ईन्द्रसरा खडका
छाउपडी कुप्रथा अछामलगायत सुदूरपश्चिका जिल्लामा अहिले पनि कायम छ । छाउ भएको ७ दिन घरभन्दा अलि टाढा बनाएको सानो छाप्रोमा बस्नुपर्छ । छाउ भएका महिलाले घरका मानिसको त कुरै छाडौं पशुलाई पनि छुन अनुमति हुँदैन । यदि घरमा पालेका पशुलाई छोयो भने मरिहाल्छ भन्ने मान्यता समाजमा व्याप्त छ । मेरो घर अछाम जिल्लाको शोडशादेबि गाबिस वडा नम्वर ८ नवाघर हो ।
यो चलनलाई मैले पनि मान्दै आएकी छु । यो गलत संस्कार हो भन्ने थाहा हुँदाहुँदै पनि म छाउ गोठमा बस्नै पर्छ । परिवारको सोच अहिले पनि छाउपडी बसेको बाटो हिँड्नु हुँदैन भन्ने चलन छ ।
छाउपडी बसेको बाटो हिँड्दा बिरामी भएको भन्दै मानिस धामी झाक्री बोलाएर निको भयो भन्दै हिँड्छन । छाउपडी बसेको बाटो हिँड्दा मेरो हजुर आमा पनि बिरामी भएँ भन्नुहुन्छ । मेरो हजुर आमा बिरामी भएँ भनेपछि म आफैँ घरमा बस्न डर लाग्न थाल्यो ।
म छाउ भएको बेला घरमै बसें भने हजुर आमाको ज्यान पो गैजान्छ की भन्ने डर अहिले पनि लाग्छ । हुन त, मैले यो कुरा भन्न सुहाउँदैन । म पनि छाउको अन्धविश्वासविरुद्ध समाजमा जनचेतना फैलाउँदै हिँडेकी छु ।
घरमा भएको बेला छाउ हुँदा घरभन्दा टाढाको गोठमा कसरी बस्ने ? के गर्ने भन्ने कुरा मनमा खेलिरहन्छ । नजाऊँ भने फेरी हजुर आमालाई कतै केही भईहाल्छ की भन्ने डर । गोठमा जाउँ भने कसरी बस्ने भन्ने डर । यस्ता कुरा मनमा खेलाउँदा खेलाउँदै गोठमै बस्ने निर्णय गरे र घरबाट बाहिर निस्किएँ ।
अनि बहिनीलाई भने म छाउ भएँ । एक्लै गोठमा बस्न डर लाग्छ तिमी पनि मसँग हिँड । दिदी बहिनी भएर गोठमा बस्न गयौँ । छाउ भएको अर्को दिन बिहान गोठबाट उठेर बाहिर आउँदा एक जना संस्थामा काम गर्ने सामाजिक कार्यकर्तासँग भेट भयो । उहाँले अचम्म मान्दै सोध्नु भयो, हैन तपाई पनि छाउपडी गोठमा ? के हो ? अरूलाई छाउ भएको बेला गोठमा हैन घरमै बस्नुपर्छ भन्ने चेतना फैल्याउँदै हिड्ने आफू चाही यस्तो ? यस्तै यस्तै अनेक प्रश्न सोध्नुभयो । मैले चुपचाप सुनि रहेँ । मनमनै सोँचे अब कसरी जवाफ दिउँ । जवाफहिन भएर ती सामाजिक कार्यकर्तालाई एकोहोरो हेरी रहेँ । उहाँले एकपछि अर्को प्रश्न गरेपछि मैले उहाँलाई आफ्नो घरको समस्याको बारेमा सुनाएँ ।
उहाँले भन्नुभयो ‘हो यही समस्याले जिल्लामा छाउपडी गोठमुक्त अभियान सञ्चालन गर्न गाह्रो भएको छ । अब कसरी यो अभियानले सफलता पाउला र खोई ?’ उहाँ केही उदास हुनुभयो । मैले जानेर पनि छाउपडी जस्तो प्रथालाई सहयोग गरेकोमा । हुन त यही कुरा अछामको सबै गाविसमा लागू हुन्छ भन्ने छैन । कतिपय ठाउँका धामी झाँक्री छाउपडी प्रथाको अन्त्यका लागि आफैँ सक्रिय भएका छन् । तर कतिपय ठाउँमा भने अझै यस्तो रुढीबादी परम्परा गहिरो गरी जरो गाडेर बसेको छ ।
छाउपडी प्रथाको अन्त्यका लागि भन्दै जिल्लामा रहेका बिभिन्न संघसंस्थाले काम नगरेका होइनन् । तर बुढापाका मानिसलाई सम्झाउँन अझै गाह्रो छ । छाउपडी गोठमुक्त गाविस घोषणा भएका ठाउँका महिला पनि पुनः छाउपडी गोठमै फर्केका छन् । घरमा बस्दा बुढापाकाहरूले देउता रिसाए भन्दै छाउगोठमा जान बाध्यता बनाउँछन् । बुढापाकाका अगाडी सामाजिक कार्यकता र संघसंस्थाले भने जस्तै विद्रोह गर्न सहज छैन ।
छाउ भएकै बेला गोठमा बसेका अछामका १० जना किशोरीले ज्यानै गुमाए । छाउ भएको बेला घरमा बस्यो भने घरमा आगो लाग्छ ,बाघ आउँछ र देउता रिसाउँछन भनेर घर भन्दा अलग्गै बस्न महिला बाध्य छन् । छाउ भएपछि महिलाले दुध, दही खान हुँदैन अलग्गै चिसो गोठमा बस्नु पर्ने मान्यता पनि कायमै छ । यसरी रुढिबादी परम्परामा भासिएको समाजमा जस्तासुकै संघसंस्थाले काम गरेपनि सामाजिक रुपमा चेतना नफैलिएसम्म म जस्ता परिवर्तकारी सोच राख्नेको पनि केही चल्दैन ।
छाउ भएको बेला पुस माघको चिसो र बैशाख जेठको हावाहुरी अनि झरीमा निकै कष्टगरी बस्न अछामका महिला बाध्य छन् । मलाई जस्तै उनीहरूलाई पनि समाजको छाउपडी प्रथाले बाँधेको छ । यो प्रथाले सबैभन्दा बढी अछाम जिल्लालाई जकडेको छ । यसको अन्त्यको लागि समाजका ठूला भन्नेहरूको सोचमा परिवर्तन ल्याउन मुख्य भूमिका सबैले खेल्नुपर्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment