२५ वैशाख, नवलपरासी । कामका लागि विदेशिने सबैले सोच्छन्-‘धेरै कमाउँला र पविरवारलाई खुसी राखुँला ।’ तर, हाम्रो समाजमा त्यस्ता हजारौं पात्र छन् जसले ‘सपना देख्नु नै अभिसाप भयो’ भन्दैछन् । नवलपरासीमा पनि आम नेपाली युवाका प्रतिनिधि बनेका थुप्रै त्यस्ता पात्रहरु छन्, जो धन कमाउने आशामा विदेशिँदा मूल धन (स्वास्थ्य) नै गुमाएर फर्किए ।
पात्र नं.एकः नवलपरासीको कावासोती-७ सांढका रामबहादुर मुसहर दुई वर्ष यस्तै सपना बोकेर मलेसिया गएका थिए । तर, उनी तीन महिनामै स्वदेश र्फकनु पर्यो ।
कम्पनीमा काम गर्दै गर्दा फलामले पेटमा लागेपछि उनी बिरामी परे । काममा गएको एक महिनामै कारखाना भित्रै दुर्घटनामा परेपछि उनी विरामी पर्न थालेका हुन् । विरामी परेपनि तलब नपाएनन् । उल्टै तलव काट्ने डरले काम त गरिराखे । तर झनझन विरामी हुँदै काम गर्नै नसक्ने भएपछि उनी स्वदेश फर्किए ।
रामबहादुर मुसहर
एक लाख ४५ हजार रुपैयाँ बुझाएर विदेश गएका उनले कमाएको तीन हजार मलेसियन रिंगेट कम्पनीमा बुझाएर स्वदेश फर्कनु पर्यो । मुसहर कमाउनु त परै जाओस् ३ महिनामा कामएको ३ हजार मलेसियन रिंगेट बुझाएर फर्किए । बिरामी भएपछि हातखुट्टा सुक्दै विस्तारै चल्न छाडेपछि उनी घर आउन बाध्य भए ।
कारखानामा काम गर्ने मजदुरले आन्दोलन गरेर मुसहरलाई घर पठाउन वा उपचार गराईदिन काग गरेपछि कम्पनीले क्षतिपूर्ति उल्टै तीन हजार रिंगेट तिराएर फर्काएको उनी बताउँछन् ।
कमाउन गएको मान्छे रोगी भएर र्फकनु परेपछि उनले विदेश जान भनि लिएको ऋण तिर्न आफ्नो परिवारको नाममा भएको २ कठ्ठा जग्गा पनि बेच्नु पर्यो । विदेश गएर आएपछि मुसहरसँग भएको सम्पत्ति पनि सकियो । खेती गर्ने जग्गा त भएपनि ६/७ धुर ऐलेनी जग्गामा उनले बास पाएका छन् ।
घर आएपछि उपचार गरेर अहिले विस्तारै हात खुट्टा चलेको छ । उनी काममा फर्किन थालेका छन् । अहिले माछा मार्ने, मुढा बुन्ने र घर निर्माणको मिस्त्रिको काम गर्छन् । रामबहादुर नारायणीमा माछा मारेर र गाउँघरमा मिस्त्रीको काम गरेर घर खर्च चलाउँदैछन् । उनका तीन भाईमध्ये एक अझै पनि मलेसियामा नै छन् ।
रामबहादुर भन्छन्-‘अरु गएको देख्दा विदेश जाउँ कि भन्ने लाग्छ । तर अब शरीरले सक्दैन, यहीँ दुःख सुख गर्छु ।’ उनी अहिले पनि विभिन्न मानसिक तनावले छाडेको छैन । नवलपरासीमा विदेश गएकाहरु बिरामी, रोगी वा घाइते भेरै फर्किने क्रम तीव्र छ ।
पात्र नं.दुईः जिल्लाको सुनवल नगरपालिका-८ सिरानटोलका २७ वषर्ीय श्याम शर्मा (नाम परिवर्तन) लाई पनि विदेशमा गएर खुबै कमाउँला भन्ने थियो । विदेश गएको चार वर्षपछि मानसिक समस्या लिएर फर्किए । साथीभाईले विदेशमा गएर पैसा कमाएको देखेपछि उनको मन पनि थामिएन् र उडे । २०६८ सालमा एजेन्टमार्फत मलेसिया पुगेका आकाशले मानसिक सन्तुलन गुमाए ।
डेढवर्ष अघि घर फर्किएका श्याम अहिले बन्द कोठामा एकोहोरो टोलाई रहन्छन् । मान्छे देख्ने बित्तिकै चिडिने र झर्किने गर्छन् । उनको त्यो व्यवहारले परिवारका सद्स्य पीडामा छन् । ‘कमाउन गएको छोरो रोगी भएर फर्किएला भन्ने कहिल्यै सोचेनौं’, उनका बुवा हरि बास्तोला भन्छन्,’छोरोको त्यो अवस्था देख्दा मन भक्कानिन्छ ।’
कम्पनीमा मजदुरको रुपमा गएका श्यामले ढाई वर्षसम्म कमाएको पैसाले एउटा घर जोडे । त्यसपछि उनमा एक्कासी मानसिक समस्या देखा पर्यो । श्याममा मानसिक समस्या देखा परेपछि विदेशमा भएर साथीहरुले घर फर्काउन सहयोग गरे ।
वैदेशिक रोजगारीमा गएर मानसिक रोग निम्त्याउने अकाश एक्ला व्यक्ति होइनन् । विदेश गएका थुप्रै युवाहरु मानसिक रोगको शिकार भएका छन् ।
पात्र नं.तीनः तिलकपुर-८ दगियाका २२ वषर्ीय कबारक मिया विदेश गएको तीन महिनामै घर फर्किए । २०७१ पुसमा कतार गएका मिया डेढ महिनासम्म ठिकठाक थिए । त्यसपछि मानसिक समस्या देखा पर्न थालेपछि कम्पनीले उनलाई घर पठाइदियो ।
ट्रकको सहचालकको काम छाडेर एक लाख २० हजार तिरेर कतार पुगेका मियाले विदेशको परिवेश पनि राम्रोसँग बुझ्न पाएनन् । परिवारलाई ऋण मुत्त बनाउन विदेश हानिएका मियाले गएको ऋण समेत तिर्न सकेनन् ।
मानसिक समास्याका कारण उनी परिवारका सदस्यसँग कुराकानी गर्दैनन् । बन्द कोठामा लामो समयसम्म टोलाएर बस्छन् । रिसाउने र झर्किने स्वभाव छ । उनको यो व्यहारले असैह्य पीडाबोध हुने गरेको उनकी आमा खैतुन मियाले बताउँछिन् ।
पात्र नं.चारः नवलपरासीको दक्षिण भारतीय सीमासँगै जोडिएको गाविस हरपुर-८ मुडेराका २३ वर्षका विजयकुमार गुप्ताको हालत पनि उस्तै छ ।
शारीरिक रुपमा ठिकै देखिने विजय मानसिक रुपमा भने अस्वस्थ छन् । दुई वर्षअघि प्लाष्टिक कम्पनीको कामका लागि मलेसिया पुगेका विजयले प्लाष्टिकका बोतल काट्ने काम गर्नुपर्यो ।
मलेसिया उड्दै गर्दा उनलाई म्यानपावरले महिनाको २५ हजार कमाई हुन्छ भनेको थियो । तर, कम्पनीले उनलाई महिनाको १५ हजार रुपैयाँ भन्दा दिएन । त्यही काम पनि गर्न नजानेर हैरानी खेप्नुपर्यो ।
‘सानो सानो प्लाष्टिक काट्ने भनेको थियो, तर बोतल काट्नुपर्यो सुरु-सुरुमा त नजानेर हातै पोल्थ्योे’ उनले भने । एजेन्टर्फत मलेसिया गएका विजयले काममा खट्न निकै गाह्रो भएपछि आˆनो समस्या कम्पनीमा राखे ।
कम्पनीसँग आफ्नो सम्झौताअनुसार काम नभएकोले अर्को काम र तलबको माग गरे । तर सम्झौताअनुसार काम र तलब दिनुको सट्टा उसले घर फर्किने बाटो देखाइदियो । अनि अर्को काम लगाइदिने भन्दै पुर्याइदियो सेल्टरमा। हुन त कम्पनीले उनलाई पानी जहाजबाट सामान निकाल्ने काम गर्न कियलमा रहेको बन्दरगाहमा पठाउने भनेको थियो ।
तर कम्पनीले अन्तै काम लगाइदिने भनेर सेल्टरमा पठाएको रहेछ । सेल्टरमा पुगेपछि उनलाई खान बस्नै समस्या हुन थाल्यो । उनले ऋण खोजेको एक लाखको वर्षको ५० हजार त ब्याज मात्रै तिर्नुपर्ने छ । यस्ता धेरै कुरा दिमागमा आउन थालेपछि विजय एकोहोरिन थाले ।
हुन त उनी सेल्टरमा हुँदा काठमाडौंबाट मलेसिया पठाउने कस्तुरी मेनपावरको मान्छे भेट्न पनि गएका थिए । तर, ठिक छ अहिले घर जाउ, पछि अर्को देश पठाईदिन्छु भन्ने आश्वासन दिएर फर्किए । तर, विजयको मानसिक अवस्था त्यसबेलासम्म कमजोर भइसकेको थियो ।
‘मेरो दिगमागमा विदेश जाँदा लागेको ऋण अनि बुढा भएका बुबाआमाको सम्झना मात्रै आइरहन्थ्यो, त्यसैले एकदम तनाव हुन्थ्यो’ विजय भन्छन् । मानसिक अवस्था कमजोर भएर एक महिना २२ दिनमै घर फर्किए । अहिले उनको उपचार भइरहेको छ ।
बढ्दो समस्या
सामी परियोजना अन्तर्गत लिएको मनोसामाजिक परामर्शले विजयको अवस्था सुधार भइरहेको परिवारले जनाएको छ । सुरक्षित आप्रवाशन परियोजना (सामी)को तथ्यांकअनुसार नवलपरासीमा डेढ बर्षको अवधिमा १५ जना युवा मानसिक समस्या भएर घर फर्किएका छन् ।
तथ्याङ्कमा १५ जना भएपनि संस्थाका सम्र्पकमा नआएका युवाहरुको संख्या धेरै हुन सक्ने संस्थाका परियोजना संयोजक उमा पौडेलले बताइन् ।
उनी भन्छिन्, ‘खाडीमा वातावरणले साथ नदिनु, भाषा, धर्म, संस्कृति नबुझनु, सम्झौता अनुसारको काम नपाउनु, काम गर्न नसक्नु, बढी समय काम गर्नु र घरपरिवारको बारेमा चिन्ता बढी लिनु, लगायतका कारण यस्ता समस्या देखिन्छन् ।’
विदेशमा मानसिक समस्या भएर घर फर्किएका युवाहरुको समाजमा प्रतिष्ठा गुम्दै गएको छ । समाजले पनि उनीहृरुलाई राम्रो नजरले नहेर्ने गर्दा झनै समस्या थपिएको छ । मानसिक समस्या भएका युवाहरुलाई पारिवार र छिमेकीको माया आवश्यक पर्छ ।
मानसिक समस्याको पहिचान भइसकेपछि उपचार र मनोविर्मश गरेमा मानसिक समस्या समाधान हुने परियोजनाका मनोपरार्मश कर्ता सुमित्रा चौधरीले बताइन् ।
मानसिक रोग निको भइसकेपछि पनि विगतकै घटना दोहोराउँदा, परिवामा असहज वातावरण भएमा, लागूऔषध सेवन गरेमा, औषधि नियमित सेवन नगरेमा र समाजिक विभेद तथा लाञ्छना लगाएमा पुन समस्या बल्झिन्छ’, उनी भन्छिन् ।
from Nepal123.com -
चार प्रतिनिधि युवाः जसलाई विदेशले दुःख मात्र दिएन, मनोरोगी पनि बनायो