११ फागुन, काठमाडौं । अमेरिका र रुसबीच सीरियामा युद्धविराम गर्ने सम्झौता यसै महिनाको अन्तमा हुने सम्भाबना रहेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।
अलजजिराका अनुसार युद्धबिराम आगामी शुक्रबार रातिदेखि लागु गर्ने तयारी भैरहेको छ । अमेरिका र रुसबीच हुने सम्झौताको ड्राफ्ट अलजजिराले फेला पारेको छ, जसमा युद्ध विराम लागु हुने मितिसमेत उल्लेख छ ।
त्यसलाई अन्तिमरुप दिन अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता हुँदैछ । दुई देशका विदेशमन्त्रीबीच वार्ता भएपछि ड्राफ्टलाई अन्तिम रुप दिने र यही फेब्रुअरी २७ तारिखदेखि युद्धविराम लागु गर्ने तयारी भैरहेको छ ।
यसअघि १२ फेब्रुअरीमा युद्धविराम लागु हुने भनिए पनि उक्त समय गुज्रिसकेको छ ।
यसैबीच समाचार संस्था रोयटर्सका अनुसार सीरियामा सक्रिय दुई अतिवादी संगठन इस्लामिक स्टेट र नुसरा फ्रन्ट भने युद्धविराम सम्झौतामा संलग्न छैनन् ।
राष्ट्रपति असाद नेतृत्वको सरकारलाई रुसले र सरकारविरुद्ध संघर्षरत समूहलाई अमेरिकाले निसाना बनाइ आक्रमण गर्दै आएका छन् । सीरियाको होम्स र दमिश्क सहरहरुमा गत आइतबार भएका संघर्षमा १ सय ४० जनाको ज्यान गएको थियो । त्यसलगत्तै अमेरिकी विदेशमन्त्री जोन केरीले रुससँग युद्धविरामबारे कुराकानी भएको खुलासा गरेका थिए ।
त्यसपछि अमेरिकी राष्ट्रपति बरक ओबामा र रुसी राष्ट्रपति भ्लादीमीर पुटिनबीच टेलिफोन कुराकानी पछि युद्धविरामको सम्झौता घोषणा गरिएको बीबीसीले जनाएको छ ।
व्यवहारमा लागु गर्न चुनौति
सीरियाका लागि संयुक्त राष्ट्र संघका विशेष दूत स्टेफन डे मिस्तुराले युद्धविरामलाई व्यवहारिक रुपमा लागु गराउन सबैभन्दा धेरै चुनौति रहेको बताएका छन् ।
सीरियामा जारी संघर्षका कारण हालसम्म करिब २ लाख ५० हजार जनाको मृत्यु भइसकेको छ भने ४० लाख बढी बिस्थापित भएका छन् ।
चुनावको तयारी
सीरियामा युद्धविराम सम्झौतालगत्तै सीरियाका राष्ट्रपति बशर अल असदले देशमा नयाँ संसदीय चुनावको मिति घोषणा गर्ने तयारीसमेत गरेका छन् । गृहयुद्धमा फसेको सीरियामा चार बर्षदेखि चुनाव भएको छैन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment