मीनेन्द्र रिजाल, नेता
मायाले बोलाउँदा मैले उनलाई ‘माया’ भन्छु, नत्र नाम बिगारेर- दुर्गी । उनले मलाई ‘पापा’ भन्छिन् । जिस्काउँदा मैले ‘बुढीमाउ’ भन्छु, उनले काले ।
पहिलो भेटमा त अनुहार नै मन परेको हो । त्यसपछि स्वभाव र गुण मन पराएँ । ०३६ सालमा हाम्रो भेट भयो, आजसम्म हाम्रो सम्बन्धमा कुनै दरार आएको छैन । यति लामो समय सँगै हुन रुपले मात्रै, बोली-व्यवहार, गुणले मात्रै पनि पुग्दै, मान्छेको सम्पूर्ण पर्सनालिटी नै जोडिन्छ, मानव जीवनको समस्य आयाम नै आउँछ ।
प्रेम-प्रंसग
पहिलो भेटमै म उनीप्रति आकषिर्त भएँ, त्यसअघि कुनै युवतीसँग त्यसरी एकाएक आकषिर्त भएको थिइनँ । पद्मकन्या क्याम्पसको निर्वाचनका लागि उम्मेदवार तय गर्ने बैठक थियो । बैठक बोलाउने जिम्मा मेरो पनि थियो, यो ०३६ सालको कुरा हो । त्यतिबेला म नेवि संघ केन्द्रीय सदस्य थिएँ, कीर्तिपुरमा मास्टर्स गर्दै थिएँ । बैठकका लागि टोली आयो, जसमा उनी थिइन् । बैठकमै परिचय भयो- नाम दुर्गा भट्टराई, पद्मकन्यामा आईए पढ्दै, घर बानेश्वर । उनी सदस्यका लागि चुनाव लड्दै रहिछिन् । मीना पाण्डेको नेतृत्वमा उनी चुनाव लडेकी हुन्, जितिन् ।
बैठकपछि चुनावी प्रयोजनका केही सामान ल क्याम्पसबाट पुतलीसडक लैजानुपर्ने थियो । मैले सामान ट्याक्सीमा लैजाँदै थिएँ । हाम्रो बाटो मिल्ने रहेछ । सामान पुतलीसडक पुर्याउनुपर्ने थियो, उनको घर बानेश्वर । तपाईं कहाँ पुग्ने भनेर सोधेँ । उनले भनिन्- बानेश्वर ।
‘ट्याक्सीमा सामान लिएर म पनि त्यतै जाँदै छु, जाउँ,’ पहिलो भेटमै मन परेकाले सायद उनीसँग नजिक हुने बाटो खोजेँ । उनले बाटो दिइन् भनौँ । पहिले सामान छाडेर उनलाई पुर्याउँदा एकोहोरो हुन्थ्यो, तर मैले पहिले उनलाई बानेश्वर पुर्याएँ । ट्याक्सीमा चुनाव र राजनीतिक कुरा भयो । दुवै विद्यार्थी राजनीतिमा भएकाले अन्य कुरा गर्न उपयुक्त हुँदैनथ्यो ।
‘बाहुन केटालाई बेहुली चाहियो’
जनकपुरमा नेवि संघको तेस्रो महाधिवेशन हुने भयो, उद्घाटन बीपी कोइरालाले गर्दै हुनुहुन्थ्यो । त्यसमा उनी पद्मकन्याबाट प्रतिनिधि भएर गएकी थिइन् । त्यो महाधिवेशनबाट विमलेन्द्र निधि सभापति र म उपसभापति भएँ । त्यहाँ पनि हाम्रो भेटघाट भो, त्यो भेटमा मेरो मन उनीप्रति अलि बढी नै गयो । मप्रति उनले पनि केही अभिरुचि देखाएजस्तो बुझेँ । तर प्रेमको कुरा अघि बढेन । मैले भन्न सकिरहेको थिइनँ ।
पद्मकन्या युनियनको पत्रिका निकाल्ने कुरा भयो । विज्ञापन खोज्ने विषयमा बैठक थियो- मीना पाण्डे, ज्योति प्याकुरेल, दुर्गा म लगायत थियौँ । मीना पाण्डे त्यतिबेला पद्मकन्याको सभापति हुनुहुन्थ्यो । पत्रिकाको जिम्मा दुर्गाको थियो । उनले मलाई विज्ञापन खोजिदिन भनिन् । मैले जिस्केर भनेँ, ‘मेरै विज्ञापन छाप्नु न त, एउटा बाहुन केटालाई बेहुली चाहिएको छ भनेर ।’ उनलाई लक्षित गरेर भनेको थिएँ, मेरो निसाना उनले बुझेजस्तो लाग्थ्यो मलाई ।
दलहरूलाई प्रतिबन्ध लगाइएको विरोधमा खुलामञ्चमा आमसभा थियो, जनमत संग्रहको प्रचारका लागि पनि त्यो सभा गरिएको थियो । सभाको मञ्चअगाडि ‘यु सेप’मा हामी थियौँ, उनी एउटा कुनामा र म अर्को । दुवैले थाहा पाउने गरी हाम्रो आँखा जुधिरह्यो । पछि मैले ‘यत्रो नेताको भाषण चलिरहेका बेला किन मलाई हेरेर डिस्ट्रब गरेको ?’ भनेँ । उनी केही बोलिनन् । तर, मैले मन पराउँछु भन्ने उनलाई परिसकेको थियो ।
प्रेम-प्रस्ताव
पद्मकन्या क्याम्पसमा नेतृ थिइन्, ज्योति प्याकुरेल, उनीसँग मैले तिहारको टीका लगाएको छु । दुर्गा र ज्योति असाध्यै मिल्ने । हाम्रो प्रेम सम्बन्ध बनाउन ज्योतिले अलि बढी भूमिका गरिन् । मैले दुर्गालाई मन पराएको ज्योतिलाई थाहा थियो । ज्योतिले मेरो कुरा उनलाई र उनको कुरा मलाई सुनाउन थालिन्, यसले हामीलाई निटक हुन सघायो । तर, एक-अर्कालाई भन्न सकिरहेका थिएनौँ ।
भेटेर भन्ने वातावरण ज्योतिले गराइन् । भोटेबहालको एउटा साथीको कोठामा हामी तीनजना भेट भयौँ । हामी दुईबीच केहीबेर छुट्टै कुरा भयो । ‘म तिमीलाई मन पराउँछु । तिम्रो स्वभाव, गुण, रुप मलाई मन पर्छ,’ मैले यस्तै केही भनेँ । उनी हाँसिन् । त्यो हाँसोलाई मैले स्वीकारोक्तिका रुपमा बुझेँ ।
साथीदेखि बीपी कोइरालासम्मलाई हाम्रो सम्बन्धबारे थाहा थियो । काठमाडौंबाहिर गएका बेला मैले उनका लागि चिठी लेखेर छाड्थेँ । मैले लेखेका केही चिठी उनीसँग अझै पनि छन् ।
म नेवि संघको उपाध्यक्ष, उनी उदाउँदी विद्यार्थी नेतृ, त्यसैले हामी बाहिर घुम्न जान मिल्दैनथ्यो । संघको मिटिङ पर्यो भने, यसो चिया खाने बहानामा भेट्थ्यौँ, त्यही धेरै हुन्थ्यो । यति हुँदा पनि हाम्रो सम्बन्धबारे चर्चा हुन थालिसकेको थियो । मेरा साथीदेखि बीपी कोइरालासम्मलाई हाम्रो सम्बन्धबारे थाहा थियो । काठमाडौंबाहिर गएका बेला मैले उनका लागि चिठी लेखेर छाड्थेँ । मैले लेखेका केही चिठी उनीसँग अझै पनि छन् ।
बीपीलाई देखेपछि
हाम्रो पुर्खाको थलो धनकुटा हो, पछि धरान बसाइँ सर्यो । धरानबाट विराटनगर सर्यो, ०२२ सालमा । म धरानमा जन्मे, ०१४ सालमा । तीन कक्षासम्म धनकुटामै पढेँ । चार कक्षादेखि विराटनगरको जनता हाई स्कुलमा पढेँ । कक्षाको फस्र्ट ब्वाई थिएँ ।
सम्पन्न परिवारको हुँ, हाम्रो प्रशस्त जमिन थियो, बुवाहरु जमिनदार नै भनौँ । मैले बाल्यकाल र अहिलेसम्म अभावको जीवन बाँचेको छैन ।
बीपी जेलबाट छुट्नुभयो, ०२५ सालमा । त्यतिखेर मेरो परिवारले बीबीसी हिन्दी सेवा सुन्थ्यो । परिवारमा बीपी जेलबाट छुटेको र लगत्तै विराटनगर आउन लागेको चर्चा भयो । हाम्रा नाता महाप्रसाद रिजाल र चिरञ्जीवी रिजाल राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । चिरञ्जीवी रिजाल ०१६ सालमा बडाहाकिम हुनुहुन्थ्यो ।
उहाँहरूले बीपीलाई स्वागतका लागि घडाहरू, ध्वजाहरू, झन्डाहरू तयार गर्दै हुनुहुन्थ्यो, विराटनगर बर्घाछी चोकमा, यो मेरो घरदेखि नजिकै छ । मैले पनि त्यहाँ गएर काम गर्न थालेँ । सबै बीपीलाई लिन एयरपोर्ट जाने भए, म पनि गएँ । बीपी ठूलो मान्छे भन्ने मेरो मनमा परिसकेको थियो । उहाँलाई देखेपछि म पनि कांग्रेस हुँ भन्ने लाग्यो । केटाकेटी न थिएँ, ‘म कांग्रेस हो’ भन्दै हिँड्थेँ ।
त्यतिबेला विद्यार्थीको चुनाव हुन्थ्यो स्कुलमा, ६ कक्षादेखि चुनाव लडेको हुँ, जतिबेला म १२ वर्षको थिएँ । पहिलोपटक चुनाव लड्दा नेवि संघ बनिसकेको थिएन, हाम्रो प्रजातन्त्रवादी समूह थियो, कम्युनिस्टहरूको अखिल ।
उनको पृष्ठभूमि
उनको पुख्र्यौली घर बानेश्वर । उनको बुवा घरेलु उद्योगमा काम गर्नुहुन्थ्यो । उनका माइती बानेश्वरमा प्रतिष्ठा भएका भट्टराईहरू हुन् । मेरो परिवारले कांग्रेसप्रति सहानुभूति त राख्थ्यो, सक्रिय राजनीतिमा थिएन । तर, उनको परिवार राजनीतिमा बढी सक्रिय थियो, प्रजातान्त्रिक आन्दोलनसँग जोडिएर । उनका दाइहरू -काकाका छोरा) हरिबोल भट्टराई, मनमोहन भट्टराई राजनीतिमा हुनुहुन्थ्यो ।
बिहे गर्दा उनले ब्याचलर गर्दै थिइन् । बिहेपछि मास्टर्स गरिन्, टीयुबाट समाजशास्त्रमा । त्यसपछि ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा मास्टर्स गरिन्, न्युयोर्क विश्वविद्यालय अमेरिकाबाट ।
मेरो काठमाडौं यात्रा
एसएलसी पास गरेपछि आइएस्सी पढ्न काठमाडौं आएँ । हामी तीन भाइ हौँ । मेरा दुई दिदीहरू, अहिले दुवै बेलायत हुनुहुन्छ । ठुल्दाजु महेन्द्र रिजाल त्यतिबेला वकिल भइसक्नुभएको थियो, अहिले उहाँ ७४ लाग्नुभयो । मेरो बुवाको देहावसान ०२८ सालमा भयो । त्यसपछि मलाई पढ्न र राजनीतिमा लाग्न दाजुहरूले स्वतन्त्र छाडिदिनुभयो । मेरो माइलो दाजु रमेश रिजाल, काठमाडौंमा इन्जिनियर हुनुहुन्थ्यो, दाजुसँगै काठमाडौं आएँ, तर अस्कल क्याम्पसमा भर्ना भएँ, त्यहीँको होस्टेलमा बसेँ ।
विद्यार्थी आन्दोलनमा भएकाले साइन्समा राम्रो गर्न सक्ने देखिनँ र पछि साइन्स छाडेर एमबिए पढेँ । हुन त, मैले बिएस्सीमा आफ्नो ब्याच टप गरेको छु । मलाई साइन्स पढ्नै गाह्रो हुने होइन, राजनीतिमा लागेपछि बढी समय दिनुपर्ने भएकाले एमबीए पढेँ ।
बिहे प्रसंग
हाम्रो सम्बन्धको चर्चा भइसकेको थियो । हामी बिहे गर्ने निर्णयमा पुग्यौँ । मैले दाजुलाई भनेँ । माइला दाजुले दुर्गाको बुवासँग कुरा गर्नुभयो, कुरा छिन्नुभो । २५ वैशाख ०४० मा बिहे भयो । विराटनगरबाट मेरो परिवारलगायत थुप्रै नातागोता आउनुभएको थियो । बिहेकै लागि भनेर केही समयका लागि एउटा घर दिनुभएको थियो, कांग्रेस नेता डा. गंगा उप्रेतीले, जो पछि राष्ट्रियसभाको सदस्य पनि हुनुभयो । दुर्गालाई त्यही घरमा भित्र्याइयो ।
बिहेमा पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, जो मेरो काका पर्नुहुन्छ, कृष्णप्रसाद, भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला आउनुभएको थियो । गणेशमान र गिरिजाबाबुको गाडी प्रयोग गरेका थियौँ । म नगेन्द्रबाबुको गाडीमा चढेको थिएँ । गाडी कसले चलाउने भन्ने भयो । प्रदीपकुमार श्रेष्ठ, जो मेरा साथी थिए, उनैले चलाए । उनी पछि उद्योग वाणिज्य महासंघको अध्यक्ष भए । अहिले पनि उनले म तिम्रो बिहेको ड्राइभर भनेर जिस्कन्छन् ।
अमेरिका यात्रा
कमर्सबाट मास्टर्स गरेपछि, केही वर्ष नेपालमै पढाएँ । ०४१ सालमा जनप्रशासन क्याम्पस पढाउन सुरु गरेको हुँ, पछि टीयुमा पढाएँ ।
न्युयोर्क युनिभर्सिटी अमेरिकामा मास्टर्स पढ्न जान पाएँ, ०४४ सालमा, फुलब्राइट स्कलरसिपमा । बिजनेस एडमिनिस्ट्रेसनमा एमबीए गरेँ, पीएचडी गरेँ । त्यसपछि न्युयोर्क विश्वविद्यालयमै उपप्राध्यापकको रुपमा काम गरेँ ।
०४५ सालमा दुर्गालाई पनि अमेरिका झिकाएँ, डिपेन्डेन्ट भिसामा । म उपप्राध्यापक भएपछि त्यहाँ श्रीमतीले निःशुल्क पढ्न पाउने सुविधा थियो । दुर्गाले त्यही कोटामा पढिन् । उनले सुरुमा स्टोर्समा काम गरिन् । मास्टर्स सकेपछि ट्राभल एजेन्सीमा काम गरिन् ।
छोरी जन्मँदा उनको सुँडिनी भएँ
हाम्रो एउटा छोरा र एउटी छोरी छिन् । छोरो प्रजन्य विराटनगरमा जन्मियो, ०४२ मा । त्यतिबेला मैले अमेरिका जान टोफल/जिम्याटको प्रिपिअर गरिरहेको थिएँ । त्यसैले छोरो जन्मदा म उनको साथमा भइनँ । विराननगरमा परिवार, आमाले नै उनलाई केयर गर्नुभयो । छोराको न्वारन हुनुभन्दा तीन-चार दिनअघि म पुगेको थिएँ ।
छोरी अनिता अमेरिकामा जन्मेकी हुन् । छोरी जन्मदा भने म उनको सुँडिनीजस्तै भएँ, हस्पिटलमा ‘लेबर पार्टनर’ थिएँ । अमेरिकामा हस्पिटल भर्ना गर्दा नै एकजना लेबर पार्टनरको नाम लेख्नुपर्छ ।
डाक्टरहरूले उनलाई चेकचाँज गर्दै थिए । मैले उनको हात समातिरहेको थिएँ, छोरी जन्मिइन् । अमेरिकामा बच्चा जन्मनेबित्तिकै नधोईकन, नपुछीकन आमालाई दिइन्छ । जन्मदाबित्तिकै आमाले बच्चालाई लिइन् भन्ने आत्मीयता हुन्छ भनिँदो रहेछ । छोरी पहिले उनलाई दिइयो, त्यसपछि मलाई । अनि मात्रै पुछ्ने, नुहाइदिने काम भयो ।
उनले ठट्टा गर्दै भनेकी थिइन्, ‘छोरी नजन्मदासम्म त तिमीले मेरो खुब केयर गथ्र्यौ । मेरो पीडामा मसँगै थियौ । छोरीको अनुहार देख्नेबित्तिकै मलाई बिर्सियौ, छोरीलाई मात्रै हेर्न थाल्यौ ।’
त्यति बेला एक महिनासम्म खाना मैले पकाएँ । अमेरिकामा हामीले बेलुका नेपाली खाना दालभात, तरकारी खान्थ्यौँ । अन्य बेला त्यहीँको खाना खान्थ्यौँ । उनी सुत्केरी भएका बेला भने दुवै छाक दालभात तरकारी खायौँ ।
अमेरिकामा बच्चा जन्मनुअघि नै नामको टुंगो लगाउनुपर्छ । छोरा वा छोरी के जन्मने थाहा हुँदैन । हामीले छोरीको नाम त राखिसकेका थियौँ- अनिता । तर छोरा भयो भने के नाम राख्ने टुंगो लगाइसकेका थिएनौँ । छोरी नै जन्मिन्, राम्रै भयो ।
रामचन्द्र पौडेल, मीनेन्द्र रिजाल र शेरबहादुर देउवा
देउवाजीले स्वदेश बोलाउनुभो
हामी ०५३ सालमा अमेरिकाबाट स्वदेश फक्र्यौं । फर्केको १८ दिनमै शेरबहादुर देउवाले मलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभयो । उहाँ प्रधानमन्त्री भएका बेला अमेरिका जानुभएको थियो, मलाई नेपाल बोलाउनुभएको थियो । मैले आउँछु भनेको थिएँ ।
अमेरिका नौ वर्ष बसेँ । त्यसपछि छोराछोरी, श्रीमती मसँगै आए । छोराले बुढानिलकण्ठबाट ए लेभल गर्यो । कलेज टप गर्यो र स्ट्यानफोर्ड युनिभर्सिटी अमेरिकामा स्कलरसिप पायो । अहिले उतै काम गर्छ । छोरीले रातो बंगलाबाट ए लेभल गरिन् । उनले पनि टफ्टस् युनिभर्सिटी, अमेरिकामा स्कलरसिप पाइन् । त्यहाँबाट ब्याचलर सकेर अहिले नेपालमा छिन् ।
काम र कमाई बराबरी
बिहे गरेकै ३३ वर्ष हुन थाल्यो । जति पुरानो भइन्छ, त्यति नै श्रीमानभन्दा श्रीमती शक्तिशाली हुन्छिन् जस्तो लाग्छ मलाई । उनको हैकम बढ्न थाल्छ । छोराछोरी हुर्काएको, घर हेरेको, यसले पनि श्रीमतीले बढी हक जमाउँछन् । सुरुसुरुमा भन्दा अहिले हाम्रो बराबरीको सम्बन्ध बढी छ ।
अमेरिकाबाट फर्केपछि उनले यति ट्राभल्समा काम गरिन् । त्यसपछि कल्सलटेन्सी गर्न थालिन् । एपेक्स कलेज खोलेदेखि उनी यसमै व्यस्त छिन् । देउवाजीको राजनीतिक सल्लाहकार भइरहेका बेला, काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. सुरेशराज शर्माले मलाई भन्नुभयो, ‘तपाईं अमेरिका पढेर आएको, देशमा एकेडेमिक क्षेत्रमा केही योगदान त गर्नैपर्छ ।’
०५४ सालमा, सल्लाहकार हुँदाहुँदै मैले एउटा क्लास काठमाडौं युनिभर्सिटीमा पढाउन थालेँ, एमबीए स्टुडेन्टलाई, अढाई वर्ष पढाएँ- डेढ वर्ष पार्टटाइम, एक वर्ष फुल टाइम । योबीचमा कल्सटेन्सी गर्न थालिसकेको थिएँ- वर्ल्ड बैंक, एडीबी, युएनडीपी आदिमा । त्यही क्रममा मित्र अजय घिमिरेले एस इस्न्टिच्युट अफ म्यानेजमेन्ट खोल्नुभयो । अढाई वर्षजति उहाँको कलेजमा पढाएँ ।
हामीले एपेक्स कलेज खोल्याैं, ०५७ सालमा । एपेक्समा दुर्गा डिरेक्टर र स्टुडेन्ट अफेयर्स छिन्, म चियरमम्यान । एपेक्समा हामी बुढाबुढीको लगानी छ । दुवैले काम गरेर कमायौँ । मैले बाबुबाजेको सम्पत्ति पनि पाएँ, उनलाई पनि माइतीले केही सहयोग गरे ।
चियरम्यान हुँदाहुँदै पनि मैले ६ महिना एसमा पढाएँ, साथीको वचन हार्न नसकेर । एपेक्समा ०६० सम्म सम्पूर्ण कलास पढाएँ, दुई-तीन वर्षयता पढाएको छैन ।
अहिले हाम्रो बालुवाटारमा घर छ । ०७० सालमा त्यस घरमा सरेका हौँ । घर उनकै नाममा छ । मेरो पुख्र्यौलीबाहेक पछि हामीले आर्जन गरेको सम्पत्ति प्रायः उनकै नाममा छ ।
एक झापड लगाएकी छिन्
हामी एक्लै हुँदा दुवैले दुवैलाई ‘तिमी’ भनेर सम्बोधन गर्छौं । कहिलेकाहीँ तँ पनि भन्छौँ । तर, सम्मान गर्नुपर्ने मान्छेहरू भएका बेला उनले मलाई तपाईं भन्छिन् । हाम्रो जीवनमा आर्थिक अभाव भएन । घरखर्च पनि उनैले हेर्छिन् । घर व्यवहार हेर्ने सम्बन्धमा उनले यो तिम्रो जिम्मेवारी हो, तिमीले नै गर भन्छिन्, मैले तिमीले गर भन्छु, झगडाजस्तो हुन्छ । उनको बिर्सने बानी छ । मैले ‘तिमीलाई केही कुरा याद हुँदैन’ भनेर कराउँछु । उनी ‘तिमी नै गर’ भनेर कराउँछिन् ।
घरमा सधैँ गम्भीर कुरा सम्भव पनि हुँदैन । गम्भीर कुरा गर्ने मेरो बानी पनि छैन । हामीले आफ्नो काम-पेसाको कुरा घरमा गर्दैनौँ । हरेक समस्याको सामना गर्छौं, कोसिस गर्दागर्दै नभएको कुराप्रति दुःखमनाउ गर्दैनौँ । कुनै दुःख, निराशाको कुरामा उनले मलाई सम्झाउँछिन्, यस्तो धेरै भएको छ । तर, एक-अर्काको व्यक्तिगत दुःखमा सँगै रोएको याद छैन । मेरी आमाको, उनको बुवाको देहान्त हुँदा नै हामी सँगै रोयौँ ।
अहिले त म अलि व्यस्त भएँ । दुई वर्ष अघिसम्म काम नभएका बेला हामी यसै गाडी चलाउँथ्यौँ, झ्याल लगाएर गीत गाउँथ्यौँ । उनको त स्वर ठीकै छ, मेरो पारा नै आउँदैन । तर पनि हामी गीत गाउँदै हिँड्थ्यौँ । अर्थ न बर्थको कुरा गरेर पनि रिसाउँछौँ । एकपटक हामी घुम्न पोखरा गएका थियौँ, छोराछोरी सानै थिए, ०५६ सालको कुरा हो । होटलमा छोराछोरी पनि सँगै थिए । छोरी ११ वर्षकी थिइन् । राति एक बजेतिर उठेर भनिन्, ‘तपाईंहरू अर्थ न बर्थको कुरा गरेर झगडा नगर्नु त, हामीले सुत्नुपर्दैन ?’
यसको मतलब, केटाकेटीले सुन्दा पनि युजलेस, ननसेन्स लाग्ने खालको कुरामा हामी झगडा गर्छौं । छोरो अमेरिका गएको ११ वर्ष भयो । छोरी ६ वर्ष अमेरिका बसेर फर्केकी छिन् । योबीचमा हामी बुढाबुढी मात्रै थियौँ । माया त छँदै छ, त्यसैले सानोसानो कुरामा र्झकने गर्यौँ ।
चित्त नबुझेपछि कराउने, नबोल्ने, मुख फुलाउने गर्छौं । रिसाएर कामको कुरा मात्रै बोल्ने त पटकपटक भएको छ, तर बोल्दै नबोल्ने गरेका छैनौँ ।
२० वर्षअघि जस्तो होला, मैले एकपल्ट उनको गालामा झापड हानेको छु, खै के कुरामा झोँक चलेर हानेँ, बिर्सें । पिटिसकेपछि पछुतो लागेको थियो, तर त्यो झापडपछि झगडा अघि बढेन । १०-१२ वर्षअघि होला, उनले पनि मलाई एक झापड लगाएकी छन् । तर के कुरामा हो भन्ने बिर्सें । बेसरी नै मनमा लाग्ने गरी, एक्सटि्रममा आएर हामीले एकले अर्कालाई पिटेका होइनौँ । भनेँ नि, हाम्रो झगडा एकदमै केटाकेटी पाराको हुन्छ ।
उनका गुण
‘दुर्गा, केटाकेटीदेखि नै राजनीति गरेँ, नेपाल गएर फेरि राजनीतिमै लाग्छु,’ मैले भनेँ । अमेरिकाजस्तो देशमा म प्रोफेसर थिएँ, उनको पनि जागिर थियो । सबै राम्रो थियो । तर, मैले नेपाल जाउँ भनेँ, उनी मेरो साथ लागिन् । कुनै प्रतिक्रिया जनाइनन् ।
मैले राजनीतिभन्दा अन्य क्षेत्रमा राम्रो योगदान गर्न सक्छु भन्ने उनको भनाइ छ । फेरि पनि मलाई अमेरिकाबाट नेपाल र्फकनदेखि उनले रोकिनन् ।
सुख र सुविधा त अवश्य नै यहाँभन्दा बढी अमेरिकामा छ । तर उनले व्यक्तिगत सुख र स्वार्थलाई मात्रै हेर्दिनन् । अहिलेसम्म मेरो निर्णयमा उनले विरोध जनाएकी छैनन् । मेरो साथमा छिन्, मलाई उनीमाथि पूर्ण भरोसा छ र आज यो स्थानमा छु । अहिले उनी कलेजमा डिरेक्टर र स्टुडेन्ट अफेयर्स हुन् । यहाँ यत्तिका विद्यार्थी छन्, विद्यार्थीका आफ्नै समस्या हुन्छन् । समस्या लिएर आएका विद्यार्थीको उनले चित्त बुझाएर पठाउँछिन् । उनीमा अर्काको समस्या राम्रोसँग सुन्ने र सहयोग गर्ने धैर्य छ, गुण छ । उनको यही गुण मेरा लागि निधि नै हो ।
उनको आफ्नै सामाजिक हैसियत छ । म दुईपटक मन्त्री भएँ । पहिलोपटक म मन्त्री हुँदा उनीमा कुनै परिवर्तन आएन । आफैँ गाडी चलाएर कलेज आउँथिन् । उनी साधारण छिन् । मानवीय भावना उनीमा प्रबल छ ।
नेपाली मनले बुझ्ने गरी भन्दा पूर्वजन्ममा मैले राम्रो काम गरेको रैछु र यति असल श्रीमती पाएँ । म भाग्यमानी यस अर्थमा पनि छु कि मेरी आमा असल हुनुहुन्थ्यो, श्रीमती झनै असल परिन् । म चुरोट लिन्छु, यसमा उनको अति नै ठूलो गुनासो छ । तर, मैले छोड्न सकेको छैन । मलाई भेटेदेखिकै उनको गुनासो यही हो ।
पहिले उनी त्यति धार्मिक प्रवृत्तिकी थिइनन्, पछिल्लो समय पूजाआजामा अलि मन दिएकी छिन् । हामी नास्तिक हौइनौँ, आध्यात्मिक नै हौँ । तर अति नै मन्दिर-धामहरू धाउने गर्दैनौँ । उनी ट्रेकिङमा रुचि राख्छिन् ।
‘मिडियाले भन्दा मैले चिनेकी छु’
पछिल्लोपटक मेरोबारे वाहियात समाचार आयो, कुनै नायिकासँग जोडिएर । जुन नारीसँग नाम जोडिएको थियो, उनैले सत्य बताइसकेकी छिन् ।
जेहोस्, त्यो समाचार एउटी नारी, अझभनौँ श्रीमतीका लागि अवश्य नै ठूलो झट्का हो । तर, दुर्गाले यसमा मेरो मनमा लाग्ने गरी भनिन्, ‘तिमी कस्तो छौ भन्ने मलाई थाहा छ, मिडियालाई भन्दा । मलाई त्यसमा कुनै चिन्ता, चित्तदुखाइ छैन । मेरो चिन्ता त यो हो, जोसँग तिम्रो नाम जोडियो, उनी नेपाली नारी हुन्, उनको हालत के होला ? किनभने, हाम्रोमा महिलालाई हेर्ने दृष्टिकोण अति नै नराम्रो छ, त्यसमाथि कलाकारिता क्षेत्रमा लागेका महिलाको कुरै छोडौं, चर्चाका लागि जे पनि गर्छन् भन्ने जसरी सोचिन्छ ।
तिमी त राजनीतिमा छौ, विरोधीले बदनाम गर्न खोजे होला । तर, ती महिलाको के दोष, के गल्ती, यसरी बदनाम हुनलाई ? यसमा महिलाले नै आवाज उठाउन आवश्यक छ ।’
हामीले एकअर्कालाई राम्रोसँग चिनेका छौँ, आनन्दको सम्बन्ध छ हाम्रो । राजनीतिमा कस्ता चलखेल हुन्छन्, अफवाह हुन्छन् भन्ने उनलाई थाहा छ । म मन्त्री हुँदा मलाई कुनै पत्रिकाले खेद्थ्यो, किन खेद्यो भन्ने उनलाई थाहा थियो । हामी त्यस्ता समाचार पढेर हाँस्थ्यौँ ।
प्रस्तुति: ध्रुवसत्य परियार
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं