Monday, February 22, 2016

मोदीको भर छैन, नाकावन्दी नहट्न पनि सक्छ : प्रचण्ड

काठमाडौँँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राख्नुभएको भनाइलाई भारतीय प्रधानमन्त्रीले खण्डन गरेकाले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताउनुभएको छ ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो– “प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको विचार र उहाँको हाउभाउले नेपालको सङ्कट सकिएको जस्तो लाग्दैन, नाका सहज हुन सक्नेमा अझै ढुक्क हुन सकिँदैन, दबाब र निर्देशनका आधारमा स्वतन्त्रतालाई बन्धकी राखिन्न ।”

पार्टीलाई सबैभन्दा ठूलो नबनाएसम्म प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि पद नलिने घोषणा पनि उहाँले गर्नुभयो । बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरेको आरोप उहाँको थियो । “असोज ३ गते संविधान नबनाउन बाबुरामजीले धम्की दिनुभएको थियो, लागू नभएपछि लगत्तै पार्टी छाड्नुभयोे” नेता दाहालले भन्नुभयो ।

माओवादी ३ नं प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले स्वतन्त्र राष्ट्रले जनताबाट निर्वाचित ठूलो सङ्ख्याका प्रतिनिधिले संविधान जारी गर्दा लागेको नाकाबन्दीले रु सात खर्बको क्षति व्यहोरेकाले यस्तो घटना नदोहोर्याउने  सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीका नेवा राज्य प्रमुख दिलीप महर्जनले युद्धकालमा जुवा, तास र भट्टी बन्द गरेको दलका नेता गृहमन्त्री हुँदा यस्ता विकृतिले निरन्तरता पाउँदा जनतामा माओवादीको छवि धुमिलिएको बताउनुभयो ।

पार्टी काठमाडौँ अध्यक्ष हिमाल शर्माले पार्टीको निर्णयअनुसार काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गर्नुभयो ।
प्रशिक्षणमा काठमाडौँका १० नगरपालिका र महानगरपालिकाका २०९ वडाका गरी दुई हजार २०० अगुवा कार्यकर्ताको सहभागिता थियो । प्रशिक्षणमा लोकगायक विष्णु खत्री र नवीन खड्का एवम् जनकवि भोला बरालले साङ्गीतिक एवम् साहित्यिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा टिआर नेपालले लेख्नुभएको ‘आऊ साथी …’ गीति एल्बम र कृष्णबहादुर केसीले लेख्नुभएको ‘धवलागिरिमा कम्युनिस्ट आन्दोलन उद्भव र विकास’ शीर्षक पुस्तकको विमोचन समेत गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment