पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक
नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् ।
देउवा पक्ष ०५३ सालदेखिको धार हो । उहाँ गणेशमान सिंह, महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराईजीहरूको लिगेसीबाट आउनुभएको छ । रामचन्द्र पौडेल गिरिजाप्रसाद, सुशील कोइरालाको लिगेसीबाट आउनुभएको छ । कोइराला परिवारबाट तीनजना अहिले एउटा बिन्दुमा छन् । तर, तीनैजना पहिलो हुने सम्भावना छैन ।
हुन त कांग्रेस भनेकै कोइराला ठान्ने मानिसको पंक्ति कांग्रेसमा छ । तर, अहिले भएका तीन ०४७ पछिका मात्र हुन् । सुजाता ०४७ पछि मात्र नेपाल फर्किएकी हुन् । डा. शेखरले केही योगदान गरेका छन् । तर, सक्रिय राजनीतिमा भने पछि नै आएका हुन् । शशांक त हिजोअस्ति मात्र आएका हुन्, आठ वर्ष पनि पुगेको छैन, राजनीतिक रुपमा भन्ने हो भने । उहाँहरू खालि लिगेसी मात्र धानेर बस्नुभएको छ ।
यसरी हेर्दा कोइराला परिवारमा सबैभन्दा माथिल्लो स्थानमा सुजाता छिन् र सभापति दाबी गरेकी छन् । महिला भएकाले स्वाभाविक मान्न सकिएला । हुन त ३२ सय प्रतिनिधि छन्, सबै उम्मेदवार हुन सक्छन् । तैपनि कांग्रेसजस्तो पुरानो दलको नेतृत्व गर्नु भनेको सजिलो छैन । त्यो उचाइ पनि प्राप्त गर्नुपर्छ । विश्वसनीयता पनि विकास भएको हुनुपर्छ । राष्ट्रिय स्तरमा नेतृत्व गरेर मात्र हुँदैन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभाव पार्न सक्नुपर्छ ।
कांग्रेसले समाजवाद भन्छ । त्यो आर्थिक सामाजिक रूपान्तरणको विषय हो कि राजनीतिक पनि विषय हो ? यसको कुनै परिभाषा गरेको छैन
सभापतिमा दाबी त कृष्ण सिटौला र प्रकाशमान सिंहले पनि गर्नुभएको छ । सिटौलाजीले हिजो कोइरालाको धारमा रामचन्द्रजीभन्दा अलि पछाडि बसेर काम गर्नुभएको छ । प्रकाशमानजी पहिला शेरबहादुरजीसँग निकट हुनुहुन्थ्यो । फेरि कोइराला धारमा आएर रामचन्द्रभन्दा पछाडि बस्नुभएको छ । निर्वाचित महामन्त्री भएका हिसाबले उहाँ सिटौलाभन्दा माथि हुनुहुन्छ ।
लिगेसीकै कुरा गर्ने हो भने गणेशमानजीको ‘टावर पर्सनालिटी’को उत्तराधिकारी भएर प्रकाशमान आउनुभएको छ । त्यस हिसाबले दाबी सही छ । खालि लिगेसीको सन्दर्भमा सभापतिको दाबी यसो हेर्ने हो भने विमलेन्द्र निधिले मात्र गर्नुभएको छैन ।
कुनै न कुनै ग्राउन्ड नभए गाह्रो पर्छ । ०५३ सालयता शेरबहादुर देउवा शक्तिमा आइसके । उनी आफैं एउटा पावर हुन् । रामचन्द्रसँग हिजो सुशील हुँदासम्म त पावर थिएन । तर, सुशीलको दुःखद अवसानपछि सबै लिगेसी रामचन्द्रसँग जोडिएको छ ।
आन्तरिक शक्ति संघर्ष
खोस्न त जसले पनि खोज्छ । स्वाभाविक प्रकृतिअन्तर्गतको कुरा गर्नुहुन्छ भने रामचन्द्र हिजो उपसभापति भएर बस्नुभएको हो । सिँढीको कुुरा गर्नुहुन्छ भने पार्टीमा श्रेणीको विकास हुन्छ, यो हिसाबले हिजो उपप्रधानमन्त्री, संसदीय दलको नेता, सभामुख भइसक्नुभएको छ । फेरि कांग्रेसमा सिटौलाजीको भूमिका भनेको ०३६ सालपछिको मात्र हो, तर रामचन्द्र पौडेलको त ०१८/१९ सालदेखि कै हो । रामचन्द्र पौडेल प्रजातन्त्रविरुद्ध कुनै सम्झौता नगरी कांग्रेस बन्नुभएको हो ।
सिटौलाजीलाई पछि सिके प्रसाइजीले ०३६ सालको जनमत संग्रहपछि तान्नुभएको हो । र, ०४७ पछि राजनीतिको एउटा बिन्दुमा आउनुभयो । मेरो बुझाइमा, कांग्रेसको एउटा परम्परा र पद्दति छ । त्यसरी हेर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पहिलो स्थानमा हुनुहुन्छ । त्यस्तै, महिला र कोइराला परिवारका हिसाबले कुनै न कुनै रूपमा सभापतिको सम्भावना रहन्छ ।
शेरबहादुरजी प्रजातान्त्रिक आन्दोलनमा निरन्तर हुनुहुन्छ । सीके प्रसाईंले उहाँलाई ‘शेरेपश्चिम’ भनेर नामाकरण गरेर फर्कनुभएको थियो । त्यसपछिका दिनमा पनि उहाँ निरन्तर रहनुभएको छ । उहाँको नराम्रो पक्ष भनेको के हो भने व्यक्तिगत रूपमा कुरा कम सुन्नुहुन्छ । अहिले भने अलि सुन्न थाल्नुभएछ । दोस्रो कुरा, उहाँलाई दुईवटा कुरामा दोष दिइन्छ । ०५३ सालमा गठबन्धन सरकार चलाउँदा र दोस्रो ०५९ मा कांग्रेस विभाजित भएको अवस्थामा उहाँलाई ज्यादा दोष दिने गरिन्छ ।
कांग्रेसमा अहिले नीति, सिद्धान्त, आदर्शको पुनर्व्याख्या भन्दा पनि नेतृत्व कसरी र कुन सन्तुलनमा प्राप्त गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ
पार्टी विभाजनको दोष
मलाई के लाग्छ भने ०५३ सालमा पार्टीमा सन्तुलनको कुरा गर्दा सबै दबाबमा काम गर्नुभो । ०५९ को विभाजनका लागि शेरबहादुर देउवा मात्र जिम्मेवार छैनन् । गिरिजाप्रसाद कोइराला र रामचन्द्र पौडेलहरू पनि उत्तिकै जिम्मेवार छन् । जस्तो, ०५१ मा किसुनजीले गिरिजाप्रसादले बोलाएको सभामा गएर पार्टीलाई एक राख्नु भो ।
तर, ०५९ मा शेरबहादुरले भेलामा बोलाउँदा गिरिजाप्रसाद जानुभएन र उल्टो पार्टी तोड्ने कुरामा अग्रसर हुनुभो । त्यो बेला देउवालाई मात्र जिम्मेवार ठहर्याउने ठाउँ छैन । तर्कका सय कुरा हुन सक्छन् । गठबन्धन सरकार चलाउँदा सांसदहरूलाई सुविधाको मोटरहरू दिने कुरामा सबै एमाले पनि जिम्मेवार थिए । क्रय-विक्रयको सत्ताको खेल चलि नै रहन्छ । हिजोअस्ति माओवादीको सन्दर्भमा ५० करोड सांसद किन्न माग्नु भो भनेर सार्वजनिक रूपमै आएको थियो ।
पौडेलका गुण अवगुण
रामचन्द्र पौडेलको राम्रो पक्ष, उहाँ सिद्धान्तनिष्ठ हुनुहुन्छ । दोस्रो, निरन्तरता छ । उहाँको कमजोरी एउटा मात्रै छ र मलाई लाग्छ, त्यो समस्याबाट उहाँ मुक्त हुन सक्नुहुन्न । अरु सबै राम्रो छ, तर तपाईंले उहाँको आलोचना गर्नुभयो भने भोलिपल्टैबाट तपाईंसँग उहाँको सम्पूर्ण रूपमा एक प्रकारको सम्बन्ध तोडिएको ठानिन्छ । उहाँले कहिल्यै पनि मैत्री सम्बन्ध कायम गर्ने कोसिस नै गर्नु भएन ।
रामचन्द्रको दृष्टिकोण यस्तो विचित्रको छ कि पहिलो त परिवारभन्दा बाहिर नै निस्कनुहुन्न । त्यसपछि उहाँ गण्डकीभन्दा बाहिर निस्कन सक्नुहुन्न । निकै अगाडि जानुभो भने चितवन, नवलपरासी र धौलागिरीसम्म तानिनुहुन्छ, बाँकी कहीँ पनि जानुहुन्न । पार्टी चलाउनेले त ताप्लेजुङको मान्छे र दार्चुलाको मान्छे, झापादेखि कञ्चनपुरका मान्छेलाई बराबर ढंगले समेट्नुपर्छ ।
शेरबहादुर देउवामा यसको उल्टो छ । उनले जति असहमत भए पनि खासै ईख राखेर बस्दैनन् । स्वभावमा उनीहरूको अन्तर छ ।
नीतिमा अन्योल
नेपाली कांग्रेसको इतिहास नै नीति हो । तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको सन्दर्भमा कांग्रेस नयाँ प्रस्थानबिन्दुमा छ । नयाँ आरम्भको रूपमा यो महाधिवेशनलाई बनाउनुपर्छ । जस्तो, कांग्रेसको आदर्श राष्ट्रियता हो, यसको परिभाषा गर्न जरुरी छ । राष्ट्रियताको स्वरुप के हो ? तत्त्व के हो ? संरचना कस्तो हुन्छ ? कसरी बुझ्ने ? कांग्रेसले यसको परिभाषा गर्न जरुरी छ ।
अहिले कांग्रेसको अर्को वैकल्पिक शक्ति छैन । या त अति दक्षिणपन्थी छन् या त साम्यवादी छन् । अलिकति प्रजातान्त्रिक वामपन्थी छन्, उनीहरू एमाले हुन्
नेपाली कांग्रेसले सिद्धान्तका रूपमा अंगीकार गरेको प्रजातन्त्र, यो शब्द नै विस्थापित भएर लोकतन्त्र भएको छ । ‘डेमोक्रेसी’को अनुवाद प्रजातन्त्रबाट किन लोकतन्त्र भयो भनेर कांग्रेसले आजसम्म कसैलाई बुझाउन सकेको छैन । तेस्रो कुरा, कांग्रेसले समाजवाद भन्छ । त्यो आर्थिक सामाजिक रूपान्तरणको विषय हो कि राजनीतिक पनि विषय हो ? यसको कुनै परिभाषा गरेको छैन । किनकि राजनीतिक रूपमा समाजवादलाई बुझ्नु भनेको त साम्यवाद हो । यो कुराबाट कांग्रेस पृथक हुन सक्छ कि सक्दैन ? वा, आर्थिक सामाजिक रूपान्तरण मात्र हो भन्ने हिम्मत गर्छ ? यो कांग्रेसले बताएको छैन ।
चौथो हो रणनीति । हिजोका दिनमा ०६३ सम्म संवैधानिक राजसंस्था थियो । त्यसलाई पनि उनीहरूले आदर्श, विश्वास अनेक भाषा प्रयोग गरे, जुन गलत थियो । रणनीति हो भनेर मैले भन्दै आएको थिएँ । अहिले त्यसकोे ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । संघीयता कांग्रेसको विश्वास हो कि रणनीति हो ? वा, आदर्श-विश्वास हो भने भोलि देश विघटनतिर जान लागेको अवस्थामा कांग्रेसले राष्ट्रियता भनेर बस्छ कि जोगाउन कोसिस गर्छ ? वा, संघीयताका नाममा त्यसलाई छोड्ने कुुरा गर्छ ? यो कार्यकर्तालाई बुझाउनुपर्छ ।
व्यक्तिगत आचरण हावी
सबैभन्दा ठूलो कुरा अहिलेको राजनीतिलाई मानिसले सिद्धान्त, शब्दमा मात्र हेर्दैन । त्यसको कल्चर कसरी विकास भएको छ भनेर हेर्छ । राजनीति व्यक्तिगत व्यवहारमा गइसक्यो, व्यक्तिगत आचरणमा केन्द्रित भइसक्यो । यत्रो महाधिवेशनमा गाउँ, जिल्ला, क्षेत्रमा बहस भएन र केन्द्रमा पनि बहस हुँदै छैन । खालि सामान्य गन्थन गर्नुहुुन्छ । परम्परागत सोचभन्दा बाहिर गएको छैन । कांग्रेसमा अहिले नीति, सिद्धान्त, आदर्शको पुनर्व्ख्या भन्दा पनि नेतृत्व कसरी र कुन सन्तुलनमा प्राप्त गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ ।
प्रजातान्त्रिक शक्तिको विकल्प छैन
जित हार वा जय-पराजय जे भए पनि यो चुनावलाई उत्सवका रूपमा ग्रहण गर्नुपर्ने उहाँहरूको बाध्यता हो । आन्तरिक रस्साकस्सी हुन सक्छ । तर, के सत्य हो भने कांग्रेस यदि कमजोर भयो भने नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुन्छ ।
किनभने, अहिले कांग्रेसको अर्को वैकल्पिक शक्ति छैन । या त अति दक्षिणपन्थी छन् या त साम्यवादी छन् । अलिकति प्रजातान्त्रिक वामपन्थी छन्, उनीहरू एमाले हुन् । तर, उनीहरू डिलमा बसेका छन् र कुनै पनि बेला जता पनि ढल्कन सक्छन् ।
डा. बाबुराम भट्टराईले नयाँ शक्ति भनेर सुरु गर्नुभएको छ । तर, भरपर्दो भएर अगाडि बढ्न सकेको छैन । त्यसैले राम्रो लोकतान्त्रिक विकल्प नभएसम्म मुलुकमा कांग्रेसभित्रका नेताको पनि बाध्यता हुन्छ कि उनीहरू मिलेर अघि बढे भने मात्र प्रजातन्त्र जोगिन्छ ।
त्यसैले भोलिका दिनमा परिवर्तनलाई संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा जय-पराजय जस्तो भए पनि एकै ठाउँमा उभिनुपर्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment