केकी अधिकारी, कलाकार
परिवार मान्छेको भावनात्मक मेरुदण्ड हो । जीवनका हर संवेदना, भावना सबैभन्दा पहिले परिवारसँग जोडिएको हुन्छ । मान्छे अलिकति दुःखी हुँदा कस्तो देखिन्छ, खुसी हुँदा कस्तो देखिन्छ, इमानदार भएर बोल्दा कस्तो देखिन्छ, झुट बोल्दा कस्तो देखिन्छ- उसको मनको कुरा, अनुहारको भाषा परिवारले नै बुझ्न सक्छ । सबैलाई ढाँट्न सकिएला तर परिवारलाई ढाँट्न सकिँदैन जस्तो लाग्छ मलाई । भनिन्छ, मान्छेेको पहिलो पाठशाला नै परिवार हो । परिवारसँगको सम्बन्ध राम्रो भए, परिवार सुन्दर भए, सबै राम्रो हुन्छ ।
आमा मायालु, बाबा बौद्धिक
परिवारमा सबैभन्दा बढी निकट त आमासँगै नै छु, यो स्वाभाविक पनि हो । घरमा सबै कुराको ख्याल गर्ने आमाले नै हो । संसारमा कसैले निसर्त निरन्तर साथ दिन्छ, अथाह माया दिन्छ भने त्यो आमाले नै दिनुहुन्छ । आमाले मायामा तर्क गर्नुहुन्न । गल्ती गरेका बेला पनि माया गर्नुहुन्छ ।
मलाई मन पर्ने आमाको बानी, उहाँ निकै खुलेर हाँस्नुहुन्छ । नारीले खुलेर हाँस्नु हुँदैन, राम्रो होइन भनेको पनि सुनेकी छु, समाजको यो मान्यता मलाई मन पर्दैन । तर, जब म घर जान्छु, आमाले नै यो मान्यता तोडेको देख्छु । मेरी आमा हाँस्दा मलाई संसारै हाँसेजस्तो लाग्छ, संसारका सबै नारीले जितेजस्तो लाग्छ । उहाँ हाँसेको मेरी हजुरआमाले पनि मन पराउनुहुन्छ ।
मेरो बाबाले अगाडि-पछाडि सोच्नुहुन्छ । उहाँ निकै अध्ययनशील हुनुहुन्छ । उहाँलाई अध्ययनले फराकिलो बनाएको छ । उहाँसँग तर्क छ । भावनाभन्दा बढी विचार छ, मलाई सम्झाइबुझाइ गर्नुहुन्छ, भविष्य देखाउनुहुन्छ । मेरी आमा पनि बौद्धिक हुनुहुन्छ । तर, मलाई बौद्धिकता देखाउनुहुन्न, खालि माया र भावना मात्रै देखिन्छ उहाँको बोली-व्यवहारमा ।
सानो छँदा भने म बाबा (बद्री अधिकारी) सँग धेरै क्लोज थिएँ । स्कुलमा हुने एक्टिभिटिज आमालाई भन्दा बढी बाबालाई सुनाउँथेँ । बाबा दिनभरि आफ्नो काममा बाहिर जानुहुन्थ्यो । स्कुलमा राम्रो गरेको, कम्पिटिसनमा जितेको कुरा सुनाउन मैले उहाँलाई भरेसम्म पर्खन्थेँ ।
म बुझ्ने हुँदा त बाबाले रंगमञ्च पूर्णरुपमा छोडेर टेलिसिरियल निर्माणमा लाग्नुभएको थियो । म सानै छँदा नै बाबाले मौन आकाश, प्रतिभा आकाश माग्छे, सिर्जनाका आँखाहरू, अविरण बग्दछ इन्द्रावती लगायत टेलिफिल्म बनाउनुभएको हो ।
बाबा काममा बढी नै व्यस्त हुनुहुन्थ्यो । आमा घरमा भइरहने, सबै कुराको ख्याल गर्ने तर बाबा कम समय घरमा भेटिने भएकाले पनि होला, सानोमा बाबाको माया विशेष हुँदो रैछ । आमाले आफ्नो ख्याल गरिरहेको कुराको महत्त्व बच्चामा त्यति बुझिँदैन पनि । त्यसैले होला, घरमा कम बस्ने बाबालाई बढी खोजिँदो रैछ ।
मैले सानोमा बाबालाई अति नै पछ्याउँथे रे । बाबालाई पछ्याएर रोएको बेला खिचेको एउटा फोटो पनि छ । खै कसले खिचिदिएछ । तर, बढ्दै जाँदा एउटी छोरीले कति कुरा बाबालाई सुनाउन नमिल्ने हुन्छन् । जस्तो, स्वास्थ्य, शारीरिक परिवर्तनका कुराहरू, जुन आमालाई नै सुनाउन, सोध्न सजिलो हुन्छ । छोरी भएकाले पनि बढ्दै जाँदा बाबासँगभन्दा बढी आमाको नजिक भइँदो रैछ ।
एसएलसीपछि होला सायद, बाबासँगभन्दा बढी म आमासँग निकट हुँदै गएँ । सानोमा त परिवारमा सबैजनाले बाबाको छोरी, बाबाको छोरी भन्नुहुन्थ्यो ।
बाबासँग बढी नै निकट भएर पनि होला, मेरो झुकाव कला क्षेत्रमा बढी भयो । म सानो छँदा बाबाले नाटक, सिरियलको स्क्रिप्ट लेख्नुहुन्थ्यो । त्यतिबेला बाबासँगै हुन्थेँ, हेर्थें । अविरल बग्दछ इन्द्रावती उपन्यास भए पनि त्यसलाई स्क्रिन प्ले गर्न स्क्रिप्टमा ढाल्नुपथ्र्यो ।
खै किन-किन सानैदेखि मलाई बाबा निकै नै जान्नेबुझ्ने जस्तो लाग्थ्यो । उहाँले इन्टेलेक्चुअल कुरा गरेजस्तो लाग्थ्यो । त्यसैले पढ्ने-लेख्ने कुराहरू आमासँग भन्दा बढी बाबासँग बढी सोध्थेँ । कुनै कुराको उत्तर आमाले पनि दिनुहुन्थ्यो, तर मैले एकपटक बाबालाई सोधेर कर्न्फम गर्थें ।
परिवारमा हामी
अहिले मेरो परिवारमा बाबा, आमा, म, भाइ, हजुरबुवा छौँ । अलि अगाडिसम्म हजुरमुमा पनि सँगै बस्नुहुन्थ्यो, अहिले उहाँ काकाकोमा बस्नुहुन्छ । हाम्रो पुख्र्यौली थलो विराटनगर हो । तीनभाइमा मेरो बाबा जेठो । मेरो बाबा एसएलसी पास भएपछि काठमाडौं आउनुभएको हो, कलाकारिताकै सिलसिलामा । मेरा काकाहरू पनि काठमाडौंमै हुनुहुन्छ, आ-आफ्नो पेसामा ।
मेरा हजुरबुवा, हजुरआमा प्रायः विराटनगरमै बस्नुहुन्छ । पुरानो थलो भएकाले पनि छोड्न चाहनुहुन्नथ्यो । तर, हामीलाई भेट्न, कुनै काम विशेषले वा बिरामी पर्दा उहाँहरू काठमाडौं आइरहनुहुन्थ्यो । कहिलेकाहीँ आउँदा पनि हामीकहाँ र काकाहरूकहाँ पालैपालो बस्नुहुन्छ ।
म काठमाडौं जोरपाटीमा जन्मिएकी हुँ । सानो छँदा परिवारमा कान्छी फूपू (सीता), कान्छो काका (गोविन्द अधिकारी) पनि सँगै हुनुहुन्थ्यो, उहाँहरूको बिहे भइसकेको थिएन । कान्छी फूपूको म सानै हुँदा बिहे भयो । मलाई याद भएसम्म सानोमा मलाई कान्छोकाकाले बोकेर डुलाउने, काखमा लिइरहने गर्नुहुन्थ्यो, अति नै माया गर्नुहुन्थ्यो । मैले चार-पाँच कक्षामा पढ्दा नै उहाँको बिहे भयो, त्यसपछि अलग बस्न थाल्नुभो ।
होस्टेलमा हुर्कें
त्यतिबेला मेरो बाबाले टिचिङ गर्नुहुन्थ्यो, बौद्धको दोर्जे स्कुलमा । त्यहाँको होस्टेल इन्चार्ज पनि हुनुहुन्थ्यो । स्कुलले बाबाआमाका लागि बस्ने व्यवस्था गरेको थियो । म त्यहीँ जन्मेकी हुँ । म जन्मेको दुई वर्षमै बाबाले आफ्नै स्कुल खोल्नुभयो- बाल सिर्जनालय स्कुल, आरुबारी जोरपाटीमा । स्कुल अहिले पनि छ । तर, बाबा त्यसमा आबद्ध हुनुहुन्न । स्कुलको होस्टेल पनि थियो । होस्टेल आमाले हेर्नुहुन्थ्यो, स्कुल पढाउनु पनि हुन्थ्यो । आमाले आईए पास गर्नुभएको छ ।
मैले त्यही स्कुलमा पढेँ, त्यहीँको होस्टेलमा हुर्कें । त्यो बेला म होस्टेलमा बस्ने विद्यार्थीसँगै खान्थेँ, सुत्थेँ । अरु विद्यार्थीजस्तै मैले पनि होस्टेलको रुल, रेगुलेसन, डिसिप्लिन मान्नुपथ्र्यो । आफ्नै स्कुल, प्रिन्सिपलकी छोरी भनेर मलाई छुट हुँदैनथ्यो । कक्षामा म सधैँ प्रथम हुन्थेँ । त्यहीँबाट एसएलसी गरेँ, ०६१ मा, स्कुल नै टप गरेकी थिएँ ।
अहिले हामी बेसीगाउँको आफ्नै घरमा बस्छौं । म ब्याचलरको सेकेन्ड सेमेस्टरमा पुगेपछि हामीले स्कुलको होस्टेल छाडौँ, स्कुल नै छाडौं, विभिन्न आर्थिक कठिनाइले ।
हजुरआमाको कथा
मेरी हजुरआमा धार्मिक प्रवृत्तिको हुनुहुन्छ, अहिले उहाँ ८१ लाग्नुभो । सानी छँदा मैले हजुरआमासँग धार्मिक, पौराणिक कथा सुन्ने सौभाग्य पाएँ । त्यतिबेला विराटनगरबाट कहिलेकाहीँ काठमाडौं आउँदा हजुरबाबा-हजुरआमा तीन-चार महिना बसेर जानुहुन्थ्यो । हजुरआमा आउँदा मैले होस्टेलको रुल मान्नुपर्दैनथ्यो । उहाँसँगै सुत्न, बस्न पाउँथेँ । किनभने, हजुरआमाले नै म नातिनीसँग सुत्छु भन्नुहुन्थ्यो । हजुरआमाले मलाई खासगरी रामायण, महाभारतका कथा सुनाउनुहुन्थ्यो ।
एकपटक उहाँले महाभारतको प्रसंग सुनाउनुभयो । उहाँको कथा भन्ने खुबी मलाई मन पर्छ । त्यो सानो उमेरमा पनि उहाँले मलाई रामायण, महाभारतका कथा बुझाएर भन्नुहुन्थ्यो, सुन्न पनि रुचिपूर्ण हुन्थ्यो । उहाँले साँझमा कथा सुनाउनुहुन्थ्यो । उहाँसँग कथा सुन्दा मैले भोक-निद्रा बिर्सन्थेँ । सुनिरहन मन लाग्थ्यो । कहिलेकाहीँ साँझमा खाना खानुअघि कथा सुनाउनु हुन्थ्यो, मलाई खाना खान जानै मन लाग्दैनथ्यो, कथा नै सुनिरहुँजस्तो लाग्थ्यो ।
उहाँले भनेको महाभारतको एउटा प्रसंगले मलाई धेरै नै सोच्ने बनाएको थियो, त्यो अश्वत्थामा हात्ती मारेको प्रसंग । त्यतिबेला लागेको थियो- किन झुट बोलेर द्रोणलाई मारेको होला ? म अझ अचम्मकी थिएँ, हजुरआमाले भनेको नपत्याएर सोध्थेँ- हजुरले यो कुरा कहाँ पढ्नुभयो, कसले भन्यो भनेर ।
वास्तवमा उहाँ धार्मिक प्रवचन हुने स्थानमा गइरहनुहुँदो रहेछ, सानैदेखि रे । जहोस्, उहाँलाई रामायण, महाभारत, पुराणका धेरै कुरा सम्झना छ । पछि मैले टीभीमा महाभारत, रामायण हेर्न थालेँ, बुझ्न थालेँ । त्यसपछि झन् हजुरआमाप्रतिको मेरो श्रद्धा बढ्न थाल्यो ।
हजुरआमा बिरामी हुँदा मलाई धेरै नै दुःख लाग्थ्यो । उहाँको चाउरी परेको हात देखेर, खोकेको देखेर म धेरै दुःखी हुन्थेँ । उहाँले बेसरी खोक्दा आफैँलाई दुखेको जस्तो महसुस हुन्थ्यो ।
अहिले उहाँ धेरै नै बुढी हुनुभएको छ, काकाकोमा बस्ने भए पनि हाम्रो भेट भइरहन्छ, नजिकै हो । हजुरआमासँगको मेरो सम्बन्ध पुरानै छ । पहिलेझैँ कथा सुनाउन उहाँ पनि सक्नुहुन्न, मैले पनि सुन्न पाउँदिनँ, कामको व्यस्तताले ।
मेरो बेस्ट फ्रेन्ड भाइ
जब कुनै एक्टर वा डाइरेक्टरसँग मेरो नाम जोडिएको समाचार आउँछ, मेरो भाइ दुःखी हुन्छ ।
हामी दुई दिदीभाइ मात्रै हौँ । भाइ विम्ब मभन्दा साढे दुई वर्ष कान्छो छ । सानो छँदा बाबाआमा स्कुल, होस्टेलको काममा व्यस्त हुनुहुन्थ्यो । मैले ५-६ पढ्न थालेदेखि भाइ नै मेरो साथी भयो । आफ्नो रिस पनि भाइसँगै फेर्ने, भाइलाई कसैले पिट्यो भने पनि नसहने अचम्मको माया थियो भाइप्रति ।
हाम्रो अन्य विद्यार्थीसँग झगडाजस्तो परिरहन्थ्यो । हामी प्रिन्सिपलका छोराछोरी हुन्थ्यौँ, उनीहरूको नजरमा । सामान्यतः स्कुलमा विद्यार्थीले प्रिन्सिपललाई त्यति राम्रो मान्दैनन् । किनभने, स्कुलमा सबैभन्दा डराउने भन्ने नै प्रिन्सिपलसँग हुन्छ ।
स्कुलमा अरु विद्यार्थीले पिन्सिपलको पछाडि कुरा काट्थे, बुढा भन्थे । अरुले आफ्नो बाबालाई बूढा भनेको हामीले सहन सक्दैनथ्यौँ । त्यहीँ नै झगडाजस्तो पथ्र्यो । कसैले मेरो भाइलाई केही भन्यो भने मलाई रिस उठ्थ्यो । केटाकेटी बुद्धि न हो, आफ्नो परिवारलाई माया गर्ने । अचेल सम्झँदा लाग्छ- यदि अर्कै स्कुलमा पढेको भए, हामीले पनि पि्रन्सिपललाई नराम्रो मान्थ्यौँ होला ।
आमा भन्नुहुन्छ, बच्चामा म निकै झगडालु थिएँ रे । सात-आठ पढ्दासम्म पनि सानो-सानो कुरामा रिसाउँथे । भाइसँग पनि झगडा गरिरहन्थेँ, सानोसानो कुरामा । बेसरी नै रुने, कराउने, पिट्ने झगडा त हुँदैनथ्यो । हाम्रो परिवारमा पिट्ने, हात उठाउने भन्ने नै थिएन । बाबाआमाले कहिल्यै हामीमाथि हात उठाउनुभएन । सानोसानो गल्तीमा सामान्य गाली खान्थ्यौँ ।
भाइसँग खासगरी मेरो टीभीको रिमोटमा झगडा पर्थ्यो । पछि त बाबाले हामीलाई दुइटा टीभी ल्याइदिनुभयो । बाबाले हामीलाई बाहिरी किताबहरू पनि ल्याइदिनुहुन्थ्यो । सानोमा मलाई टि्वंकल स्टोरी पढ्न मन पर्थ्यो । भाइले चाहिँ कमिक्स स्टोरी पढ्थ्यो । तर, टि्वंकल स्टोरीको बुक कम आउँथ्यो, कमिक्सको बढी आउँथ्यो । मैले इष्र्या गरेर उसका किताब लुकाइदिन्थेँ ।
९-१० पढ्न थालेपछि भाइसँग झगडा हुन छाड्यो । अहिले त मेरो बेस्ट फ्रेन्ड भनेकै भाइ हो । मैले धेरै कुरा भाइलाई सेयर गर्छु- फिल्मको कुरा, आफ्नो इन्टरभ्युको कुरा ।
अहिले त ऊ बाबाजत्तिकै क्रियटिभ, इन्टेलेक्चुअल लाग्छ । बीआईटी लास्ट सेमेस्टर पढ्दै छ । खासगरी उसको स्क्रिप्ट राइटिङमा रुचि छ । नाटकमा पनि रुचि । अहिले सर्वनाम थियटरमा नाटक सिक्दै छ । अहिले मलाई कुनै फिल्ममा अफर आयो र गरौँ कि नगरौँ भन्ने लाग्यो भने, भाइसँग सल्लाह लिन्छु । उसलाई स्क्रिप्ट देखाउँछु । उसले सुझाव दिन्छ ।
जब कुनै एक्टर वा डाइरेक्टरसँग मेरो नाम जोडिएको समाचार आउँछ, ऊ दुःखी हुन्छ । तर, केही भन्दैन, सिनियर भनेर होला, म बहिनी भएको भए भन्थ्यो होला । तर, उसले नभने पनि उसको अनुहारले भनेको मैले बुझ्छु ।
आमाको साथ
सानोमा मलाई बाबासँग सुटिङमा जान अति नै मन लाग्थ्यो । तर, बाबाले मलाई सानोमा सुटिङमा लिएर जानुहुन्नथ्यो । भाइलाई भने कहिलेकाहीँ लैजानुहुन्थ्यो । छोरी राम्रो पढेर राम्रो जागिर गरोस्, आफ्नै खुट्टामा उभिन सकोस् भन्ने उहाँको चाहना थियो । मेरो पढाइ पनि राम्रो थियो ।
एसएलसीपछि ह्वाइट हाउसबाट प्लस टु गरेँ । त्यसपछि प्राइमबाट ब्याचलर गरेँ । अहिले एमबीए गर्दै छ, प्रेसिडेन्सियलबाट ।
प्लस टुपछि मैले पहिलो म्युजिक भिडियोमा काम गरेँ, बाबालाई नभनी । त्यतिबेला मैले म घिन्ताङ भन्ने डान्स कम्पिटिसनमा भाग लिएकी थिएँ, बाबाआमासँग सोधेरै । घिन्ताङमा टप थ्रीसम्म पुगेँ ।
सानैदेखि मलाई डान्स गर्न रुचि थियो । डान्स गर्न सिकेकी त होइन, घरमा टेलिभिजनमा हेरेर जानेकी थिएँ । स्कुलका प्रोग्राममा डान्स गर्थें ।
घिन्ताङको टिममा निर्देशक प्रशन्न पौडेल हुनुहुन्थ्यो, उहाँले मलाई एउटा म्युजिक भिडियोका लागि अफर गर्नुभयो, मिङ्मा शेर्पाको गीतमा ।
सुरुमा त मैले नगर्ने बताएकी थिएँ । पछि मैले आमालाई सोधेँ । आमाले ‘हुन्छ गर तर बेलुका ढिलो नगर’ भन्नुभयो । सुटिङ गर्दागर्दै एक दिन रातको १० बज्यो । सधैँ साँझ ६ बजे घर पुग्ने, त्यति ढिलो पुगेपछि बाबाले सोध्नुभयो । त्यो दिन आमाले भन्नुभयो, ‘घिन्ताङकै काम परेछ, सुटिङ रिपोर्ट बनाएको रहेछ, त्यही भएर ढिला भएछ ।’ त्यो दिन त ढाँटियो । मैले सोचेकी थिइनँ कि यो कुरामा बाबाले धेरै नै चित्त दुखाउनुहुन्छ भनेर । पछि त्यो म्युजिक भिडियो टिभीमा आयो, बाबाले देख्नुभयो । भन्नुभयो, ‘पढाइ राम्रो भइरहेको थियो । मैले राम्रो पढाउन सोचिरहेको छु । अब यता लागेपछि पढाइ बिग्रन्छ । पहिले पढाइ पूरा गर्नुपर्दैन ?’
अनि मैले भनेँ, ‘बाबा, आइ प्रमिस, पढाइ बिगार्दिनँ । ब्याचर नसिध्याई यो क्षेत्रमा लाग्दिनँ ।’ बाबा पनि कन्भिन्स हुनुभयो ।
माइक्रोबसमा बाबालाई भनेँ...
सुरुमा तिमीलाई यो फिल्डजति रमाइलो हुन्छ, पछि त्यति नै गाह्रो हुन्छ । स्टाडम मेन्टेन गर्न गाह्रो हुन्छ । सानोसानो कुरामा जसरी अहिले तिमी चित्त दुखाएर रुन्छौ, यो क्षेत्रमा लागिसकेपछि यसरी रुन पाउँदिनौँ ।
बाबुले भन्नु भो-सुरुमा तिमीलाई यो फिल्डजति रमाइलो हुन्छ, पछि त्यति नै गाह्रो हुन्छ । स्टाडम मेन्टेन गर्न गाह्रो हुन्छ । सानोसानो कुरामा जसरी अहिले तिमी चित्त दुखाएर रुन्छौ, यो क्षेत्रमा लागिसकेपछि यसरी रुन पाउँदिनौँ ।
बाबासँग पढाइ पूरा गर्छु भनेर वाचा गरेको हप्ता दिनमै मलाई थम्सन नेपालबाट अफर आयो, टुथपेस्ट क्लोजअपको विज्ञापनमा खेल्न । मैले सोचेकी थिएँ कि म सेलेक्ट नै हुँदिनँ । त्यत्तिकै रहरले अडिसन दिन गएकी थिएँ, बाबालाई नसोधी । तर सेलेक्ट भएँ । त्यसपछि मेरो फोटो इन्डिया पठाउनुपर्ने रैछ । उता फोटो पठाइयो, उताबाट पनि सेलेक्ट पनि भएँ ।
यो विज्ञापनमा खेल्नुअघि बाबालाई भन्नैपथ्र्यो । एक दिन हामी बाबुछोरी चावहिलबाट जोरपाटी माइक्रो चढेर आउँदै थियौँ । मैले भनेँ, ‘बाबा मैले एउटा एडमा खेल्नका लागि अडिसन दिन गएकी थिएँ ।’
बाबाले बीचमै सोध्नुभयो, ‘कहिले गयौ, कसरी गयौ ? ब्याचलर सिद्धिएको छैन । पढाइ बिग्रँदैन ?’
माइक्रोमा सबैको अगाडि ठूलो स्वरमा भन्नुभयो । सबैले हामीलाई हेर्न थाले । अनि, मैले भने, ‘यो इन्टरनेसनल ब्रान्ड हो । अडिसन देको मात्रै हो । सेलेक्ट नहुन पनि सक्छु ।’ यता, सेलेक्ट भएर काम गर्न जानुपर्ने छ । बाबाले भन्नुभयो, ‘ठीकै छ, सेलेक्ट भए पनि, नभए पनि फोन गरेर भन्दिनु कि इक्ज्याम परेर मैले नभ्याउने भएँ ।’
अनि मलाई टेन्सन भयो । अनि, आमालाई सबै कुरा भनेँ । एकपटकलाई कन्भिन्स गरिदिनु, यो लास्ट भयो, अब पढाइ नसकी गर्दिनँ, बेलुका ढिलो पनि गर्दिनँ भनेँ । आमाले बाबालाई कन्भिन्स गर्नुभयो ।
भइदियो के भने, त्यतिबेला बाबाको ‘अविरल बग्दछ इन्द्रावती’ सिरियल रिपिट आउँथ्यो, हामी सबैजना त्यो सिरियल हेर्न टिभी कोठामा हुन्थ्यौँ । तर, त्यो सिरियल आउनुअघि मेरो एड आउँथ्यो । एड एकछत्रजसो आउन थाल्यो ।
यो एड हेरेर हरिवंश आचार्यले मेरो बाबालाई फोन गर्नुभएछ । आमाले भन्नुभयो, ‘हरिवंश आचार्यले बाबालाई फोन गरेर तिमीलाई सोध्नुभयो । क्लोज अपमा खेल्ने मोडेल बद्री अधिकारीको छोरी भन्ने थाहा पाएर फोन गर्नुभएको रे, एउटा सिरियलमा खेल्नका लागि । तर, तिम्रो इक्ज्याम भएकाले नभ्याउने भन्नुभएछ । तिमीलाई फोन आए पनि त्यही भन ।’
नभन्दै हरिवंश आचार्यले मलाई फोन गर्नुभयो । ‘के हो कुरा, तिम्रो इक्ज्याम हो कि बाबाले नदिएको ?’ भनेर सोध्नुभयो । मैले पनि ‘मेरो इक्ज्याम छ अंकल, त्यही भएर’ भनेँ ।
मलाई चाहिँ फोनमा बोल्दाबोल्दै निकै थकथकी लागेको थियो, उहाँसँग काम गर्न नपाएको भएर । फोन राखेपछि म रोएँ । म रोएको आमाले देख्नुभयो । त्यति बेला आमाले भन्नुभयो, ‘तिमीलाई कहीँ पुग्नु छ, कुनै चिज तिम्रो भागमा लेखेको छ भने त्यो जसरी पनि आउँछ । तिमीलाई लेखेको छैन भने आउँदैन । एउटा-दुइटा चिज छुट्दैमा केही हुँदैन । यदि तिमीलाई कलाकार नै हुन लेखेको छ भने अरु पनि अवसर आउँछन् । छैन भने यही नै अन्तिम हो भनेर सम्झ । र, तिमीलाई अरु नै केही बन्नु छ, त्यसैले यो भएन भनेर सम्झ ।’
आमाको यो भनाइले किन-किन मलाई राम्रोसँग चित्त बुझ्यो । मलाई थाहा छैन, मोडलिङ क्षेत्रमा आउन बाबालाई किन ढाँटे भनेर । तर, मैले आमालाई सोधेकी थिएँ । आमाले हुन्छ भनेपछि नै मोडलिङमा लागेकी थिएँ । आमालाई चाहिँ छोरी टेलिभिजनमा आउने भनेपछि राम्रो लाग्थ्यो, मेरो इच्छा दबाउन पनि चाहनुहुन्नथ्यो । तर, बाबाले बढी मेरो भविष्यको चिन्ता गर्नुहुन्थ्यो ।
बाबाको स्पष्टीकरण
एकपटक सँगै टेलिभिजन हेरेका थियौँ, पत्रकारले कसैसँग नाम जोडेर मलाई प्रश्न गरे । आमा बेसरी हाँस्नुभो । त्यो हाँसोमा किन-किन मैले प्रश्न चिह्न भएजस्तो लाग्यो र म घोप्टिएर रोएँ ।
त्यसको एक वर्षपछि ‘वनमा फुल्यो फूल’ बोलका लागि अफर आयो । मलाई लाग्छ-क्लोजअपमा खेलेपछि बाबालाई धेरैतिरबाट फोन आएको थियो, त्यसले बाबाको मन बदलिसकेको थियो ।
पछि बाबाले भन्नुभो, ‘ठीक छ यो तिम्रो लाइफ हो । हामीले त गाइड मात्रै गर्ने हो, निर्णय तिम्रो हुन्छ । हो हिजो मैले तिमीलाई यो फिल्डमा आउन रोक्न खोजेको थिएँ । त्यसको कारण थियो । सुरुमा तिमीलाई यो फिल्डजति रमाइलो हुन्छ, पछि त्यति नै गाह्रो हुन्छ । स्टाडम मेन्टेन गर्न गाह्रो हुन्छ । सानोसानो कुरामा जसरी अहिले तिमी चित्त दुखाएर रुन्छौ, यो क्षेत्रमा लागिसकेपछि यसरी रुन पाउँदिनौँ । पब्लिक फिगर भइन्छ, सबै आफैँले मेन्टेन गर्नुपर्छ । त्यसपछिका दुःख मलाई पनि सुनाउन पाउँदिनौँ, आमालाई पनि सुनाउन पाउँदिनौँ, आफैँ फेस गर्नुपर्छ । आफैँ स्ट्रङ हुनुपर्छ । त्यही स्ट्रङ बन्नका लागि पढ भनेको थिएँ मैले ।’
मेरो बाबाले बिएस्सी गर्नुभएको छ, अध्ययनशील भएकाले बौद्धिकता निकै उच्च छ । मैले बाबासँग केही कुरा सोधेँ भने उहाँले निकै फराकिलो ढंगले बुझाउनुहुन्छ । बाबाको कुराले मेरो सोचलाई नै फराकिलो बनाउँछ, सकारात्मक परिवर्तन गर्छ । अहिले बाबा महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘शकुन्तला’को सिरियल बनाउने कार्यमा हुनुहुन्छ, स्किन -प्ले लेख्दै हुनुहुन्छ ।
बाबाले मैले खेलेका सबैजसो फिल्म हुर्नुभएको छ । कुनै फिल्म खेल्नुअघि बुवासँग छलफल गर्छु ।
आमासँग आँसु लुकाउँछु
अहिले आमा साधारण गृहिणी हुनुहुन्छ । एकपटक हामीले सँगै टेलिभिजन हेरेका थियौँ, पत्रकारले कसैसँग नाम जोडेर मलाई प्रश्न गरे । आमा बेसरी हाँस्नुभो । त्यो हाँसोमा किन-किन मैले प्रश्न चिह्न भएजस्तो लाग्यो । उहाँले गाली गर्न नसकेर ‘हेर है अब, अब तैँले कसरी हाम्रो इज्जत जोगाउँछेस् ?’ भन्या जस्तो लाग्यो र म घोप्टिएर रोएँ । मैले रुँदै आमालाई भनेँ, ‘बाबा ठीक हुनुहुन्थ्यो । बाबाले भन्नुभएकै हो, पब्लिक फिगर भएपछि यस्ता कुरा आउँछन्, सहनुपर्छ । आज त्यतिकै यस्ता कुरा आउँदा रैछन् ।’
आमाले केही भन्नुभएन । मैले हतपती आमालाई आँसु देखाउँदिनँ, किनभने म उहाँको अगाडि स्ट्रङ बन्न चाहन्छु । आमासँग मैले दुःखका आँसु लुकाउँछु । म फिल्म हेरेर रुन्छु, यो कुरा आमालाई थाहा छ । कुनै कुराले चित्त दुखेर आँसु आयो भने, हतारहतार ल्यापटप खोलेर फिल्म हेरेझैँ गर्छु र दिल खोलेर रुन्छु । आमालाई लाग्छ कि म फिल्म हेरेर रुँदै छु ।
प्रस्तुतिः ध्रुवसत्य परियार
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं