रमेश धमला
१० चैत, काठमाडौं । अध्यागमन विभागको हिरासतमा थुनिएका ९ जना विदेशी मध्येका एक हुन् जापानी नागरिक क्रियुसी युसी । करिब ५ वर्ष अगाडि नेपाल घुम्न आएका क्रियुसी तोकिएको भन्दा लामो समय नेपाल बसे, त्यो पनि विना भिसा ।
उनी प्रहरी र अध्यागमनलाई छक्याउँदै महेन्द्रनगरतिर घुम्दै थिए । तर, गत माघ ३ गते महेन्द्रनगरमा प्रहरीको चेकिङमा परे । पासपोर्टमा भिसा सकिएको लामो समय भैसक्दा पनि बिना रोकतोक महेन्द्रनगरमा घुमिरहेका क्रियुसीलाई त्यहींबाट पक्राउ गरेर प्रहरीले अध्यागमन विभागलाई बुझायो ।
अध्यागमनले ती जापानी नागरिक विरुद्ध भिसाभन्दा लामो समय बसेको अर्थात ‘ओभर स्टे’अन्तर्गत कारबाही अगाडि बढायो ।
अध्यागमन विभागका अनुसार उनी ४ वर्षभन्दा लामो समय विना भिसा नेपाल बसिरहेका थिए । त्यो वापत उनले भिसा शुल्क र जरिवाना गरी करिब ७ लाख रुपैंया बुझाउनुपर्नेछ । तर, उनले रकम बुझाउन सकिरहेका छैनन् । अदालतको फैसलाअनुसार आवश्यक जरिवाना तिर्न नसकेपछि उनी अहिले हिरासतमा छन् ।
इरानी नागरिकहरु प्याम जमासिद्धि र मस्ताफा सालिजोहि अरल पनि गत फागुन १२ गते काठमाडौंको बूढानीलण्ठबाट पक्राउ परे । ती दुई इरानी नागरिकहरु पनि भिसाभन्दा लामो समय बसेपछि पक्राउ परेका थिए । उनीहरुले पनि अध्यागमनमा बुझाउनु पर्ने जरिवाना र भिसा शुल्क तिर्न सकेका छैनन् । त्यसैले अध्यागमन विभागले दुबैलाई जरिवाना र भिसा शुल्क दुबै कट्टा हुने गरी कारागार पठाउने तयारी गरिरहेको छ ।
ठगी आरोपमा सजायँ भुक्तान गरिसकेका लाइबेरियाका नागरिक रायल मिक्कुललाई पनि अध्यागमनले फिर्ता पठाउने तयारी गरिरहेको छ । ठगी आरोपमा पक्राउ परेका मिक्कुलले जरिवाना स्वरुप बुझाउनुपर्ने करिब ८ हजार ५ सय रुपैयाँ तिर्न नसकेपछि त्यति नै बराबरको जेल सजायँ भुक्तान गरेका छन् ।
उल्लेखित व्यक्तिहरु विभिन्न आरोपमा पक्राउ परेर आवश्यक सजायँ भुक्तान गरिरहेका वा गरिसकेर फिर्ता पठाउन लागिएका विदेशीहरु हुन् । गैरकानुनी रुपमा नेपालीहरुलाई विदेशबाट फर्काइए जस्तै नेपालमा गैरकानुनी रुपमा बसेका विदेशीहरुलाई पनि स्वदेश फर्काउने गरिएको छ । यो वर्ष मात्रै गैरकानुनी रुपमा नेपालमा बसेका ५० जना विदेशी नागरिकहरुलाई फिर्ता पठाइएको छ ।
कस्ता-कस्ता विदेशीलाई फिर्ता पठाइन्छ ?
भिसाभन्दा लामो समय बसेका वा विभिन्न अपराधमा संलग्न विदेशीहरुलाई आवश्यक सजायँ पछि अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुकै देश फिर्ता पठाउने गरेको छ ।
नेपालबाट फिर्ता पठाइएका प्रायजसो विदेशीहरु लागुऔषध कारोवारमा संलग्नहरु र भिसाभन्दा लामो समय बसेकाहरु छन् । कतिपय विदेशीहरु भिसा सकिएपछि नेपालमै बस्ने र फर्किने बेलामा पक्राउ परेका छन् भने कतिपय चेकजाँचको क्रममा पनि पक्राउ परेका छन् ।
अध्यागमन विभागका अनुसन्धान अधिकृत उमेश दाहालका अनुसार प्रायजसो विदेशीहरुलाई प्रहरीले नै पक्राउ परेर बुझाउने गरेको छ ।
लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेर सजायँ भुक्तान गरिसकेका विदेशीहरुलाई पनि अध्यागमन विभागले फिर्ता पठाइदिने गरेको छ । विषेशगरी लागुऔषध कारोबारलगायतका घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ भने भिसाभन्दा लामो समय बस्नेहरु विमानस्थलमा पक्राउ परेका छन् ।
दाहाल भन्छन्, ‘भिसाभन्दा लामो समय कतिपय विदेशीहरु जरिवानामा छुट पाइन्छ कि भनेर बस्ने गरेका छन् । तर, जब पक्राउ पर्छन् त्यसपछि कसैलाई परिवारसँग पैसा मागेर आवश्यक जरिवाना तिरे फिर्ता पठाइएको छ भने जरिवाना तिर्न नसक्नेहरु जेल जान्छन् ।’
५ वर्षमा ३०७ जना फिर्ता
नेपालमा आएर अवैध धन्दामा संलग्नदेखि विभिन्न अपराध तथा भिसाभन्दा लामो समय बसेको आरोपमा ०६८ सालदेखि अहिलेसम्म ३ सय ७ जनालाई फिर्ता पठाइएको अध्यागमन विभागको तथ्यांकमा छ । यो वर्ष मात्रै ५० जना विदेशीलाई फिर्ता पठाइएको छ । त्यसमा लागुऔषध कारोवारीदेखि भिओआइपी अर्थात् कलबाइपासका आरोपीहरुसम्म छन् ।
त्यसो त नक्कली पासपोर्टमा नेपाल आउनेहरु पनि पक्राउ परेर फिर्ता पठाइएका छन् । त्यसैमध्येकी एक हुन् बंगलादेशी नागरिक टासिन लहमो । नक्कली पास्पोर्टमा नेपाल आएकी उनलाई ५ वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएर फिर्ता पठाइएको छ ।
नक्कली पासपोर्ट, कल बाइपास लगायतका घटनामा प्रायजसो बंगलादेशका नागरिकहरु संलग्न हुने गरेको पाइएको छ भने ठगीमा भियतनामी, नाइजेरियनहरु संलग्न हुने गरेको अध्यागमनको रेकर्डमा छ ।
पर्यटक प्रहरीको खाँचो
अमेरिका, युरोपलगायतका देशबाट आउनेहरुमा केही भिसाभन्दा लामो समय बस्नेहरु छन् भने अधिकांश लागुऔषधसहित पक्राउ परेकाहरु छन् । अमेरिका र युरोपमा नागरिकहरु नेपाल आएर चरेस बोकेर जाने क्रममा पक्राउ पर्ने गरेको तथ्यांक छ ।
विभागका निर्देशक बासु घिमिरेकाअनुसार कम खर्चमा पनि दैनिकी चलाउन सकिने भएकाले कतिपय विदेशीहरु लामो समयसम्म नेपालमै बस्ने गरेका छन् । त्यस्ता विदेशीहरुमा कोहि गलत धन्दामा पनि संलग्न हुने गरेको भेटिएकाले पर्यटक प्रहरीको संख्या र क्षमता बढाउनु पर्ने निर्देशक घिमिरे बताउँछन् ।
‘ओभर स्टे’मा कस्तो कारबाही हुन्छ ?
नेपालमा आएर तोकिएको भिसाभन्दा लामो समय बसेमा प्रत्येक दिनको भिसा शुल्क ३ डलर र जरिवाना २ डलर गरेर दिनको ५ डलरको दरले बुझाउनुपर्ने हुन्छ ।
विभिन्न अपराधमा संलग्न भएकाहरुलाई भने आवश्यक सजायँ पूरा भएपछि अध्यागमनले फिर्ता पठाउने गरेको छ । अपराधमा संलग्नहरुलाई कसुर हेरेर नेपाल आउन प्रतिबन्धसमेत लाग्ने गरेको छ ।
नेपाल आउन खोज्ने कतिपय विदेशीहरु बिमानस्थलबाटै फर्काइएका छन् । विषेश गरेर नेपालले कालो सूचीमा राखेका व्यक्तिहरु नेपाल आउन प्रयास गर्ने तर उनीहरुलाई बिमानस्थलबाटै फिर्ता पठाउने गरिएको विभागका निर्देशक बासु घिमिरे बताउँछन् ।
निर्देशक घिमिरे भन्छन्, ‘इन्टरपोलले पक्राउ सूचीमा राखेका देखि नेपालले समेत प्रतिबन्ध लगाएका व्यक्तिहरु आए भने बिमानस्थलबाटै फिर्ता पठाउने गरिएको छ ।’
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment