तुलसी घिमिरे, चलचित्रकर्मी
जमाना त्यस्तै थियो, सानोमा टीका लगाएर बाबाआमाले मलाई आशिष दिनुहुन्थ्यो- राजाले चिन्ने र प्रजाले मान्ने हुनू । यो आशिषले मेरो कलिलो मन-मस्तिष्कलाई गहिरो गरी छोयो । मलाई निकै सोच्ने पार्यो- राजाले पनि चिन्ने, प्रजाले पनि मान्ने को हुन्छ त ? ६-७ कक्षा पढ्ने हुँदा मैले सोचिसकेको थिएँ- कलाकर्मी नै त हो, सबैले चिन्ने ।
कक्षा ७ पढ्दाको कुरा हो । एक दिन साइन्स पढाउने शिक्षक भाग्यचन्द्र सिमिकले सबै विद्यार्थीलाई सोधे, ‘भविष्यमा तिमी के बन्न चाहन्छौ ? सोचेर भन, म तिमीहरूलाई दुई दिन सोच्ने समय दिन्छु ।’ दुई दिनपछि साथीहरूले जवाफ दिए- आर्मी अफिसर, पुलिस अफिसर, फुटबलर यस्तै-यस्तै । तर, मैले भनेँ, ‘सर, म फिल्म लाइनमा लाग्छु ।’
मलाई फिल्मबारे थाहा पनि थिएन, त्यति धेरै फिल्म हेरेको पनि थिइनँ । पछि म फिल्ममै लाग्छु भन्ने सायद त्यतिबेला मेरो अवचेतन मनलाई थाहा हुँदो हो । मेरो जवाफ सुनेपछि साथीहरू हाँसे । फिल्म खेल्नेजस्तो तेरो अनुहार छ ? हाइट छ ? भन्न थाले । दुई-चार दिन निकै जिस्क्याए ।
तर, शिक्षकले मलाई भन्नुभयो, ‘सबैभन्दा गम्भीर जवाफ तैँले दिइस् । तर, तँ फिल्म क्षेत्रमा लाग्छस् भने हामीले गाइड गर्न सक्दैनौँ । तैँले आफ्नो बाटो आफैँ खोज्नुपर्छ, हिँड्नु पनि पर्छ ।’
कालिम्पोङदेखि बम्बईसम्म
कालिम्पोङमा जन्मेको हुँ, सन् १९५१ मा । मेरो बाबा आर्मीमा हुनुहुन्थ्यो, पेन्सन निस्केपछि खेतीपाती गर्नुभयो । अहिले बाबा हुनुहुन्न । आमा हुनुहुन्छ । बुवाले दुई विवाह गर्नुभएको हो । हामी आठ दाजुभाइ हौँ । मेरो आमातिर बहिनी शारदा, म, श्रवण र ओमप्रकाश हौँ ।
हाम्रो अझै पनि आठ एकर जमिन छ, कालिम्पोङमा । अहिले पनि हाम्रो घरमा काम गर्ने ६ जनाजति छन् ।
कालिम्पोङमा घरमा काम गर्नेलाई नोकर भनिदैन, नाता लगाइन्छ- मामा, फूपू, दाइ, दिदी आदि । उनीहरूसँगै काम गर्नुपर्छ । म पनि घरको काम गर्ने मान्छेहरूसँग काम गर्दै, सिक्दै हुर्किएँ । मलाई खेतीपातीको काम आउँछ ।
कालिम्पोङकै स्कटिस युनिभर्सिटिज मिसन इन्स्टिच्युसनबाट स्कुलको पढाइ सकेँ, सन् १९७१ मा । त्यसपछि कालिम्पोङ कलेजमा भर्ना भएँ । कलेज पढ्दै गर्दा सेन्ट्रल वाटर एन्ड पावर कमिसनमा काम गरेँ, सिक्किममा ।
सिक्किममा जागिर गर्दै थिएँ, रोमियो एन्ड सिक्किम भन्ने फिल्मको युनिट आयो, बम्बईबाट । त्यो युनिटसँग नजिक हुने कोसिस गरेँ । क्यामेरा-म्यान लालजी यादवलाई साथी बनाएँ । फिल्म लाइनमा रुचि भएको र जसरी पनि लाग्ने बताएँ । एक दिन उसले सोध्यो, ‘फिल्म क्षेत्रमा आउनका लागि तिमीले के-के गर्न सक्छौ ?’ मैले सोधेँ, ‘के गर्नुपर्छ ?’ उसले एउटा हिन्दी शब्द भन्यो- फना । उसले ‘फिल्ममा आउन तिमीले आफैँलाई मेटाउन सक्छौ ? सोचेर जवाफ देऊ’ भन्यो । पर्सिपल्ट हाम्रो कुरा भयो । मैले भनेँ, ‘फिल्म क्षेत्रमा आउन मैले आफैँलाई मेटाउन सक्छु ।’ यो सन् १९७३ तिरको कुरा हो । त्यतिबेला मैले ब्याचलर सिध्याइसकेको थिएँ ।
लालजी यादवले मलाई अनौठो र दार्शनिक कुरा यो भनेको थियो, ‘बम्बईमा सफल हुनु छ भने पैसा नबोकी आउनू । पैसा बोकेर बम्बई गएकाहरू अहिलेसम्म सफल भएका छैनन् ।’
त्यसपछि मैले बम्बईको यात्रा गरेँ, बाबासँग पाँच सय भारु मागेर । सिलिगुढीदेखि कलकत्तासम्म रेल भाडा साढे १८ रुपैयाँ लागेको थियो । त्यहाँदेखि बम्बईसम्म ५९ रुपैयाँ ।
रोमियो इन् सिक्किम युनिटका साथीहरूको ठेगाना लिएको थिएँ, उनीहरू बम्बई अन्धेरी स्टेसन नजिकै बस्थे, त्यहाँ पुगेँ । उनीहरू सामान्य ढंगले बसेका रहेछन् । रोमियो एन्ड सिक्किम फिल्मको एसिस्टेन्ट डाइरेक्टर थियो- हनिफ, उसले आफ्नो घरमा बस्न भन्यो । उसको त्यहाँ मिठाई दोकान रैछ, पछि बन्द भएको । मिठाई पकाउने भट्टीको एउटा कोठा दियो, ध्वाँसैध्वाँसै थियो, दुईपटक रंगाउनुपर्यो । एउटा बेड पनि थियो, बस्ने बास भयो ।
प्रेमीसँग गफिने केटीका कारण…
साथमा केही पैसा थियो, बाहिर खाना खान्थेँ । गाँसको जोहो नगरी हुँदैनथ्यो । हनिफलाई एउटा काम खोजिदिन भनेँ । आफैँ पनि फिल्ममा काम गर्ने भनेर खोजेँ । मेरो रुचि अभिनयमा थियो, तर जानेको थिइनँ । साथी हनिफले पनि टेक्निकल काम सिक्न, गर्न सुझाव दियो ।
सुरुमा मेकअप सिकेँ, आगर खानलाई गुरु थापेर । बम्बईमा काम सिक्न गुरु थाप्नुुपर्छ । उनीसँगै सुटिङमै हिँडेर काम सिकेँ । मेकअप म्यानको समूह हुन्थ्यो, जता जुन फिल्मको काम पर्छ, त्यतै हिँड्नुपर्थ्यो ।
लैला-मज्नु फिल्ममा एसिस्टेन्ट मेकअप-म्यान भएर पनि काम गरेँ । एउटा सुटिङ थियो, मिस्टर नागी भन्ने एसिस्टेन्ट डाइरेक्टर थिए । ६ जना कलाकारलाई मैले मेकअप गर्नुपर्ने थियो । पाँचजनालाई मेकअप गरिदिएँ, एउटी केटी ब्वाईफ्रन्डसँग कुरा गर्दै थिइन् । मैले मेकअप गर्न आउनु भनेर बोलाएँ, उनी ‘एकछिन पख्’ भन्दै गफिइरहिन् । सुटिङ सुरु भइहाल्यो ।
उनलाई किन मेकअप नगरेको भनेर एसिस्टेन्ट डाइरेक्टरले सोधे । ती केटीले मैले मेकअप नगरेको बताइन् । त्यसपछि त त्यो फिल्मको प्रोडक्सन म्यानेजरले मलाई तथानाम गाली गर्न थाल्यो । छिटो उसलाई मेकअप गर्न भन्यो । मैले उसलाई मेकअप गर्न खोज्दै थिएँ, मनमा सररर कुरा खेल्यो, ‘यो काम गर्दा मैले पाउने आमाको गाली ! बहिनीको गाली ! त्यो पनि यस्ती केटीका कारण ?’
त्यसपछि मैले निकालिसकेको मेकअपका सामान प्याक गरेँ, गुरुको छेउ गएँ र सामान उनको चरणमा राखेँ । गुरुले सोधे, ‘के भयो ?’ मैले भनेँ, ‘म यो काम गर्दिनँ । यस्तो-यस्तो भयो । मलाई मन परेन । म यो काम गर्दै गर्दिनँ ।’ गुरुले ती केटीलाई गाली गर्न थाले, मैले गाली नगर्न भनेँ र त्यो काम छाडेँ ।
देवानन्दको डुब्लिेकट
लाइटब्वाईको काम गर्न थालेँ- सुटिङका लाइटहरू बोकेर हिँड्ने । हिरोको डुप्लिकेट पनि गरेँ । फिल्म अमिर-गरिब बन्दै थियो, हिरो थिए, देवानन्द ।
त्यसमा स्टन्ट आर्टिस्टले एउटा सिनमा काम गर्न बढी पैसा माग गरेका थिए, देवानन्दले जादुगरको पहिरनमा सिसा फुटाएर फाल हालेको दृश्य थियो । उसले पाँच हजार मागिरहेको थियो । त्यत्तिकै सानो स्वरमा म बोलेँ, ‘पाँच सय दिए त मैले गरिदिन्थेँ ।’ मेरो कुरा कसैले सुनेछ र मलाई त्यो स्टन्ट गर्न भनियो । मैले सक्छु भनेँ । मलाई जादुगरको ड्रेस लगाइयो । डाइरेक्टरले भनेअनुसार त्यो स्टन्ट गरेँ, पछि फिल्ममा त्यो देवानन्दले नै गरेजस्तो भएको छ । त्यसबापत पाँच सय पाएँ । त्यो पैसा लोकल ट्रेनमा यात्रा गर्न ६ महिनालाई पुगेको थियो ।
त्यसपछि क्यामेरा एटेन्डेन्ट भएँ- सुटिङमा क्यामेरा बोकेर यताउता लैजाने । यो निकै गम्भीर काम हो । किनभने, फिल्म युनिटको मुटु नै क्यामेरा हो । केही फिल्ममा सानो-सानो भूमिका पनि निभाएँ, लैजा मज्नुमा पनि सानो रोल गरेको छु । यी सबै काम पैसाका लागि गरेको हुँ ।
फिल्मका सामान छुन अफिस सफा गरेँ
यसरी नै डेढ-दुई वर्ष बित्यो- मेकअप म्यान, लाइटब्वाई, क्यामेरा एन्टेन्डेन्ट भएर ।
एक दिन कसोकसो फिल्म इडिटिङ हुने ठाउँमा पुगेँ । इडिटर कक्षमा सामान लथालिंग थियो । त्यहाँ फिल्म इडिटिङ गर्नेले भने, ‘यो सामान मिलाउन सहयोग गर्, तँलाई पाँच रुपैयाँ दिउँला ।’ मैले गर्छु भनेँ । उनी एकछिन बाहिर निस्के । मैले निकै मेहनेतले सफा गरेँ, सामानहरू मिलाएर राखेँ ।
मसँग एक पैसा थिएन । एक दिन भोकै बसेँ, दुई दिन भोकै बसेँ । दुई दिनपछि त पानी पनि नरुच्दो रैछ
उनी आएर सामानबारे सोधे । मैले ‘त्यो सामान त्यहाँ, त्यो त्यहाँ’ छ भनेर देखाएँ । उनी मेरो कामबाट प्रभावित भए, पैसा दिए । मैले भनेँ, ‘पैसा त त्यस्तै हो सर, मलाई फिल्मका सामान छुने रहर थियो, त्यही ठूलो भयो ।’ मेरो कुरा सुनेपछि उनले मलाई हेरेर भनेँ, ‘फिल्ममा यत्रो प्यासन ? इडिटिङ ज्वाइन गर्छस् ?’ म बेहद खुसी भएँ । र, हतारहतार जवाफ दिएँ, ‘गर्छु सर ।’
मलाई यसरी फिल्म इडिटिङमा लगाउने, सिकाउने गुरु जीजी पाटिल हुनुुहुन्थ्यो ।
जब म इडिटिङमा ज्वाइन् भएँ, महसुस गरेँ कि मैले सिक्नुपर्ने काम त यो रहेछ । त्यसपछि एकसुरले काम सिकेँ । मबाट गुरु जीजी पाटिल पनि खुसी हुनुहुन्थ्यो । पीजी सुपारेसँग पनि सहायक इडिटर भएर काम गरेँ- चाचा भतिजा, धरमवीर लगायत फिल्ममा ।
तीन दिनको भोको
त्यसपछि कमलाकर कारखानिससँग काम गरेँ । एक दिन मलाई काम दिएर गुरु पुना जानुभयो । मसँग एक पैसा थिएन । एक दिन भोकै बसेँ, दुई दिन भोकै बसेँ । दुई दिनपछि त पानी पनि नरुच्दो रैछ । भोकै थिएँ, तेस्रो दिन बेलुका गुरु आउनुभयो । उहाँले बाहिर एउटा दोकानछेउ पान खाँदै हुनुहुन्थ्यो । मैले नमस्कार गरेँ । उहाँले सोध्नुभयो, ‘अनुहार उत्रेको छ त, खाना खाएनौँ ?’मैले नखाएको बताएँ ।
उहाँले कति दिन भयो भनेर सोध्नुभयो । मैले तीन दिन नखाएको बताएँ । उहाँले दोहोर्याएर सोध्नुभयो, ‘तीन दिनदेखि भोकै छौ ?’
‘हजुर भोकै छु ।’ गुरुले पान मुखमा हाल्नुभयो र गाडी स्टार्ट गर्दै भन्नुभयो, ‘भगवानको कृपाले अझै चार दिन भोकै रहनू ।’
तीन दिन भोकै छु भन्दा त गुरुले केही देलान् भन्ने सोचेको थिएँ । मैले मनमनै गुरुलाई गाली गरेँ । त्यसको भोलिपल्ट साथी हनिफले म भोकै रहेको थाहा पायो । उसले भन्यो, ‘भन्नुपथ्र्यो नि यार, खाना त खुवाइहाल्थ्यौँ ।’ उसले खाना खुवाउन लिएर गयो । भन्यो, ‘तीन दिनपछि खाँदै छौ, सुरुमा नरम चिज खाउ, दालबाट सुरु गर ।’
त्यहाँ काम गर्ने सबैले क्यान्टिनमा खाना खान्थे । मलाई थाहा थिएन, त्यहाँ काम गर्नेले क्यान्टिनमा खाना खान पाउँछन् भन्ने । एक दिन मलाई क्याटिनको मान्छेले सोध्यो, ‘तिमीले किन यहाँ खाना खाँदैनौँ ? हिन्दूले बनाएको नखाने तिमी मुसलमान हौ ?’ मैले पैसा नभएर खाएको थिइनँ । तर, उसले त अर्कै सम्झेछ । त्यसपछि मात्रै मैले त्यहाँ खाना खान थालेँ ।
गुरु ज्ञान
पछि मैले कमलाकर गुरुलाई भनेँ, ‘तपाईंको मन ढुंगाको रैछ, मैले तीन दिनदेखि भोकै छु भनेर सुनाएँ, तर तपाईंले अझै चार दिन भोकै बस्नू भन्नुभयो । ‘गुरुले भन्नुभो, ‘हो, हो, मलाई याद भयो । तर तिमी मात्रै तीन दिन भोकै बस्यौ ? तिमी नसिबवाला त हौ, तर त्यति धेरै नसिबवाला रहेनछौ । १३ दिनसम्म भोकै बसे पनि मान्छे मर्दैन । तिमी तीन दिन भोकै रह्यौ, तिमीलाई समयले दिएको सबैभन्दा ठूलो उपहार त्यही थियो । त्यो तीन दिनमा तिमीले जे-जति सोच्यौ, निकै गहिरो गरी सोच्यौ, त्यो महत्त्वपूर्ण छ । तिम्रो विचारमा उत्तेजना आएको छ । त्यसले तिमीलाई अगाडिको बाटो देखाउँछ । मैले सोचेको थिएँ, अझै चार दिन जति भोकै बसेको भए तिमी ‘जिनिअस’ हुन्थ्यौ ।’ गुरुको कुराले मेरो मन-मस्तिष्कमा निकै सकारात्मक प्रभाव पार्यो ।
मैले पूर्ण इडिटिङ गरेको पहिलो फिल्म हो- श्रद्धाञ्जली । यो सन् १९७९ तिरको कुरा हो । त्यसपछि फिल्म इडिटिङमै व्यस्त हुन थालेँ । बन्धन कच्चे धागों का, हमसे बढकर कौन, हुकुमत लगायत सात हिन्दी फिल्मको इडिटिङ गरेँ । मराठी, भोजपुरी, हरियाणी, पन्जाबी, गढवाली फिल्मको पनि इडिटिङ गरेँ ।
फिल्म निर्देशन यात्रा
फिल्म डाइरेक्टर हुन्छ भनेर त सोचेको थिइनँ । तर, इडिटिङ रुममा नै फिल्म डाइरेक्सन सिक्न थालेँ । इडिटिङ गर्दा सम्पूर्ण ‘र म्याटरियल’ हेर्न पाइन्थ्यो- फिल्म कसरी खिचेको छ, कति टेक लिएको छ, क्यामेरा कसरी चलाएको छ, सबै हेर्न पाइन्थ्यो । हेर्दाहेर्दै मलाई निर्देशनबारे ज्ञान भयो र निर्देशनमा पनि लागेँ । मैले निर्देशन गरेको पहिलो फिल्म हो, । यो गढवाली फिल्म हो- जगवाल । १९८८ तिरको कुरा हो ।
म पनि नेपाली हुँ
कमलाकर गुरुकैमा काम गर्दै थिएँ । सन् १९७९ तिरको कुरा होला, एक दिन एउटा काम आयो । काम नेपाली फिल्म सिन्दुरको रहेछ, जसको निर्देशक प्रकाश थापा हुनुहुन्छ ।
उहाँहरूको आइतबार फ्लाइट थियो, शनिबार हड्ताल । शुक्रबार राति उहाँहरू काम लिएर हामीकहाँ आउनुभएको थियो- गीत इडिटिङ गर्नुपर्ने । त्यो रात काम सकिएन भने उहाँहरूलाई गाह्रो थियो ।
प्रकाश थापादाइको म फ्यान थिएँ । उहाँ हिन्दी फिल्ममा भिलेन हुनुहुन्थ्यो । उहाँ भिलेन भएको सुहागरातलगायत फिल्म हेरेको थिएँ ।
उहाँलाई देख्नेबित्तिकै नमस्ते गरेँ, तर उहाँले मलाई नेपाली भनेर चिन्नुभएन । गुरुले मलाई काम गर्न भने । प्रकाशदाइले ‘उसले सक्छ र’ भनेर सोध्नुभयो । गुरुले ‘सक्छ, राम्रो गर्छ’ भन्नुभयो । ‘म पनि नेपाली हो दाइ,’ मैले प्रकाशदाइलाई भनेँ । दाइले ‘घर कहाँ’ भनेर सोध्नुभयो । मैले भनेँ- कालिम्पोङ । उहाँको काम गरिदिएँ ।
उहाँले हिँड्ने बेला पाँच सय रुपैयाँ दिनुभयो । मैले भनेँ, ‘दाइ तपाईं जस्तो मान्छेसँग एकछिन बसेर काम गर्न पाएँ, यही मेरा लागि ठूलो छ, पैसा पर्दैन दाइ ।’ उहाँले भन्नुभयो, ‘दाइको आशीर्वाद सम्झेर राख्नू ।’ त्यो पैसा मसँग अझै पनि छ । पछि गुरुले सोध्नुभयो, ‘तिमी अघि कुन भाषामा कुरा गर्दै थियौ ?’ मैले भनेँ- नेपालीमा । गुरुले नेपालमा अहिलेसम्म कति फिल्म बनेको छ भनेर सोधे । मैले त्यस्तै ६-७ वटा फिल्म बनेको बताएँ । गुरु केही बोल्नुभएन ।
गुरु दक्षिणा
गुरुपूर्णिमाको दिन थियो, सन् १९८० को । कमलाकर गुरुले सबै चेलालाई बोलाउनुभयो । ताजमहल होटलमा पार्टी दिनुभएको थियो । हामी ४५ जना चेला थियौँ, सबै राम्रो इडिटर भइसकेका थियौँ । त्यहाँ सबैभन्दा कान्छो म थिएँ । सबैलाई उहाँले गुरु-आज्ञा दिनुभयो, गुरु दक्षिणा पनि लिनुभयो ।
गुरुले जे दक्षिणा माग्छन्, त्यो दिनुपथ्र्यो । एउटा राम्रो इडिटर थियो, मानेदादा भन्ने । उसको एउटै कमजोरी थियो, दारु । उसले गुरुलाई भन्यो, ‘गुरु, मसँग पनि दक्षिणा माग्नुस् ।’
‘जे मागे पनि दिन्छस् ?’
‘दिन्छु ।’
गुरुले ‘सोच है, दिन सक्दैनस् फेरि’ भन्दै हुनुहुन्थ्यो । उसले ‘सक्छु’ भन्यो । गुरुले भन्नुभयो, ‘त्यसो भयो, तँसँग भएको दारु मलाई दे ।’ उसले आँखाभरि आँसु पारेर साथको दारु झिकेर दियो ।
उहाँले हिँड्ने बेला पाँच सय रुपैयाँ दिनुभयो । मैले भनेँ, ‘दाइ तपाईं जस्तो मान्छेसँग एकछिन बसेर काम गर्न पाएँ, यही मेरा लागि ठूलो छ, पैसा पर्दैन दाइ ।’ उहाँले भन्नुभयो, ‘दाइको आशीर्वाद सम्झेर राख्नू ।’ त्यो पैसा मसँग अझै पनि छ
गुरुले भन्नुभयो, ‘अब यो दारु तिम्रो रहेन, मलाई दिइसक्यौ । तिमीले अब यसलाई छुन पनि पाउने छैनौँ ।’
त्यसपछि मानेदादाले दारु खान छाडे । मैले गुरुलाई गुरु दक्षिणा माग्न भनेँ । गुरुले भन्नुभयो, ‘तिमीले नेपाली भाषामा १० वटा फिल्म बनाउनू ।’ अब कहाँबाट पैसा ल्याएर १० वटा नेपाली फिल्म बनाउनु ! गुरुलाई भेटेर त्यो गुरु आज्ञा फिर्ता लिएर अरु आज्ञा दिन भन्छु सोचेको थिएँ । गुरुकहाँ जान भ्याइरहेको थिइनँ । एक सातापछि एउटा साथीले फोन गरेर ‘गुरुको घरमा तुरुन्त आउन’ भन्यो, म पुगेँ । मान्छेहरूको भीड थियो, गुरु त बित्नुभएछ ।
बाँसुरी फिल्म
नेपाली फिल्म बाँसुरी निर्देशन गर्ने भएँ, सन् १९८० तिरको कुरा हो । कथा तयार गरेँ, गुल्जार साहेबसँग सोधी-सोधी । त्यहीबेला मेरो रन्जितदाइ (गजमेर)सँग भेटघाट भयो । यसमा रन्जितदाइको संगीत छ । उहाँको घर बम्बई खारमा थियो । उहाँ सुरुमा दार्जिलिङमै संगीतकर्म गर्नुभयो । त्यसपछि नेपाल आउनुभयो, नेपालबाट फेरि बम्बई जानुभएको ।
रन्जितदाइ र म फिल्म निर्माता खोज्न हिँड्यौँ । एकजना बंगाली मित्र मोहन बेनर्जी भन्नेले पाँच लाख रुपैयाँ लगानी गर्ने भए । यो फिल्मको सुट कालिम्पोङमा गर्यौँ, मेरै घरको खाना खाएर, त्यसैले सस्तोमा बन्यो । मोहन बेनर्जीले इन्डियाका विभिन्न ठाउँ यो फिल्म चलाए, राम्रै कमाइ गर्यो । यो फिल्ममा एउटा गीत थियो- हिमाल जलेर ज्वाला भएछ । नेपालमा यसको गलत अर्थ लगाइयो, हाम्रो हिमाल जलायो भनेर । यो गीत नेपालमा ब्यान गरियो । त्यसैले बाँसुरी नेपालमा त्यति चल्न पाएन ।
नेपाल यात्रा
सन् १९८४ तिर नेपाली फिल्म कुसुमे रुमाल बनाउने भएँ, भारतमै बसेर । यसमा हामी साथीभाइकै लगानी छ । यसमा भुवन केसी हिरो छन् । त्यतिबेला भुवन बम्बईमा स्ट्रगल गर्दै थिए । उनी बलिउड नायिका रजनी शर्माकहाँ गएका रहेछन् । मलाई रजनीले भनिन्, ‘एउटा नेपाली केटा छ, एकदमै राम्रो । नेपाली फिल्म बनाउने भए उसैलाई लिएर बनाउनू ।’
पछि यो फिल्म उद्धव पौडेलले नेपालमा ल्याए । त्यतिबेला नेपाली फिल्म नेपालमा चल्न नेपालमै बनेको र नेपाली निर्माता हुनुपर्थ्यो । उद्धव पौडेलले नै यसलाई नेपाली फिल्म बनाउने विभिन्न प्रक्रिया पूरा गरे । त्यसरी नेपालमा चलाइयो ।
फिल्म अन्यायको सुटिङका लागि नेपाल आएँ, सन् १९८७ तिर । यसपछि लाहुरे बनाएँ । लाहुरे भने सिक्किममै बनायौँ । निर शाहजीले लाहुरे नेपालमा पनि प्रदर्शन गर्ने व्यवस्था मिलाउनुभयो, भृकुटीमण्डपमा निकै दिन चल्यो ।
मेरो भाइ श्रवणले नेपालीसँग बिहे गरेपछि मैले बुहारीको नाममा फिल्म इन्डस्ट्री खोलेँ- अजम्बरी फिल्मस् । बुहारीको नाममा घर पनि छ, सामाखुसीमा । त्यसपछि नेपालमै बसेर फिल्महरू बनाएँ । अहिलेसम्म २१ वटा नेपाली फिल्म निर्देशन गरेको छु, तीनवटा सिरियल बनाएँ । चिनो, लाहुरे र कुसुमे रुमाल नेपालमा सिल्भर जुबिली (२५ हप्ताभन्दा बढी) मनाएका फिल्म हुन् ।
नेपालसँग जोडिएको मन
म नेपाली बोलेर, नेपाली भाषामा सोचेर हुर्केको हुँ । तर, हामी नेपालीभाषी भारतीयको त पहिचान नै हाँसउठ्दो छ । भारतमा हामीलाई नेपाली भन्छन्, नेपालमा भारतीय ।
मेरो बुवाआमा नेपालको ताप्लेजुङबाट कालिम्पोङ जानुभएको हो- बसाइँ सरेर, पलायन भएर भनौँ । म कालिम्पोङमा जन्मे, भारत मेरो मातृभूमि हो, नेपाल कर्मभूमि । पितापूर्खाको हाड अझै ताप्लेजुङमै होला । त्यसैले नेपाल पितृभूमि हो मेरो । माता मान्ने कि पिता मान्ने ? जन्म मान्ने कि कर्म मान्ने ? राम मान्ने कि सीता ? राम भारतको सीता नेपालकी । बाँडिएर, टुक्रिएर सोच्दा हामीलाई दुखाउने कुरा धेरै आउलान्- कसैले धोती भन्ला, कसैले छहत्तरे ।तर, यस्ता दुखाइले छोएन, नेपाल र नेपालीको मायाले जित्यो र म नेपालमा छु ।
बम्बईमा संघर्ष गर्दा नै रन्जित गजमेरकी छोरी भारतीसँग मेरो चिनजान भयो । सन् १९८६ मा हामीले बिहे गर्यौँ । हाम्रा दुई छोरी छन्, बम्बईमा पढ्दै छन् । श्रीमती भारती पनि बम्बईमै छन् । म कहिले बम्बई, कहिले नेपाल, कहिले कालिम्पोङ आउजाउ गरिरहन्छु ।
फिल्मको कामले बम्बई गइरहनुपर्छ । अहिले दपर्णछाया-२ को तयारीमा छु । त्यसपछि एउटा ऐतिहासिक फिल्म बनाउने योजनामा छु ।
गुरुले १० वटा नेपाली भाषाको चलचित्र बनाउन भन्नुभएको थियो । त्यो पूरा गरेपछि म बम्बई र्फकने सोचेको थिएँ । बम्बई मेरो घर हो, त्यहाँ मलाई गाह्रो थिएन । तर, त्यतिबेला प्रकाश थापादाइ, जितेन्द्र महत अभिलाषीजी, निर शाहजी लगायतले भन्नुभयो, ‘तपाईंको समाज नै यही भइसक्यो । तिमीलाई नेपाली दर्शकले अति नै माया गर्छन् । यतै बस ।’
प्रकाशदाइले त ‘नेपाली दर्शकले मलाईभन्दा तिमीलाई धेरै माया गर्छन्’ भन्नुभएको थियो । मलाई बस भन्ने प्रकाशदाइ आफैँ धर्ती नै छाडेर जानुभयो, म नेपालमै छु ।
बम्बई फर्केको भए पनि म सफल हुन्थे होला । तर, नेपाली दर्शकको मायाले बाँध्यो मलाई । अहिले यहाँको एयरपोर्टमा मैले भारतीय पासपोर्ट निकाल्छु । त्यहाँका कर्मचारीले मायाले भन्छन्, ‘दाइ यो त भएन, नेपाली पासपोर्ट चाहियो ।’
मेरा सिर्जनाका अनमोल पलहरू यहाँ बिते । नेपालका दुःख र सुखका दिन पनि देखेँ । नेपालमा सुख आउँछ भन्ने आशाका दिनहरू पनि बिताएँ । नेपाललाई नजिकबाट हेरेँ, छोएँ । यतिसम्म कि जन्मभूमि भारतसँग भन्दा मेरो अट्याचमेन्ट नेपालसँग छ ।
प्रस्तुति: ध्रुवसत्य परियार
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं