फाल्गुन १८, २०७२- लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेपछि त्यसअनुरूप उनले अंग्रेजी वा भारतीय संगीतमा काम गर्न सक्थे, तर उनले नेपाली संगीतमा आफ्नो ज्ञान र अनुभव समर्पण गरे । रगत नै नेपाली भएकाले हुनसक्छ, भारतीय नागरिक भएर पनि विपुल क्षेत्री नेपाली भाषामै रमाए । त्यसबापत विपुललाई सुन्नेहरूले पनि तत्कालै न्याय गरिहाले । त्यही भएर आज विपुल नसोचेको उपलब्धिमा रमाइरहेका छन् । ३५ वसन्त कटेपछि विपुल लाइमलाइटमा छन् । उनलाई देख्न, छुन र उनको चिनो लिन लामो लाइन बस्नेहरूको ठूलो जमातले यसलाई प्रस्ट पार्छ । किशोर र युवाहरूको ठूलो जमात उनको संगीत सुन्न लालायित रहन्छ, गुनगाइरहन रुचाउँछ । त्यतिमात्र होइन, भर्खरै बोल्न सिकिरहेकाहरूदेखि अवकाशप्राप्त जीवनमा अभ्यस्तहरूसमेत विपुलको सांगीतिक सिर्जनामा रमाउँछन् ।
‘विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ विपुल र उनका साथीहरूको सांगीतिक परिचय हो । दार्जीलिङ खासगरी कालिम्पोङ क्षेत्रका युवाहरू सम्मिलित यो ब्यान्डले अहिले नसोचेको उपलब्धि हासिल गरिसकेको छ । साउन्ड क्लाउडमा गरिएको एउटा प्रयोग फेसबुकमार्फत भाइरल भएपछि विपुल र उनको ब्यान्ड चर्चामा आएको हो । यो सन् २०१३ को प्रारम्भको कुरा हो, विपुलले कम्पोज गरेर गाएको गीत डढेलो (वाइल्डफायर) लाई फेसबुकमा राखेका मात्र के थिए, त्यसले अचम्मको परिणाम दियो । करियरको मझधारमा रहेका विपुल रातारात नै चर्चित बन्ने बाटोतर्फ अग्रसर भए । यद्यपि चर्चा नपाएको अवस्थामा पनि संगीतप्रति लहसिएकाले यसैमा जीवन समर्पित गर्ने कुरामा विपुल स्पष्ट थिए । विपुल भन्छन्– ‘मैले नितान्त आफ्ना लागि मनको भावना पोख्न डढेलो गीत गाएको थिएँ ।’ सानो उमेरमा डढेलो देख्दा मन खिन्न हुने भएकाले त्यसलाई उनले वहका रूपमा पोखेका थिए, तर डढेलो जसरी फैलन्छ, उनको चर्चा त्यसरी नै फैलियो ।
झट्ट सुन्दा विपुल अनप्लग लाग्छन् तर स्टेज पर्फमेन्समा उनी र उनको ब्यान्ड फरक हिसाबले प्रस्तुत हुन्छ । विपुल गिटारमा औंला नचाउँदै गाउँछन्, तर गीत रेकर्डिङमा आवश्यक पर्ने सबै बाजा बजाइन्छ । स्टेजमा ‘लाउड’ हुने उनको ब्यान्डका गीत एक्लै बसेर आनन्द लिँदै सुमधुर संगीतका रूपमा ग्रहण गर्न सकिन्छ । स्टेजमा थोरै इम्प्रोभाइज्ड रूपमा फरक ढंगले कन्सर्ट दिनु यो ब्यान्डको विशेषता नै बनिसकेको छ । केही फरक स्वाद र शैलीका विपुलका सबै गीतले आममानिसको जीवनशैलीलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । केही अघि मात्र सार्वजनिक गीत सिन्डिकेटलाई नै उदाहरणका रूपमा लिन सकिन्छ, बसस्ट्यान्डमा राम्री युवती देख्दा युवामनमा जाग्ने भावना जस्तो हुन्छ, त्यसैलाई गीत बनाएर गाएका छन् विपुलले । सिलगुडी जान बस कुरिरहेकी आकर्षक युवती देख्दा त्यही स्टेसनबाट सिक्किम जान लागिरहेको युवा मनमा जाग्ने अनुभूति हो— सिन्डिकेट । जीवनसँग मेल खाने शब्दलाई थोरै फरक ढंगले प्रस्तुत गर्दा मानिसहरूको मन जित्न सकिने रहेछ भन्ने कुरा विपुलले बुझेका छन् । त्यसैले उनी त्यसरी नै आफूलाई प्रस्तुत गर्न चाहन्छन् । ‘म आम दर्शक–श्रोताले रुचाउने गीत गाउँछु भनेर गायक बनेको होइन, त्यसैले आफ्नो ढंगले काम गर्छु र गरिरहनेछु,’ विपुल थप्छन्– ‘केही फरक शैलीमा काम गर्छु तर आफूलाई मन पर्ने काम गर्छु, बाँकी जस वा अपजसको जिम्मा श्रोताहरूलाई ।’
विपुल दार्जीलिङ कालिम्पोङबाट दिल्ली सरेको पनि १७ वर्ष भैसकेको छ । हाल उनी वसन्त भ्याली स्कुलमा ‘हेड अफ दि आर्ट डिपार्टमेन्ट’ का रूपमा कार्यरत छन् । दिल्ली विश्वविद्यालयमा संगीतसम्बन्धी अध्ययन गर्दैदेखि उनले करियरका रूपमा संगीत शिक्षणलाई अँगालेका थिए । हाल उनी दिल्लीमा अर्केस्ट्रा क्वायर शिक्षकका रूपमा अध्यापन गर्छन् । विद्यार्थीलाई अन्तर्राष्ट्रिय संगीतका बारेमा कक्षा दिन्छन् र आफूचाहिँ लोकआधुनिक नेपाली गीत सिर्जना गर्छन् । आफ्ना सिर्जना वेस्टर्न र इस्टर्न म्युजिकको फ्युजन भएको उनको तर्क छ । विपुल भन्छन्– ‘मैले पश्चिमा संगीत सिकें, तर जन्मजात नेपाली भएकाले ममा संस्कारका रूपमा पूर्वीय संगीत विकास भैसकेको रहेछ । विपुल गिटारका साथमा सारंगी र टुङ्नाको फ्युजनमा रमाएका छन् । त्यसलाई उनी विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ को विशेषता नै मान्छन् ।
त्यसो त विपुलले नेपाली संगीतमा परिचय पाउनुका पछाडि उनको सांगीतिक पृष्ठभूमि भएको पारिवारिक वातावरणको पनि उत्तिकै योगदान छ । उनका ब्रिटिस आर्मी पिता निरेन्द्र मोहन क्षेत्री संगीतमा संलग्न व्यक्तित्व हुन्, जसले संगीतकारका रूपमा दार्जीलिङ क्षेत्रमा अलग परिचय बनाएका थिए । उनका एक मात्र दाइ पनि संगीतकर्ममै संलग्न छन् ।
‘हिन्दी र अंग्रेजी भाषामा काम गर्न अहिलेसम्म रुचि जागेको छैन,’ विपुल भन्छन्– ‘म नेपाली हुँ र नेपाली संगीत नै मेरा निम्ति प्रिय छ, अबको मेरो जीवन नेपाली संगीतमै समर्पित रहनेछ ।’ आफ्नो शरीरमा नेपाली रगत भएकाले गीत गाउने भन्नेबित्तिकै नेपाली नै गाउन मन लाग्ने उनको अनुभव छ । अहिलेको परिवेशमा भारतमा मात्र नभएर विश्वका विभिन्न मुलुकका नागरिकका रूपमा नेपालीहरू बसेको बताउँदै जहाँ पुगे पनि नेपाली मनले नेपाली संगीत नै खोज्ने विपुल बताउँछन् । ‘अझ बिदेसिएका नेपालीमा नेपाली भावना प्रगाढ हुन्छ, विपुलले भने– ‘म त्यही नेपाली संस्कारमा हुर्किएँ, त्यसैले आफ्नोपन जाग्छ, अझ राम्रो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’
सन् १९८० अगस्ट २७ मा जन्मिएका विपुलले डढेलोपछि सन् २०१३ को जुलाईमा असार बोलको गीत गाए । अर्थात् उनले हिउँदयाममा डाँडाकाँडामा लाग्ने उराठलाग्दो डढेलोपछि वर्षायाममा पहाडी क्षेत्रमा पर्ने पानीको गीत गाए । असार गीतलाई पनि दर्शकले उत्तिकै रुचाए । ‘मलाई म यो प्रकृतिकै देन हुँ जस्तो लाग्छ,’ विपुलले साप्ताहिकसँग भने– ‘त्यही भएर प्रकृति र त्यसको वातावरणसँग सम्बन्धित गीत गाउन मन लाग्छ । दार्जीलिङ मेरो प्रेरणास्रोत हो ।’
विपुलका अनुसार उनीद्वारा सिर्जित गीत–संगीत आफैंमा न्याचुरल लाग्छन् । एकाएक चर्चा र लोकप्रियता पाउनुको कारण के होला ? विपुल भन्छन्– ‘मैले आफ्ना भोगाइलाई गीत बनाएँ र गाएँ, जुन न्याचुरल प्रोसेसका उपलब्धि थिए, त्यसले श्रोताहरूको मन छोएको हुनुपर्छ, यकिनका साथ किन लोकप्रिय भए भन्ने योबाहेकको उत्तर मसँग छैन ।’ विपुलले गाएका माउन्टेन हाई होस् वा देउराली डाँडा, रामसाइली होस् वा रेलगाडी नै किन नहोस्, ती सबैले दार्जीलिङ र त्यहाँको प्राकृतिक वातावरण एवं समाजलाई प्रतिविम्बित गरेका छन् । यसैले उनले २ वटा गीत लोकप्रिय भएपछि थप ४ गीत समावेश गरेर ‘स्केचेज अफ दार्जीलिङ’ शीर्षकको गीतिसंग्रह तयार गरे । उनका सबै गीतलाई श्रोताहरूले रुचाइदिए । म्युजिक भिडियो नै नबनाएको अवस्थामा पनि युट्युबमा उनका कतिपय गीत श्रोताले करिब १० लाख पटकसम्म सुनेका छन् । त्यतिमात्र होइन, एउटा गीत आउनेबित्तिकै केही समयमै त्यसको श्रोताको संख्या ४–५ लाख पुग्छ ।
अहिले दोस्रो एल्बमका लागि भनेर उनले गाएको गीत ‘सिन्डिकेट’ तीन महिना नबित्दै १० लाख पटक सुनिएको छ । विपुलको लोकप्रियतालाई अझै उचाइ दिन यो गीत सहायक भएको छ । अहिले उनले युट्युबमा केही गीत प्रयोगका हिसाबले राखेका छन् । उनको दोस्रो गीतिसंग्रह चाँडै सार्वजनिक हुँदै छ । धेरैवटा गीतमध्येबाट आफू र आफ्नो टिमलाई राम्रा लागेका गीतहरू दोस्रो संग्रहमार्फत सार्वजनिक गर्ने विपुलको योजना छ । विपुल आमरूपमा सेलिब्रेटी बन्न अझै बाँकी नै छ, तर उनी त्यसतर्फ द्रुतगतिमा अघि बढिरहेका छन् । बेलायत, अस्ट्ेरलिया आदि मुलुकमा उनले आफ्नो ब्यान्डका तर्फबाट सांगीतिक प्रस्तुति दिइसकेका छन् । हङकङका नेपालीहरूमाझ भव्य कन्सर्ट दिएर फर्किएका विपुलले भने– गर्मीयामका लागि अमेरिकाका विभिन्न राज्यमा कार्यक्रम तय भैसकेको छ, त्यसपछि अरू राष्ट्रको पनि भ्रमण हुनेछ ।’ अबका दिनमा उनले सिर्जना गर्ने गीत–संगीतमा आमश्रोताको अपेक्षा बढ्ने निश्चित छ । त्यसो त नेपाली चलचित्रका लागि पनि उनलाई संगीत र स्वरका निम्ति प्रशस्तै अफर आएका छन् ।
विपुलका कन्सर्ट
नेपालीभाषी विपुलको गायनको ऐतिहासिक मोड हो, नेपाल । उनले जीवनको पहिलो कन्सर्ट काठमाडौंमा दिए । सन् २०१४ को अक्टोबरमा टंगालस्थित क्लब ट्वान्टी फाइभमा उनको पहिलो पर्फमेन्स थियो । त्यसलाई उनी आफ्नो जीवनकै सर्वोत्कृष्ट कन्सर्टमध्ये एक मान्छन् । करिब १ हजार दर्शकको उपस्थितिमा उनले सांगीतिक प्रस्तुति दिएका थिए । ‘पहिलो कन्सर्टमै एकदमै धेरै माया पाए,’ विपुल भन्छन्– ‘मिक्स क्राउड थियो, तर सबै मेरो प्रस्तुतिमा रमाउनुभयो ।’ त्यसपछि उनले सिक्किम, दार्जीलिङ, पुणे र भारतका अन्य राज्यमा कन्सर्ट दिए । सन् २०१५ जुनमा काठमाडौंमा भएको अर्को कन्सर्टमा भने उनले किशोर–किशोरी एवं युवाहरूको साथ पाए । गत ३१ डिसेम्बरमा पोखराको स्ट्रिट फेस्टिबलमा उनले गन्डक क्षेत्रका हजारौं युवाको मन जिते भने जनवरी १ मा पर्पल एज ठमेलमा भएको कन्सर्टमा १ हजारभन्दा बढी दर्शकको साथ पाए । विपुल भन्छन्– ‘काठमाडौंबाहेक नेपालका अन्य स्थानमा पनि मैले युवाहरूको मन जितेको छु, म नेपाली हुँ, सबै नेपालीको माया पाएको छु, खुसी छु ।’ हालैको एक कन्सर्टमा सेल्फी लिन चाहनेहरूको भीड लागेपछि उनी थप दंगिएका थिए ।
विपुलका विशेषता
विपुलले लामो समय संगीतमै रहँदा पनि कहिल्यै अरूको गीत ‘कभर सङ’का रूपमा गाएनन् । आफ्नै गीत बनाएर फेसबुकमा पोस्ट गरे । विपुलले अन्य चर्चित नेपाली वा हिन्दी गीत गाएको देखिँदैन । उनले अहिलेसम्म गाएका ९ वटा गीत विभिन्न शैलीमा युट्युबमा पोष्ट छन् । युट्युबमा उनले गाएका अडियो गीत, विभिन्न स्थानका स्टेज लाइभ पर्फमेन्स, उनले गाएका गीतका कभर भिडियोहरू भेटिन्छन् । विपुलका सबै सिर्जनालाई युट्युब पारखीहरूले लाखौं पटक हेरेका तथा सुनेका छन् । विपुल स्टेज पर्फमेन्समा पनि अरूका गीत गाउँदैनन् । आफ्ना सिर्जना प्रस्तुत गर्छन् र उपस्थित सबैको मन जित्छन् । आफू लोकप्रिय हुनुको आधार के हो भन्ने कुरामा उनी कन्फ्युज देखिन्छन् तर लोक सिर्जनालाई संसारभरका नेपालीले रुचाउने भएकाले सफलता पाएको हुन सक्ने अनुमान गर्छन् । नेपाली संगीतको परिचय भनेकै लोकसंगीत हो, क्षेत्री भन्छन्– ‘सम्भवत: मैले त्यस्तै गीत गाए, यसैले चलें ।’ विपुलको ब्यान्डको व्यवस्थापनको जिम्मा उनका निकटस्थ दाइ सोनम टासीले लिएका छन् । सोनम ब्यान्ड म्यानेजर भए पनि आफूहरूको अभिभावक भएको विपुल बताउँछन् । उनको ब्यान्डमा इलेक्ट्रिक गिटारमा प्रणय गुरुङ, बेस गिटारमा राहुल राई, सारङ्गी–टुङ्नामा किरण नेपाली, ड्रममा रुविन नारायण तथा किबोर्डमा शिवम खरे छन् ।
छैन म्युजिक भिडियो
विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डले आधिकारिक रूपमा कुनै गीतको म्युजिक भिडियो बनाएको छैन, तर चाँडै उनको सांगीतिक उडानलाई मद्दत गर्न म्युजिक भिडियो निर्माण गर्ने तयारी भैरहेको छ । ‘अहिलेको समयमा संगीत सुन्न मात्र होइन, हेर्न रुचाउनेहरूको संख्या पनि उत्तिकै छ, हाम्रा गीतको भिडियोको माग पनि छ,’ विपुल भन्छन्– ‘तर अहिलेसम्म अडियो मात्र पनि श्रोताहरूले उत्तिकै मन पराउनुहुने रहेछ भन्ने पुष्टि भएको छ ।’ सम्भवत: दोस्रो एल्बम रिलिज गर्ने क्रममा केही म्युजिक भिडियो बन्न सक्छ— उनले बताए ।
संगीतकार पिता
विपुलका पिता निरेन्द्र मोहन क्षेत्री ब्रिटिस आर्मी थिए, तर यत्तिकैमा उनको परिचय सकिँदैन । उनी खर्साङमा छँदा संगीतकारका रूपमा चर्चित थिए । तत्कालीन परिवेशमा पहिलो पुस्ताका रूपमा नेपाली आधुनिक संगीतमा काम गर्ने थोरैमध्ये उनी एक थिए । ‘बुबा र उहाँका साथीहरूको ‘चेकर्स’ भन्ने ब्यान्ड त्यो क्षेत्रमा एकदमै लोकप्रिय थियो ।’ विपुल सम्झन्छन्– ‘राम्रा नेपाली आधुनिक गीत सिर्जना गर्ने र प्रस्तुत गर्ने काम गर्नुहुन्थ्यो ।’ ब्रिटिस आर्मीका रूपमा हङकङ, बेलायतमा काम गरेका विपुलका पिताले बीएफबीएस रेडियोमा ‘मोहन बाइ नाइट्स’ शीर्षकमा रेडियो कार्यक्रम चलाएका थिए । ७० को दशकको उत्तराद्र्ध र ८० को पूर्वाद्धमा उक्त कार्यक्रम लोकप्रिय थियो भनेर विपुलले सुनेका रहेछन् । ‘म सानै छँदा, अर्थात् ९ वर्षको हुँदा सन् १९९० मा उहाँ बित्नुभयो,’ बिपुल भन्छन्– ‘बुबालाई सानैमा गुमाएकाले धेरै कुरा सिक्न त पाइएन, तर संगीतको वातावरण कायम रह्यो ।’ विपुलका एक मात्र दाइ पनि संगीतमै आम्बद्ध छन् । रामसाइँली शीर्षकको गीतलाई विपुलले पिताप्रति समर्पित भनेका छन् । उनका संगीतकार पिताले सिर्जना गरेको उक्त गीत विपुललाई मन पथ्र्यो तर त्यो रचनाले पूर्णता नपाएकाले उनले आफैंले शब्द रचना गरेर त्यसलाई पूरा गरे । फरक स्टाइलको यो गीतलाई उनले फरक टोनमा गाएका छन् ।
सेलिब्रेटीहरू नै छक्क पर्छन्
अहिले विपुलको क्रेज देखेर अन्य नेपाली सेलिब्रेटिहरू नै छक्क पर्छन् । नेपाली युवाहरूको भीडमा चर्चित भनिएका सेलिब्रेटीको फ्यान फलोइङभन्दा विपुलको फ्यान फलोइङ बढी हुन्छ । हालैको एक कन्सर्टमा विपुलका साथमा प्रस्तुति दिएका हास्यकलाकार जितु नेपाल भन्छन्– ‘विपुललाई एकपटक छुनका निम्ति लालायित हुनेको भीड देखेर म अचम्मित भएँ, यस्तो क्रेज विरलैको हुन्छ ।’ जितुका अनुसार विपुलसँग तस्बिर खिचाउनेहरूको लर्को नै लाग्छ ।
युट्युबमा प्राप्त प्रतिक्रिया
जन्मको हिसाबले म मनिपुरी हुँ तर म आसाममा हुर्किए । म भारतीय नागरिक भए पनि मेरा थुप्रै नेपाली साथी छन् । म नेपाली भाषा नबुझ्नुको पश्चातापमा छु, किनभने नेपाली शब्द म चाहेर पनि बुझ्न सक्दिन् तर म खुलेर भन्न सक्छु, म विपुल क्षेत्रीको फ्यान हँु । उनको स्वर र संगीतलाई म गहिरो माया गर्छु । खासगरी गीटार वर्क त एकदमै उच्च छ ।
मानस कुमार
यो (सिन्डिकेट) गीत सुन्दा क्या खुसी लाग्यो यार, सबै साथीले सुन भन्थे ह्या–ह्या भन्दै बसेको थिए । आज सुन्दैछु, कस्सम खुसी लाग्यो यार, तिम्रो उत्कृष्ट संगीत सिर्जना सदैव कायम होस् ।
विद्धतराज पोखरेल
यो गीतका लागि वास्तवमै भिडियोको आवश्यकता छैन, किनभने म जहिले पनि यो गीत सुनिरहेकी हुन्छु, आफैं त्यसको कल्पनामा हराउँछु । साँच्चै सुन्दर र रमाइलो गीत ।
मनीषा अमात्य
साढे एक डलर तिरेर सिन्डिकेट गीत किनियो आज । पाइरेसी पनि गर्न सक्थे तर मनले मानेन । यसरी धेरैभन्दा धेरैले पैसा तिरी गीत किनेर सुन्ने हो भने नेपाली कलाकार र उनीहरूको कलाको भविष्य सुनिश्चित हुने थियो ।
रिवश शर्मा
वाउ, अत्यन्तै गजब लाग्यो, अहिलेसम्म तपाईंले कुनै गीतको भिडियो बनाउनु भएको छैन ? यो गजबकै कुरा हो, अनि तपाईंको गीतको शक्ति पनि । यो गीतले मलाई सिलिगुडी मास्तिरको बागपुल स्मरण गरायो ।
निकेश राई
मैले पूरा एल्बम नै आइट्युन्समार्फत खरिद गरे । मैले यसलाई माया नगर्नबाट आफूलाई रोक्नै सकिन् ।
विजय राई
सही समयमा सही गीत । म पनि सिलिगुरीकै, मुख्य कुरा तपाईंले गाएको स्टाइल मनपर्यो । एकदमै फरक छ ।
सीजे मोक्तान
तपाईंले कहिले अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्नुहुन्छ ? म पर्खाइमा छु ।
होम घले
जतिपटक सुन्दा पनि कर्णप्रिय नै रहने के भा’को ? जे होस् नेपाली संगीतमा यस्तो नयाँ प्रयोगसँगै मौलिकता कायम रहोस् । धेरैजसो अवस्थामा संगीतकर्मीहरू एकाध सफलतापछि हराउँछन््, सम्भवत: बजारको अभावले पनि होला, जस्तोसुकै अवस्थामा पनि आफ्नो क्षेत्रमा सक्रिय रहने प्रेरणा मिलोस् साथै नयाँ सिर्जनाका लागि शुभकामना ।
मन्दिरा थापा
आज बसबाट घर फर्कंदा एउटी केटीलाई देखेको थिएँ, ती केटीलाई देख्नुभन्दा अघि एकजनाले सिन्डिकेट बजाइरहेको थियो । उनलाई देख्ने बित्तिकै म त्यही फिलिङ्समा बग्न थाले । ती केटीले पनि घरी–घरी मलाई नै हेरेजस्तो लाग्ने ।
फुर्बा छिरिङ
दोस्रो एल्बम नेपालमै सार्वजनिक गर्ने तयारीमा छौं
स्पन्दन मोक्तान, सञ्चालक,
क्लब ट्वेन्टी फाइभ आवर्स
वल्र्ड वाइड रूपमै पहिलो पटक विपुल क्षेत्रीलाई कन्सर्टमा डेब्यु गराउनुभयो, कसरी सम्भव भयो ?
अक्टोबर २०१४ मा म र मेरो टिमले पहिलो पटक विपुलजीलाई नेपालमा कन्सर्टका निम्ति बोलाएका थियौं । हुन त मैले दिल्ली बस्दादेखि नै विपुलजीलाई चिनेको थिएँ । उहाँले गाएको गीत वाइल्डफायर अर्थात् डढेलो त्यतिबेला भाइरल भैसकेको थियो । चिनजानकै आधारमा मैले पहिलो कन्सर्ट आयोजना गरेको थिएँ । त्यो गीत हिट हुँदाहुँदै ६ वटा गीत समावेश गरेको उहाँको एल्बम पनि आइहाल्यो । लोकआधुनिक फ्लेभरका उहाँका गीतका जर्बजस्त फ्यान काठमाडौंमा छन् भन्ने बुझेरै उक्त कार्यक्रम आयोजित गरिएको थियो ।
त्यतिबेला के देख्नुभएको थियो विपुलमा ?
बजारले उहाँका सिर्जनालाई रुचाएको थियो, म पनि धेरै अघिदेखि उहाँको संगीत सिर्जनाको प्रशंसक थिएँ । एक दिन उहाँका सिर्जनाले सबैको मन जित्नेछ भन्ने लागेको थियो । भइदियो, त्यस्तै ।
पहिलो कन्सर्ट कस्तो थियो ?
हामीले एक महिना पनि तयारी नगरी उहाँको पहिलो कन्सर्ट गर्दै थियौं । टिकट प्रि–सेलमा राखियो । बजारमा चलेको आर्टिस्ट नभए पनि टिकट पुस सेल गरेनौं । न त टिकट बेच्न डोर सेल नै गरियो । कार्यक्रम आयोजनाको मितिभन्दा तीन दिनअघि नै पूरै टिकट सोल्डआउट भयो । हामी छक्क पर्यौं । क्लब ट्वेन्टी फाइभ आवर्समा करिब १ हजार दर्शकको उपस्थितिमा कन्सर्ट भयो । पहिलो कन्सर्ट भएकाले हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं ।
सो नाफामा गयो ?
६–७ जनाको ब्यान्ड टिमलाई काठमाडौंमा राखेर कार्यक्रम गर्दा खर्च त भयो, त्यतिमात्र होइन, कार्यक्रम भव्य बनाउन पनि राम्रै खर्च गरियो । यद्यपि खर्च भए पनि पहिलो कार्यक्रम नाफामा गयो । हामीले त्यसअघि पनि थुप्रै कार्यक्रम गरिसकेकाले विपुल क्षेत्रीको सांगीतिक कार्यक्रमलाई भव्य बनाउन सफल भयौं । उपस्थित क्राउडले पनि कार्यक्रम भव्य बनाउन उत्तिकै साथ दियो । त्यसपछि विपुल क्षेत्रीका काठमाडौंमा २ वटा र पोखरामा एउटा सफल कन्सर्ट भैसकेका छन् । अब चाँडै चितवनको कार्यक्रमका लागि आउँदै हुनुहुन्छ ।
विपुल क्षेत्रीको विशेषता के हो ?
उहाँको संगीत, शब्द चयन र गायनमा आफ्नै पृथक् शैली छ । बुबाले रचेको कवितालाई उहाँले कुशल ढंगले गीत बनाइदिनुभयो । लोकशैलीलाई अँगालेका कारण बच्चादेखि वृद्धसम्म सबैले उहाँका सिर्जना मन पराउँछन् । कुटुम्ब ब्यान्डका किरण नेपालीलाई आफ्नो ब्यान्डमा समावेश गरेर उहाँले नेपाली मौलिक लोकसंगीत प्रयोग गर्नुभएको छ । एउटा यस्तो आर्टिष्ट जो रक, ज्याज, ठेट नेपाली लोकलयमा गीत गाउनसक्छ, त्यो विपुल क्षेत्री नै हो । संगीतमा नयाँ प्रयोग गर्न रुचाउने क्षेत्रीले मुर्चुङ्गा, बिनायो, सारंगीजस्ता वाद्यवादनलाई गिटार, तबला तथा किबोर्डसँग फ्युजन गराउन सफलता प्राप्त गर्नुभएको छ ।
विपुलको आगामी सांगीतिक यात्रा कस्तो रहला ?
हामी उहाँको दोस्रो एल्बम नेपालमै सार्वजनिक गर्ने तयारीमा छौं । नेपालबाटै उहाँको एल्बम टुर पनि सुरु हुँदैछ ।
विपुलको प्रेजेन्टेसन दामी छ
कालिप्रसाद बास्कोटा, संगीतकार
विपुलको गायनको सबल पक्ष के हो ?
आफ्नो क्षमतालाई असाध्यै राम्रो ढंगले बुझेका–जानेका संगीतकर्मी हुन्– विपुल क्षेत्री । राम्रो पर्फमर आर्टिस्ट मान्छु म उनलाई । विपुलको प्रेजेन्टेसन स्किल्स उत्कृष्ट छ । गिटारको ट्युनिङमा नेपाली लोकधुनलाई राम्रोसँग प्रस्तुत गर्ने कला छ । उनमा संगीतको बृहत् ज्ञान छ भन्ने देखिन्छ ।
पछिल्लो समयमा एकाएक उनको लोकप्रियता बढ्नुलाई कसरी लिनुहुन्छ ?
चलिरहेको म्युजिक प्याटर्नभन्दा फरक छन् उनका सिर्जना । त्यही भएर उनका सिर्जनालाई धेरैले मन पराएका हुन् । अक्सर आमसंगीतकर्मी एकै ढंगले आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्, यो मामिलामा विपुल चलाख देखिएका छन् । उनको प्रेजेन्टेसन युनिक छ ।
विपुलका सिर्जनाका सबल र दुर्बल पक्ष के–के हुन ?
संगीतकारका हिसाबले मैले उनको आलोचना गर्ने कुरा हँुदैन । मलाई उनको प्रेजेन्टेसन दामी लाग्छ । नेपाली संगीतको मौलिक लोकधुनलाई समातेर उनी छुट्टै पहिचान बनाउन सफल छन् । शब्दको फ्रेजिङ कता–कता नमिले जस्तो लाग्छ । यद्यपि उनले लोकलय तथा बोलीचालीको भाषा टिपेका हुन सक्छन् तर आगामी दिनमा फ्रेजिङको पनि ख्याल गरे राम्रो हुने थियो ।
विपुलको गायन यात्राले मूलधारको संगीतलाई सम्बोधन गर्ला त ?
संगीतको आयाम व्यापक छ, मूलधारभित्रै पनि कसले कस्तो किसिमको गीत गाउन सक्छ–सक्दैन भन्ने कुरा आउँछ । विपुलको भविष्यको सांगीतिक यात्राले उनको गायन शैलीलाई निर्धारण गर्छ । यति हो, विपुललाई आफ्ना लागि के गर्दा राम्रो हुन्छ भन्ने राम्रोसँग ज्ञान छ । त्यसैले उनी आफ्नो सांगीतिक यात्रालाई आफ्नो हितका निम्ति उपयोग गर्न सक्छन् ।
उनका संगीतका लक्षित श्रोता को हुन सक्लान् ?
अहिलेसम्मको विपुलको सांगीतिक यात्रालाई हेर्दा चलिरहेको संगीतका श्रोताहरूले उनका बारेमा थाहा नपाएका हुन सक्छन् तर जो नयाँ संगीत खोजी–खोजी सुन्छन्, उनीहरूलाई विपुल क्षेत्रीको सिर्जनाले छुन्छ । विपुलले लोक ट्युनलाई समातेर नेपाली गीतमा नयाँ फ्लेभर दिएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment