रामचन्द्र नेपाल
‘हजुर, लैनो भैंसी बेचेँ, ४२ हजारमा,’ श्रीमती मेनुकाले विनोदलाई फोनमा भनिन् । यो १० फागुनको कुरा हो । त्यसको हप्ता दिनपछि फेरि भनिन्, ‘हजुर, बाख्रा बेचेँ, पाँच हजारमा ।’
मेनुका महतो, घर सर्लाही जानकीनगर- ३ गंगापुर । मेनुका २१ वर्षीय विनोद महतोकी श्रीमती हुन् । घरमा सासु र तीन वर्षकी छोरी मात्र छन् । उनका श्रीमान विनोद १४ महिनाअगाडि रोजगारीका लागि मलेसियाका आएका थिए । श्रीमान मलेसिया छन् । तर, श्रीमतीले घरमा भैंसी र बाख्रा किन बेच्नुपर्यो त ? कथा लामो छ ।
बाबुआमा गुमाएपछि सुकुम्बासी
विनोद सात वर्षको हुँदा बुवा र आमाको मृत्यु भयो । गाउँमा छिमेकीको बिहे थियो । विनोदकी आमा घर पोत्ने माटो लिन गइन् । माटो खन्दै गर्दा ढिस्कोले पुरिएर आमाको मृत्यु भयो, बुवा पागलजस्तै भए । त्यसको एक वर्षमै बुवा पनि खसे ।
त्यतिबेला विनोदकी बहिनी पाँच वर्षकी थिइन्, बहिनी हुर्काउने जिम्मा उनकै काँधमा थियो । ५ धुर नापीको जग्गा थियो । बुवाआमाको मृत्युपछि आफन्तले उनको जग्गामा पनि आँखा गाडे । भएको जग्गा ठूलाठालुले लगे । उनीसँग अहिले एक कट्ठा ऐलानी जग्गा छ । त्यसैमा फुसको घर बनाएका छन् । त्यो घरले न पानी पर्दा ओत्छ न त घाम नै छेक्छ ।
पन्ध्र वर्षमा भारत
हजुरआमालाई बहिनीको जिम्मा लगाएर विनोद १५ वर्षको उमेरमा भारत पुगे । त्यहाँ कपडा सिलाउने काम सिके । घरको जिम्मेवारी पूरै भएकाले पनि होला निकै मेहनत साथ काम गरे । रातदिन, हिउँद-बर्खा केही भनेनन् । दुई वर्षमा पैसा पनि राम्रै कमाए । नेपाल फर्किएपछि उनी काठमाडौं आइपुगे । काठमाडौं कालोपुलमा रहेको गार्मेट उद्योगमा काम गरे । महिनाको १५ हजार त त्यो बेला उनी सजिलै कमाउँथे ।
सीपलाई गाउँमै प्रयोग
भारतमा सिकेको सीप अनि काठमाडौंमा कमाएको पैसालाई उनले जतनसाथ राखेका थिए । गाउँमा रहेको फरवार्ड भन्ने सहकारीबाट १० हजार ऋण लिएर कपडा सिलाउने मेसिन किनेर आफैँले सिलाउन थाले । कमाएर सहकारीको ऋण पनि समयमै तिरे । पछि २० हजार ऋण लिएर अर्काे सिलाउने मेसिन थपे । बहिनीको विवाह पनि गरिदिए ।
नन्दिनी टेलर्स
थोरै-थोरै जम्मा गरेको पैसाले उनी आफैँ पनि बिहे गरे । मेहनती विनोदलाई श्रीमतीले पनि निकै साथ दिइन् । यसो गर्दागर्दा एक वर्ष बितेछ । एउटा छोरी समेतको जन्म भयो । छोरी अहिले ती तीन वर्षकी छिन् ।
विनोदले गाउँभन्दा केहीपर हजार बिघा भन्ने ठाउँमा पुगेर सिलाई-कटाईको दोकान खोले । घरबाट सुरु भएको उनको सिलाई-कटाईको यात्रा बजारसम्म पुग्न भ्यायो । यताउता ऋण-धन खोजेर जम्मा भएको ४० हजार रुपैयाँले खोलेको उनको दोकानले राम्ररी कमाई गर्यो । दुई-चार पैसाको दुःख भएन । छोरीको नामबाट खोलिएको नन्दिनी टेलर्सको चर्चा टाढा-टाढा गाउँ हुन थाल्यो । खाली हात बस्नैनपर्ने भयो ।
विदेशको सपना
उनले नेपालमा राम्रै कमाई गरिरहेका थिए । गाउँका ठिटाहरू विदेश गएर आउने-जाने गरिरहँदा आफन्तले उनलाई समेत विदेशको सपना देखाए । ‘ल विनोद यत्रो सीप जानेका छौ, यसरी बसेर हुन्छ ?’ एक आफन्त पर्नेले भने । उनलाई पनि हो कि जस्तै लाग्यो । श्रीमतीलाई समेत नसुनाएर रातभरि सोचे । भोलिपल्ट उनै विदेश पठाउने आफन्तलाई भेटेर सोधे, ‘कति हुन्छ त महिनाको कमाई ?’ जवाफ पाए- लाएर खाएर ४० हजार त कतै नजा ।
पासपोर्टको मुखै देखेनन्
उनी श्रीमतीसँग सरसल्लाह गरेर काठमाडौं पासपोर्ट बनाउन हिँडिहाले । उनलाई विदेश पठाउन आफन्त पर्ने दलाल पनिसँगै काठमाडौं आए । एक हप्तामा पासपोर्ट बन्यो, तर पासपोर्ट कस्तो थियो, आफ्नै फोटो पनि थियो कि पत्ता नपाउँदै ती छिमेकीले पासपोर्ट लिएर भने, ‘ल अब तिमी गाउँ जाउ पैसाको जोहो गर भिसा झरेपछि म बोलाउँछु ।’ उनलाई एक लाख ४० हजार रुपैयाँ तयार गर्न भनियो ।
साहुको दैलो चहार्दै गाउँभरि
विनोद गाउँ फर्केर ऋणका लागि धेरैको दैलो चहारे । आफूले खोलेको पसल ४५ हजारमा बेचे । एक लाख गाउँकै साहुसँग ऋण लिए । ५० हजार रुपैयाँमा त्यही आफन्तपर्नेलाई जग्गा-जमिन दृष्टिबन्धक गरिदिए । आफूले कमाएको १० हजार गरी जम्मा उनीसँग दुई लाख पाँच हजार रुपैयाँ जम्मा भयो । उनले खर्च कटाउन सुरु गरे, पासपोर्ट बनाउँदा १० हजार खर्च भयो । सहकारीको ऋण २० हजार तिरे । घरमा खाना खर्च भनेर ३० हजार रुपैयाँ छाडेपछि बाँकी भएको रकम सबै आफन्तपर्ने दलाललाई बुझाएर दुई वर्षअगाडि उनी डिसेम्बरमा मलेसिया आइपुगे ।
दुःखका दिन एयरपोर्टबाटै सुरु
मलेसियाको एयरपोर्टबाट नै विनोदका दुःखका दिन सुरु भयो । पासपोर्ट लिएको मानिस विनोदलाई भेट्न आएन । मलेसियाको चौधमहिने बसाइँमा उनले कहिल्यै आफ्नो पासपोर्ट देख्न पाएनन् । मलेसियाबाट जोहोरबहरु पुर्याएपछि दलालसँग उनको सम्पर्क कहिल्यै पनि भएन । कम्पनीमा कुरा गर्दा ‘आफ्नो एजेन्टलाई भन’ भनियो ।
१७ कम्पनीमा काम, कमाइ ७५ हजार
चौध महिना मलेसिया बसाइँमा उनले १७ वटा कम्पनीमा काम गरे । तलब माग्दा ‘तिमीहरू इलिगल हौ’ भन्दै पैसा कम दिन्थे ।
मलेसिया बसुन्जेल मासिक तलब उनले बढीमा ७ सय ४७ र कममा ५० रिगेटसम्म पाए । कतिपय कम्पनीले पैसा दिने बेला कुरा गर्दा प्रहरी समेत बोलाउँथे । चौध महिना उनले जसोतसो ७५ हजार रुपैयाँ मात्र नेपाल पठाए ।
श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् ।
घर फर्कन भैँसी र बाख्रा बेचे
मलेसियामा अवैधानिकलाई पक्राउ गर्न सुरु गरेपछि विनोदले नेपाल फर्कने योजना बनाए । आफूसँगै काम गर्ने साथीहरुलाई आफ्नै आँखा अगाडि अवैधानिक भनी हतकडी लगाएर लगेको देख्न थाले । त्यसपछि उनलाई मलेसियामा एक छिन पनि बस्न मन भएन । घर फर्कन चाहे, तर फर्कन पैसा थिएन । घरमा फोन गरेर श्रीमती मेनुकालाई भने, ‘घरमा जे छ, त्यही बेच म नेपाल फर्कन चाहन्छु । घरमा पैसा नपठाएको धेरै भएको थियो । पठाएको पैसा सबै खानपिनमै सकिएको थियो । श्रीमतीले घरमा भएको लैनो भैँसी र बाख्रा बेचिन् र श्रीमानलाई नेपाल झिकाउने निधो गरिन् ।
श्रीमतीले पठाएको पैसाले ब्ल्यांकेट किने
यही २५ फागुनमा विनोद मलेसियाबाट काठमाडौं पुगेका छन् । काठमाडौंमा एक संस्थाको सेल्टरहाउसमा बसेर मंगलबार साँझ मात्रै उनी घर पुगेका हुन् । श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् । आफैँले सिलाएको रातो सर्ट लगाएका छन् । कालो छालाको जुत्ता लगाएको भए पनि तुना थिएन ।
क्वालालम्पुरमा बिदा हुन थाल्दा गहभरि आँसु पार्दै उनले भने, ‘लहैलहैमा विदेश आएँ । आफ्नैले ठग्दा रैछन् । साहुको ऋण जस्ताको त्यस्तै छ । दृष्टिबन्धक गर्नेलाई कानुनमा ल्याएरै छाड्छु ।’
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं