चितवन,फागुन १०- भनिन्छ क्यान्सर भएपछी जीवनलाई हेर्ने दृष्टिकोण नै वदलिन्छ । जन्म के हो ? जीवन के हो ? र मृत्यु के हो ? भन्ने सोच गहिरिन्छ । बिरामीको हेरचाह गर्ने भनेको हाम्रो देशमा आफ्ना परिवारजन नै हुन् । क्यान्सर भनेको बिरामी र हेरचाह गर्ने व्यक्तिहरु मिलेर लड्ने हो ।
शहरको व्यस्त जीवनमा एकल परिवार हुँदा बिरामीको हेरचाह गर्ने व्यक्ति नेपालमा पनि कम छन् । आर्थिक समस्या छुट्टै छ । यस्तो स्थीतिमा क्यान्सर रोग लागेमा उपचार गर्न सहज भने छैन ।
क्यान्सर लागेपछी हेरचाह गर्ने व्यक्तिहरुलाई के कस्ता समस्याहरु पर्छ भन्ने बारे पश्चिमी देशहरुमा प्रसस्त अध्ययनहरु भएका छन् । रोग लागेको व्यक्तिलाई स्याहार गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदय रोग, मधुमेह, बाथ जस्ता कुनै समस्या छ भने, उनले आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने समस्या पर्न सक्छ । क्यान्सरका बिरामीको हेरचाह गर्दा आफ्नो स्वास्थ्यको ख्याल नगर्ने हो भने समस्या माथी समस्या थपिन्छ । यसको फलस्वरुप गिर्दो स्वास्थ्य समस्या, डिप्रेसन र चिन्ता रोगले सताउने स्थीती आउँछ ।
क्यान्सर रोगीको स्याहार सुसार गर्दा शारिरीक र मानसिका रुपले थकान महसुस हुन्छ । मानसिक तनाव, चिन्ता र निराशापन अन्य समस्याहरु हुन् । यी बाट बच्नको लागी रोगीको स्याहार गर्ने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल राख्नु ज्यादै महत्वपुर्ण हुन जान्छ ।
क्यान्सर बिरामीको स्याहार गर्ने एक परिवारले आफ्नो कुरा यसरी राख्नु हुन्छ “पहिले त हामीलाई क्यान्सर लागेको भन्ने विश्वासै लागेन, मनले मानेन, रिस उठ्यो, तर पछी केहि नलागेपछी हो भनेर मान्नै प¥यो” । त्यस्तै अर्का एक जनाको अनुभव यस्तो छ “क्यान्सर भन्ने वित्तिकै मेरो संसार नै ध्वस्त भयो, अब अगाडी कुनै बाटो छ जस्तो लागेन” । एक जना क्यान्सर भएकी महिलाको भनाई यस्तो छ “मेरो श्रीमान र मेरो दुवै छोरीहरुको पुरै सहयोग पाएँ, मेरो श्रीमान र म, मेरो क्यान्सर लडाई सँगसँगै लड्यौ र जित्यौ । मलाई आवश्यक पर्दा मेरो श्रीमानको सधैं साथ पाएँ”
बिरामीको स्याहार गर्ने व्यक्तिले जान्नु पर्ने कुरा
१) बिरामीको रोग बारे सकभर बढी जानकारी लिनुस्, यसवारे किताव पढनुस, सकिन्छ भने नेटमा अध्ययन पनि हेर्नुस, उपचार गर्ने चिकित्सक सँग आफ्ना जिज्ञासा सबै सोध्नुस, यस्तै अरु बिरामी छन् भने उनीहरुको अनुभव पनि सुन्नुस् । सहि जानकारीले बल मिल्छ, शक्ति मिल्छ, निर्णय लिन सकिन्छ । उपलब्ध उपचार बारे पनि सकभर बढी जानकारी लिनुस् ।
२) बिरामीको हेरचाह परिवारका सबै सदस्यहरु मिलेर गर्नु उपयुक्त हुन्छ । परिवार बिच एकआपसमा छलफल गर्नुस्, हरेकले कसरी आफ्नो समय स्याहार सुसार गर्न छुट्याउने भन्ने टुङ्गो लगाउनुस् ।
३) आफ्नो भावनाहरु परिवार बिच पोख्ने गर्नुपर्छ । समस्या मन भित्र गुम्स्याएर राख्नुहुँदैन । आफ्नो दुःख पोख्नु भनेको कमजोरी होइन ।
४) आफ्नो भावनाहरु, आफ्नो विचारहरु, दिनदिनै २० मिनेट जती लेख्ने गर्दा पनि मन हलुका हुन्छ । मानसिक तनाव कम हुन्छ । आफ्नो भावनात्मक स्वास्थ्यमा सुधार हुन्छ ।
५) घरमा बिरामी भएको कारण परिवारमा समेत धेरै समस्या थपिएको हुन सक्छ । आफुले लिन सक्ने र मिल्ने सबै सहयोग यस्तो बेलामा लिनु राम्रो हुन्छ । तपाईका आवश्यकताहरु अरुले थाहा पाए मात्र सहयोग दिने हो वा सहयोग पाइने हो । आफ्ना आवश्यकताहरु, र कठिनाईहरु आफ्ना परिवार तथा साथीभाईहरुलाई बताएर सहयोग लिन सकिन्छ ।
६) शरिर र मनलाई रिल्याक्स गर्ने तरिकाहरु सिक्नुपर्छ । फुर्सदको क्षणमा वा काम गर्दागर्दै पनि रिल्याक्स गर्ने तरिकाहरु हुन्छन् । सिकेर यसको प्राक्टिस गर्नुस । ध्याान, योग, पुजापाठ, प्रार्थना गर्दा पनि मन रिल्याक्स हुन्छ, तनाव घट्छ र शरिरमा स्फुर्ति आउँछ ।
७) शारिरीक व्यायामले मन र शरिरलाई स्वस्थ राख्न, खाना पचाउन, निन्द्रा लाग्न मद्धत गर्छ । रोगहरुबाट बच्ने यो राम्रो उपाय हो । नियमित रुपमा २०–३० मिनट भएपनि हिड्ने गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
८) आध्यात्मिक क्रियाकलापले पनि मामा शान्ती मिल्छ । नेपाली समाज युगौदेखि धर्म, कर्म, पूजापाठ, प्रार्थना, प्रवचन आदीमा आस्था राख्ने समाज हो । भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव आध्यात्मिक क्रियाकलापले गर्छ ।
९) समय–समयमा मनोरञ्जनको आवश्यकता हुन्छ । आफुलाई मनपर्ने संगीत सुन्ने, टेलिभिजन हेर्ने, किताव पढने, रमाइलो गर्ने आदि पनि गर्ने प्रयास गर्नु पर्छ ।
१०) घरमा आफ्नो प्रियजनलाई रोग लागेको कारण सबैकुरा अस्तव्यस्त भएको हुन सक्छ । आफ्नो दैनिकी, काम, व्यवहार सबै कुरामा असर परेको हुन सक्छ । कुन काम बढी महत्वपूर्ण छ, छिटै गर्नु पर्नेछ, त्यो गर्दै जाने पछी गरे पनि हुने कामलाई पछी राख्न सकिन्छ । प्राय मानिसहरुको मन कि त विगतका कुराहरुमा अल्झेको हुन्छ कि त भविष्यमा के हुन्छ होला भन्ने कल्पनाको संसारमा । यस्तो सोचाईले तनावलाई बढाउँछ । अहिले र यहाँको सोच राखेर रहन सक्यो भने भावनात्मक स्वास्थ्यमा नकारात्मक असर पर्दैन । त्यसैले अहिले जे छ, जस्तो छ त्यसमा रहने प्रयास गर्ने ।
रोग र उपचार प्रक्रिया, औषाधका नकारात्मक असरबारे चिकित्सकसँग पूर्ण जानकारी लिनुहोला । आफुलाई मानसिक चिन्ता, डर, तनाव, अनिन्द्रा, रिस, निराशापन जस्ता समस्याहरु देखिएका छन् भने पनि विशेषज्ञसँग सल्लाह दिनुपर्छ । तपाई स्वस्थ भएमात्र बिरामीलाई राम्रो हेरचाह मिल्नेछ ।
– डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment