२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका तेस्रो उम्मेदवार हुन् कृष्णप्रसाद सिटौला । सभापतिका लागि उम्मेदवारी घोषणा उनको पहिलो हो । तर, धेरैले दुई उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको प्रतिस्पर्धामा सिटौलालाई तेस्रो मानेका छन् ।
युवा नेता गगन थापालाई महामन्त्रीमा अघि सारेका सिटौलाले सभापतिमा भिड्ने हिम्मत गरे । पहिलो चरणको चुनावमा दोस्रो स्थान हात पार्ने उनको प्रयास र रणनीति छ ।
यसो त सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गर्दा पनि धेरैले च्याँखे थापेको बताइरहेका थिए । तर, संस्थापन पक्षले भनेको जस्तो उनले रामचन्द्र पौडेललाई सर्मथन गरेनन्, जसले गर्दा सभापतिमा त्रिपक्षीय भिडन्त पक्का भएको छ ।
को हुन् सिटौला ?
गोविन्दराज जोशी कमजोर भएपछि कोइरालाले उनी निकट मानिएका कृष्ण सिटौलालाई रोजे । गिरिजाप्रसादको विश्वास जित्न सक्नु नै कृष्ण सिटौलाको टर्निङ प्याइन्ट बन्यो ।
तेह्रथुमको संग्रातिमा जन्मिएका सिटौलालाई झापाली नेताका रुपमा चिनिन्छ । झापाली भनेपछि कुटिल भनेर चिनिन्छ, त्यसमाथि विज्ञानसँगै कानूनमा स्नातक गरेका सिटौलालाई कांग्रेसमा रहस्यमयी नेताका रुपमा लिइन्छ ।
कांग्रेसको अहिलेको नेतृत्वमा रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि अधिकांश नेपाल विद्यार्थी संघको राजनीतिबाटै आएका हुन् । तर, सिटौला यस्ता नेता हुन्, जो जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका हुन् ।
०३३ सालदेखि नै कांग्रेसमा सक्रिय राजनीतिमा होमिएका ०४६ सालको जनआन्दोलनपछि संसदीय राजनीतिमा आए । तर, ४८ को चुनावमा झापाको क्षेत्र नम्बर १ मा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए ।
तर, आचार्यको असामयिक निधन भएपछि झापा ०५० सालमा मध्यावधि चुनाव भयो, जसमा सिटौलाले एमालेका लीला उदासी खनाललाई हराए र सांसद भए । ०५७ साल माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा हेरफेर हुँदा उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने । लगत्तै कांग्रेसमा विभाजन आयो भने ज्ञानेन्द्रले कू गरे ।
शाहीकालमा कांग्रेसका तत्कालीन सहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि उनी पार्टीमा कमजोर हुँदै गए । जोशी गिरिजाप्रसाद निकट थिए । जोशी कमजोर भएपछि कोइरालाले उनी निकट मानिएका कृष्ण सिटौलालाई रोजे । गिरिजाप्रसादको विश्वास जित्न सक्नु नै कृष्ण सिटौलाको टर्निङ प्याइन्ट बन्यो ।
यसपछि सिटौला लगातार कोइरालासँगै रहे । ०६२/०६३ को आन्दोलन, माओवादीसँगको १२ बुँदे सम्झौतामा पनि गिरिजाप्रसाद कोइरालाले सिटौलामार्फत आफ्ना काम गराए ।
गिरिजाको सारथी बनेर सिटौलाले नै प्रचण्ड र बाबुराम भट्टराईलाई ०६३ साल असारमा काठमाडौं भित्र्याए । त्यसअघि नै ०६३ साल बैशाख १९ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा सिटौला गृहमन्त्री थिए । र, उनी गृहमन्त्री भएकै बेला नेपाल प्रहरीमा सुडान घोटाला प्रकरण भयो । प्रचण्ड र बाबुरामलाई सिकलेसबाट काठमाडौं ल्याउँदा उनलाई सवारी मन्त्री बनेको आरोप समेत लाग्यो ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसभित्रबाटै धेरैले कृष्ण सिटौलाको पनि राजनीति सकियो भन्ने टिप्पणी गरे । तर, १२ औं महाधिवेशनमा सुशील कोइरालालाई सभापति बनाउन पर्दा पछाडि बसेर सक्रिय भए र टीम बनाउने सबै काम उनले गरे ।
सुशील सभापति बनेपछि संस्थापन समूहबाट सिटौलालाई महामन्त्री मनोनित गर्न नै कठिन भयो । निर्वाचित महामन्त्री प्रकाशमान सिंह उनका प्रतिद्वन्द्वी भए भने उपसभापति रामचन्द्र पौडेल पनि उनलाई अघि बढाउन चाहेनन् ।
जसका कारण सिटौला र सुशीलको दुरी बढ्यो । संविधान जारी भएपछि प्रधानमन्त्री चुनावमा त्यो छताछुल्ल भयो । सिटौला विश्वासको राजनीति गर्छन् ।
संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार बनाउने समझदारी तोडेको सिटौलालाई सैहृय भएन । राजनीति लिखित सम्झौतामा मात्र हुँदैन भन्ने उनले गिरिजाबाट सिकेको छन् । पहिलो संविधानसभापछि प्रधानमन्त्री भएका प्रचण्ड कटवाल काण्डले हटे । कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाए, जबकि झलनाथ एमालेको महासचिव थिए । कांग्रेस नेता भन्छन्, ‘गिरिजाबाबुले वचन दिनुभयो, त्यो पूरा गर्नुभो । जसलाई नजिकबाट हेर्ने एक पात्र हुन् सिटौला ।’
दोस्रो संविधानसभा अघिसम्म कृष्ण सिटौलालाई भारतपरस्त भन्ने आरोप पनि लागेको थियो । तर, दोस्रो संविधानसभाबाट नयाँ संविधान जसरी भए पनि जारी गर्नुपर्छ भन्दै भारतीय दबाबलाई अस्वीकार गर्ने एमाले अध्यक्ष केपी ओलीपछि अर्का नेता यिनै कृष्ण सिटौला थिए । त्यसैले सिटौलालाई एक रहस्यमयी पात्र मानिन्छ । उनी कम बोल्छन्, निरन्तर सक्रिय रहन्छन् ।
सिटौला सधैँ काम गर्न रुचाउने नेता हुन् भन्छन् निटवर्तीहरु । त्यसैले होला उनको विपक्षमा रहेका शेरबहादुर देउवा वा रामचन्द्र पौडेल समूह पनि सिटौलालाई ‘पार्टीका लागि चाहिने मान्छे’ भन्छन् ।
चुनावमा हार र जीत बराबर
कृष्णप्रसाद सिटौलाका लागि चुनाव त्यति पि्रयकर छैन । ०४८ साल यता उनले भाग लिएका ६ वटा चुनावमध्ये उनले ३ वटामा मात्रै जीत हात पारेका छन् । सिटौलाले ०४८, ०५१ र ०६४ सालका चुनाव हारेका छन् भने ०५०, ०५६ र ०७० मा भएका संसदीय चुनाव जितेका छन् ।
सिटौला ०४८ सालको चुनावमा झापाको क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । एमालेका स्व. द्रोणप्रसाद आचार्यसँग उनी चार हजार बढी मतान्तरले हारे । त्यसबेला सिटौलाको ९ हजार ८ सय २७ मत आएको थियो भने आचार्यले १३ हजार ७ सय २१ मत आएको थियो । एमाले सांसद द्रोणप्रसाद आचार्यको असामयिक निधन भएपछि झापा क्षेत्र नं १ मा ०५० सालमा मध्यावधि चुनाव भयो, जसमा सिटौलाले एमालेका लीला उदासी खनाललाई ३ हजारको मतान्तरले हराए ।
मध्यावधि चुनावमा सिटौलाले १६ हजार १ सय ९४ मत पाएका थिए भने लीला उदासीले १३ हजार ३ सय ३७ मत मात्र पाएका थिए । त्यसबेला सिटौलासँग चुनाव हार्ने एमालेका उदासी अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्य बनेका छन् । उनी झापाका चर्चित कानून व्यवसायी पनि हुन् । र, यो पनि ज्ञात होस् सिटौला पनि सक्रिय राजनीतिमा आउनुअघिसम्म वकालती पेशामै थिए ।
तीन वर्षपछि ०५१ सालमा मध्यावधि चुनाव आयो । त्यसबेला झापा क्षेत्र नं १ मै चुनाव लडेका थिए, उनले १४ हजार ५ सय ११ मत ल्याए, तर जितेनन् । किनभने, सो चुनावमा एमालेका पुष्पराज पोखरेलले १५ हजार ६ सय ५२ मत ल्याएर सिटौलालाई हराए ।
सिटौलाका लागि ०५६ सालको चुनावमा फेरि संसदमा आउने बाटो खुल्यो । ०५६ को चुनावमा उनले १७ हजार ५ सय ६१ मत ल्याएर एमालेका नारायण राजबंशीलाई हराए । राजबंशीको १५ हजार ३ सय मत आएको थियो ।
तर, सिटौलाले जितेको यो चुनाव झापाको इतिहासमा विवादित मानिँदै आएको छ । केपी ओली र कृष्ण सिटौलाले भित्री साँठगाँठ गरेर आफूलाई हराएको आरोप एमालेकै तत्कालीन क्षेत्र नं ४ का उम्मेदवार युक्त भेटवालले लगाए । भेटवाल त्यसबेला चक्रप्रसाद बास्तोलासँग क्षेत्र नं ४ मा २६ भोटले मात्रै हारेका थिए ।
त्यसबेला केपी ओलीले क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार गिरिराजकुमारी प्रसाईलाई १७ भोटको मतान्तरले हराएका थिए । तर, दुईवटा क्षेत्रमा चुनाव लडेका ओलीले क्षेत्र नं ६ मा ४ हजारको फराकिलो मतान्तरमा जीत हात पारेका थिए । त्यसबेला एमाले र कांग्रेसका दुईजना केपी/केपी मिलेर पार्टीमा अन्तरघात गरेको आरोप चर्कोरुपमा उठेको थियो ।
यो अन्तरघातको पटाक्षेप हुन सकेको छैन, तर केपी ओली र कृष्ण सिटौलाको सुमधुर सम्बन्ध भने कुनै लुकेको विषय होइन, जसले कांग्रेस र एमालेलाई नजिक ल्याउने काम गरेको छ ।
सुशीलले उपप्रधानमन्त्री हुन दिएनन्
दोस्रो संविधानसभाको उत्तरार्धमा पनि केपी ओली नेतृत्वको सरकारमा सिटौलाले गृहमन्त्रालय र उपप्रधानमन्त्री सम्हाल्ने चर्चा थियो, तर सुशील कोइरालाले विपक्षी बेञ्चमा बस्ने निर्णय गर्दै ओलीसँग प्रधानमन्त्रीको चुनावमा प्रतिस्पर्धा गरे, जसले गर्दा सिटौला उपप्रधानमन्त्री बन्न पाएनन् ।
उनी ओली नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी हुनुपर्छ भन्ने लाइनमा थिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजासँग मिलेर महत्वपूर्ण भूमिका खेलेका सिटौला पहिलो संविधानसभामा माओवादीबाटै पराजित भए पनि दोस्रो संविधानसभामा झापाबाट चुनाव जितेर संविधानसभामा आए । सिटौलाले संविधान मस्यौदा समिति सभापतिको महत्वपूर्ण जिम्मेवारी सम्हाले ।
संविधानसभामा छलफल हुँदा सिटौला अलि कठोर भएको र जनजाति एवं मधेसीका मुद्दाहरुमा केपी ओलीकै लाइनमा उभिएको गुनासो एमाओवादी नेताहरुले नगरेका होइनन् । सुशील कोइराला केही ढीलो गरेर भए पनि मधेसीलाई समेटेर संविधान जारी गर्नेमा नरम थिए । तर, सिटौलाले ढिलो नगरी संविधान ल्याउनुपर्नेमा जोडबल गरे, जसले गर्दा संविधान बन्न सम्भव भयो ।
अहिले पनि सिटौलाको लाइन भनेको सबै प्रमुख दलहरुले आपसमा मिलेर सहकार्यका साथ संविधानको कार्यान्वयन गर्नुपर्छ भन्ने नै रहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment