Saturday, March 5, 2016

दर्ता र स्वीकृति बिनानै ठूला अस्पताल सञ्चालनमा

बुटवल –  बुटवलमा रहेका केही ठूला अस्पतालहरुले दर्ता नै नगरी अस्पताल सञ्चालन गरि रहेको रहस्य खुलेको छ । स्वास्थ्य जस्तो संवेदनशील संस्थासमेत यसरी संचालन हुँदा यस्ता अस्पताललाई न प्रशासनले अनुगमन गर्ने गरेको छ, न सम्बन्धित निकायले नै अनुगमन गर्ने गरेको छ । पहुँचकै भरमा संचालन भएका यस्ता अस्पतालले स्वास्थ्यका अनुगमनकारी निकायलाई चुनौति दिएका छन् । अनुगमनकर्ताहरु औपचारिक रुपमा ती अस्पताल संचालनबारे अनभिज्ञता व्यक्त गर्छन् तर अनौपचारिक रुपमा पहुँचका भरमा संचालन भएको बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल र जेनिश अस्पताल सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन भइरहेको तथ्य खुलेको छ । बुटवलको जेनिश अस्पतालले सामान्य प्रक्रिया मानिने मनसाय पत्र समेत लगेको छैन । स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी नभएको कारण अस्पताललाई मनसाय पत्र समेत प्रदान नगरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक मोती पौडेलले बताए । यसैगरि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मनसाय पत्र लिएको भए पनि सञ्चालन अनुमति भने नपाएको जनस्वास्थ्य निरिक्षक पौडेलको भनाई छ । गौतम बुद्धले गत सालको बैशाख महिनामा मनसाय पत्र लिए पनि अहिलेसम्म सञ्चालन अनुमति भने नपाएको जनस्वास्थ्य निरीक्षक पौडेलले जानकारी दिए ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को पच्छिेद ३ को दफा ७ मा पनि स्वास्थ्य संस्थाको लागी मनसाय पत्रको ब्यवस्था गरिएको छ । निर्देशिका बमोजिम स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य सेवा विस्तार वा स्तरोन्नति गरी स्वास्थ्य सेवा सञ्चालन गर्न इच्छुक स्वास्थ्य सस्ंथाले आवश्यक पूर्वाधार निर्माण गर्ने प्रयोजनको लागि मनसाय पत्रको लागि निवेदन दिनुपर्नेछ भनि उल्लेख रहेको छ । तर यस्ता मनसाय पत्र लिएका स्वास्थ्य संस्थाले तीन बर्षको निर्माण म्याद पाउने र समयमा निर्माण सम्पन्न नभए थप दुई बर्षको समय पाउने उल्लेख छ । तर मनसाय पत्र लिदैमा अस्पतालले सेवा शुरु गर्न पाउने भने निर्देशिकाले कतै उल्लेख नगरेको जनस्वास्थ्य निरिक्षक पौडेलले जानकारी दिए ।

बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मनसाय पत्र मात्र लिई अस्पताल नै दर्ता नगरी जनताको स्वास्थ्यसित खेलवाड गरिरहेको सरोकारवालाहरु नै बताउँछन् । अस्पतालले दर्ता नै नगरी तथा जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी नै नदिई बिभिन्न स्वास्थ्य शिविर समेत गर्दा जिल्लाका अनुगमक निकाय मौन बसी सहयोग गरिरहेको देखिन्छ ।

भौतिक संरचना मात्र निर्माण गर्न भनि मनसाय पत्र लिएको मुटु अस्पतालले बुटवलमा खुलेयाम २४ बेड सञ्चालन गरि मुटु र सो सम्बन्धि बिरामीको उपचार गरिरहेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार मनसाय पत्र लिएपछि र भौतिक पूर्वाधार कार्य सम्पन्न भएपछि लिईने सञ्चालन अनुमति पत्र अहिलेसम्म लिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीबाट अहिले सम्म एक वटा अस्पतालले मात्र मनसाय पत्र लिएको तथ्यांक रहेको जनस्वास्वास्थय निरिक्षक मोती पौडेलले बताए ।

उच्च राजनैतिक पहुचकै कारण यी स्वास्थ्य संस्थाहरु दर्ता नगरी निर्वाध रुपमा सञ्चालनमा रहेको जनस्वास्थ्यका कर्मचारीहरु नै बताउँछन् । स्पष्ट कानुनको अभावमा कार्यवाही गर्न नसकिएको जनस्वास्थ्य निरिक्षक मोती पौडेल बताउँछन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को परिच्छेद ३ को दफा ८ मा अनुमतीपत्र सम्बन्धि ब्यवस्था गरेको छ । पूर्वाधार निर्माण कार्य सम्पन्न भएपछि सो पूर्वाधार तयार भएको व्यहोरा सहित सम्बन्धित स्वास्थ्य संस्थाले सेवा सञ्चालन गर्न आवश्यक कागजातहरु संलग्न गरी अनुमति प्रदान गर्ने निकाय समक्ष निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । प्राप्त हुन आएको निवेदनमा अनुमति प्रदान गर्ने निकायले निवेदन प्राप्त भएको मितिले १५ कार्यदिन भित्र अनुगमन समिति खटाउने र खटिएको अनुगमन समितिले पैंतालिस कार्यदिन भित्र स्थलगत निरीक्षण गरी स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्न उपयुक्त भए नभएको राय सहितको प्रतिवेदन अनुमति प्रदान गर्ने निकाय समक्ष पेश गर्नुपर्ने ब्यवस्था रहेको छ । अनुगमन समितिको प्रतिवेदनको आधार र निर्देशिकामा उल्लिखित अन्य मापदण्ड पूरा गरेको स्वास्थ्य संस्थालाई अनुमति प्रदान गर्ने निकायले पाँच वर्षको लागि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयले तोकेको ढाँचामा अनुमति दिन सक्नेछ भनि ब्यवस्था गरेको छ ।

रुपन्देहीको जेनिश र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले अस्पताल सञ्चालन गर्ने अनुमति समेत नलिएको जिल्ला जनस्वास्थ्य कार्यालयको जानकारीमा छ । तर जिल्ला जनस्वास्थ्य कार्यालय पनि यस्ता माथी निगरानी गर्न हच्किएको छ । उच्च राजनैतिक पहुचकै कारण यी स्वास्थ्य संस्थाहरु दर्ता नगरी निर्वाध रुपमा सञ्चालनमा रहेको जनस्वास्थ्यका कर्मचारीहरु नै बताउँछन् । स्पष्ट कानुनको अभावमा कार्यवाही गर्न नसकिएको जनस्वास्थ्य निरिक्षक मोती पौडेल बताउँछन् ।

जनस्वास्थ्य निरीक्षक पौडेलले रुपन्देहीमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, देवदहको देवदह मेडिकल कलेज, बुटवलको मेडिकेयर अस्पताल र बुटवलको लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजले ५० बेड भन्दा बढी राखी क्षेत्रिय स्वास्थ्य कार्यालय तथा बिभागको स्विकृति लिई जनस्वास्थ्य कार्यालयलाई जानकारी गराएका छन् । यसै गरि बुटवलको खत्री नर्सिङ्ग होम, भैरहवाको सिद्धार्थ सिटी हस्पिटल र भैरहवा हस्पिटल प्राली र पर्रौहाको पर्रोहा मोडेल हस्पिटल लिमिटेड जिल्ला जनस्वास्थ्य कार्यालय अन्र्तगत दर्ता रहेको तथ्यांकमा देखिन्छ ।

बाँसगढीको युनिफाईड पब्लिक हस्पिटल प्रालि, बुटवलको मर्सि सिटी हस्पिटल प्राली, तिलोत्तमा हस्पिटल प्राली, ल्याण्डमार्क हस्पिटल प्राली ५० शैया, कालिका होमियोपैथी हस्पिटल प्राली र मालिका होमियोपैथी हस्पिटल प्रालीले १५ शैया सञ्चालन गर्न जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्विकृति लिएको जनस्वास्थ्यको तथ्यांकबाट देखिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल र जेनिश अस्पतालको नाम जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा छैन । अस्पतालले दर्ता नै नगरी सञ्चालनमा रहदा समेत जिल्लाका अनुगमन गर्ने निकाय मौन बसेका छन् ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. समिर गौतमले आफुले जिल्ला जनस्वाथ्य कार्यालयबाट पु¥याउने आवश्यक प्रक्रिया पुरा गरेको दावि गरेका छन् । जिल्ला जनस्वाथ्य कार्यालयबाट अस्पताल सञ्चालनको लागि लिनुपर्ने अनुमती पत्र नलिएको भन्ने विषयमा संवाददाताको प्रश्नमा उनले भने– ‘हामी प्रक्रियामा छौ केही प्रक्रिया पुरा नभएको हुन सक्छ ।’ उनले आफुहरुले जिल्लाबाट पुरा गर्नुपर्ने प्रक्रिया पुरा गरेको दावि गरेछन् । तर जनस्वाथ्य कार्यालयले भने उक्त अस्पतालले मनसाय पत्र मात्र लिएको तर दर्ता र सञ्चालन अनुमती पत्र नलिएको बताएको छ ।

त्यस्तै बुटबलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सन्चालनबारे क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखरामा कुनै जानकारी नभएको निदेशानालयका क्षेत्रिय प्रमुख डा.तारानाथ पौडेलले बताए । हामीकोमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल दर्ता भएको कुनै जानकारी छैन, यदी माथि दर्ता गरेको भए हामीकहाँ नबिकरण गर्नुपर्ने हो तर मुटु अस्पतालले त्यो पनि गरेको छैन क्षेत्रिय प्रमुख पौडेलले भने । २०७१ सालबाट क्षेत्रिय स्वास्थ्य निर्देशनालयलाई २५ देखी ५० सैया सम्मको अस्पतालको स्वीकृति दिने व्यवस्था भएपनि गौतम बुद्ध मुटु अस्पताले सञ्चालन वा प्रकृया कुनै पनि जानकारी नदिएको पौडेलको भनाई छ । यदि त्यसरी संचालन भएको भए अनुगमन निरीक्षण गरी प्रतिबेदन तयार गरी प्रमुख जिल्ला अधिकारी मार्पmत कार्वाही हुने पौडेलको भनाई छ । प्रमुख पौडेलले भने कतै बिना दर्ता बिना स्वीकृती चलेको भए आफुलाई जानकारी दिन प्रमुख पौडेलले आग्रह गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment