डा. योगी विकाशानन्द
एउटा भनाइ छ- तिमी त्यस्तै बन्छौ, जस्तो खान्छौँ । हाम्रो शरीरमा ५० मिलियनभन्दा बढी सेल खानाबाट बनेका हुन्छन् । मस्तिष्कका सेल पनि खानाबाट बन्छन् । अब मस्तिष्कको बनावटजस्तो छ, सोच-विचार, कार्य पनि त्यस्तै हुन्छ । त्यसकारण भोजनलाई ध्यान दिनुपर्ने हुन्छ । तर, हामी नेपालीले भोजनमा गल्ती गरिरहेका छौँ, यो मेरो मेडिकल बुझाइ हो । किनकि म अल्टरनेटिभ मेडिसिनमा ट्रेन भएको व्यक्ति हुँ ।
खानाका वर्ग
भोजनलाई पाँच वर्गमा विभाजन गर्न सकिन्छ- कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स र मिनिरल्स । यी पाँच वर्गभित्र हामीले खाने सबै भोजन पर्छन् ।
१) कार्बोहाइड्रेट
सबैभन्दा बढी कार्बोहाइड्रेट खान्छौँ । कार्बोहाइड्रेट भन्नासाथ जति पनि अन्न वर्ग छन्- गहुँ, जौ, मकै, कोदो, फापर र चामल र आलु-सखरखण्ड पनि कार्बोहाइड्रेटभित्रै पर्छन् ।
सहर-बजार क्षेत्रका मानिसले प्रायः चामल खान्छन् । नेपालका हुनेखानेले खाने भनेकै ह्वाइट राइस अर्थात् रिफाइन गरिएको चामल हो । डायबिटिज लागेपछि डाक्टरले ह्वाइट राइस खान दिँदैनन् । किनकि यो खायो भने सुगर बढ्छ । धेरै खायो भने त चामलले पनि सुगर जन्माउँछ, अझ सुगर भएका मान्छेका लागि ह्वाइट राइस विष हो । ‘ह्वाइट राइस इज ह्वाइट पोइजन’ भनेर अहिले संसारभरि नै भनिन्छ । वास्तवमा खानुपर्ने ब्राउन राइस अर्थात् नफलेको चामल हो । यदि आफूले बनायो भने, यो तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।
नेपालमा जहिले पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुँदै आएका छन् । यसमा दुई कारण छन्, एक त एजुकेसनको क्वालिटी छैन हाम्रोमा, अर्को असन्तुलित भोजन । ब्राउन राइस वा नफलेको भिटामिन बी वान र बी टु विद्यमान रहन्छ । तर, रिफाइन वा प्रशोधित गरिसकेपछि चामलबाट त्यो भिटामिन हट्छ । यी दुवै भिटामिनको भूमिका मेमोरी, कन्सन्ट्रेसन बढाउने र इनर्जी ल्याउने हुन्छ । मेमोरी, कन्सन्ट्रेसन र इनर्जी नबढाई विद्यार्थीले राम्रो गर्न सक्दैन । त्यसकारण हामीले ब्राउन राइस खान आवश्यक छ ।
हामीले ह्वाइट राइस खान थालेको धेरै भएको छैन, किनकि मिल आउनअघि हामीले ब्राउन राइस नै खान्थ्यौँ ।
चामलभन्दा गहुँ उत्तम
हाम्रो परिप्रेक्ष्यमा ह्वाइट राइस अथवा चामल खाने मान्छेभन्दा रोटी खाने मान्छे बढी शक्तिशाली भएको देखिन्छ । जस्तो, हाम्रो देशमा सबैभन्दा धनी मान्छेको एउटा वर्ग छ, मारवाडी, उनीहरूले रोटी वा गहुँ खान्छन् । त्यस्तै, हाम्रोमा मिहिनेतको काम गर्ने मधेसीहरू पनि रोटी खान्छन् ।
रोटी अर्थात् गहुँमा भिटामिन ई बढी हुन्छ । भिटामिन ईको मात्रा बढी हुँदा शरीरलाई पनि बढी इनर्जी प्राप्त हुन्छ । त्यस्तै, भिटामिन ईले सेक्स हर्मोन टेस्टोनटेरोन बनाउन पनि भूमिका खेल्छ । भिटामिन ई बढ्दा सेक्स हर्मोन बढ्छ, सेक्स हर्मोन बढ्दा मान्छेमा सिर्जनशीलता पनि बढ्छ । किनकि सेक्स पनि क्रियसन नै हो ।
गहुँ खाँदा शरीरमा गर्मी बढ्छ, तर चामलले चिसो गर्छ । चिसो मान्छे कहीँ पनि काम लाग्दैन । चिसो मान्छे रमाइलो पनि हुँदैन । रमाइलो, क्रियटिभ मान्छे, धेरै काम गर्न सक्ने मान्छे त तातो हुनुपर्छ ।
भारतीय मूलका नागरिकले भात र रोटी ब्यालेन्स गरेर खान्छन् । तर, हामीले सधैँ भात मात्रै खाइरहन्छौँ । गहुँ नखानुको परिणामस्वरुप हामीलाई इनर्जी प्राप्त भएन ।
गहुँभन्दा जौ उत्तम
संसारको परिप्रेक्ष्यमा गहुँ खाने मान्छे भन्दा पनि जौ खाने मान्छे शक्तिशाली भएको पाइएको छ । खासगरी सभ्यता र आधुनिक विज्ञानको विकास गर्ने मान्छेहरूले जौ खाएको पाइन्छ । युरोप, अमेरिकातिर बिहानै ब्रेक फास्ट जौबाट सुरु हुन्छ, उनीहरू जौको ओटमिल खान्छन् । उनीहरू संसारका सबैभन्दा सिर्जनशील देखिएका छन् ।
पछिल्लो रिसर्चले यो देखाएको छ कि जौ यस्तो चिज हो, जसले मानिसलाई डिप्रेसन नै हुन दिँदैन, मेन्टल्ली रिल्याक्स गर्छ । जौमा यस्ता तत्त्व हुन्छन्, जुन तत्वले ब्रेनका सेल ड्यामेज हुँदा रिपेयर गर्छ । शरीरमा रहेका विकार फाल्ने काम पनि गर्छ ।
जस्तो, मानिसलाई रुघा लाग्छ, शरीरमा मुसा आउँछ, यो भाइरल इन्फेक्सनका कारण हुन्छ । भाइरल इन्फेक्सनको औषधि हुँदैन । ब्याक्टेरियल इन्फेक्सन हुँदा एन्टिबायोटिक्स दिइन्छ । तर, जौ खाइरहने मानिसलाई भाइरल इन्फेक्सन हुँदैन ।
ह्वाइट ब्लड सेलले भाइरसलाई मार्न सक्छ । ह्वाइट ब्लड सेलको विकासमा पनि जौले काम गर्छ । त्यस्तै, डिप्रेसन हुन नदिने तत्व पनि जौमा पाइन्छ । कार्बोहाइड्रेट पाइनेमा जौ सर्वश्रेष्ठ हो । तर, हामीले जौ खाँदै खाँदैनौँ ।
यसकारण हामीले भोजनमा परिवर्तन ल्याउँदै जौ नियमित खान आवश्यक छ । जसरी युरोपियन र अमेरिकनहरूले पहिलो ब्रेक फास्ट नै जौ खान्छन् ।
मकैले शक्ति दिन्छ
हाम्रो पहाडी भेगमा बढी मकै फल्छ र खाइन्छ । ब्रेनसँग रिलेटेड तत्व मकैमा हुँदैन । मकैभन्दा भात, गहुँ, जौ नै उत्तम हुन्छ । तर, मकैमा जति इनर्जी दिने तत्व चामल, गहुँ, जौमा हुँदैन । त्यसकारण मकै खाने मानिस बडो बलवान हुन्छ । तर, मकै पनि समग्र नेपालीले कमै खान्छन् । कतिले त खाँदै खाँदैनन् ।
अमेरिकामा मैले खाने शैली गज्जबको देखेँ, उनीहरू बिहान जे खान्छन्, दिउँसो त्यो खाँदैनन् । दिउँसो जे खान्छन्, बेलुका त्यो खाँदैनन् । त्यस्तै, आइतबार जे खान्छ, सोमबार त्यो खाँदैनन् । उनीहरूले भोजनलाई घुमाइरहन्छन् । हाम्रो के छ त भन्दा भोजनलाई घुमाउने होइन आफैँ एउटै भोजनको वरिपरि घुम्छौँ ।
भोजन कसरी गर्ने ?
जौको सातु किन्न पाइन्छ । अथवा जौको चिउरा जसलाई ओटमिल भनिन्छ, बिहानमा जौको परिकार खाँदा राम्रो हुन्छ । यो महँगो चिज पनि होइन । खान पनि सजिलो छ, दूध, हर्लिक्स नभए तातोपानीमा मात्रै पनि भिजाएर खान सक्छौँ । पैसा छ भने, यसमा ड्राइफुड मिसाउन सकिन्छ- छोरा, पेस्ता, बदाम, ओखर आदि ।
रिसर्चले के देखाएको छ भने, बिहानको ब्रेकफास्ट नखानेहरू स्वस्थ हुँदैनन् । किनभने ब्रेकफास्ट खाएन भने सुगर लेभल तल-माथि भइरहन्छ । इनर्जी त ब्लड सुगरले नै दिने हो । त्यसैले बिहान ब्रेकफास्ट खाने मान्छे प|mेस हुन्छ, काम गर्ने मुडमा हुन्छ ।
लन्चमा हामीले प्रायः ह्वाइट राइस खान्छौँ । तर, हामीले लन्चमा खानुपर्ने ब्राउन राइस हो । यसलाई भिजाएर पकाउनुपर्ने हुन्छ, पकाउनु जान्यो भने यो स्वादिलो पनि हुन्छ । ह्वाइट राइस खाँदा कति बेफाइदा हुन्छ र ब्राउन राइसले कति फाइदा गर्छ भन्ने माथि आइसक्यो ।
त्यस्तै, दिउँसो हामीलाई इनर्जी चाहिन्छ । इनर्जी मकैले दिन्छ । गाउँघरमा त मकै नै भुटेर खान सकियो । तर, सहरमा मकै भुट्न, पोल्न झमेला पनि हुन्छ र सधैँ भुटेको-पोलेको मकै किन्न पनि पाइँदैन । सहरमा मकैको रेडिमेट परिकार पाइन्छ- कोर्नफ्लेक्स । अन्य चिजभन्दा यो तुलनात्मक रुपमा सस्तो पनि छ । यसलाई पनि दूध, हर्लिक्स वा तातोपानीमा खान सकिन्छ ।
अब आयो, डिनर । डिनरमा रोटी भइदियो भने अति उत्तम । तर, रोटी मैदाको नभएर आँटाको हुनुपर्छ । मैदा पनि ह्वाइट राइसजस्तै हो । किनभने, मैदा रिफाइन गरिएको हुन्छ । रिफाइन गर्दा थुप्रै आवश्यक चिज पनि नष्ट पुग्छन् । गहुँ उसिनेर भातजस्तै पकाएर पनि खान सकियो ।
दिनभरि यसरी मिलाएर खाँदा हामीले शरीरलाई आवश्यक थुप्रै तत्व खान सक्छौँ । त्यस्तै, कोदो र फापरलाई पनि बेला-बेला, हप्ता-हप्ता खान सक्छौँ । कार्बोहाइड्रेट पाइने यी चिजमा पनि फरक-फरक तत्व हुन्छन् । त्यसकारण स्वस्थ रहन हामीले मिलाएर अझ भनौँ समावेशी प्रकारको खाना खानुपर्छ ।
कार्बोहाइड्रेटको कार्य भनेको शरीरलाई इनर्जी दिने नै हो । जसरी मोबाइलले काम गरिरहन ब्याट्री वा इनर्जी चाहिन्छ, त्यसरी नै शरीरले पनि काम गर्न छोड्छ । इनर्जीको मूल स्रोत कार्बोहाइड्रेट नै हो । कार्बोहाइड्रेट पनि रिफाइन वा प्रशोधित होइन, कम्पाउन्ड वा मिश्रति नै खानुपर्छ ।
२) प्रोटिन
कार्बोहाइड्रेटमा हामीले जसरी गल्ती गर्यौँ, प्रोटिनमा पनि गरिरहेका छौँ । प्रोटिनमा माछा, मासु, अण्डा, दूध, दही र बोट-बिरुवाबाट आउने गेडागुडी नै पर्छन् ।
प्रोटिनले शरीरलाई के गर्छ ?
हरेक मिनेटमा शरीरका कोषहरू बिग्रँदै र भत्किँदै गइरहेका हुन्छन्, लाखौँ कोषहरू मरिरहेका हुन्छन् । यदि प्रोटिन पुगेन भने नयाँ सेल बन्दैन । प्रोटिनमा इमिनो एसिड पनि हुने भएकाले यो ब्रेनका लागि आवश्यक छ ।
यदि इमिनो एसिड ब्रेनमा पुगेन भने मान्छे एकाग्र हुन सक्दैन । एकाग्र हुन पनि आवश्यक मात्रामा भिटामिन बी वान र प्रोटिन चाहिन्छ । एल-फेनिलालानाइन भन्ने एमिनो एसिडको वर्ग छ, यो पुगेन भने बच्चाहरूले पढ्न-सिक्न सक्दैनन् । किनभने, एकाग्र हुन सक्दैन ।
रोचक के छ भने, अहिलेसम्म साइन्समा नोबेल पुरस्कार जित्नेहरूमा प्रायः मासु खाने छन् । किनकि, माछामासुमा प्रोटिन पाइन्छ । भन्नुको मतलब, बढी दिमागको काम गर्नेका लागि एमिनो एसिड आवश्यक हुन्छ, यो प्रोटिनमा पाइन्छ ।
रातो मासुले रोग हुर्काउँछ
प्रोटिनमा पनि हामीले रेडमिट (रातोमासु) खाइरहेका छौँ, जसमा चारखुट्टे जनावर पर्छन् । कसैले खसी खान्छन्, कसैले राँगा, कसैले सुँगुर-बँदेल खान्छन् । सुँगुर वा खसी खानु एउटै कुरा हो । यी सस्तो-महँगो जे भए पनि, सबै रेडमिटले शरीरलाई एकै प्रकारको असर गर्छ ।
वैज्ञानिक रिसर्चले रेडमिट शरीरका लागि हानिकारक रहेको देखाएको छ । यो मासु पोलेर खाँदा क्यान्सर हुने सम्भावना हुन्छ । यो मासु पोल्नासाथ क्यार्सिनोमास विकास हुन्छ, यसले क्यान्सर बनाउँछ ।
रेडमिटले पाँचभन्दा बढी रोग त सीधै हुर्काउँछ । पहिलो, यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसरकै कारणले मुटुको रोग लाग्ने सम्भावना हुन्छ । मुटुको रोगका कारण पक्षघात हुने सम्भावना हुन्छ । युरिक एसिड बढेपछि दुखाइ बढ्छ । अर्को, क्यान्सर लाग्ने पनि सम्भावना हुन्छ । यी रोग हुर्काउन रेडमिटको भूमिका हुन्छ । तर, हामी नेपालीले प्रायः रेडमिट नै खान्छौँ ।
ह्वाइट मिटका फाइदा
हामीले खानुपर्ने ह्वाइट मिट हो- चिकेन, माछा । यो सस्तो पनि छ । चिकेन खाँदा माथिका रोग हुर्कने चान्स कम हुन्छ । विभिन्न पन्छी पनि ह्वाइट मिटमा पर्छन् ।
पहिला मानिसहरू जंगलमा बस्थे । मानिसले सभ्यता सिकेको १०-१२ हजार वर्ष मात्रै भयो । जंगलमा बस्दा चारखुट्टे जनावर मारेर खान्थे होला । जब मानिसहरू नदी वा समुद्र किनारमा आएर बस्न थाले, तब सभ्यता सुरु भएको पाइएको छ । किनभने, यिनीहरूले माछा खान थाले । माछा खान थालेपछि मान्छेहरूको बुद्धि र्यापिड्ली विकास भएको पाइएको विभिन्न खोजले देखाएको छ ।
अधिकांश ब्रेन फ्याटबाट बन्छ । ब्रेनको फ्याट र माछामा पाइन फ्याट मिल्छ । माछामा पाइने फ्याटलाई ओमेगा थ्री भनिन्छ, यो भनेको तेल वा फ्याटको एउटा जात । ओमेगा थ्री ब्रेन फ्रेन्ड्ली हुन्छ । डिप्रेसन छ, ब्रेनले राम्रो काम गरेको छैन भने ओमेगा थ्रीले राम्रो गर्छ । अहिले माछाको तेल मात्रै पनि पाइन्छ । अब माछाको तेल खानु राम्रो, किनकि यसले ब्रेनको विकास गर्छ । माछा अन्य मासुभन्दा सस्तो पनि छ । तर, नेपालीले माछा कति ठाउँमा पाउँदैनन्, पाउने ठाउँमा पनि खासै खाँदैनन् ।
अमेरिकातिर पनि भेजिटेरियन हुन्छन्, तर उनीहरूले अण्डा खाइरहेका हुन्छन् । हाम्रोमा कति भेजिटेरियन अण्डा पनि नखाने हुन्छन् । उनीहरूले गेडागुडी खान सक्छन् । भट्टमासमा सबैभन्दा बढी प्रोटिन पाइन्छ ।
गेडागुडीमा भिटामिन बी-१२ पाइँदैन । यो माछामासु, दूध-दहीमा पाइन्छ । भिटामिन बी-१२ पुगेन भने पनि ब्रेन सोलो हुन्छ । त्यसैले माछामासु, अण्डा नखानेले दूध-दही खानुपर्छ । यी खाना नखाँदा भिटामिन बी डिफिसेन्सी हुन्छ, यो भनेकै डिजिज अर्थात् रोग हो । भिटामिन बी-१२ को कमीले आउने रोगबाट बच्न पनि माछामासु, अण्डा नखाने हो भने दूध-दही रेगुलर खानैपर्छ ।
३) फ्याट
फ्याट भनेको चिल्लो वा तेल । शरीरलाई फ्याट चाहिन्छ, फ्याट भएन भने शरीर न्यानो बनाउँछ, इनर्जी पनि दिन्छ । फ्याट भएन भने शरीरमा आवश्यक हर्मोन बन्दैन, मान्छेको साइकोलजी नै डाउन हुन्छ । यो फ्याट पनि त्यति धेरै होइन, थोरै नै भए पुग्छ । र, फ्याटका स्रोत धेरै हुन्छन्- मकै, चामलमा पनि पाइन्छ ।
चिल्लोमा पनि सबैभन्दा घटिया भनेको ट्रान्स फ्याट हो । यो शरीरका लागि अझ भनौँ ब्रेन र बडीका सबैभन्दा हानिकारक हुन्छ । यो फ्याट जनावरको बोसोमा पाइन्छ । जुन हामी नेपालीले प्रायः खाइरहेकै हुन्छौँ । डाइरेक्ट बोसो नखाए पनि मःमः खान्छौँ । मःमःमा बढी नै बोसो हुन्छ । अर्को ट्रान्स फ्याटको स्रोत वनस्पति हो । यो अझ मःमः भन्दा खतरनाक छ । प्रायः बजारमा पाइने मिठाई वनस्पति घिउबाटै बन्छन् । वनस्पति घिउ बनाउन सात सय डिग्री उमाल्नुपर्ने हुन्छ, यसो हुँदा यसमा भिटामिन मिनिरल्स बच्दैनन्, यो घिउ प्लास्टिकजस्तै हुन्छ ।
कुन तेल उत्तम ?
भट्टमासको तेल, सनफ्लावरको तेल फ्याटका लागि ठीकै हो, तर उत्तम चाहिँ होइन । बेस्ट तेल भनेको ओमेगा-थ्री नै हो, जसको स्रोत आलस हो । आलस तराईमा उत्पादन हुन्छ, पहाडमा हुँदैन । यो सस्तो पनि छ, तर हामी खाँदैनौँ । तराईमा पनि गरिबले मात्रै खाएको पाइन्छ । हुनेले पनि यो बेचेर अर्कै तेल ल्याउँछ । हामीकहाँ ओमेगा-थ्री विदेशबाट क्याप्सुलमा आउँछ । किनकि डक्टरले यो खान सिफारिस गरिरहेका हुन्छन् । तर, यसको स्रोत हामीकहाँ पाइने आलस नै हो ।
हामीले तोरीको तेल खान्छौँ, जुन अमेरिकामा ब्यान छ । अमेरिकामा ल्याब टेस्ट गर्दा तोरीमा युरुसिक एसिड देखियो, जुन स्वास्थ्यका लागि हानिहारक छ । अर्को स्वास्थ्यका लागि फाइदाजनक लिनोलेनिक एसिड पनि पाइयो । तर, एउटा मात्रै राम्रो भएर भएन, अर्को नराम्रोले स्वास्थ्यलाई हानि नै गर्ने भयो । योभन्दा राम्रो त भट्टमास, सन फ्लावर नै हुन्छ । युरोप अमेरिकातिर जैतुनको तेल खान्छन् । तर, जैतुन हाम्रोमा त्यति उत्पादन भइसकेको छैन, यो महँगो पनि छ । त्यसकारणका हाम्रा लागि सबैभन्दा उत्तम आलसको तेल नै हो ।
४) भिटामिन र मिनिरल्स
भिटामिन र मिनिरल्सको वर्ग फरक भए पनि काम एउटै हुन्छ । यी दुवैलाई प्रोटेक्टिभ फुड अर्थात शरीरलाई रक्षा गर्ने खाना भनिन्छ । हामीलाई रोग लाग्नै नदिने वा रोग प्रतिरोध गर्ने भिटामिन र मिनिरल्स नै हो । खानामा जति भिटामिन र मिनिरल्स हुन्छ, त्यति नै हामीलाई रोग लाग्दैन । जति कम हुन्छ, त्यति नै रोगले आक्रमण गर्छ ।
प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार रोग भनेको विकार जम्नु र उपचार भनेको विकार फाल्नु हो । तर, मेडिकल साइन्सले अहिले हजारभन्दा बढी रोग पत्ता लगाइसकेको छ । प्राकृतिक चिकित्साले यी हजारभन्दा बढी रोगलाई रोग नभनेर रोगका लक्षण भन्छ । जस्तो, आँखामा समस्या आयो, आँखाका धेरै थरी रोग हुन्छन् । ती रोग भनेकै विकार जमेको हो । विकार फाल्यो भने रोग जान्छ । त्यस्तै घाँटीमा विकार जम्यो भने टन्सिल हुन्छ, यसका पनि धेरै कारण हुन्छन् । भन्नुको मतलब धेरैतिर विकार जमेका हुन्छन् । जेहोस्, शरीरमा विकार जमेर नै रोग देखिने हो । विकार जम्नै नदिने वा जमिसकेको भए हटाउने हो भने स्वस्थ भइन्छ । भिटामिन र मिनिरल्सले शरीरका विकार फाल्ने काम गर्छ ।
भिटामिनको मूल स्रोत तरकारी, सलाद, फलफूल हुन् । तर, हामी धेरैको फलफूल खाने सोच नै हुँदैन । जस्तो, बेलाबेला मासु खाएजस्तै बेलाबेला फलफूल खान सकिन्छ, त्यो पनि हामी गर्दैनौँ ।
सलाद पनि हामी धेरैले खाँदैनौँ । हाम्रोमा एक टुक्रा मुला र एक-दुई टुक्रा प्याजको नाम नै सलाद हुन्छ । तर, गि्रन सलाद हुनलाई झन्डै पाँचथरीका काँचै खान मिल्ने साग र त्यसमा मुला, गाजर, प्याज, लसुन, कागती, खुर्सानी लगायत मिसाएर सलाद बनाउनुपर्छ । यसो भयो भने, खानामा भिटामिन र मिनिरल्सको कमी हुँदैन र हामी स्वस्थ रहन्छौँ ।
प्रस्तुति : ध्रुवसत्य परियार
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं