११ फागुन, म्याग्दी। म्याग्दीको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा सुख्खा पहिरो जाँदा ५ जना सम्पर्कविहीन भएका छन् ।
पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सम्पर्कविहीन पाँचै जना सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जङ्गल गएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको नेपाली सेना र नेपाल प्रहरीको टोली गन्तव्यमा पुग्न नसकी फर्किएको छ ।
पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । टेलिफोन सम्पर्क नहुने, खोँच र धुलोका कारण वेपत्ताहरुको खोजी तथा पहिरोको अध्ययनमा समस्यामा परेको खड्काले बताए ।
सीमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङस्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिँडेको टोली निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको बाँधमा पुगेर रोकिएको छ ।
गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।
विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । घलेम्दी जलविद्युत् आयोजनाका कामदार राति नै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् ।
उक्त स्थानमा करिब ४० वर्ष पहिले गएको पहिरोमा सयौँ भेँडाबाख्रा र गोठाला पुरिएका थिए ।गत वैशाखमा गएको भूकम्पका कारण चर्किएको र खलबलिएको पहाडमा पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment