२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापाले आफूले जीवनको सबैभन्दा ठूलो राजनीतिक जोखिम उठाएको बताएका छन् ।
बन्दसत्र स्थल भृकुटीमण्डपमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै महामन्त्रीका उम्मेदवार थापाले आफूले कसैको छोरा वा कसैको बुबा चुनाव लड्दैछ भन्ने हेरेर निर्णय नगरेको बताए ।
महामन्त्रीका लागि गगनसँगै उनका ससुरा अर्जुननरसिंह केसी र बीपीपुत्र शशांक कोइराला पनि चुनावी मैदानमा छन् । कांग्रेस संस्थापन पक्षले केसीलाई जिताउनैका लागि गगन थापा चुनाव लडेको प्रचार गरेपछि उनले त्यसको खण्डन गरेका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्र चलिरहेको भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गगनले भने, ‘कसको छोरा र कसको बुबा लड्नुभएको छ भन्ने हेरेर मैले उम्मेदवारी दिने कि नदिने निधो गरेको होइन ।’
सुशील कोइराला जीवित रहँदा नै शीर्ष तीननेताले विश्राम लिएर दोस्रो पुस्ताबाट सभापति र आफ्नो पुस्ताबाट महामन्त्री हुुनुपर्छ आफूले भनेको बताउँदै गगनले भने, ‘यो पुस्ताको प्रतिनिधिले ‘जिम्मेवारी बोक्छौं’ भन्ने चेष्टा गरेको छ ।’
आफू सम्हालिएर यहाँसम्म आएको दाबी गर्दै उनले अघि भने, ‘म आफू महामन्त्री बन्नका लागि जीवनको सबैभन्दा ठूलो राजनीतिक जोखिम उठाएका बेलामा मैले अरु कसैका लागि प्रयोग गरिदिनु पर्ने ? म त्यति मूर्ख राजनीतिकर्मी होइन ।’
गगनले यो चुनाव आफ्नो मात्र नभई महाधिवेशन प्रतिनिधिको पनि परीक्षा भएको बताए । उनले भने, महाधिवेशनबाट घर फर्किँदै गर्दा मलाई किन हराएको भन्दा कुनै परिवारमा नजन्मिएका कारण हराएको भन्ने कि ? के जवाफ दिने ? त्यसैले यो महाधिवेशन प्रतिनिधिको पनि परीक्षा हो ।’
नेपालको राजनीति १२ बुँदे समझदारी हुँदै अहिले जुन कोर्षमा अघि बढेको छ, यसमा संलग्न भएको मुख्य पात्र कृष्ण सिटौला भएको भन्दै गगनले आफ्नो प्यानललाई संविधानको पक्षपाती समूह भनेका छन् ।
महामन्त्रीका अर्का उम्मेदवार शशांक कोइरालाप्रति इंगित गर्दै उनले भने-परिर्वतन नै ठीक थिएन कि, पुनरावलोकन गर्नुपर्छ कि भन्ने सोचाइले नेपालको पोलिटिकल कोर्ष नै चेन्ज गर्छ ।’
युवा नेता गगनले आफू महामन्त्री भए ४ वर्षमा संविधान कार्यान्वयनका लागि जग हाल्ने बताए । उनले भने- ‘म कांग्रेसको राजनीतिको फम्र्याट चेञ्ज गर्न चाहन्छु, कर्मकान्डी होइन, जनतासँग जोड्न चाहन्छु ।’
कांग्रेसलाई रुपान्तरित गर्नुपर्ने भन्दै उनले कांग्रेसलाई आम जनतामा आधारित पार्टी बनाउने बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment