Saturday, March 5, 2016

ट्वाक्क टुक्क

कहिल्यै नसकिने प्रश्नोत्तर

प्रश्न : चाहिएजति ग्यास–पेट्रोल कहिले पाइन्छ ?
उत्तर : नाकाबन्दी खुलेपछि ।
प्रश्न : नाकाबन्दी खुल्यो, तैपनि किन पाइएन ?
उत्तर : प्रधानमन्त्री भारत भ्रमणमा गएपछि पाइन्छ ।
प्रश्न : भारत भ्रमणमा गएपछि पनि किन पाइएन ?
उत्तर : फर्किएपछि पाइन्छ ।
प्रश्न : प्रधानमन्त्री फर्किए, अब कहिले पाइन्छ ?
उत्तर : अब चीन भ्रमणमा गएपछि पाइन्छ ।
प्रश्नोत्तर जारी रहनेछ…।

पहिले भाइभाइ, अब दिदीभाइ

यताबाट सरर उडेर दिल्ली पुगेँ । दिल्लीमा जाडो थियो तर म पुगेपछि जाडो बेपत्ता भयो । जाडो हटेपछि मेरो न्यानो स्वागत भयो । कति न्यानो भयो भने मलाई कोट खोलेर फालौँजस्तो लाग्यो तर खोलिनँ । म दिल्ली पुग्नासाथ जाडो भाग्नुको रहस्य मोदीजीले सोधे । मैले भनेँ, ‘जाडो भगाउने उखान मनमनै वाचन गरेको थिएँ, टिक्न नसकेर टाप कस्यो ।’ त्यसपछि सुत्नलाई कोठा पसेपछि बाथरुममा हेर्छु त पानी नै थिएन । म बसेको कोठालाई समेत नाकाबन्दी गरेर यिनले ताउरमाउर देखाए भन्ने लाग्यो । बिहान उठेपछि मात्र थाहा पाएँ, दिल्लीलाई हरियाणाका जाटले पानीको नाकाबन्दी ठोकेका रहेछन् । जस्तालाई त्यस्तै ढिँडालाई निस्तै भनेको यही हो भनिदिउँmजस्तो लाग्या थियो तर परदेशमा छुच्चो मुख किन गर्नु भनेर चुप लागेँ ।

बिहानै मोदीजी मेरो कोठामा आए । अनुहार हेर्दा उनले मुख धुन नपाएको जस्तो लाग्यो । अब उनले मसँग पक्कै पानी माग्छन् भन्ने लाग्यो । त्यसैले उनले माग्नुअगाडि नै मैले बिजुली मागिदिएँ । नाईं भन्ने मौका नै दिइनँ । प्याच्च मागेँ, ट्वाक्क पाएँ । उताबाट पाएको बिजुली नेपालमा तारमार्फत घरघरमा बाँड्ने व्यवस्था मिलाएको छु । यति बिजुलीले पुगेन भनेर गुनासो नगर्नुहोला, चिन्ता नगर्नूस्, अझै दिने भनेका छन् ।

बिजुली दिन त दिए तर भविष्यमा यसमा पनि नाकाबन्दी गरिदिन के बेर ? यो चिन्ताको औषधि पनि मैले फ्याट्टै निकालेँ । विदेशमन्त्रीलाई दिदी बनाएँ । पहिले नेपाल–भारत ‘भाइभाइ’ थियो, अब ‘दिदीभाइ’ भयो । दिदीले भाइलाई कसरी नाकाबन्दी गर्छे ? कसरी दु:ख दिन्छे ? यही हो मेरो भ्रमणको उपलब्धि ।

भिखारी होइन, भोकारी

वडामा भोट माग्यो । गाउँमा भोट माग्यो । क्षेत्रमा भोट माग्यो । जिल्लामा भोट माग्यो । केन्द्रमा, कहाँ कुन पदमा उठ्ने टुंगो छैन । तैपनि, उठ्नै पर्‍यो । नउठे नेता बनिन्न, उठे जित्ने ग्यारेन्टी छैन । गाउँदेखि भोट माग्दैमाग्दै आउँदा थाकिसक्यो । ज्यानभन्दा धेरै खल्ती थाकिसक्यो । उम्मेदवार बनेपछि मतदाता वरिपरि आउँछन् । आफ्नै पार्टीका भनेर के गर्नू ? तिनलाई मीठो खुवाउनै पर्‍यो । ठोस मात्र खुवाएर भएन, तरल पनि पिलाउनै पर्‍यो । हे प्रभो ! नेता बन्न असाध्यै गाह्रो पर्‍यो ।

अहिले कांग्रेस महाधिवेशनको याम छ । नेताहरूको आँगनमा टिकट माग्नेको लाम छ । गुटले उठ भनेर टिकट नदिएसम्म आफूखुसी उठेर काम छैन । तैपनि, उम्मेदवार नबनी भा छैन । चुनावमा उठेपछि भोट माग्न पर्छ । माग्दा माग्दै जीवन जाने भो । जहिलेतहिले मागेर नेता बन्नुपर्ने यो राजनीति कस्तो नशा हो ? नजान्नेका लागि नशा हो, जान्नेका लागि पेसा हो । भीख माग्नेलाई भिखारी भनेजस्तै भोट माग्ने लाई ‘भोकारी’ भन्ने कि ? राजधानीको भीडभाडमा मुसुक्क हाँसेर कसैले केही माग्दैछ भने उसलाई भिखारी भनिहाल्न हुन्न, ऊ कांग्रेसको भोकारी पनि हुन सक्छ ।
कांग्रेसका मात्र किन ? हरेक पार्टीका नेता–कार्यकर्ताहरू भोकारी होइनन् र ?

पार्टी शास्त्र

पार्टी के हो ? : पार्टी भन्या पाटीजस्तै हो । चक या खरीले लेख्ने पाटी होइन, बास बस्ने पाटी हो । पाटी र धर्मशालाको चलन हराए पनि राजनीतिक पार्टीले तिनको काम धानेका छन् । उपयोगिता हुन्जेल बस्ने, उपयोगिता सकिएपछि बाटो लाग्ने थलोलाई कसैले पाटी भन्छन्, कसैले धर्मशाला र कसैले पापशाला पनि ।

पार्टीभित्र के हुन्छ ? : जसरी पाटीभित्र कोठाहरू हुन्छन्, त्यसै गरी पार्टीभित्र पनि कोठाहरू हुन्छन् । पार्टीभित्रका कोठालाई गुट भनिन्छ । कोठाभित्र पनि ससाना कोठा हुन्छन्, जसलाई उपगुट भनिन्छ ।

गुट के हो ? : गुट भनेको उपगुटहरूको समूह हो । उपगुटहरू मिलेर गुट बन्छ । गुटहरू मिलेर पार्टी बन्छ ।

एउटा पार्टीमा कति गुट हुन्छन् ? : जहाँ नेता त्यहाँ गुट हुन्छ, त्यसैले पार्टीमा नेतापिच्छेको गुट हुन्छ । सानो नेताको नेतृत्वको झुन्डलाई उपगुट भनिन्छ भने ठूला नेताकोलाई गुट । नेता जतिसुकै ठूलो किन नहोस्, उसको गुट पनि उपगुटहरूको समूह हो । पानीबिना माछा बाँच्दैन, गुटबिना नेता टिक्दैन ।

पार्टी ठूलो कि गुट ? : पार्टी नै ठूलो हो तर नेताका लागि चाहिँ होइन । नेता बन्न गुट चाहिन्छ, गुट बन्न पार्टी चाहिन्छ । गुट रहे नयाँ पार्टी बनाएर भए पनि नेताका रूपमा टिकिरहन सकिन्छ । त्यसैले नेताका लागि गुट नै ठूलो भएन र ?

गुट कसरी बन्छ ? : गुटमा लाग्न हुन्न, पार्टीका लागि गुट हानिकारक छ, गुट मासेर पार्टी एकढिक्का हुनुपर्छ भन्ने ‘सद्विचार’ राख्नेहरू एक ठाउँ भेला हुन्छन् र नयाँ समूह जन्मन्छ । औकात पुगेमा त्यो समूह गुटमा परिणत हुन्छ, नत्र उपगुटको रूपमा कुनै गुटमा मिसिन्छ ।

गाँठी कुरो : लोकतन्त्र भनेको पार्टीहरूको तन्त्र र पार्टीतन्त्र भनेको गुट/उपगुटहरूको तन्त्र हो भन्ने जसले जान्यो, उसले राजनीति गरिखायो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment