Sunday, April 24, 2016

​धुर्मुस सुन्तलीले गरे दोश्रो एकीकृत बस्तीको शिलान्यास

काठमाडौं : कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकीकृत बस्तीको शिलान्यास गरेका छन्। भूकम्प गएको एक वर्ष पुगेको दिन आज बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकीकृत बस्तीको शिलान्यास गरेका हुन्। 

बस्ती निर्माणको थालनीस्वरुप गिरानचौर सामुदायिक भवनको जग शिलान्यास गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ। यसअघि बिभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडागाउँमा १८ घर रहेको एकीकृत नमुना बस्ती बनाएका थिए।

गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिनाभित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ। गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ।

पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउन लागेको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेलले बताए। यो नमुना वस्ती निर्माणका लागि साढे तीन करोड रुपैयाँ चाहिने अनुमान गरिएको छ।
अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैयाँ मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनीहरुले दोश्रो एकीकृत वस्ती निर्माणका लागि सहयोगको अपिल गरेका छन्।

फोटोहरु : धुर्मुस सुन्तली फाउण्डेसन


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment