‘यी फलानाकी छोरी, टीभीमा आउने माग्नेबूढोलाई दिनेचाहिँ यिनै हुन्,’ कसैले चिनायो । अनि, ती छिमेकीआमाले सोधिन्, ‘ए, किन त ती माग्नेबूढोलाई दिएको ? अलि तन्नेरी भेटिएनन् र ?’
एउटा अभिनेताका लागि अभिनेता हुनुको सबैभन्दा ठूलो गर्व, गरिमा वा प्रमाण, पुरस्कार, प्रतिमा जे भने पनि यही हो- उसले निभाएको चरित्रलाई नै दर्शकले वास्तविक ठान्छन् ।
केदार घिमिरे उर्फ माग्नेबूढा विवाहपछि कलाकारितामा लागे । यो सहरमा उनले घर रंगाउनेदेखि मिटर टेम्पु चलाउने काम गरे । श्रीमती पाल्ने हेउ र हैसियत बनेजस्तो ठानेपछि बिहे गरे ।
उनकी श्रीमती सीता माइत गएकी थिइन्, तीन-चार वर्षअघिको कुरा हो । धेरै समयपछि एउटी छिमेकीआमा भेटिइछन् । त्यहीँको प्रसंग हो, माथिको संवाद । ‘मेरी श्रीमती’ स्तम्भका लागि कुराकानी गर्न उनले आफ्नै घरमा बोलाए । दुई हप्ताअघि इमाडोलको उनको घरमा पुग्दा उनी एक्लै थिए ।
‘उनी अभिनय सिक्न गएकी छिन्, केटाकेटी पढ्न गएका छन्, म एक्लै पो छु त ?’ घरको छतमा बस्नका लागि कुर्सी मिलाउँदै उनले भने, ‘अचेल भिडियो किनेर युट्युबमा राख्ने काम पनि गरेको छु, घरमै बसेर, गुगलबाट पैसा लिन्छु ।’
हामीले कुरा सुरु गर्यौँ । जहाज अवतरणको आवाजले १५-१५ मिनेटजस्तो डिस्टर्ब गर्यो र उनी बोल्दाबोल्दै रोकिँदै भन्थे, ‘कमर्सियल ब्रेक ।’
एक घन्टाजति कुराकानी भइसकेको थियो, यसो हेरेको रेकर्डरको ब्याट्री सिद्धिएर अफ भए छ, भो अब ! तर, उनले ढाडस दिँदै भने, ‘म रेडियोमा काम गरेर कलाकारितामा आएको हुँ, मलाई थाहा छ यस्ता समस्या । चिन्ता नगर्नुस्, फेरि कुरा गरौँ, म यहीँ छु ।’
फेरि कुरा सुरु गर्यौँ । यो सहरमा बिहे गर्ने हैसियत बनाउने संघर्षदेखि बिहेसम्म, बिहेपछि श्रीमतीको साथ र दर्शकको पि्रय ‘माग्नेबूढो’ बन्दासम्मको कथा उनले सुनाए:
उनलाई त हेरेँ, तर दोधारमा परेँ
नातेदार भाइको बिहे थियो । त्यही बिहेमा एकजना आफन्तदाइले केटी हेर्न बोलाउनुभयो । केटी पनि हेर्ने, बिहे पनि खाने गरी गएँ । उता, उनलाई पनि तिमीलाई हेर्ने केटो आउँदै छ भनिएको रैछ । त्यहीँ देखादेख भयो ।
बिहेका लागि पहिलोपटक केटी हेरेर मन पर्यो वा परेन भनी निर्णय लिनु गम्भीर कुरा रैछ । मैले निर्णय लिन सकिनँ र भागेँ ।
०००
ललितपुरको भट्टेडाँडा मेरो मावलीगाउँ हो, त्यहाँ मैले ६ देखि ९ सम्म पढेको हुँ, तर उनलाई देखेको थिइनँ । भट्टेडाँडाबाट जन्ती जानुपर्ने थियो, गोटीखेल । त्यहाँबाट फर्केपछि केटी मन परे/नपरेको बताउनुपथ्र्यो ।
मलाई सकस पर्यो, कताकता डर पनि लाग्यो । अब अर्काकी छोरीलाई किन मन परेन भन्ने ? म आफूलाई हेरी उनी राम्रै थिइन्, फेरि रुप मुख्य थिएन, मेरै पो के रुप छ र ? तर, उनी मलाई मन पर्यो भन्ने पनि आधार थिएन, एकपटक देखेको मात्रै थिएँ । निर्णय लिन सकिनँ र गोटीखेलबाट भट्टेडाँडा नगई भागेर काठमाडौं आएँ ।
दाइले पछि फेरि सोध्नुभयो, ‘के हो कुरा, केटी मन पर्यो कि परेन ?’
मैले भनेँ, ‘खोइ, मलाई त किन-किन निर्णय लिनै कठिन भो । धेरै दोधारमा छु ।’
दाइले भन्नुभयो, ‘परिवारकी जेठी छोरी हुन्, दुःखसुख बुझेकी छिन्, एसएलसी पास हुन् । गाउँकी हुन्, दुःखजिलो गर्न पनि सक्छिन्, विचार गर ।’
मेरी आमा रोगी भएर खस्नुभएको । उहाँलाई फोक्सोको क्यान्सर भएकाले अपरेसन गरिएको थियो । अपरेसन गरेको उहाँको पेटको ठूलो दाग देखेर हुर्किएकाले पनि मेरो दिमागमा परेको थियो- सबै स्वस्थ हुनुपर्छ, अझ आमा हुने नारी त कुनै हालतमा पनि स्वस्थ हुनुपर्छ ।
झट्ट हेर्दा उनी हट्टाकट्टा थिइन्, ठूलो जिउकी, स्वस्थ देखिन्थिन् । गाउँकी, मेलापात गरेकी, यत्तिकी केटीले दुःखसुख गर्छिन् भन्ने सोचेँ र हुन्छ भनेँ । ०५६ फागुनमा हाम्रो बिहे भयो ।
उनलाई आफ्नै टेम्पुमा ल्याएँ
मेरो जिन्दगीमा बज्रहरू धेरै छन् । म जन्मनुअघि पनि हाम्रो घर जलेको रहेछ, ०२० सालतिर । ०५० सालमा म एसएलसी दिएर घरमै बसेको थिएँ, चैतमा घर आगलागी भयो, परिवारका सदस्यको हरको कपडाबाहेक सबै जल्यो ।
दाइले घरमा रंग लगाउने काम गर्नुहुन्थ्यो, दुई-चार दिन उहाँसँग रंग लगाउने काम गरेँ । त्यसपछि साइकलमा मसला बेचेँ
०३९ सालमा मेरी आमा खस्नुभयो, जतिबेला म सात वर्षको थिएँ । यस्ता चोटैचोट हाम्रो परिवारलाई पर्यो । जसले मलाई सानातिना दुःख-पीडा सहजै सहन सिकायो ।
०००
एसएलसीपछि काठमाडौं आएर दाइसँग बसेँ । दाइले घरमा रंग लगाउने काम गर्नुहुन्थ्यो, दुई-चार दिन उहाँसँग रंग लगाउने काम गरेँ । त्यसपछि साइकलमा मसला बेचेँ । खासै फाइदा नभएपछि ललितपुरको एउटा घरमा साना बालबालिकालाई ट्युसन पढाउने कोसिस गरेँ । तर, अंग्रेजी कमजोर भएकाले सकिनँ । अलकत्रा बनाउने चिनियाँ प्रोजेक्टमा पनि काम गरेँ, दुई-तीन महिना ।
कुनै कामले काठमाडौंमा टिकिएलाजस्तो लागेन । त्यसपछि काइँयो, पर्स लगायत सामान फुटपाथमा राखेर बेच्न थालेँ । यसले भने केही फाइदा दियो । राम्रै भइरहेको थियो, तर सरकारले फुटपाथका पसल उठाउने भयो । त्यसपछि फुटपाथको पसल बेचेर मिटर टेम्पु किनेँ, ७० हजारमा आउँथ्यो ।
ड्राइभर राखेको थिएँ- खालि टेम्पु बिग्रियो, फलाना ठाउँमा छाडेको छु मात्रै भन्ने । त्यसपछि आफैँ टेम्पु चलाउन सिकेर चलाएँ । राम्रो हुँदै गयो, तीनवटा टेम्पु किनेँ । मेरो दाइले पनि एउटा चलाउनुहुन्थ्यो ।
राम्रै कमाई भइरहेको थियो । फेरि सरकारले मिटर टेम्पु पनि हटाउने भन्यो । टेम्पु बेचेर रेडियो, टेपरेकर्ड, वाकमेन लगायतको पसल खोलेँ, कलंकीमा ।
यी सबै संघर्ष बिहेअघिका हुन्, बिहे हुँदा मसँग टेम्पु थिए । उनलाई लिन आफ्नै दुई टेम्पु र भाडाको एउटा माइक्रो भ्यान लिएर गएँ । बिहेमा मेरो दाइलगायत २० जनाजति आफन्त थियौँ । बिहे अति नै साधारण ढंगले भयो, वज्रबाराही मन्दिर ललितपुरमा ।
बिहेपछि मकवानपुरको घर गयौँ, बुवाले गाउँलेलाई भोज खुवाउनुभयो ।
पारिवारिक पृष्ठभूमि
उनी साधारण किसान परिवारकी हुन् । ललितपुरको भट्टेडाँडा गाउँमा मेलापात, दाउराघाँस गरेर हुर्केकी । मेरो पुख्र्यौली थलो ललितपुरको प्युटार हो । मेरो बुवा भारतमा सामान्य जागिर गर्नुहुन्थ्यो, केही पैसा कमाएर मकवानपुर ठिंगनको सिमातमा बसाइँ सर्नुभयो, म त्यहीँ जन्मेँ । पछि नजिकै हात्तीसुढेँमा सर्यौँ । हामी तीन भाइ मात्रै हौँ, म माहिलो ।
घरकै उब्जनीले खान पुग्थ्यो । घरनजिकैको प्राथमिक स्कुलमा पढेँ । शिक्षक बाहिरको हुनुहुन्थ्यो, हाम्रो घरमा डेरा गरी बस्नुहुन्थ्यो । उहाँले हामीलाई सित्तैमा पढाउने, हामीले उहाँलाई सित्तैमा ढिँडो खुवाउँथ्यौँ । बहुदल ल्याउने आन्दोलन हुन थालेपछि मैले पढेको स्कुलका शिक्षकले राजीनामा दिएर हिँडे ।
६ कक्षादेखि दाइ र मैले ललितपुर भट्टेडाँडा महाकाली माविमा पढौं, छात्रवासमा बसेर, सबै व्यवस्था बुवाले मिलाउनुभयो । पछि मैले एसएलसी भने मकवानपुरको वंशगोपाल माविबाट गरेँ, ०५० सालमा ।
एसएलसीपछि काठमाडौं आएँ । त्यतिबेलाकी एसएलसी बोर्डफस्र्ट गरिमा राणाले टिभीमा अन्तर्वार्ता दिइन्, ‘कानुन पढेर देशको सेवा गर्छु ।’ मलाई पनि कानुन पढ्ने भूत चढ्यो ।
त्यतिबेला आईएल गर्न पाइन्थ्यो । नेपाल ल क्याम्पसमा भर्ना बन्द भएकाले काठमाडौं बहुमुखी क्याम्पसमा भर्ना भएँ । काम गर्दै पढ्नुपथ्र्यो, कानुनका ठुल्ठूला ठेली । आईएल पहिलो र दोस्रो वर्षमा थुप्रै विषय लाग्यो । यता, काठमाडौंमा बाँच्ने संघर्षले गर्दा पनि पढाइ त्यस्तै भयो ।
उनी आएपछि मेरो बाटो खुल्यो
जति दुःख गर्ने हो, बिहेअघि नै गरेँ । बिहेपछि दुःख र अभाव त्यति भएन । रेडियो, टेप-रेकर्डको मेरो पसल होलसेलजस्तै थियो । धादिङ, गोर्खालगायत जिल्लामा सामान जान्थ्यो ।
मोटरसाइकल किनेको थिएँ । धेरथोर बैंक ब्यालेन्स पनि थियो । र, थिइन् उनी । उनी आएपछि मेरो जीवन धेरै नै व्यवस्थित भयो । उनलाई सामान बेच्न, ग्राहकसँग डिल गर्न सिकाएँ । उनले पसल हेर्न थालिन्, मलाई कलाकारितामा लाग्ने बाटो खुल्यो ।
०००
पसलमा मैले रेडियो सुन्थेँ । ०५८ सालको कुरा हो, रेडियो एचबीसीमा काम गर्ने सुमित्रा खड्कासँग मेरो चिनजान भयो । उहाँको घरनजिकै मेरो पसल थियो, मैले उहाँलाई दिदी भन्छु । उहाँले रेडियोमा कवितावाचन पनि गर्नुहुन्थ्यो ।
सातमा पढ्दा कविता प्रतियोगितामा प्रथम र क्याम्पस पढ्दा निबन्धमा तेस्रो भएको थिएँ । मैले कविता लेखेर उहाँलाई दिन थालेँ । उहाँले मेरा कविता वाचन गर्नुहुन्थ्यो, मैले रेडियोको आवाज ठूलो पारेर सुन्थेँ, परपरका मान्छेलाई मेरो कविता भनेर सुनाउँथेँ ।
कहिलेकाहीँ सुमित्रादिदीलाई मोटरसाइकलमा पुर्याउन जान्थेँ, रेडियो एचबीसी बौद्ध आरुबारीमा थियो । पसलमा बस्दा मह जोडीको हास्यव्यंग्य क्यासेट सुन्थेँ । सुमित्रादिदीकै सहयोगमा रेडियो एचबीसीमा हास्यव्यंग्य कार्यक्रम चलाउने अवसर पाएँ । हास्यकलाकारका अन्तर्वार्ता लिन थालेँ । यही क्रममा दमन रुपाखेतीदाइसँग भेट भयो । उहाँको नेपाल आर्टस्मा नौ महिना अभिनय सिकेँ ।
सन्तोष पन्तको घर ढुक्थें
हिजोआजमा सानो रोलमा खेल्न पनि सानो भाग्यले नहुने देखेँ । फेरि पनि धाउन छाडिनँ । कैयौँ दिन धाएपछि एउटा डाइलगमा मात्रै बोल्ने दृश्य पाएँ । फेरि कति दिन भूमिका पाउन छाडेँ, तर धाउन छाडिनँ
पसल उनले हेर्थिन्, कुनै चिन्ता थिएन । मलाई मःमः खाने र मोटरसाइकलमा तेल हाल्ने पैसा उनैले दिन्थिन् । म निष्फिक्री रेडियो र टीभीमा धाउन थालेँ ।
रेडियोका लागि अन्तर्वार्ता लिने सिलसिलामै सन्तोष पन्तदाइसँग चिनजान भयो, उहाँको हिजोआजका कुरा खुब चर्चित थियो । त्यसमा खेल्नका लागि धाउन थालेँ । उता अभिनय पनि सिकिरहेको थिएँ ।
एक दिन सन्तोषदाइले सोमबार आउन भन्नुभयो, जाँदा मान्छेको भीड थियो । लौ मलाई बोलाएकै दिन के भएछ भनी सोच्दैथेँ, एकजनाले भने- केही भएको होइन, हिजोआजका कुरा खेल्न आउनेहरू हुन् ।
हिजोआजमा सानो रोलमा खेल्न पनि सानो भाग्यले नहुने देखेँ । फेरि पनि धाउन छाडिनँ । कैयौँ दिन धाएपछि एउटा डाइलगमा मात्रै बोल्ने दृश्य पाएँ । फेरि कति दिन भूमिका पाउन छाडेँ, तर धाउन छाडिनँ । सन्तोषदाइको घरमा पर बसेर सुटिङ हेर्थें, सन्तोषदाइले मलाई चिन्दिए हुन्थ्यो भन्ने मात्रै लाग्थ्यो ।
एक दिन बाहिर म त्यत्तिकै सुटिङ हेर्न बसेको थिएँ, सन्तोषदाइले घरभित्र चिया खान बोलाउनुभयो । अहो, सन्तोष पन्तदाइकहाँ चिया खाइयो भन्ने भयो ।
म कुनै कोणबाट कलाकार हुनेजस्तो देखिन्नथेँ । पाको भइदिए पनि कुनै रोल दिन मिल्थ्यो होला । दुब्लो-पातलो, न रुप त जिउको । फेरि पनि धाउन छाडेको छैन ।
एक दिन लोडसेडिङका बेला क्यामेराको ब्याट्री सिद्धियो । सन्तोषदाइ तनावमा आउनुभयो । म कहिल्यै अघि सरेर बोल्दिनथेँ । त्यो दिन बोल्ने हिम्मत गरेँ, ‘दाइ, मैले ब्याट्री चार्ज गरेर ल्याउँछु ।’
उहाँको छोरा साकार र मैले लोडसेडिङ नभएको ठाउँतिर मोटरसाइकलमा गएर ब्याट्री चार्ज गरेर ल्यायौँ । त्यसपछि सन्तोषदाइको नजरमा म पनि परेँ । ढाकाटोपी, नक्कली जुंगा लगाएर उहाँले मलाई अलि पाको रोल पनि दिन थाल्नुभयो, केही भागमा खेलेँ । यो ०५९ सालतिरको कुरा हो ।
त्यसपछि जितु नेपालदाइसँग गीताञ्जलीमा जोडिएँ, झन्डै एक वर्ष लेख्ने-खेल्ने काम गरेँ । तीतोसत्य, जिरे खुर्सानीमा पनि खेलेँ । यहीबीचमा सीतारामजी (धुर्मुस)सँग भेट भयो ।
दमनदाइ, सीतारामजी, म भएर ‘मेरी बास्सै’ बनाउने भयौँ, ०६२ सालतिर । मेरी बास्सै सफल भयो, देश-विदेश जान पाएँ । अहिलेसम्म २५ वटाजति देश गएको छु ।
श्रीमतीभन्दा बढी अभिभावक
भर्खर बिहे गर्दा श्रीमती अँगालोभरिकी तरुनीझैँ लाग्थ्यो । बुझ्दै र भोग्दै जाँदा दुई जिन्दगी आधा-आधा बन्न पुग्दो रैछ, सिंगो हुन् दुवै चाहिने । घर, एकअर्काको भर, छोराछोरीले श्रीमान र श्रीमतीलाई आधा-आधा बनाउँदा रैछन् ।
हाम्रा दुई सन्तान छन् । छोरो ०५८ सालमा जन्मियो, छोरी ०६३ मा । छोराछोरी हुर्काउनु, उनीहरूका आवश्यकता ख्याल गर्नु, सानो जिम्मेवारी होइन ।
घर चलाउनु, पानी-बिजुलीको बिल तिर्नु, हेर्दा काम साना लाग्छन्, तर तनाव धेरै हुन्छन् । सबै काम उनैले गरिन्, गर्छिन् ।
सबैभन्दा ठूलो गुण वा गुन, उनी म र छोराछोरीकी अभिभावक हुन्, उनले अभिभावकत्व राम्रोसँग निभाएकी छिन् र म सहज ढंगले कलाकारितामा लाग्न पाएँ, बिहे नै नभएको केटोझैँ ।
मेरी बास्सै राम्रो हुँदै गयो, म व्यस्त हुन थालेँ । देशका विभिन्न जिल्ला र विदेशमा रहेका नेपालीमाझ हास्यव्यंग्य प्रस्तुतिका अफर आउन थाले ।
अलिअलि कमाइ हुन थालेपछि पसल छाड्यौँ । इमाडोलमा एकतले घर किनेर सर्यौँ, ०६५ सालमा । पछि दुई तला थप्यौँ । म सुटिङ, कार्यक्रममै व्यस्त हुन्थेँ । घर बनाउने काममा पनि उनी खटिन् । उनले बाइक चलाउँछिन् । घर बनाउन आवश्यक सामान जुटाउन उनी नै दौडधुप गरिन् ।
आफूले खाएको भाँडा आफैँ माझ्ने नियम
मलाई उनले गर्ने एउटा कडा खालको माया छ, खाना खान पर्खिरहिन्छन्, मैले नपर्ख ढिला हुन सक्छ भन्दा पनि पर्खन्छिन्, यसो नगरे हुने । कहिलेकाहीँ मलाई र्फकन ढिला हुन्छ, यसले उनको पनि स्वास्थ्य बिग्रन सक्छ ।
उनी पुरानो सोचकी छिन्, स्वास्नीमान्छेले घर सम्हाल्नुपर्छ भन्ने सोच राख्छिन् । सुरुदेखि नै खाना उनले नै पकाइन् । म पनि कम संघर्ष गरेर आएको होइन, घरमा काम गर्नु मेरा लागि नौलो होइन । तर, सुरुदेखि नै उनले मलाई घरको काम गर्न दिइनन् ।
जति सम्बन्ध पुरानो भयो, उति एकअर्काको महत्त्व बुझिँदो रैछ । पछिल्लो समय मैले उनलाई केयर गर्न थालेको छु । घरका परिवारमा अहिले आफूले खाएको भाँडा आफैँ माझ्ने नियम छ । फुर्सद भएका बेला लुगा धुन पनि सघाउँछु । कपडामा साबुन लगाउने उनले गर्छिन्, मैले पखालेर सुकाउने गर्छु । कहिलेकाहीँ मैले कपडा पखालेको उनले भएन भन्छिन् ।
उनी रिसाएर हिँड्दा…
आनन्द के छ भने, हामीले एकअर्कालाई पराकाष्ठामै विश्वास गर्छौं । म दायाँबायाँ गर्दिनँ, गर्ने रुप पनि छैन (हाँसो) । उनलाई त त्यस्तो सोच्नै सक्दिनँ । अनि, कसरी झगडा परोस् ? दम्पतीबीच झगडा पर्ने बीचमा कोही आएर त हो ।
तर, सामान्य खटपटजस्तो भने हुन्छ । म आफू विकसित मुलुकमा घुमेर आएपछि बच्चाहरूलाई अलि स्वतन्त्र छोड्नुपर्छ, बच्चाले आ-आफ्नो गुण, स्वभावअनुसार सिक्छन् भन्ने धारणा राख्न थालेको छु, उनले अलि बढी कस्छिन् । पढ्न, टाइममा काम गर्न, अलि बढी कडाइ गर्छिन् । मैले बच्चालाई त्यसो नगर भन्छु, यसमा ठाकठुकजस्तो पर्छ ।
झगडा परेर उनलाई हातै उठाएको छैन । रिसाएर दुई-चार घन्टाजस्तो नबोलेको भन्ने छ । एकपटक त्यस्तै के कुरामा हाम्रो ठाकठुक पर्यो । उनी रिसाएर ‘म रामदाइकहाँ जान्छु’ भनेर तयार हुन लागिन् । रामदाइ उनको माइतीदाइ, मेरो मावलीतिरबाट नाता पर्ने दाइ ।
मैले रमाइलो गरेँ, बच्चाहरूलाई भनेँ, ‘तिमीहरू पनि तयार होऊ, अब रामदाइकहाँ जाने ।’ बच्चाहरू तयार भएर निस्के ।
उनी तल गएर बाइक स्टार्ट गर्दै थिइन्, म र छोराछोरी पनि पुग्यौँ । उनले कहाँ हिँडेको भनेर सोधिन् । मैले भनें, ‘रामदाइकहाँ जाने भनेको होइन ? गएपछि सबै जाने भनेर आको ।’
त्यसपछि उनी बाइक छाडेर हिँडेर गइन्, मैले बाइकमा केटाकेटीलाई राखेर उनलाई भेटाएँ र भनेँ, ‘बाइकमा बस, सँगै जाउँ ।’ अनि, उनी घर फर्किन्, हामी पनि फक्र्यौं ।
आधा जिन्दगी म बाहिर भएँ, उनी घरमै सीमित भइन् । उनको परिचय बदल्न उनलाई घरबाहिर लाउन चाहेको छु । मान्छेले सोध्दा पनि कति ‘हाउस वाइफ’ मात्रै भन्ने ?
यस अर्थमा म भाग्यमानी छु, हाम्रो झगडा हुँदैन । उनी मेरो जीवनमा आएर जस्तो साथ दिइन्, त्यो मेरा लागि काफी छ, त्यसमा म सन्तुष्ट छु ।
कति हाउस-वाइफ भन्ने ?
अहिले उनी गृहिणी नै हुन् । आधा जिन्दगी म बाहिर भएँ, उनी घरमै सीमित भइन् ।
अहिले केटाकेटी हुर्के, घर-परिवार बनेको छ । अब उनी पनि बाहिर आऊन्, व्यक्तित्व विकास गरुन् भन्ने सोचेर अभिनय र संगीत सिक्न पठाएको छु । मान्छेले सोध्दा पनि कति ‘हाउस वाइफ’ मात्रै भन्ने ? कलाकारितामा आइन् भने परिचय बदलिन्छ । उनले कला निधिमा संगीत सिक्न थालेको दुई वर्ष भइसक्यो ।
व्यावसायिक गायनमा आउनुभन्दा पनि व्यक्तित्व विकासका लागि हो, उनले संगीत सिकेको । तीजमा, बाथरुम-किचनमा गाएको सुन्दा उनको स्वर मलाई ठीकै लाग्यो । गायक-गायिकासँग सल्लाह गरेँ, सिक्ने हो भने राम्रै हुन्छ भन्नुभो ।
अभिनयमा पनि रुचि देखाएकी थिइन् । मेरीबास्सैको ५-६ भागमा खेलेकी पनि छन् । तर, छोराछोरी हेर्नुपर्ने भएकाले निरन्तर लाग्न पाइनन् ।
उनी पनि चारजनाको बीचमा बोल्न सक्ने हुन चाहन्छिन् । अहिले टोलका विभिन्न समितिमा छिन्, मिटिङमा गइरहन्छिन् ।
बिहेपछि उनलाई ‘कलेज पढ्न जाऊ’ भनेको थिएँ । तर, पसलमा मलाई सघाउन थालिन्, त्यस्तै भयो । पछिपछि छोराछोरी भए, म कलाकारितामा आएँ, उनी उम्कनै पाइनन् । अझै पनि उनलाई पढाउने मन छ ।
अभिनय गर्दा वास्तविक सम्झेर सँगै रोयौँ
अहिलेसम्म कुनै दुःखले हामी सँगै रोएको मलाई याद छैन । एक त मेरो सानोतिनो पीडामा आँसु नै आउँदैन । अर्को, सबैको भगवान र आशीर्वादले हामीलाई सँगै खुसी हुन पुगेको छ ।
एकपटक भने मेरी बास्सैको सुटिङमा हामी सँगै रोयौँ । मुइयाँ मेरी कान्छी श्रीमती र उनी जेठी श्रीमतीको रोलमा थिइन् । मैले कान्छी श्रीमती लिएर घर छाड्ने र जेठीले मेरा बूढा यस्ता छन्, यसरी हेरचाह गर्नु भनेर कान्छीलाई सम्झाउनुपर्ने ठट्टाको तर उदास दृश्य थियो, रुन भने मिल्दैनथ्यो ।
उनले मुइयाँलाई यस्तै भन्छिन्, ‘मेरा बूढाको पेट दुख्छ, खानामा ध्यान पुर्याउनू । बेलामा खाना खुवाउनू… ।’ यस्तो भन्दाभन्दै उनले साँच्चिकै मेरै अवस्था भन्न पुग्छिन् र रुन्छिन् । यही नै हो, उनको मप्रतिको साँचो माया, अभिनय गर्दा पनि वास्तविकतामा आइन् । मलाई पनि त्यस्तै महसुस भयो र रोएँ ।
मेरो खुट्टाको पानी खान्छिन्
उनी अति नै धार्मिक प्रवृत्तिकी छिन् । हरेक बिहानजसो घरमा पूजा गर्छिन् । प्रायः व्रत बस्छिन् । संस्कार त्यस्तै सिकेर आएकी, सुरुदेखि नै बिहान उठेर मेरो खुट्टा ढोग्ने गर्छिन् ।
उनको अर्को मप्रतिको अचाक्ली सम्मान छ, कहिलेकाहीँ व्रत लिएका बेला मेरो खुट्टाको पानी खानुपर्छ । मैले नगर भन्छु, मान्दै मान्दिनन् । ‘सानैदेखि यही देखेर हुर्केकी हुँ, उहिलेदेखि गरिआएको रीति हो, किन छाड्ने ?’ भन्छिन् ।
प्रस्तुतिः ध्रुवसत्य परियार
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं