयोग गर्दा लाग्ने लागतको फरकलाई पनि हामीले हेर्नुपर्छ । अनि मात्र हामीले विशाखापटनम प्रयोग गर्दा समग्र रुपमा फाइदाजनक छ वा छैन भनेर भन्न सकिन्छ ।
अहिलेका व्यापारीहरू नेपालबाट कोलकाता नजिक रहेको छ विशाखापटनम टाटा छ भनेर मात्र हेर्ने गर्छन् । दूरी नजिक हुँदैमा लागत कम हुने र टाढा हुँदैमा बढी हुने हुँदैन । बन्दरगाहका विभिन्न पक्षलाई केलाएर मात्र फाइदा-बेफाइदा निकाल्न सकिन्छ । किनभने, बन्दरगाहमा धेरै प्रकारका कष्ट हुने गर्छन् । समान ह्यान्डओभर गर्ने समय पनि महत्त्वपूर्ण हुन आउँछ ।
कोलकाता बन्दरगाह विशाखापटनमभन्दा टाढा भए पनि झन्डै ८/१० दिन चाँडै नेपालमा समान ल्याउन सकिने बताइन्छ नि ?
विशाखापटनमबाट अहिलेसम्म हामीले समान ल्याएर आएका छैनौं । तर, यहाँबाट चाँडै समान ल्याउन सकिन्छ भन्ने दुई-तीन आधार रहेका छन् । पहिलो आधार कोलकाता बन्दरगाहमा भेहिकल आइसकेपछि समान क्लिअर गर्न तीन-चार दिन लाग्छ । विशाखापटनमा यो काम दुई दिनमै सहज रुपमा गर्न सकिन्छ ।
अर्को आधार भनेको कोलकाता बन्दरगाहले कंकटलाई समान ह्यान्डओभर गर्नका लागि ६ देखि १० दिन लगाइरहेको छ । त्यो काम विशाखापटनमा तुरुन्तै हुन्छ । बन्दरगाहले ह्यान्डओभर गरेको समान कंकटले वीरगन्ज ल्याइपुर्याउन १० देखि १२ दिन लगाएको छ । यसरी कोलकाताबाट नेपालमा समान ल्याई कन्टेनर कोलकाता फर्किनका लागि ३२ देखि ३५ दिन लागिरहेको छ ।
कोलकाता बन्दरगाहमा पानी कम भएको हुँदा ठूला जहाज ल्याउन मिल्दैन । विशाखापटनममा ठूला जहाजमा समान ल्याउन सकिन्छ । यसले पनि लागत घटाउँछ ।
हामीलाई त्यतिबेला विशाखापटनम बन्दरगाहले सिपिङ कम्पनीसँग मिलेर २८ दिनमा डेलिभरी गराउने बताएका थिए । यसरी कोलकाता बन्दरगाहको लागत र विशाखापटनमको लागत हेर्दा हामीलाई फाइदा हुने नै देखिन्छ ।
विशाखापटनम बन्दरगाहले व्यवसायीको ‘डिटेन्सन चार्ज’ पनि घटाउने भयो ?
कोलकाताका पुराना कम्पनी नेपालको कार्गोमा अनप्रोसेसिङ ट्रिटमेन्ट गरेर ११४ अमेरिकी डलर, १८० अमेरिकी डलर र २०० अमेरिकी डलरसम्म पनि डिटेन्सन चार्ज लगाइदिने गरेका छन् ।
दक्षिण भारत भनेको अलिकति कल्चरल्ली पनि फरक रहेको छ । उनीहरूको सोसियो इकोनोमी अवस्था पनि फरक छ । विशाखापटनम नयाँ बन्दरगाह पनि हो । विशाखापटनम सञ्चालनमा आउनेबित्तिकै कोलकाता बन्दरगाहसँग प्रतिस्पर्धा हुन्छ । यसले लागत घटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने छ । साथै, लामो समयदेखि हुन नसकेको कोलकाता बन्दरगाहको पूर्वाधारमा समेत सुधार गर्न दबाब हुने भयो ।
यदि केही गरी विशाखापटनम हाम्रा लागि लाभदायक भएन भने पनि कोलकाता बन्दरगाहको पूर्वाधार विकास हुने छ । नेपालीहरू विशाखापटनम जाने हुन् कि भन्ने डर कोलकातालाई हुने भयो । भोलि कोलकाता पोर्ट सञ्चालन भएन भने पनि हामीसँग अर्को बन्दरगाह हुने भयो ।
विशाखापटनमबाट कस्ता समान ल्याउन उपयुक्त हुन्छ ?
यहाँबाट कन्टेनराइज्ड कार्गो ढुवानी गर्नका लागि उपयोगी छ । यसको अलावा कोलकाता र हल्दियामा आउने आउने सामान पनि विशाखापटनमबाट ल्याउन सहज र सस्तो पर्ने दखिन्छ । यहाँबाट साना ठूला सबै व्यवसायी लाभान्वित हुन्छन् । यो बन्दरगाहको प्रयोगबाट लोड अनलोड खर्चमा समेत उल्लेख्य कमी आउन सक्ने हुँदा आयात निर्यात कर्ताका लागि उपयोगी हुनेछ ।
यसले नेपालको व्यापार घाटा कम गर्नका लागि केही सहयोग पुर्याउला ?
व्यापार घाटामा त्यति ठूलो सहयोग पुर्याउने त म देख्दिनँ । यसले कलिकति ट्रान्सपरेन्सी र एकाउन्टेबिलिटी बढाउँछ । अलिकति ट्रान्सपरेन्ट पनि हुन्छ । यहाँबाट समान ल्याउँदा लागत केही न केही सस्तो हुने आशा छ ।
सम्झौता हुँदैमा सहजै कार्यान्वयन हुन्छ भन्ने छैन । यस्ता सम्झौता पहिला पनि धेरै भएका छन् ।
यसको पुनः अध्ययन गर्नुपर्छ । म पाँच वर्षअघिको अध्ययनलाई लिएर बोलिरहेको छु । पाँच वर्षमा त धेरै फरक भइसकेको छ । संसारमा धेरै परिवर्तन आइसकेको छ ।
अब यथाशीघ्र निजी क्षेत्र र वाणिज्य मन्त्रालयको टोली भएर विशाखापटनमको अध्ययन गर्नुपर्छ । बिजनेस प्रोसेस एनलाइसिस गर्नुपर्छ । टाइम डिस्टेन्स कष्ट एनलाइसिस गर्नुपर्छ । टाइम रिलिजको स्टडी गर्नुपर्छ । साथै, विशाखापटनमका अथोरिटी आफैँ नेपालमा आएर मार्केटिङ सुरु गर्नुपर्ने हुन्छ ।
विशाखापटनम बन्दरगाहमा सम्झौता हुन लामो समय लाग्यो, सम्झौता हुनासाथ प्रयोगमा आउनेछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मलाई झिनो आशा मात्र रहेको छ । किनभने, यहाँबाट समान ल्याउन रोडको मुभमेन्टलाई ट्रान्जिट टिटीले गभर्न गर्छ, रेलको मुभमेन्टलाई रेल-वे सर्भिस एग्रिमेन्टले गभर्न गर्छ । भोलि भारतले के भन्न सक्छ भने रेल-वे सर्भिस एग्रिमेन्टमा विशाखापटनम छैन, रेल वे सर्भिसको एग्रिमेन्टको रिभ्यु गर्ने बेला यो कुरा राखौंला भन्न सक्छ ।
नेपाल भारतबीचको सम्झौतामा कस्तो नेगोसेसन भएको छ, थाहा छैन । वाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्याय आफैँ जानुभएको छ । उहाँ जान्ने नै मान्छे हो, उहाँले बुद्धि पुर्याउनुभएकै होला । भारतले रेल-वे सर्भिस एग्रिमेन्टमा इन्कर्पोरेट गर्नका लागि रेल-वे सर्भिस एगि्रमेन्ट जहिले सकिन्छ, त्यही समयमा गर्ने भनेमा हामी एक-दुई वर्ष कुर्नुपर्ने हुन्छ ।
भनेपछि सम्झौता हुँदैमा कार्यान्वयन सहज छैन ?
सम्झौता हुँदैमा सहजै कार्यान्वयन हुन्छ भन्ने छैन । यस्ता सम्झौता पहिला पनि धेरै भएका छन् । हामीले मिडियामा स्वागत पनि गरेका छौं । सम्झौता भएर पनि कार्यान्वयन नभएका कुरा प्रशस्तै छन् । दुई देशबीचको नियतले यसमा ठूलो भूमिका खेल्छ ।
नेपालको ब्युरोक्रेसी बुझ्न नसकिने खालको छ । त्यही भएर समयमा काम हुन्छ भन्नेमा मलाई कम मात्र विश्वास छ । कोलकाताजस्तो ठाउँमा काउन्सुलर जेनरलमा अंशबन्डाको कुरा गरेर अनुभव नभएको मान्छे पठाउन खोजिएको छ । सरकारको व्यापार सहजीकरण गर्ने नीति नै छैन, अनि कसरी काम अगाडि बढ्छ ?
कोलकाता बन्दरगाहमा वाणिज्य र अर्थ बुझेको मान्छे पठाउनुपर्छ । तर, सरकारले आफ्नो मान्छे पठाउन खोज्छ । यहाँ अनुभवलाई होइन, आफ्नोलाई प्राथमिकता दिइन्छ । वाणिज्य मन्त्रालयका अनुभवी सहसचिव जीवराज कोइरालालाई शान्ति मन्त्रालयमा सारियो । यस्तो खालको सरकारबाट कति अपेक्षा गर्ने ? हामीले आशा गर्ने हो भर पर्ने होइन ।
अहिले विशाखापटनम बन्दरगाहको पूर्वाधारको अवस्था के छ ?
त्यहाँको पूर्वाधारको अवस्था एकदमै राम्रो रहेको छ । केही समय अगाडि म त्यहाँ पुगेको थिएँ । त्यहाँ खुला बन्दरगाह छ । त्यहाँका मान्छेहरू सहज छन् । सबैजना काम गर्न इच्छुक देखिन्छन् । उनीहरूले लागत घटाउने आश्वासन दिइरहेका छन् । राज्य नै फरक भएको हुँदा स्टेट गभर्मेन्टको कमिटमेन्ट पनि उच्च छ । त्यहाँको सरकारले नेपालका लागि विशाखापटनम फिजिबल बनाएरै छाड्ने बताएको छ ।
त्यहाँ इन्डिपेन्डेन्ट बिजनेस अर्निङ सेन्टर भएको हुँदा कोलकाताका सिपिङ कम्पनीले विशाखापटनममा पनि काम गर्छन् ।
विशाखापटनम बन्दरगाह चाँडै सञ्चालन गर्न के गर्नुपर्छ ?
अहिले दुई देशका सरकारबीच विशाखापटनम बन्दरगाह सञ्चालन गर्न दिने सम्झौता भएको छ । त्योसँग जोडिएका अन्य सम्झौता लगायत काम पनि तत्कालै अगाडि बढाउनुपर्छ । नेपाल र विशाखापटनमका व्यवसायीसँग पनि विभिन्न खालका सम्झौता गर्नुपर्ने हुन्छ ।
आगामी एप्रिलमा हुने नेपाल र भारतको इन्टर गभरमेन्टियल (आईजीसी) मिटिङसम्म विशाखापटनमको सम्पूर्ण प्रक्रिया सकिएर काम सुरु हुनेमा म आशावादी छु ।
त्यो बेला ‘बिजनेस प्रोसुडियर’हरू कस्तो बनाइन्छ भन्ने कुरा मुख्य हुन्छ । कोलकाताकै जस्तो बनाइयो भने त के मज्जा आयो र ? हामीले दूरीलाई मात्र हेरेर फाइदा-बेफाइदा नहेरौं । समय, दूरी, प्रोसुडियरका आधारमा समग्र लागत घट्छ कि घट्दैन भनेर हेर्नुपर्छ । पाँच वर्षअघि फाइदाजनक देखिएको थियो, अहिले फाइदा हुन्छ कि हुँदैन हेर्न बाँकी नै छ ।
– See more at: http://www.onlinekhabar.com/2016/02/392057/#sthash.8VZWM5Vd.dpuf
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं