‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’
वैशाख १२ को भुइँचालोपछि धेरैको प्रश्न यही थियो।
सन् २००४ को भुइँचालो र सुनामीले इन्डोनेसियाको आचे प्रान्तमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गयो। पाँच लाखभन्दा बढी घरबारविहीन भए। नेपालभन्दा कयौं गुणा ठूलो भौतिक क्षति बेहोरेको आचेमा पाँच वर्ष नबित्दै कायापलट भयो। दाताहरूबाट प्राप्त झन्डै ७ अर्ब अमेरिकी डलरले व्यवस्थित घर बने। फराकिला सडक बने। भुइँचालो प्रतिरोधक स्कुल बने। नयाँ अस्पताल बने। नयाँ पुल बने। सिंगो प्रान्त नै नयाँ बन्यो।
उता, २०१० को भुइँचालोले हाइटीमा दुई लाखभन्दा बढीको ज्यान गयो। डेढ लाखभन्दा बढी घरबारविहीन भए। दाताहरूबाट १० अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग ओइरियो। आज पाँच वर्षपछि पनि त्यहाँका घरबारविहीन तंग्रिएका छैनन्। उल्टो गरिबी र भोकमरीमा लपेटिएका छन्। र, टहरोमुनि नै जिन्दगी बिताइरहेका छन्।
एक वर्षको अनुभव हेर्दा, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना एकदमै धमिलो छ।
एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।
यसको कारण, नेपाल सरकार हाइटीभन्दा सक्षम छ वा यहाँको पुनर्निर्माण प्राधिकरणको काम प्रभावकारी छ भन्ने कतै होइन। यसको कारण जनता आफैं हुन्। उनीहरू सरकार कहिले आउला र घर बनाइदेला भनेर कुरेर बसेका छैनन्। धेरैले त अहिलेसम्म सरकार देखेकै छैनन्। उनीहरूको कुनै पनि दुःखमा सरकार उभिएकै छैन। उनीहरूले न सरकारबाट केही पाएका थिए न त यसपालि पनि केही पाउने आशै राखे।
त्यसैले त, भुइँचालोको एक महिना नबित्दै हामीले थुप्रै त्यस्ता व्यक्ति भेटेका थियौं, जो भग्नावशेषबाट सग्ला काठ र ढुंगा पन्छाउँदै नयाँ घर बनाउने जोहो गर्दै थिए। आफ्नै बलबूतामा आफ्नो ओत लगाउँदै थिए।
आज, एक वर्षपछि यो रफ्तार निकै बढेको छ।
…
बारपाक, मनिडाँडाबाट सुस्तरी ओरालो झर्दा दुई सय मिटर तलको झुरुप्प बस्तीबाट ठाकठाक ठुकठुक आवाज एकोहोरो कानमा ठोक्किरहन्छ।
तल, गोरखा राजमार्गको बाह्रकिलोबाट ४८ किलोमिटर उत्तर कच्ची बाटोमा रोडा, ढुंगा, सिमेन्ट, छड बोकेका ट्र्याक्टर ठस्ठस्ती कन्दै उकालो उक्लिरहेका भेटिन्छन्।
बारपाकीहरू घर बनाउँदैछन्।
सुनबहादुर घलेलाई केही दिनमै ढलान गर्ने चटारो छ। उनी भुइँचालोमा भत्केको घरको ढुंगामाथि टुक्रुक्क बसेर फलामे छड करौंतीले काट्दै थिए। भुइँमा बालुवाको थुप्रो थियो। दर्जनभन्दा बढी सिमेन्टका बोरा खात लाएर राखिएको थियो।
‘एक वर्ष त भइसक्यो, दिएको के छ र हाम्रो सरकारले! तिनको भर परेर बसे त हाम्रो जिन्दगी नै टहराको बास हुन्छ,’ सुनबहादुरले भने।
बारपाकमा सुनबहादुर एक्ला होइनन्, जो भुइँचालोमा लडेको घर आफ्नै बलबूतामा जेनतेन उभ्याउँदैछन्। यहाँका अधिकांशले आफ्नो घर आफैं बनाइसके, चाहे त्यो जस्ताकै टहरा किन नहोस्।
पहिलोचोटि बारपाक पुग्नेलाई झुलुक्क हेर्दा पत्याउनै मुश्किल पर्छ, यो गाउँ भुइँचालोमा सिंगै लडेको थियो। यहाँका १ हजार ४ सय ४७ घरमध्ये दुई दर्जन पक्कीबाहेक सबै धस्सिएर जमिनको सतहमा आइपुगेका थिए। ढुंगाले बारेको र ढुंगैले छाएको झुरुप्प बस्ती एकैचोटि झ्याम्म लड्दा ढुंगा र काठले थिचेरै ७० जनाभन्दा बढीको ज्यान गएको थियो।
त्यसयता बर्खा, असिनापानी र हिमपात झेलेका धेरै बारपाकी आज आफ्नै बलमा बौरिन थालेका छन्। ७५ प्रतिशतभन्दा बढीले जस्ताको टहरा छाइसके। ५० वटाभन्दा बढी पक्की घर नै बनिसके। केहीले ढुंगाको गारो उभ्याएका छन्। जस्ताका ती अस्थायी घरले यसपालि बर्खा मात्र हैन, केही वर्ष नै मज्जाले धान्नसक्छ।
यी कसैले सरकारको सहयोगमा घर उभ्याएका होइनन्। नयाँ घर बनाउन सरकारले दुई लाख दिने भनेको उनीहरूले सुन्दै आएका छन्। कसैलाई त्यसको आश भने छैन। घर बनाएका सबैले विदेशबाट छोरा–नातिले पठाइदिएको रेमिटेन्स रकम नै लगानी गरेका हुन्। त्यसमा नपुग ऋण गरेका छन्।
सरकारको बाटो कुर्दाकुर्दा स्थानीयको आँखा कतिसम्म टट्टाइसक्यो भने विस्थापितले धरि पहिलेकै ठाउँ फर्केर घर बनाउन थालिसके।
बारपाक पुग्नुभन्दा लगभग १५ किलोमिटरअघि इसिनान गाउँ आउँछ। पहिरोको जोखिमले विस्थापन समस्यामा परेका बारपाकका आधा दर्जनभन्दा बढी गाउँमध्ये इसिनान एक हो। यहाँका ४३ घर सबै भत्किए। ६ जनाको ज्यानै गयो। भत्केका घरका अवशेष अहिले पनि जस्ताका तस्तै छन्। यहाँका बासिन्दा गाँवै सुनसान पारेर डाँडामाथि चौरमा ‘विस्थापित जिन्दगी’ बाँचिरहेका छन्।
गाउँको सुन्यबीच एउटा घरबाट काठ ठोकेको ठाकठाक ठुकठुक आवाज आइरहेको थियो। त्यहाँ ३४ वर्षीय मनबहादुर गुरुङ र उनका छोरा ओमराज गुरुङ काठ ठोकेर घरको छत हाल्दै थिए।
‘सरकारले देला र घर बनाम्ला भनेर अर्काको जग्गामा कति दिन बस्ने! म त आएँ अब आफ्नै ठाममा। जे पर्ला सो टर्ला,’ मनबहादुरले भने, ‘सरकारले २५ हजारबाहेक एक पैसा दे’को छैन। कति दिन उसको मुख हेरेर बस्नु ! अब त यत्ति भन्नुछ, सरकार तिमी हेर्दै गर, हामीले हाम्रो घर बनाइसकेम्।’
उनले भग्नावशेषबाट जोगाएर राखेका सग्ला काठ प्रयोग गरेर यो नयाँ घर बनाएका हुन्। अब बढीमा एक महिनाभित्र घर पूरा हुन्छ। त्यसपछि उनीहरू सात जनाको परिवार फेरि यहीँ बसोबास गर्न आउनेछन्। पहिरोको जोखिमले मुटु त पक्कै काम्छ, तर त्योभन्दा बढ्ता अर्काको भरमा ‘माग्नेजस्तो जिन्दगी बिताउँदा’ मुटु कामेको उनी बताउँछन्।
‘भैंचालो त झेलियो, अब पैरो पनि यहीँ झेलम्ला, बाँच्नु छ भने जाँ नि बाँचिन्छ, मर्नु छ भने चौराँ नि मरिहालिन्छ,’ उनले भने, ‘मरेँ नि आफ्नै घराँ मरम्ला।’
‘तपाईं मात्र कि अरू पनि फर्कंदैछन् ?’
उनको जवाफ थियो, ‘अहिलेलाई म आएँ, विस्तारै अरू पनि आउँछन्। सरकारले केही गर्दैन भन्ने सप्पैलाई था भइसको।’
…
सबैतिर दुःख उस्तै छ। सरकारको रफ्तार उही हो। पुनर्निर्माण प्राधिकरणले भुइँचालो पीडितको लगत अद्यावधिक गर्नै भ्याएको छैन। केही जिल्लामा दुई लाख दिने काम बल्ल सुरु भयो। त्यो पनि बैंक खाताको लफडामा अल्झेर धेरैको हात परेकै छैन। सत्तारुढ दलका नेता ‘सक्नेले आफ्नो घर आफैं बनाउँ’ भन्न थालेका छन्।
खासमा यो कसैले भन्नै पर्दैन। अलिकति पनि टेक्ने भुइँ र समाउने लठ्ठी भएका कोही सरकारको भरमा बसेकै छैनन्।
धादिङ, खरी–२ का तारानाथ काप्रीको घर वैशाख १२ को भुइँचालोले भत्काइदियो। त्यो उनको घर मात्रै थिएन, गरिखाने मेलो पनि थियो। सडकनजिकको त्यही घरमा उनको सानो किराना दोकान थियो। खाजा पनि खुवाउँथे। घरसँगै उनको जीवन धान्ने आधार पनि भत्कियो। सरकारले घर बनाउन दुई लाख दिन्छ भन्ने सुनेका काप्रीले गएको बर्खा टहरोमै काटे। हिउँद लाग्दा पनि सरकार नकस्सिएपछि उनी आफैं कस्सिए, आफ्नो घर आफैं बनाउन।
दैनिक आठ सय ज्यालामा कामदार खोजेर उनले गएको फागुनबाट घर बनाउन थालेका हुन्। चैतमा घर तयार भयो। झन्डै तीन लाख रुपैयाँ ऋण लागेको छ। उनको यो घर सरकारद्वारा प्रस्तावित १७ थरीका भुइँचालो प्रतिरोधक मोडलसँग मिल्दैन। उनले कुनै प्राविधिकको सल्लाह पनि लिएनन्।
‘आफ्नै तरिकाले, आफूलाई मन खाने गरी घर बनाएँ। नक्सा पास पनि गरेको छैन,’ उनले भने, ‘सरकारले दिन्छु भनेको पैसा यही घरलाई हेरेर दिए लिन्छु, ऋण तिर्न सजिलो हुन्छ, नभए त्यो नि चाहिएन।’
खरी–२, धुसेनीका कर्णबहादुर आचार्यले त वर्षदिन पनि कुरेनन्। उनले भुइँचालो गएको दोस्रो दिनबाटै घर बनाउन थालेका हुन्।
‘वैशाख १२ गते भैंचालो गयो, १३ गते घर बनाउन थालिहालेम्,’ उनले भने, ‘घरमा १० जना छम्, कोही पुरानो घरको सामान तह लगाउन थालेम्, कोही नयाँ बनाउन थालेम्।’ सारा परिवार जुटेपछि वैशाख महिना सकिँदा–नसकिँदै उनको घर तयार भयो।
उनले पनि कसैको प्राविधिक सहयोग लिएका छैनन्। ‘सरकारले पैसा दिए पनि ठिक छ, नदिए पनि ठिक छ, नदिए भने मलाई अनुदान देऊ भनेर खोज्दै जान्नँ,’ उनले भने।
उता, गोरखा, फुजेल–५ का सिताराम न्यौपानेले जापान बस्ने छोराले पठाइदिएको पैसाबाट घर बनाउन थालिसके। २०४२ सालमा बनेको उनको घर भुइँचालोमा पूरै भत्किएको थिएन। ठाउँ–ठाउँमा चर्किएको भने थियो। उनी चर्किएको घरमा बस्न चाहेनन्। नजिकै टहरो बनाएर ९१ वर्षकी आमासँग बर्खा र हिउँद काटे।
सरकारले अनुदान देला र घर बनाउन थालुँला भनेर बसेका न्यौपानेलाई यो बर्खा पनि टहरामै कट्ला कि भन्ने डर लाग्यो। त्यही भएर जापान बस्ने छोराले पैसा पठाइदिएपछि पक्की घर बनाउन थाले। जेठ मसान्तसम्म घर बनाइसकेर बर्खा अगाडि नै बूढीआमैलाई सुरक्षित ओतभित्रै राख्ने उनको योजना छ।
‘मैले त आफ्नो घर आफैं बनाएँ, अरू पनि धेरैले बनाएका छन्। तर, सरकार, कृपा गरेर घर बनाउन नसक्नेहरूलाई चाँडो हेरिदेऊ। यो बर्खा पनि उनीहरूले टहरोमै काट्न नपरोस्,’ सितारामले भने।
…
बारपाक, इसिनानका मनबहादुर गुरुङ भन्दै थिए, ‘सरकारले हाम्रातिर मात्र नहेरेको हो कि अरूतिर पनि यस्तै हो? काठमाडौंमा पनि धेरै घर ढलेका छन् भन्छन्, त्यहाँकाले पनि केही पा’का छैनन् त?’
स्थिति उनले सोचेजस्तो छैन। काठमाडौं जिल्लाकै सबभन्दा बढी भुइँचालो प्रभावित साँखुको समस्या गोरखाको जस्तै छ।
साँखुका ६० वर्षीय कृष्णबहादुर प्रजापतिको चारतले घर भत्किएर डेढ तलामा झरेको छ। आधा बचेको माथिल्लो तलामा जस्ता बारेर श्रीमती र छोरीसँग बस्दै आएका छन्। माटोका भाँडा बनाएर बेच्ने उनी त्यही धराप घरको अँध्यारो छिँढीमा आफ्नो पेसा धान्छन्।
उनले यो एक वर्षमा जम्मा तीन थोक पाए : सरकारबाट १५ हजार रुपैयाँ, रेडक्रसबाट १० हजार र भुइँचालो पीडितको कार्ड। सरकारले यहाँको भग्नावशेष पन्छाउनधरि मद्दत नगरेपछि लगभग ४० हजार रुपैयाँ खर्च गरेर आफैं सफा गरेको उनी सुनाउँछन्।
भुइँचालो पीडितलाई सरकारले २ लाख र बैंकले सस्तो व्याजमा २५ लाख रुपैयाँसम्म ऋण दिने भनेको छ। आजसम्म कोही खोजखबर गर्न नआएकाले कृष्णबहादुरले आश मारिसके। ऋण लिन पनि उनीसँग जग्गाको लालपुर्जा छैन। हजुरबा पालाको घर २०४२ सालमै दर्ता गरे पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन्।
‘सरकारले दुई लाख दिए पनि त्यसले घर बनाउन त के पुग्थ्यो! टालटुल पारुँला भनेको, त्यो पनि खै के हो के!’ उनले भने, ‘हामी गरिब भनुँ भने तन्नम पनि हैनौं, धनी भनुँ भने आफैं घर बनाउने ल्याकत छैन। न माथि उठ्न सक्यौं न तल झर्यौं, बीचको बीचै रह्यौं।’
कृष्णबहादुरका जेठा छोरा वैदेशिक रोजगारका लागि साउदी गएका छन्। कान्छा छोरा वाणिज्य बैंकमा काम गर्छन्। छोरी पढ्दै छिन्। ऋण खोजखाज गरेर यसपालि जसरी भए पनि घर पक्की बनाउने उनको सुर छ।
उनकै छिमेकी सुरेन्द्र श्रेष्ठ त हामी पुग्दा भुइँचालोले भत्केको घर बनाउन इँटा ओसार्दै थिए। उनकी श्रीमती सिमेन्ट र बालुवा घोल्न मद्दत गर्दै थिइन्। ‘सरकारले बनाइदिने भनेको त सुनेको हो, तर कति दिन कुर्नु,’ सुरेन्द्रले भने, ‘यहाँ कतिले टहरा बनाइसके, कतिले पुरानै घर मर्मत गर्न थालिसके।’
अलि पर, साँखु चोकको एउटा भग्नावशेष घरको भुइँतलामा सिलाइबुनाइ पसल चलाइरहेकी सुलोचना श्रेष्ठ मोबाइलमा हिन्दी गीत सुन्दै थिइन्–
‘तु मेरे साथ साथ आसमाँ से आगे चल,
तुझे पुकारता हैं तेरा आनेवाला कल’
भत्केको घरको भुइँतलामा बस्दा पनि उनको अनुहार अँध्यारो छैन। ‘अँध्यारो किन हुनु त, घर पो भत्कियो, हामी त बाँचेका छौं नि,’ मोबाइलको आवाज मधुरो पार्दै सुलोचनाले भनिन्।
उनको घर तीनतलाको थियो। भुइँचालोपछि एक तला मात्र बचेको छ। उनको नौ जनाको परिवार केही समय टहरोमै बस्यो। अहिले भाडाको घरमा बस्न थालेको छ। अब सरकारले नहेरे पनि आफैं घर बनाउनुपर्छ कि भनी सोच्न थालेको उनी बताउँछिन्।
‘सरकारबाट केही होला कि भन्ने आश थियो, खै केही भएन,’ उनले भनिन्, ‘हामी कतै सोध्न गएनौं, कसैले खबर पनि गरेको छैन। घर बनाउँदै गरौं, पछि सहयोग पाइयो भने लिउँला भन्ठानेका छौं।’
‘हुनेहरूले त जग्गा बेचेर भए पनि बनाउलान्। नहुनेलाई सरकारले हेर्दिनैपर्यो, तपाईंहरू त्यत्ति गर्दिनु है,’ उनले छुट्टिने बेला भनेकी थिइन्।
उनको यो सन्देश सरकारले नसुनेको वा नबुझेको होला र!
…
‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’
धेरैको प्रश्न अहिले पनि यही छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म समय–सीमा सहितको पुनर्निर्माण योजना सार्वजनिक गरेको छैन।
प्राधिकरणका सदस्य विष्णुबहादुर भण्डारीलाई सोमबार खानी तथा भूगर्भ विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन क्रममा एक सहभागीले सोधे, ‘तपाईंहरूसँग कुन काम कहिले सक्ने भन्ने टाइम–फ्रेम सहितको योजना छ कि छैन ?
भण्डारीको जवाफ थियो, ‘प्राधिकरण पाँच वर्षको निम्ति गठन भएको हो, हामी सबै काम पाँच वर्षभित्र भ्याउँछौं।’
‘एक वर्ष त केही गर्नुभएन नि!’ ती सहभागीले फेरि सोधे।
‘पाँच महिना मात्र भयो हामी आएको,’ भण्डारीले भने, ‘कति राजनीतिक लफडा भयो भन्ने तपाईंहरूले बुझ्नुपर्छ। हामी आफ्नो काम गरिरहेका छौं।’
प्रश्न जहाँको तहीँ रह्यो। प्राधिकरणले समय–सीमा सहितको योजना सार्वजनिक गर्न सकेन।
यो हिसाबले, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना साँच्चै धमिलो छ। एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।
किनकि, सुनबहादुर, मनबहादुर, तारानाथ, कर्णबहादुर, सिताराम, सुलोचना, कृष्णबहादुर, सुरेन्द्र लगायत धेरैले आफ्नो घर आफैं बनाइसके। कति बनाउने तर्खरमा लागिसके।
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं