१० चैत, काठमाडौं । शहरी विकास प्राधिकरणमा पुग्दा सोमबार २७ वर्ष लामो जागिरे जीवनको अन्तिम दिन भाइकाजी तिवारी सामान्य दिनजस्तै धडाधड काम गरिरहेका भेटिए । उनी आँखै नझिम्क्याई नक्साका ढड्डामा हस्ताक्षर धस्काइरहेका थिए । टेबलमा राखिएको उनको ह्याण्ड फोन बज्यो । आफ्ना दुबै ‘ह्यान्ड्स’ ‘फ्री’ नभएका कारण उनले ‘ह्यान्ड्स फ्री’ मा फोन उठाए ।
महिला स्वर सुनियोेः भाइकाजी सर बोल्नुभा हो ?
भाइकाजीले भनेः हो, भन्नुस्
महिला स्वरः सर, हामीले त आजबाट घर भत्काउन थालिसक्यौं । वरिपरिका ३ वटा घर अझै भत्काएनन् । के गर्ने होला ?
भाइकाजीः ठीक छ, भत्काएनन् भने डोजर आएर भत्काउँछ
महिलाः कहिले आउँछ त सर डोजर ? सर, आफैं आउनुहुन्छ ?
भाइकाजीः मेरो जागिर त आजबाट सिद्दियो ।
महिलाः ला…. हो र सर ? किन, कसरी सर ?
भाइकाजीः अनिवार्य अवकाश पाएको हुँ ।
महिलाः ला… अब के हुन्छ सर ? कसले भत्काउँछ त ?
भाइकाजीः ‘मेरो ठाउँमा अर्को व्यक्ति आइहाल्नुहुन्छ नि ।’
महिलाले रुँला झैं गरेर फोन राखिन् । भाइकाजी हस्ताक्षरमै लीन भइरहे ।
बाटो विस्तार गर्दा माथिबाट निकै दवाव अाएको थियो । नारायण खड्का शहरी विकास मन्त्री हुँदा बालाजु बाइपासमा डोजर नहान्न आदेश दिएका थिए । ‘उहाँको आदेशमा मैले जवाफ दिएँ- बन्दुकबाट गोली निस्किसक्यो, गोली अब बन्दुकमा फर्किदैन मन्त्रीज्यू ।’
बिरालोको घाँटीमा घण्टी
भाइकाजी भन्नेवित्तिकै शहरवासीले फराकिला सडक सम्झिन्छन् । हुन पनि काठमाडौंको सडक बिस्तार अभियानमा उनले नेतृत्वदायी भूमिका निभाएका छन् । गाली र ताली सँगसँगै खाए । सोमबार आफ्नो जिम्मेवारीबाट मुक्त हुँदै गर्दा भाइकाजी आधा सन्तुष्ट छन् । ‘काम आधाउधि सकियो, आधा त बाँकी नै रह्यो ।’
काठमाडौंका सडक विस्तारको योजना नयाँ थिएन
भाइकाजीका अनुसार ०३३ सालदेखिको योजना हो यो । तर, यो काम असहज थियो । सडक चौडा बनाउन घर भत्काउन पथ्र्यो । जनताका घरमा डोजर लगाउन फलामको छाति भएको व्यक्ति चाहिन्थ्यो ।
भाइकाजीका शब्दमा यो काम बिरालोको घाँटीमा घन्टी बाँध्नु जस्तो थियो । पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा धेरैले सत्ता सम्हाले, तर कसैले पनि घन्टी झुण्ड्याउने हिम्मत गरेनन् । सबैलाई काठमाडौंवासीमाझ अलोकपि्रय भइने डर थियो । विरोध खेप्नुपर्ने चिन्ता थियो । बिरालो पनि थियो, घण्टी पनि थियो, तर बाँध्न कोही अघि सरेनन् ।
१० वर्ष एउटै कुर्सीमा
इन्जिनियरिङको पढाइ पूरा गरेपछि भाइकाजी लोकसेवा आयोगबाट नाम निकालेर नेपाल कागज उद्योग लिमिटेडमा सातौं तहको सिभिल इन्जिनियर भए । त्यहाँ काम गर्दैगर्दै फेरि लोकसेवा दिएर बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहको इन्जिनियरमा नियुक्त भए । ०४५ साल, मंसिर २४ गते उनले सो नियुक्ति लिएका थिए ।
भाइकाजी ०५८ साल माघदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, त्यतिखरको नगरविकास समितिभित्र प्रवेश गरे । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा प्राधिकरण पसेका उनी एकैपटक रिटायर्ड भएपछि निस्केका छन् । ०६२ सालदेखि उनी एउटै कुर्सीमा थिए ।
जर्मनीबाट पीएचडी गरेर ०५६ सालको जेठमा फर्केपछि नै उनले यो जिम्मेवारी खोजेका थिए । तर, पाएनन् । त्यसपछि उनले १९ महिना रामेछापको भवन निर्माण तथा शहरी विकास कार्यालयमा रहेर काम गरे ।
‘काठमाडौंको मुहार फेर्ने सपना मेरो पहिलेदेखि नै थियो, त्यसैले यो पदमा काम गर्ने इच्छा व्यक्त गरेर तर पाइनँ । यहाँ सरुवा नपाएपछि शशीबाबु थापा सरलाई नमस्ते गर्नै छाडिदिएको थिएँ,’ झक्की स्वभावका भाईकाजी भन्छन् । एक दिन बाटोमा भेट भएपछि उनैले च्याप्प समातेर काठमाडौं ल्याए ।
राजाको शासनकालमा सुरक्षा निकायको मिटिङ बसेको थियो । त्यसमा उनलाई पनि बोलाइएको थियो । वैठकमा कुरा उठ्यो, ‘काठमाडौंमा माओवादीले चार ठाउँमा बम पड्काए भने सेना र सुरक्षा निकायको मुभमेन्ट पनि हुन सक्दैन ।’ त्यसको विकल्पक रुपमा बाग्मति कोरिडोर खोल्ने निर्णय भयो । कोरिडोर खोल्ने क्रममा सिनामंगल एरियामा १४० वटा सुकुम्वासी टहरा हटाएर १२ मिटरको बाटो बनाएको उनले बताए ।
यसरी भयो राजधानी फराकिलो
काठमाडौंको सडक विस्तारमा हामी सियो बनेर पसेर हात्ती बनेर निस्केका हौं,’ भाइकाजी भन्छन् । बाबुराम अर्थमन्त्री भएपछि फराकिलो सडकको परिकल्पनाले मुर्त रुप लिन थालेको उनको भनाई छ ।
भट्टराई अर्थमन्त्री भएपछि बोलाएको एउटा छलफलमा भाईकाजी पनि पुगेका थिए । उक्त छलफलमा भट्टराईले भने, ‘नयाँ नेपाल, नयाँ नेपाल भनेर सरकारमा आएका छौं । साँच्चिकै नयाँ नेपाल बनाउन के गर्ने हो ? तपाईहरुले सघाउनुपर्यो ।’ सोही वैठकमा काठमाडौंका सडक विस्तारको ठोस निर्णय भएको उनी बताउछन् ।
भाईकाजी भन्छन्, ‘घर भत्काउनका लागि मान्छेको घरदैलोमा पुगेर नमस्ते गर्दै हिँड्न सम्भव थिएन । सानातिना विरोधलाई वेवास्ता गर्दै एकतर्फी रुपमा अघि बढ्नुपर्छ भने कुरा भयो ।’
बाटो विस्तारका लागि सुरुमा सम्वन्धित क्षेत्रका भुपु वडाध्यक्षहरु सम्मिलित उपभोक्ता समिति बनाइयो । समिति दर्ता गर्न नगर विकासको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय कार्यालय जाँदा जिप्रकाले मानेन । ‘सडक बनाउने काम सडक विभागको हो’ भनेर उसले फाइल सडक विभागमा पठायो । सडक विभागले पनि नगर विकासले सडक बनाउन पाउदैन भनेर सिफारिस दिन अस्वीकार गर्यो । सो फाइद घुम्दै मन्त्री हिसिला यमीसम्म पुग्यो । मन्त्रीबाट निर्णय भएर आएपछि बल्ल समितिले वैधानिकता पायो ।
समिति गठन भएपछि सबैभन्दा पहिले तीन नम्बर वडा कार्यालयमा भेला डाकिएको थियो । भेलामा सहभागीहरुले पहिले बाटो मिचेर बनाएका सरकारी संरचना भत्काएर देखाएपछि मात्रै जनताका घर भत्काउन सकिने सुझाव दिए । ‘पहिले भैरवनाथ गणको पर्खाल फुटाउनुस् अनि जनतासँग कुरा गर्न आउनुस’ छलफलमा आवाज उठ्यो ।
भाइकाजी सम्झन्छन्, ‘यसरी त्यो काम थाल्न सात महिना लाग्यो । न सेनाले स्वीकृति दियो, न प्रहरीले । म आफैं सारा निकायमा पुगेर कुरा गरेँ । सबैलाई कन्भिन्स गरेँ, अनि काम सुरु गरेँ ।’
काठमाडौंको ४ नम्बर वडा कार्यालयको भेलामा सांसद नरहरी आचार्यले घर भत्काउने कुरामा विरोध जनाए । त्यसपछि ‘जनतालाई क्षतिपूर्ति दिएर मात्रै बाटो बनाउने’ भनेर माइन्युट तयार गरियो । त्यसमा भाइकाजीले सही गर्न मानेनन् । उनले अड्डी लिए, ‘ऐनअनुसार बाटो मिचेर बनाएका संरचना भत्काउन क्षतिपूर्ति दिनुपर्दैन । सबैको योगदानमा बाटो बिस्तार हुने हो ।’
त, त्यहीँ भएको माइन्यूटको आधारमा ७९ जनाले पुनरावेदनमा मुद्दा हाले । पुनरावेदनले ‘क्षतिपूर्ति दिएर मात्रै बाटो बिस्तार गर्न’ आदेश दिएपछि नगरविकास सर्वोच्चमा गयो । सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा दुईवटा सरकार फेरिए, माधव नेपाल र झलनाथ खनालका । मुद्दा हाल्नेहरुको काम रोकियो भने अरुको काम खुरुखुरु भइरह्यो । त्यसपछि बाबुराम प्रधानमन्त्री बने ।
प्रधानमन्त्री बनेलगत्तै बाबुरामले आफू जनताको छोरो भएकाले स्कटिङ नलिने भन्दै एक्लै मुस्ताङ गाडी चढेर सिंहदरबार र बालुवाटार आउजाउ गर्न थाले । तर, आउजाउ गर्न मात्रै घन्टौं लागेपछि उनले आत्तिँदै बैठक बोलाए । राष्ट्रिय सभागृहमा आयोजित वैठकमा विभिन्न कुराहरु उठे । डिजाइन पास गरौं अनि बजेट स्वीकृत गराएर काम थालौं भन्ने धेरैको धारणा थियो । तर, भाइकाजीले अर्कै कुरा गरे । उनले भने, ‘सुल्टो चालाले हुने भए पहिले नै हुन्थ्यो । अब तोडफोडमै उत्रिनुपर्छ । ध्वंश गरेपछि निर्माण अवश्य हुन्छ ।’
ट्राफिक प्रहरीका डीआइजी गणेश राईले ‘ठीक ठीक’ भन्दै भाइकाजीलाई सही थापे । दुई हस्तीको कुरा मिलेपछि अरु सबै मौन भए । त्यसपछि भाइकाजीको संयोजकत्वमा बाटो विस्तार कार्यदल गठन भयो ।
वर्षेनी बाटो बिस्तारका लागि भनेर प्राधिकरणमा बजेट आउँथ्यो । त्यो वर्ष आएको ८० लाखमध्ये २५ लाख रुपैयाँ बाँकी थियो । भाइकाजीले त्यही २५ लाख रुपैयाँबाट काम सुरु गर्न थाले । सबैभन्दा प्राथमिकताका सडकहरुलाई लिएर सूचना तथा माइकिङ गरियो ।
सबैभन्दा पहिलो दिन नन्दी रात्री स्कुलको बाइपास खोलियो । एभरेस्ट होटलको स्वीमिङ पुल र कम्पाउन्ड फाल्दा ठूलै तरंग उत्पन्न भएको थियो । भाईकाजी त्यतिबेलासम्म चर्चित बनिसकेका थिए ।
‘एकैचोटि डोजर लिएर गएर भत्काइएको होइन,’ भाइकाजी भन्छन्, ‘सुरुमा नोटिस गर्यौं, माइकिङ गर्यौं । त्यसपछि पनि अटेर गर्नेहरुको मात्र डोजरले भत्काएका हौं ।’ पहिलोपटक डोजर लगाइएको चाहिँ कमलपोखरीमा थियो । त्यहाँ कृष्ण पाउरोटी रहेको घरका विषयमा घरधनी दाजुभाइबीच अंशको झगडा रहेछ । भाइकाजी भन्छन्, ‘दाजुचाहिँ भत्काउन दिन्न भन्दै उफ्रियो भने भाइ भत्काइहाल भन्दै उफ्रियो । हामीले पनि डोजर पठाएर भत्काइदियौं ।’
घर भत्काउने क्रममा सबैभन्दा ठूलो अवरोध लाजिम्पाट, सोह्रखुट्टे कुलेश्वरको गणेस्थान, बल्खु लगायतका स्थानमा भए । उपत्यकाव्यापी संघर्ष समिति गठन नै गठन गरेर काठमाडौंवासी आन्दोलनमा उत्रिए । धेरै ठाउँमा कालो व्यानर झुण्डिए र पोष्टर टाँसिए । सडकमा धर्ना दिनेदेखि अख्तियारमा उजुरी गर्ने कामहरु समेत भए । व्यक्तिगत रुपमा उनलाई विभिन्न धाकधम्कीहरु समेत आउन थाले । असुरक्षित भएपछि उनले घरमा सुरक्षा गार्ड राख्नुपर्ने अवस्थासम्म आयो ।
फोनबाट धम्क्याउने एकजनालाई त भाइकाजीले प्रहरी लगाएर थुनाए पनि । उनलाई तीन दिन कारागारमा राखेर माफी माग्न लगाएर छोडियो । त्यसपछि विस्तारै धम्की आउन कम हुँदै गयो ।
हिजो सडक विस्तारको विरोधमा उत्रिनेहरु समेत आज आफ्नो प्रशंसा गरेर नथाक्ने भन्दै प्रफुल्ल बन्छन् भाइकाजी । उनी भन्छन्, ‘संघर्ष समिति बनाएर आन्दोलन हाँक्नेहरु नै आज तपाईंले गरेको ठीक रहेछ भन्दै फोन गर्छन् ।’
म अझै पनि काठमाडौंलाई व्यवस्थित बनाउनका निम्ति योगदान दिन इच्छुक छु । तर, जिम्मेवारी पाउनकै लागि कसैको घरदैलो चहार्दिन । सरकारले दिएन भने निजी क्षेत्र छँदैछ ।
सडक विस्तारमा पुर्याएको योगदानकै निम्ति भाईकाजीले खिलराज रेग्मी सरकारका पालामा सर्वोत्कृष्ट निजामति पुरस्कार प्राप्त गरे ।
मन्त्रीलाई जवाफः गोली निस्किसक्यो
बाटो विस्तारमा नेतृत्व गर्दा उनले माथिबाट निकै दवाव खेप्नुपरेको उनले बताए । नारायण खड्का शहरी विकास मन्त्री हुँदा बालाजु बाइपासमा डोजर नहान्न आदेश दिएका थिए । भाइकाजी भन्छन्, ‘उहाँको आदेशमा मैले जवाफ दिएँ- मैले बन्दुकबाट गोली पड्काइसकेँ, अब यो गोली बन्दुकमा फर्किदैन मन्त्रीज्यू ।’
धोविखोला कोरिडोर बनाउँदा तत्कालीन मन्त्री हृदयेश त्रिपाठीले पनि उनलाई थुप्रै पटक घुमाउरो चेतावनी दिएका थिए । तर, उनी लत्रिएनन् ।
भूकम्पले पाठ सिकायो
भूकम्पपछि सडक विस्तारको महत्व प्रकट भएको उनको अनुभव छ । ‘बाटो पहिले झैं साँघुरो भएको भए मानिसहरु बाहिर निस्केर ज्यान जोगाउन सक्ने थिएनन् । कति भागदौडमा परेर मर्थे । कति सवारी साधन किचिन्थे कुनै लेखाजोखा छैन ।’ उनी भन्छन् ।
सडक छेउछाउका घरहरुलाई ताछ्दै हिँडेपछि उनलाई कतिपय इन्जिनियर साथीले भनेका थिए, भूकम्प आयो भने यी सबै घरहरु सोत्तर हुनेछन् । तर, उनले जवाफ दिएका थिए, ‘म पनि इन्जिनियर हुँ । कसरी ढल्दा रहेछन् हेरौं ।’
आफूले भनेजस्तै एक पाखो भत्काइएका घरहरु भुकम्पमा कुनै पनि नभत्केको उनको दावी छ । भाइकाजी भन्छन्, ‘घर काटिएपछि पिल्लरमा लोड कम पर्यो र ती घर झन् बलिया भए । हिजो ५० किलो बोक्दै मान्छेले त्यसबाट २० किलो झिकेपछि झन् बोक्न नसक्ने कुरै थिएन ।’
बाँकी काम यी हुन्
राजधानीमा बाटो बिस्तारको काम ६० प्रतिशत सम्पन्न भएको र ४० प्रतिशत बाँकी रहेको बताउँछन् भाइकाजी । उनका अनुसार सबैभन्दा प्राथमिकतामा अब गौशाला-चाबहिल, चाबहिल-जोरपाटी-सुन्दरीजल, जोरपाटी-साँखु -सुरु भइसकेको), त्रिपुरेश्वर नागढुंगा -शुरु भैसकेको), अब सुरु गर्नुपर्ने टियु गेटदेखि दक्षिणकाली, लगनखेलदेखि सातदोबाटो हुदै गोदावरी, सातदोबाटो हुँदै लुभु, चक्रपथबाट सितापाइला हुदै रामकोट छन् । अरु सानातिना सडक त छँदैछन् । अब बाटो विस्तार गर्न पहिले जस्तो झमेला छैन ।
तर, बाटो बिस्तार गरेर मात्रै राजधानी व्यवस्थित नहुने भन्दै उनले यसका लागि राजधानीको जनघनत्व कम गर्नु अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
उनी भन्छन्, ‘यो साँघुरो शहरले यत्रो ठूलो जनघनत्व लामो समय थेग्न सक्दैन । त्यसैले हामीले विगतदेखि नै स्याटेलाइट सिटीको परिकल्पना गर्दर्ै आएका छौं । भुकम्पपछि त यो झनै अपरिहार्य देखिएको छ ।’
धेरै दिन आराम नगर्ने
सोमबारदेखि एकाएक फुर्सदिला बनेका छन् भाईकाजी । २७ वर्षदेखिको रुटिन भत्किएको छ । बिहान उठ्छन् र घडी हेर्छन् । मुख धुन कुनै हतारो छैन । खाना जतिबेला खाए पनि भयो । अफिस जानु छैन । आज कहाँ डोजर पठाउने भन्ने चिन्ता छैन । फुर्सदै फुर्सद छ ।
यद्यपि, धेरै दिन हाई काढेर बस्ने मुडमा पनि छैनन् उनी । केही दिन आराम गरेपछि कुनै न कुनै हिसाबले सक्रिय जीवनमा फर्किने योजना छ । सरकारले अझै उनलाई कुनै जिम्मेवारीको लायक ठान्यो भने सहर्ष स्वीकार्नेछन् । अन्यथा जहाँबाट राम्रो अफर आउँछ, त्यतै लाग्नेछन् ।
भाइकाजी भन्छन्, ‘म अझै पनि काठमाडौंलाई व्यवस्थित बनाउनका निम्ति योगदान दिन इच्छुक छु । तर, जिम्मेवारी पाउनकै लागि कसैको घरदैलो चहार्दिन । सरकारले काम दिएन भने निजी क्षेत्र छँदैछ ।’
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं