२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चुनाव भइरहेको छ । यसक्रममा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिलाई प्रश्न राखेको छ- तपाई कसलाई भोट हाल्दैहुनुहुन्छ ? र, किन ?
यो प्रश्नमा कतिपयले खुलेरै केही उम्मेदवारहरुको नाम लिए । धेरै प्रतिनिधिहरु व्यक्तिको हकमा खुल्न चाहेनन् । तर, अधिकांशको रोजाइ युवा पुस्ताका उम्म्दवारप्रति देखिएको छ । केहीले चाँही अनुभवी एवं पाको नेतृत्व चाहिने बताएका छन् ।
विमला गौचन, म्याग्दी
कांग्रेसमा अहिले देखिएको ६०/४० को गुटबन्दी छ, त्यसलाई तोडेर एकीकृत कांग्रेस बनाउन सक्ने नेताहरुलाई मतदान गर्नेछु । कांग्रेसको सभापति आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवर्तन गर्न सक्ने खालको हुनुपर्छ । कांग्रेस नेतृत्वमा आएको नयाँ संविधानको कार्यान्वयनका लागि पनि सभापति बलियो हुनुपर्छ ।
मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने खालको नेता कांग्रेसलाई चाहिएको छ । यस्तो काम युवा नेताहरु गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेलजस्ता नेताहरुले गर्न सक्छन् भन्ने मेरो बुझाइ छ । पुराना नेताहरुले राजनीतिलाई एक विन्दूमा पुर्याइसकेका छन्, अब आर्थिक समृद्धिका लागि नयाँ पुस्ता चाहिन्छ ।
अम्मरबहादुर खड्का, उदयपुर
मैले रामचन्द्र पौडेलको टीमलाई भोट हाल्छु । कांग्रेस वीपीको विचारमा अगाडि बढिरहेको छ, त्यसलाई संस्थागत गर्नका लागि पौडेल सक्षम छन् । उनले वीपीको विचार बुझेका छन्, त्यसलाई कार्यान्वयन गर्न पनि इमान्दार देखिन्छन् । हिजोको विचार समेट्दै २१औं शताब्दी अनुसार अगाडि बढ्न पौडेल उपयुक्त नेता हुन् । कांग्रेसका लागि अहिले यस्तै नेताको आवश्यकता छ ।
डिल्लीराम सुवेदी, बाग्लुङ
अब कांग्रेसको नेतृत्वमा कृष्णप्रसाद सिटौलाको टीम आउनुपर्छ । युवाहरुको भावना बुझ्नेखालको टीम सिटौलाको देखिन्छ । अहिलेसम्म कांग्रेसले युवाहरुलाई पन्छाउन खोजेको देखिन्छ, युवाहरुलाई बहुमतमा ल्याउन पनि युवाहरुको बाहुल्यता हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । सिटौलाको टीममा रहेका गगन थापा राम्रो युवा नेता हुन् । उनले देश र समाज बुझेका छन् । युवा के चाहान्छन्, त्यो बुझेका छन् । केही गरौं भन्ने भावना उनमा देखिन्छ ।
अब मुलुक आर्थिक सम्वृद्धिमा अगाडि बढ्नुपर्छ, यसका लागि भिजन चाहिन्छ, त्यो भिजन भएको टिम सिटौलाले बनाएका छन् ।
नेपाली कांग्रेस अब पुरानै सोच, संरचना र ढर्राबाट चल्नुहुँदैन । पुरानै तरिकाबाट चल्ने हो भने अब कांग्रेसले देशको नेतृत्व गर्न सक्दैन । त्यसैले कांग्रेसभित्रको परिवर्तनकारी शक्तिलाई मतदान गर्नुपर्छ । जसले लोकतान्त्रिक गणन्त्रका लागि लड्यो र नयाँ संविधान निर्माण प्रक्रियामा सक्रिय र रचनात्मक भूमिका खेल्यो उसले मात्रै जनताको परिवर्तनको भावना बुझ्न सक्छ ।
जब कांग्रेस आफैं परिवर्तन हुन सक्दैन भने उसले देशको नेतृत्व पनि गर्न सक्दैन । त्यसैले अहिलेको आवश्यकतालाई मध्यनजर गरी परिवर्तन पक्षधर प्यानललाई म भोट हाल्छु । युवालाई त झन खोजीखोजी भोट हाल्छु ।
बद्री सिग्देल, प्रेस युनियन अध्यक्ष
नेपाल विद्यार्थी संघबाट खारिएर आएको नेतालाई हामीले मतदान गर्नुपर्छ । व्यक्तिगतरुपमा भन्नुपर्दा म शेरबहादुर देउवालाई भोट हाल्छु । किनभने उहाँसग ३/३ पटक देशको प्रधानमन्त्री भइसकेको अनुभव छ । उहाँको अनुभवले कांग्रेस र देशलाई अघि बढाउन सक्छ भन्ने मेरो विश्वास छ ।
देउवाले जित्नुभयो भने कार्यकर्ताको काम अनुसारको मुल्यांकन हुन्छ । अबको आवश्यकता भनेको मुलुकको आर्थिक विकासको हो । त्यसको नेतृत्व देउवाबाटमात्रै हुन्छ भन्ने मेरो विश्वास छ ।
डायमण्ड सापकोटा, स्पेन जनसम्पर्क समिति
म कांग्रेसका तीनै प्यानल मध्येबाट मिश्रति परिणाम आउनुपर्छ भन्छु । सभापतिका लागि रामचन्द्र पौडेल ठीक छन् भने महामन्त्रीमा गगन थापा उपयुक्त छन् । यी दुई नेतालाई नेतृत्वमा ल्याउन सकियो भने पार्टी, देश र जनताका लागि राम्रो हुनेछ ।
शेरबहादुर देउवा पटक-पटक टेस्ट भइसकेका व्यक्ति हुन् । उनी पार्टी फुटाएर हिँडिसकेका व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा खासै उपलब्धिमूलक काम गर्न सकेनन् । यही भएर पनि रामचन्द्र पौडेल पार्टीका लागि उपयुक्त हुन् । उनी अहिलेसम्म कांग्रेसमा विचलित नभई अनवरतरुपमा लागिरहेका छन् । भोलि पनि लाग्नेछन् । गगन थापासँग नयाँ जोस, उत्साह, देश र जनताका लागि केही गरौं भन्ने भावना छ ।
टेकबहादुर शाही, कपिलवस्तु
यो पार्टीको आन्तरिक चुनाव हो । जसले जिते पनि कांग्रेसले नै जित्ने हो । तर, आगामी दिनमा कांग्रेसलाई कसरी अघि बढाउने भन्नेमा हामीले ध्यान दिनुपर्छ । मेरो बिचारमा जाने बुझेको अनुभवी र युवा दुबै पुस्तालाई नेतृत्वमा पुर्याउन सकेमात्रै कांग्रेसले आगामी दिनमा सफलतापूर्वक देशको नेतृत्व वर्न सक्छ ।
रेणुका खड्का, उदयपुर
मुलुकमा प्रजातन्त्र ल्याउने महान नेता वीपी कोइराला हुन् । उनको विचारलाई संस्थागत गर्नका लागि रामचन्द्र पौडेल र उनको टीमलाई उपयुक्त ठानेकी छु । मैले पौडेलको टीमलाई मतदान गर्ने विचार गरेकी छु ।
कांग्रेस विपीको सिद्धान्तमा चलेको पार्टी हो । बाबुको सिद्धान्तलाई संस्थागत गर्दै हुर्काउने जिम्मेवारी सशांक कोइरालाको हो । यसका लागि महामन्त्रीमा शशांक उपयुक्त नेता हुन् भन्ने मेरो बुझाइ छ ।
विश्वप्रसाद आर्याल
मैले रामचन्द्र पौडेलको टीमलाई मतदान गर्ने निर्णय गरेको छु । अहिलेको समयमा पौडेल कांग्रेसका लागि उपयुक्त हुन भन्ने मेरो बुझाइ छ । वीपीको समाजवादी सिद्धान्तको कार्यान्वयनका लागि पनि पौडेलको टीम कांग्रेस नेतृत्वमा आउनुपर्छ । पौडेलले जति वीपीको सिद्धान्त अन्य नेताहरुले कम बुझेका छन् ।
पार्टीमा निरन्तरताको कुरा छ, पौडेल मूल सिद्धान्तबाट नभडि्कएको हुँदा पनि मैले उनको टीमलाई मतदान गर्ने निर्णय गरेको हुँ ।
पार्टीमा युवा नेताको आवश्यकता हुन्छ । कार्यसमितिमा युवापुस्तालाई प्राथमिकतामा राखेर मतदान गर्छु ।
शिवप्रसाद रिजाल (जोगिन्दर), सर्लाही
देश र माटोले मागेको युवा नेतृत्व कांग्रेसले पाउनुपर्छ । जो सँग तातो रगत छ, त्यस्ता व्यक्तिहरुले पार्टीमात्र होइन, देश बदल्न सक्छन् । कांग्रेस ठूलो पार्टी भएको हुँदा मुलुकको आर्थिक समृद्धिका लागि उसको भूमिका महत्वपूर्ण हुन्छ ।
हिजो संविधान निर्माणमा जसरी नेतृत्वदायी भूमिका खेल्यो, त्यसरी अब आर्थिक विकासका लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अब नयाँ पुस्ता अगाडि आउनुपर्छ । पुराना पुस्ताको अनुभव लिएर आर्थिक समृद्धिमा लाग्ने खालका नेतालाई हामीले मतदान गर्नुपर्छ ।
उमेर गएका श्रद्धेय नेताहरु सम्मानित भएर बस्नुपर्छ । देश र पार्टीको बागडोर युवा पुस्तालाई छाड्नुपर्छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता युवा नेताहरुलाई मैले मतदान गर्छु । कार्यकर्तालाई बुझ्ने, मुलुकमा आर्थिक क्रान्ति ल्याउन यस्तै नेताहरु चाहिन्छ ।
चित्ररेखा अधिकारी, संखुवासभा
कांग्रेसको आफ्नै मूल्य मान्यता रहेको छ । वीपीको समाजवादलाई २१औं शताब्दी अनुसार व्याख्या र कार्यान्वयन गर्ने नेतृत्व कांग्रेसले पाउनुपर्छ । २१औं शताब्दीमा आइपुग्दा लिगेसीले हुँदैन । अब सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर मुलुकमा समृद्धि ल्याउने खालको नेतृत्व चाहिन्छ ।
पुराना पुस्ता र नयाँ पुस्ताका नेताहरुको फ्यूजनबाट नयाँ शक्ति जन्मन्छ भन्ने मेरो बुझाइ छ । पार्टीलाई एक ढिक्का बनाउन र मुलुकमा आर्थिक समृद्धि ल्याउन नयाँ र पुराना शक्तिको फ्यूजन गराउनु आवश्यक छ । म प्यानलमा विश्वास गर्दिन । मैले मिश्रति मतदान गर्छु । मतपरिणाम पनि मिश्रति आओस् भन्ने चाहान्छु ।
दुर्गा मण्डल, धनुषा
रामचन्द्र पौडेललाई मतदान गर्न आएकी हुँ । उहाँले सबैलाई समेटेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
उहाँ धेरै राम्रो नेता हुनुहुन्छ । उहाँले राजनीति बुझ्नुभएको छ । उहाँ सबैभन्दा राम्रो नेता हो ।
त्यही भएर मैले सभापतिमा उहाँलाई मतदान गर्छु ।
प्रदीप केसी, उदयपुर
मैले रामचन्द्र पौडेलको पुरै टीमलाई मतदान गर्छु । किनभने यो टिममा कांग्रेस र मुलुकलाई बुझेका नेताहरु हुनुहुन्छ । वीपीको सिद्धान्तलाई संस्थागत गर्दै पार्टीलाई एक ढिक्का बनाउनका लागि पौडेल सक्षम नेता हो भन्ने मेरो ठम्याइ छ ।
कुन्दनराज काफ्ले, दोलखा
हरेक राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसकै नेतृत्वमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पनि जारी भएको छ । यस्तो अवस्थामा कांग्रेस महाअधिवेशनमा भाग लिन आउनुभएका प्रतिनिधिहरुले परिवर्तनलाई संस्थागत गर्न सक्ने नेतृत्वलाई मतदान गर्नुपर्छ । म परिवर्तनकारी र युवा उम्मेद्वारलाई भोट हाल्छु ।
अजय सिवाकोटी, प्रेस युनियन महासचिव
यतिबेला कांग्रेसका तल्लोतहका कार्यकर्तादेखि परिवर्तनको कुरा उठेको छ । कांग्रेसको विद्यमान संरचनाबाट परिवर्तनलाई संस्थागत गर्न कठिन छ । मुलुकको सबैभन्दा जेठो र ठूलो राजनीतिक शक्ति भएकाले कांग्रेसप्रति देश र जनताको पनि ठूलो अपेक्षा छ ।
जनताको चाहाना विकास हो, परिवर्तनकारी युवा शक्तिले जनताको चाहाना बुझेका छन् । यसर्थ, कांग्रेसको मात्रै नभई देशको रुपान्तरणका लागि म परिवर्तनको पक्षधरलाई भोट हाल्छु ।
नयाँ पुस्ता नेतृत्व तहमा नपुगेसम्म कांग्रेसको रुपान्तरण सजिलो छैन, त्यसैले परिवर्तनको पक्षधर प्यानललाई मतदान गर्न म सबै अधिवेसन प्रतिनिधिहरुलाई आग्रहसमेत गर्छु ।
प्रकाश शर्मा पौडेल, बागलुङ
कांग्रेसले आफ्नो चाहाना अनुसारको संविधान ल्यायो, अब त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व चाहिएको छ । त्यसका लागि अब कांग्रेसमा पुरानो अनुभवी र युवा पुस्ताले नेतृत्व गर्नुपर्छ ।
कांग्रेसले विगतमा विधानअनुसार काम गर्न सकेन । विधिलाईभन्दा व्यक्तिलाई बढी प्रधानता दिँदै आएको छ । म संस्थापन पक्षलाई मतदान गर्छु । साथै पार्टी सञ्चालन गर्नसक्ने युवालाई पनि उत्तिकै प्राथमिकताका साथ भोट हाल्छु ।
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं