काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले मोर्चामा रहेका अरु दलहरुका कारण नाकाबन्दी खुलेको आरोप लगाएको छ।
फागुन ७ देखि १० गतेसम्म बसेको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले मोर्चाका अरु घटकहरुको उदासिनताका कारण नाका अवरुद्ध रहिरहन नसकेको र आन्दोलन कमजोर भएको निश्कर्ष निकालेको हो।
‘प्रमुख सीमा नाकाहरुमा मोर्चाका शीर्षः नेताहरु स्वयं जिम्मेबारी लिए अनुरुप सद्भावना पार्टीको जिम्मेवारी वीरगंज–रक्सौल सीमा नाका अवरुद्ध गर्ने रहेको थियो। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा तथा मोर्चा र जनताको उत्साहपूर्ण सहभागितामा उक्त सीमा नाका अवरोध रहिरहे पनि मोर्चाका अन्य घटकका जिम्मेवारीमा रहेका विराटनगर–जोगबनी, भैरहवा–सुनौली लगायतका सीमा नाकाहरु मोर्चाका अन्य घटकहरुमा उदासिनताका कारण अवरुद्ध रहन सकेन जसले गर्दा आन्दोलन पनि कमजोर हुँदै गयो’ सद्भावनाको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘वीरगञ्ज–रक्सौल झैं सम्पूर्ण सीमा नाका पूर्णरुपमा बन्द गराउन हामी सफल भएको भए राज्यलाई घुडा टेकाउन यो आन्दोलनले नै संभव हुन्थ्यो होला।’
मधेसी मोर्चाले सीमांकन लगायतका विषयमा राखेको माग पूरा नभएको भन्दै असोज पहिलो हप्तादेखि गरेको नाकाबन्दी माघ तेश्रो हप्ता खुलेको थियो।
मधेसी मोर्चामा आवद्ध अरु दलहरुले नाकाबन्दी खुल्नुमा राजेन्द्र महतोलाई दोष लगाएकामा सद्भावना पार्टीले अरु दलतर्फ औला उठाएको हो। ‘अन्य सीमा नाका पनि अवरोध गर्ने कार्यक्रम हुनुपर्ने नभए वीरगंज–रक्सौल नाकामात्र बन्द गरेर राज्यमाथि दबाब पर्नुको सट्टा आमजनताको दैनिक जीवन मात्रै कष्टप्रद हुने अवस्था देखिएकोले सीमा अवरोध र आमहडताल लगायतका कार्यक्रमहरुको स्वरुप परिवर्तन गर्नुपरेको हो’ सद्भावनाले भनेको छ। गत माघ २५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निकालेको विज्ञप्तीमा राजेन्द्र महतोको कार्य र अभिब्यक्तिले मोर्चालाई ठूलो क्षति पुगेको भन्दै सचेत गराउने निर्णय गरेको थियो।
निर्णायक आन्दोलन गर्न शक्ति सञ्चय
सद्भावनाले संविधान संशोधनबाट पनि मधेसी समुदायको माग पूरा नभएको भन्दै अब निर्णायक आन्दोलनका लागि शक्ति सञ्चय गर्ने निर्णय गरेको छ। ‘अबको आन्दोलन निर्णायक/वारपारको हुने निश्चित भएको हुँदा सोही अनुरुप शक्ति संचय एवं व्यापक तयारी पनि आवश्यक रहेको छ। जसको निम्ति पार्टीको आफनो र आन्दोलनरत मोर्चाले अझै शक्ति संचय गर्नु आवश्यक रहेको छ’ बैठकपछि सद्भावनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
सद्भावनाले आन्दोलनमा बर्बर दमन भएको भन्दै दोषी उपर कारबाही गर्नका लागि निश्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ। उसले गम्भीर मानव अधिकार हनन हुने खालका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताएको छ। त्यस्तै मोर्चाले आम हड्तालको अवधिको राजस्व कर, बिलम्व शुल्क र ब्याज मिनाहा गर्न पनि माग गरेको छ। उसले आन्दोलनलाई मर्यादित बनाउन मशेस रक्षा बाहिनीको पुन निर्माण गर्ने पनि निर्णय गरेको छ।
आन्दोलनलालाई निर्णाय बनाउन एक महिने गाँव जागरण आन्दोलन चलाउने पनि सद्भावनाले निर्णय गरेको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment