एउटा सानो काम थियो, न्युरोडमा। साथमा थिए, साथी किशोर खतिवडा। हाम्रो काम पनि सकियो। त्यसपछि के गर्ने भन्ने भयो। साथीले भने, ‘म त कहिल्यै धरहरा चढेको छैन।’ समय पनि भएकोले हामीले धरहरा चढ्ने निधो गर्यौं।
दुईपटक धरहरा चढिसकेकी म, तेस्रोपटक चढ्दै थिएँ।किशोर पहिलोपल्ट। साढे ११ बजेतिर हामी धरहरा चढेका थियौँ। धरहरा चढ्दा त्यहाँको सिँढी गन्दै चढेका थियौँ। सिँढी गन्दै त के भनौँ, त्यहाँ सिँढी नम्बर लेखिएकै छ, त्यसैको कुरा गर्दै नौ तलामाथिको बरन्डाबाट देखिने दृश्यका बारेमा पनि कुरा गर्दै त्यहाँ रहेका एक सय ८८ सिढी उक्लिएर बरन्डामा पुग्यौँ।
‘
बरन्डाको रेलिङमा पुगेर एक फन्को लगायौँ। पहिले सिटी सेन्टरतिर फर्केर काठमाडौँको दृश्य हेर्यौँ। त्यताबाट बढी हावा आएकाले स्थान परिवर्तन गर्दै टुँडिखेलतिरको दृश्य हेर्न त्यसतर्फ लाग्यौँ , दृश्य हेर्न पनि पाइने अनि हावाले पनि दुःख नदिने। मैले साथीलाई दृश्यावलोकन गराइरहेको थिएँ। ‘यतिखेर भुइँचालो आइहाल्यो भने के गर्ने होला हगि ?’ साथी र मबीच ठट्टा भयो। यति ठट्टा मात्रै के भएको थियो, धरहरा हल्लन सुरु भइहाल्यो।
मैले भित्तातिर अडेस लगाएँ, साथी थचक्क बसेर रेलिङ समात्न लागे। भूकम्पको धक्का राम्ररी अनुभूति हुन नपाउँदै हामी तल खस्न लाग्यौँ । हामी खस्दै थियौँ । त्यति बेला मलाई लाग्यो, अब म मर्दै छु। मानिसलाई मर्न कहाँ मनपर्दो रहेछ र ? केही गरौँ, अझै बढी बाँचौँ भन्ने इच्छा भएको मानिसलाई मर्न मन पर्ने कुरै भएन। मर्न मन लागेन। ‘हे भगवान ! मलाई बचाऊ, म बाँच्न चाहन्छु’, यसरी मैले भगवानसँग प्रार्थना गरेँ। अनि भाइबहिनीलाई सम्झेँ, ‘मेरो यस्तो अवस्था छ, उनीहरूको अवस्था कस्तो होला ? यतिखेर उनीहरू के गरिरहेका होलान्?’
‘
धन्य, धरहरा टुँडिखेलतिर झर्यो, जतातिर हामी फर्केका थियौँ। मर्छु भन्ने त लागेकै थियो, कस्तो भयो भने जसरी हामी पिङ खेल्दा माथिबाट तलतिर झर्छौं, त्यस्तै अनुभूति लिएर झर्यौँ। यदि हामी उत्तानो परेको अवस्थामा झरेको भए टाउकोको पछाडिको भाग र मेरुदण्ड खत्तम हुन्थ्यो, यसरी बोलिरहन पाउने थिएनौँ। तल झर्दा रेलिङभित्र थिएँ म। साथी किशोर अलि अर्धचेतमा थिए। त्यतिखेरै एक व्यक्ति हामीतिर दौडदै आए, किशोरलाई पनि मैले चिच्याएर भने, ‘यो रेलिङ हटाइदेऊ।’ उनीहरूले त्यसै गरे।
त्यतिखेर हामी धरहराको बरन्डामा ३० जना जति थियौँ होला। अरू बाँचे वा मरेको बारेमा केही थाहा छैन। धरहरा चढ्दै गरेका र उक्लदै गरेका पनि प्रशस्तै थिए। चढ्दा र उक्लिँंदा सबैको अनुहारमा हाँसो थियो। सबै खुसी थिए। त्यो दुर्घटनामा मात्र किशोर र म बाँचेको थाहा छ। केही मानिसका शरीर त देखेँ, तर उनीहरू जीवित छन् वा मृत, त्यो थाहा भएन। बरु हामीलाई सुरुमा उद्धार गर्ने मानिसले हामीलाई भने, ‘तपाईंहरूको भाग्य, धन्न बाँच्नु भएछ।”
‘
भुइँमा बजारिएर उद्धार गरिएको अवस्थामा म रगतपच्छे थिएँ । देब्रे आँखा टालिएको थियो, दाहिने आँखाले मात्रै देख्थेँ । तत्कालै मैले एउटा ट्याक्सीलाई भनेँ, ‘मलाई ग्रिन सिटी अस्पताल पुर्याइदिनुहोस्।’ उनीहरूले नजिकैको वीर अस्पताल लान खोजेका थिए, त्यहाँ बिरामीको चाप ठूलो होला भनी मैले धापासीको ग्रिन सिटी अस्पतालमा आफू र साथीलाई लैजान आग्रह गरेँ । ट्याक्सी ड्राइभर दयालु परेछन्, उनले भाडा पनि मागेनन्। आपत्का बेला यस्ता व्यक्ति भेटिनु हाम्रो भाग्य नै हो।
यति ठूलो दुर्घटनामा परियो, तर परिवारमा खबर गर्न भने समस्या पर्यो। धरहरा चढ्नुअघि मैले मोबाइल सेट लकरमा राखेकी थिएँ। अहिले पनि त्यो लकरमै छ। धरहराको टुप्पाबाट खसेर बाँच्न सफल बबिता सेढाई परिवारका साथ। तस्बिरस् अन्नपूर्ण
अस्पतालबाट साथीहरूले ल्यान्डलाइन फोनबाट अंकल (शिवराज) लाई फोन गरेर जानकारी दिएछन्। यता अंकललाई पनि समस्या, उहाँले मलाई फोन गर्नुहुन्छ, सेट मेरो हातमा छैन।
ग्रिन सिटी अस्पताल पुगेपछि हाम्रो ड्रेसिङ भयो। किशोरले दुईपटक बान्ता गरेपछि उनको टाउकोमा समस्या भएको अनुमान गरियो। उनको तत्कालै सिटी स्क्यान गर्नुपर्ने भयो। उनको अभिभावकलाई जानकारी गराएर उनलाई सिटी स्क्यानका लागि ॐ अस्पतालतिर लगियो, मचाहिँ ट्याक्सी चढेर तिलगंगातिर लागेँ, आँखा जचाउन। एउटा ठूलो दुर्घटनामा परेको भन्दा पनि मेरो एउटा आँखा गुम्यो भन्ने पीर परेको थियो। आँखा ठीक छ भन्ने थाहा पाएपछि ज्यादै खुसी लाग्यो।
‘
पेनकिलर खाइसकेकाले ममा पीडा त्यति महसुस भइरहेको थिएन। तिलगंगाबाट ग्रिन सिटी आउँदा एउटा प्राइभेट गाडीलाई अनुरोध गरेँ। त्यही लिफ्ट लिएर ग्रिन सिटी आइपुगेँ। अंकल शिवराज र मामा चन्द्रकान्त ग्रिन सिटीमा आइसक्नुभएको रहेछ। मेरो सिटी स्क्यान गर्नुपर्ने भएकाले बाँसबारीस्थित न्युरो अस्पताल जानुपर्ने भयो।
मैले त अंकल वा मामाको मोटरसाइकलमा चढेर न्युरो अस्पताल जाने विचार गरेकी थिएँ। तर डाक्टरहरूले कराउँदै भन्नुभयो, ‘मोटरसाइकलमा नजाऊ, इन्फेक्सन हुन्छ।’ त्यतिखेरै बिरामी बोकेर एउटा ट्याक्सी ग्रिन सीटी आइपुग्यो। मामाले ट्याक्सी ड्राइभरलाई आग्रह गर्दा ट्याक्सी ड्राइभर सहजै हामीलाई सहयोग गर्न तत्पर भए। उनले भने, ‘आज म भाडाबापत पैसाको कुरा गर्दिनँ, जति दिन चाहनुहुन्छ त्यति दिनुस्। म यो विपत्का बेला यति दिनुस्, उति दिनुस् केही भन्दिनँ।’
ड्राइभरको कुरा सुनेर हामी चकित पर्यौँ। आजभोलि सामान्य अवस्थामा त ट्याक्सी ड्राइभरहरू मिटर चलाउन चाहँदैनन् र सक्दो बार्गे्निङ गरेर सेवाग्राहीलाई लुट्न चाहन्छन्। मेरो जुन अवस्था थियो, त्यो अवस्थामा हामी उनले जति भन्यो, त्यति पैसा तिर्न तयार थियौँ । आखिर तीन सय २० रुपैयाँ भाडा उनले खुसीसाथ बुझे । ती ड्राइभर दाइको जय होस्।
न्युरोबाट फर्कंदा म अंकलको मोटरसाइकलमै आएँ। न्युरोमा पनि भीड भएको र झट्ट हेर्दा मेरो अवस्था सामान्य भएकोले न्युरोमा सिटी स्क्यान सम्भव भएन। भूकम्प आएको यतिका दिनसम्म पनि सिटी स्क्यान गर्न पाइएको छैन। तर मेरो निधारमा सामान्य चोट लागेकाले सिटी स्क्यान त गर्नै पर्छ। जहाँसम्म लाग्छ, मेरो टाउकोको अवस्था सामान्य छ।
म अब्जर्भेसनका लागि एक रात मात्रै अस्पतालमा बस्न पर्यो। म आफैं नर्स भएकीले आफै औषधि खान सकिहाल्छु। अहिले घरमै आराम गरिरहेकी छु। धरहरा ढल्यो, त्यहाँ चढ्ने धेरै व्यक्ति बितेको समाचार सुनियो । त्यो दुर्घटनामा परेर पुनर्जीवन पाउने थोरै भाग्यमानीमध्येकी एक हुँ म र मेरो साथी किशोर।
भूकम्प आउनुअघि त्यहाँ रमाउँदै फोटो खिच्नेहरु थुप्रै थिए। धेरै जसो बालबालिका थिए। जब धरहरा ढल्दै थियो, ठूलो कोलाहल मच्चिदै गरेको सुनियो। म उता धरहराबाट खसेर उपचारका लागि दौडधुप गरिरहेकी थिएँ, यता हजुरबा, अंकल, आन्टीहरू स्वयम्भू र धरहरा ढलेको विषयमा छलफल गरिरहनुभएको रहेछ।
अंकलको घरबाट हेर्दा स्वयम्भू र धरहरा स्पष्ट देखिन्छ। स्वयम्भूबाट फुंग धुलो उडेकाले त्यो भत्कियो भनेर उहाँहरूले चर्चा गर्नुभएछ। उता धरहरा पनि छैन। धरहराको विषयमा कुरा गर्दा हजुरबाले भन्नुभएछ, ‘त्यो धरहराको विषयमा चिन्ता नगर न, त्यो त सरकारले बनाइहाल्छ नि। बरु अरूहरूको के कस्तो हालत भयो, त्यसबारेमा चाहिँ चिन्ता गर।’ तर म चाहिँ त्यही धरहराको टुप्पाबाट खस्दा पनि कुशल थिएँ।
अहिले यस्तो लागिरहेछ, म बाँचेँ। मेरा साथी पनि बाँचे। खुसी छु। लाग्दै छ, काल नआई नमरिने रहेछ। अहिले मैले पुनर्जीवन पाएकीमा मलाई र मेरो परिवारका सदस्यलाई बधाईको ओइरो लागिरहेछ । बधाई दिनुहुने सबैलाई हार्दिक धन्यवाद !
प्रस्तुति: राजकुमार दिक्पाल/कीर्तन अधिकारी
अन्नपूर्ण दैनिक (२०७२ बैशाख १६) बाट ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment