भारत्तोलनका राष्ट्रिय खेलाडी लक्ष्मण रञ्जित एक वर्षदेखि भार उचाल्नबाट वञ्चित भएका छन् । गत वर्षको वैशाख ११ मा आएको भूकम्पले उनको खेल जीवन मात्र होइन, पारिवारिक जीवन पनि तहस-नहस बनाइदिएको छ ।
काष्ठमण्डपमा एकैसाथ रक्तदान गरिरहेका बेला लक्ष्मण, उनकी पत्नी र छोरा भूकम्पमा परेका थिए । काष्ठमण्डप भत्किएपछि बाबुछोरा जेनतेन बाँचे, तर श्रीमती निलू भने भग्नावशेषमा पुरिइन् । ४५ मिनेटसम्म छोरासहित भग्नावशेषमा च्यापिएका लक्ष्मणलाई उद्धारकर्मीले अस्पताल पुर्याए । उनका गोडाको तीनपटक अपरेसन भइसकेको छ ।
उनै पीडित लक्ष्मण भूकम्पको त्रासदीपूर्ण अनुभव यसरी सुनाउँछन्ः
मेरो बिहे ०६१ सालमा भएको हो । घर नजिकैकी निलू चित्रकारसँग कलिलै उमेरदेखि प्रेम थियो । परिवारबाट स्वीकृति हुने नदेखेपछि भगाएँ । त्यतिबेला २१ वर्षको मात्रै थिएँ । ०६५ सालमा हाम्रो छोरा भयो ।
निलू निम्बुस बहुउद्देश्यीय सहकारीमा काम गर्थिन् । छोरा स्कुल जान थालेको थियो । जीन्दगी राम्रैसँग बित्दै थियो । तर, ०७२ वैशाख १२ गते आएको भूकम्पले मेरो जीवनमा समेत ठूलो भूकम्प ल्याइदियो । निलू मबाट सँधैका लागि टाढा भइन् ।
रक्तदान गर्दागर्दै भूकम्प
शनिबार बिदाको दिन भएकाले म घरमै सुतिरहेको थिएँ । छोरो मसँगै थियो । निलूले काम गर्ने सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो, काष्टमण्डपमा ।’ उनी त्यतै थिइन् । बिहान ११ बजेतिर उनले मलाई फोन गरेर रक्तदान गर्न आउन भनिन् । छोरालाई लिएर म त्यहाँ पुगें । निलूले पहिलोपटक रक्तदान गर्न लागेकी थिइन् । म र उनले सँगै बसेर रक्तदान गर्ने भयौं । मैले दाहिने र उनले देब्रे हातबाट रक्तदान गर्दै थियौं । आधा जति भएको थियो, अचानक जमीन हल्लिन थाल्यो ।
सबै ‘भूइँचालो आयो’ भन्दै भाग्न थाले । रक्तदान गरिरहेका हामी श्रीमान-श्रीमती मात्र थियौं । डाक्टरले हामीलाई नआत्तिन भने । हामीले पाइप निकालेका थिएनौं । छोरो आर्यन डवलीमा खेलिरहेको थियो । भूकम्प आएपछि ऊ पनि आत्तिन थाल्यो ।
म हतार-हतार पाइप निकालेर छोरा भएतिर पुगेँ । छोरालाई सम्हालेर भाग्नमात्रै के लागेको थिएँ, पूरै काष्ठमण्डप ढल्यो । म पनि किचिएँ ।
६ वर्षको छोरालाई छातीमा च्यापेको थिएँ । मेरो एउटा खुट्टा च्यापिएको थियो । निकाल्न प्रयास गरेँ, तर सकिनँ । सानो-सानो भूकम्प आइरहेकै थियो । निलूकै अफिसमा काम गर्ने एक दिदीलाई मैले छोरालाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेँ । तर, उनले यति सदासयता पनि देखाइनन् । त्यत्तिकै भागिन् ।
म एउटा हातमा छोरो च्यापेर छट्पटाइरहेको थिएँ । करिव ४५ मिनेटपछि टोलका मानिसहरु उद्धारका लागि आए । ससुरा र साला पनि त्यही आए । परिवारका सदस्यले मेरो उद्धार गरेर वीर अस्पताल लगे ।
छोरा बचाएँ, श्रीमती गुमाएँ
हामी बाबु-छोराको त ज्यान जोगियो । तर, श्रीमतीको खोजखबर थिएन । उनलाई के भयो होला भनेर अत्याश लागिरहेको थियो । बेलुुका टोलका साथीहरु तथा खेलकुद परिषदका गुरुहरु आएर मलाई सान्त्वना दिन थाले । उनीहरुको अनुहार हेरेरै मैले लख काटेँ, मेरी श्रीमती यो संसारमा छैनन् ।
बेलुकी ५ बजेतिर मैले उनको मृत्यू भएको औपचारिक खबर पाएँ । मसँगै रक्तदान गरिरहेकी निलूलाई काष्ठमण्डपले निलेछ । उद्धार प्रक्रिया एकदमै ढीलो भएको थियो । काष्ठमण्डपबाट उनको शव अपरान्ह ४ बजेतिर मात्र निकालिएको रहेछ ।
निलू यो संसारमा नरहेको थाहा पाएपछि मैले आफूलाई सम्हाल्नै सकिनँ । उनको शव टिचिङ अस्पतालमा राखिएको रहेछ । मैले त्यही जान जिद्धी गरेँ ।
तर, मेरो दायाँ गोडाको नलीहाड भाँच्चिएको थियो । डाक्टरहरुले तुरुन्तै अपरेसन नगरे खुट्टा काट्नुपर्ने हुन सक्छ भनेका थिए । तर, मैले निलूलाई हेर्न टिचिङ जाने अड्डी लिएँ । अस्पतालमा घाइते र आफन्तहरुको रुवाबासी चलिरहेको थियो । अन्ततः एउटा एम्बुलेन्समा मलाई टिचिङ लगियो । टिचिङ अस्पतालको मूर्दाघरको छेउमै उनको शव राखिएको रहेछ । मैले निलूको शव हेरेँ । भक्कानो फुट्यो । तर, मलाई उनको शव छुन दिइएन/पाइनँ । मैले निलूको मृत शरीरलाई समेत छुन पाइँन ।
केही समयपछि उनको शव पशुपति लगियो । त्यहाँ विधि गरेपछि अन्त्येष्टिका लागि बसन्तपुरमै रहेको बहालमा ल्याइयो । मेरी श्रीमतीको किरिया मेरा बुबाले गर्नुभयो । त्यतिबेलै मैले छोरालाई पनि भनिदिएँ । सबैले छोरालाई नभन्नु है भनिरहेका थिए । तर, छोराले पछि ‘मम्मी खोई ?’ भनेर सोध्दा के जवाफ दिने भन्ने सोचेर छोरालाई आफैंले भनिदिएँ । त्यसपछि मलाई बीर अस्पताल ल्याइयो । बीरको ट्रमा सेन्टरमा म ४३ दिन बसेँ ।
मलाई अहिले पनि लाग्छ, समयमै उद्धार गर्न सकेको भए मेरी निलू बाँच्ने थिइन् । यदि म भग्नावशेषमा नच्यापिएको भए उनलाई आफैंले उद्धार गर्ने थिएँ । मलाई हरपल यही कुरामा पश्चाताप लाग्छ कि मैले मेरी निलूलाई बचाउन सकिनँ । छोरालाई बचाएँ । तर, निलूलाई सँधैका लागि गुमाएँ । भाग्यमा सायद यही लेखेको रहेछ ।
शव हेर्दा निलूको शरीरमा कुनै चोट थिएन । उनलाई केही वस्तुले चेपेको रहेनछ । पुरिएपछि अक्सिजनको कमी भएकाले मात्रै उनको मृत्युभएको रहेछ । भूकम्पको १/२ घण्टाभित्र उद्धार गरिएको भए पनि उनलाई बचाउन सकिनेरहेछ । मलाई साह्रै नमीठो लाग्छ यस्तो सोच्दा ।
तस्वीर विवेकराज श्रेष्ठ
तीनवटा अपरेसन
वीर अस्पतालको ट्रमा सेन्टरमा मैले डाक्टर दीपक बिष्ट, ज्ञानेन्द्र मल्ललगायत अनुभवी डाक्टरको टोलीबाट उपचार पाएँ । राष्ट्रिय खेलाडी भएकाले मेरो उपचारमा विशेष ध्यान दिइएको थियो । विदेशबाट आएका चिकित्सकको टोलीले पनि मेरो विशेष निगरानी गरिरहेको थियो । मेरो नलीखुट्टा र गोलीगाँठो भाँच्चिएको रहेछ । वैशाख १५ गते मेरो पहिलो अपरेसन सफल भयो त्यसपछि २१ गते अर्को अपरेसन गरियो ।
मेरो खुट्टामा स्टिल राखिएको छ । भूकम्पपछि मैले कुनै पनि प्रतियोगिता खेलेको छैन । डाक्टरहरुले पनि स्टिल भइरहेको समयमा नखेल्न सुझाव दिएका छन् । डाक्टरकै सल्लाहमा फिजियोथेरापी गरिरहेको छु । उहाँहरुले मलाई ठूलो हौसला दिनुभएको छ । साउन/भदौमा स्टिल निकाल्ने भनेको छ । त्यसपछि फिट हुने आशा राखेको छु ।
म अचेल कहिलेकाहीँ रंगशाला जान्छु । अरुले प्रशिक्षण गरिरहेको देख्दा गरौं गरौं लाग्छ । ८०/९० किलोको भार त बोक्न सकिहाल्छु नि जस्तो लाग्छ । रंगशाला पुगेपछि खुट्टामा स्टिल छ भन्नेकुरा बिर्सिँदो रहेछु ।
मलाई विश्वास छ, खुट्टाबाट स्टिल निकालेपछि म पुनः खेलमा र्फकनेछु । सबैबाट राम्रो हौसला पाएको छु । पुनः भारत्तोलनमै फर्किएर राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य लिएको छु । पुलिसबाट यो बीचमा निक्कै ठूलो सहयोग पाएको छु । क्लवले मलाई पुरै छुट्टी दिएको छ । म कृतज्ञ छु ।
छोरालाई पनि खेलाडी बनाउने सपना
मेरो छोरा आर्यनले ६ बर्षको हुँदा आमाको काख गुमाएको छ । मैले उसलाई आमा र बाबा दुवैको माया दिनुछ । प्रयास गरिरहेको छु । तर, के सक्थेँ । बेलाबेलामा मम्मी सम्झन्छ । रुन्छ । ऊ रुँदा म पनि रुन्छु । त्यसैले उ सकभर मैले नदेख्ने गरी रुन्छ । यसबाट मलाई झन् पीडा हुन्छ ।
अहिले मैले छोरालाई साथी बनाउने प्रयास गरिरहेको छु । उसलाई आफूजस्तै खेलाडी बनाउने सपना छ मेरो । दुई वर्षअघि जिम्न्याष्टिकको प्रशिक्षणमा राखेको थिएँ । रंगशालाको पुनःनिर्माण सुरु भएपछि त्यहाँ प्रशिक्षण हुन छाड्यो ।
अहिले उसले स्वीमिङमा अलि चासो दिएको जस्तो लाग्छ । उसलाई स्वीमिङ र मार्शल आर्ट सिकाउने सोचमा छु ।
तस्वीरः कविन अधिकारी
कुराकानीमा अाधारित
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं