२९ फागुन, काठकाडौं । लामो समयदेखि भारतमा बसोबास गर्दै आएका छन् लक्ष्मण पन्त । सन् १९७५ मा जागिरको सिलसिलामा उनका बुबा भारत गए र परिवारलाई पनि उतै लगे ।
पन्तले भारतमा नै मैले आफ्नो पढाइ पूरा गरे । त्यसपछि २०-२२ वर्ष सरकारी जागिी पनि खाए । अहिले रिटायर्ड भइसकेका छन् । उनका छोराहरु भारतमै जागिरे छन् । उनीचाहिँ सन् २००२ मा जागिरे जीवनबाट निवृत्त भएपछि सामाजिक र राजनीतिक काममै अल्मलिएका छन् ।
राजनीतिको कुरा गर्दा पन्त कम्युनिस्ट पृष्ठभूमिका हुन् । ०५८ सालदेखि पूर्णकालिन कार्यकर्ताका रुपमा काम गरे उनले । नेकपा मसाल र एकता केन्द्र हुँदै पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध भए । अहिले पार्टीको केन्द्रीय सचिवालय सदस्य छन् । पार्टीको भातृसंगठनका रुपमा रहेको नेपाली एकता समाज भारतको केन्द्रीय अध्यक्ष पनि हुन् ।
केही दिनअघि नयाँ दिल्लीमा भेटिएका पन्तले भारतमा रहेका नेपालीहरुको विषयमा अनलाइनखबरसँग लामो कुराकानी गरे । प्रस्तुत छ, पन्तको भनाइ जस्ताको तस्तै:
भारतमा नेपाली
छिमेकी देश र खुल्ला सीमा भएको हिसाबले भारतमा नेपालीहरुको उपस्थिति ठूलै छ । यद्यपि, बाहिर हल्ला गरिएजति ठूलो पनि होइन । भारतमा ठ्याक्कै कति नेपाली छन् भन्ने आँकडा भारत र नेपाल दवैसँग छैन । दुवै देशले यसबारे जनगणना गरेका छैनन् । कसैले ६०-७० लाख त कसैले ८० भन्छन् । तर यो हचुवा विवरण हो ।
ठूलो संख्या देखाएर भारतले यति धेरै नेपालीलाई पालिरहेको छ भन्ने खोजीएको पाइन्छ । दार्जीलिङदेखि सिक्किमसम्मका नेपाली भाषीलाई समेत जोडेर धेरै देखाउने गरिएको छ । आधा नेपालीलाई भारतले नै पालेको छ भन्नेखालका कुराहरु पनि सुनिन्छ । तर यथार्थको धरातलबाट हेर्दा भारतमा ५-७ लाखभन्दा बढी नेपाली नागरिक छैनन् । जनसंख्याको महासागरमा यो संख्या भनेको चामलमा बियाँजति मात्रै हो ।
भारतमा रोजगारीका लागि नेपालीहरु आउने सिलसिला अंग्रेजको पालादेखि नै चल्यो । त्यति बेलादेखि अहिलेसम्म पनि नेपालीहरुले गर्ने रोजगारीको स्तर भने उही छ । अहिले पनि नेपालीहरु कुल्ली-भरिया वा चौकीदारमा सीमित छन् । नेपालीहरुले बौद्धिकताका आधारमा नभएर शारीरिक बनोटका आधारमा मात्रै काम पाउँछन् । पहिले लडाइँ लड्नका लागि सुगठित शरीर भएका युवाहरु लगिन्थे । अहिले पनि लगभग त्यही हो । ९९ प्रतिशत नेपालीहरु भारतमा शारीरिक श्रम नै गरेर बसेका छन् ।
मानसिक श्रम वा ह्वाइट कलर जब गर्ने नेपालीहरु भारतमा नगन्य संख्यामा छन् । ठूलो संख्यामा नेपालीहरु होटलमा वेटर वा कुकदेखि चौकिदार, भरिया र कुल्लीको काम गरिरहेका पाइन्छन् छन् । घरेलु कामदारका रुपमा ‘झाडुपोछा’ गरिरहेका पनि थुप्रै छन् । ‘टेबल वर्क’ गर्नेहरु ५-७ हजारको संख्यामा छन् कि त्यो पनि छैनन् ।
भारतमा नेपालीको सबैभन्दा बढी बसोबास दिल्ली, मुम्मई, बैंगलोर, कलकत्ता, चेन्नईलगायतका स्थानमा छन् । उत्तर भारतका हिमाञ्चल उत्तराखण्डदेखि पञ्जाव, गुजरातसम्म पनि नेपालीहरु छन् ।
भारतीयको हेपाहा दृष्टिकोण
भारत एउटा पूँजिवादी समाज भएकाले शारीरिक श्रमलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति रहेको छ । यसबाट नेपालीहरु पीडित छन् । नेपालीहरुलाई यहाँ बहादुर, कान्छा, गोर्खेलगायतका विशेषण जोडेर सम्वोधन गरिन्छ । यो हेपाहा सम्वोधन हो ।
नेपाली चौकीदार राख्नुलाई ‘स्टाटस सिम्बोल’ मान्छन् भारतीय । भारतीय सेनाबाट रिटायर्ड अफिसरले अहिले पनि मेरो कुकुर, मेरो घर, मेरो सम्पत्ति भनेझैं गरी ‘मेरो गोर्खा’ भन्ने गर्छन् । कुकुर र घर जस्तै गोर्खा सैनिकलाई कुनै वस्तुका रुपमा लिन्छन् । यो उनीहरुको हेपाहा शैली हो ।
भारतमा नेपाली कामदारहरु विभिन्न खालका शोषण र उत्पीडनको सिकार हुँदै आएका छन् । भारत आउने नेपालीका दुख घरबाट निस्कनासाथै सुरु हुन्छन् । सुरुमा त उनीहरु यहाँ ल्याइदिने दलालबाट ठगिएका हुन्छन् । अनेक दुख झेल्दै भारत प्रवेश गर्छन् । त्यसपछि आफू काम गर्ने स्थानमा पुग्दासम्म पुग्दा दर्जनौं ठाउँमा ठगिने र लुटिने क्रम हुन्छ ।
आम भारतीयको नेपालीप्रतिको दृष्टिकोण त्यही छ, जुन यहाँको शाषक वर्गले बनाइदिएका छन् । उनीहरु नेपाललाई भारतकै एउटा हिस्साको रुपमा बुझ्छन् ।
काममा लागेपछि रोजगारदाताको शोषण र उत्पीडन सहनुपर्छ । साह्रै थोरै तलबमा असीमित काम गर्नुपर्छ । तोकिएको तलब पनि समयमा नपाउने समस्या छ । कति ठाउँमा त थुप्रै महिनाको तलव माया मारेर हिँड्नुपर्छ । वर्षौं मिहेनत गरेर २०-२५ हजार कमाएकाहरुले पनि त्यो रकम सजिलै घर पुर्याउन सक्दैनन् । बाटोमा भारतीय पुलिसलाई पैसा खुवाउँदै हिँड्नुपर्छ । अन्यथा उनीहरुले पैसा लुटिदिन्छन् ।
लक्का जवान उमेरमा घरबाट आउँदा फुर्तिसाथ १० घन्टाको बाटो दुई घण्टामा हिँडेर आएका हुन्छन् । भारतमा रोजगारी गरेर आफ्नो सारा उर्जा सिध्याउँछन् । बुढ्यौली लागेर विभिन्न रोगले गाँजेको शरीरका साथ फर्किँदा त्यही १० घण्टाको बाटो १० दिन हिँड्छन् । यो बीचमा उनीहरुले उत्पीडनका अनेक श्रृंखलाहरु पार गर्नुपर्छ ।
आम भारतीयको नेपालीप्रतिको दृष्टिकोण त्यही छ, जुन यहाँको शाषक वर्गले बनाइदिएका छन् । उनीहरु नेपाललाई भारतकै एउटा हिस्साको रुपमा बुझ्छन् ।
नेपाल भारतमै आश्रति राष्ट्र हो भन्ने खालको धारणा पाइन्छ । यस्तै टोनमा कुरा गर्न रुचाउँछन् । खुला सीमा र भिसा नलाग्ने कारणले पनि नेपाल अलग राष्ट्र हो भन्नेखालको चिन्तन कमैमा छ । तर, यो जनताको भन्दा पनि शाषक वर्गको दोष हो । उनीहरुले नै यस्तो धारणा फैलाएका छन् ।
पछिल्लो समय चाहिँ भारतीयहरुले नेपालको झुकाव भारतप्रति भन्दा चीनप्रति बढी छ भन्ने महसुस गरेका छन् ।
भारत सरकारले नाकाबन्दी लगाएको कुरा यहाँका जनतालाई थाहा नै छैन । त्यो ढंगले यहाँ प्रचार नै भएन । नाकाबन्दीको विषय नै कमैलाई थाहा छ र जतिलाई थाहा छ उनीहरु ठान्छन्, यो भारतले लगाएको नभएर नेपालको आन्तरिक कारणले भएको हो । भारतीय जनतामा नेपालले नाकाबन्दीको विषयमा आफ्नो प्रचार पुर्याउनै सकेन । विभिन्न राजनीतिक समूहमा आवद्ध व्यक्तिहरुले चाहिँ नाकाबन्दीको फाट्टफुट्ट विरोध गरे ।
नेपालीका समस्या र समाधान कसरी गर्ने ?
१. भारतमा आएर नेपालीहरुले श्रम गर्नुपर्ने वाध्यता नै सबैभन्दा ठूलो समस्या हो । नेपाल आत्मनिर्भर भएर देशभित्रै प्रशस्त रोजगारी सिर्जना नहुँदासम्म यो समस्या समाधान हुँदैन ।
२. सीमामा नेपालीहरु भारतीय सुरक्षाकर्मीबाटै लुटिने क्रम निरन्तर छ । यसको समाधानका लागि नेपालको तर्फबाट उच्चस्तरमै पहल हुनुपर्छ ।
३. चेलिबेटी बेचविखनको समस्या लामो समयदेखि छ । नेपालबाट बेचिएर आउने चेलीहरुको समस्या दर्दनाक छ । यसमा नेपालको सरकारले कहिल्यै गम्भीर पहल लिएका पाइदैन ।
४. लाखौं नेपाली वर्षेनी शिक्षा, स्वास्थ्य, रोजगारी वा तिर्थयात्राका लागि भारत आउछन् । उनीहरुलाई बसोबासको समस्या ठूलो छ । नेपालीहरु बढि आउने स्थानमा सरकारले धर्मशाला वा अस्थाई बसोबास स्थलको व्यवस्था गर्न सके उनीहरुलाई ठूलो राहत मिल्नेछ ।
५. भारतमा आउने नेपालीहरुलाई भारु सटहीको समस्या छ । शिक्षाका लागि वा उपचार गर्न आउने नेपालीहरुले १० देखि १५ प्रतिशतसम्म कमिसन तिरेर भारुमा विल भुक्तानी गर्नुपर्ने हुन्छ । नेपालमा भारतीय मुद्रालाई मान्यता दिएजस्तै भारतमा पनि नेपाली मुद्रालाई मान्यता दिलाउने वा त्यो नसके सटहीका लागि सहज प्रवन्ध मिलाउने काम नेपालले गर्नुपर्छ ।
६. भारतका कतिपय कलेजहरुमा नेपालीलाई डलरमा फिस लिने गरिन्छ । सार्क मुलुकका विद्यार्थिलाई समान व्यवहार गर्नुपर्ने नियम उल्लघंन भएको छ । यसबाट नेपाली विद्यार्थी मर्कामा परेका छन् ।
७. नेपालीहरुले आफ्नो देशमा फोन गर्न असाध्यै महंगो पर्छ । नेपालमा एक कल गर्दा मिनेटको १२ रुपैयाँ भारु अर्थात् नेपाल १९ रुपैयाँ तिर्नुपर्छ । यसलाई घटाउनुपर्ने माग हामीले गर्दै आएका छौं ।
१९५० को विभेदकारी सन्धि
१९५० को सन्धिले नेपाललाई कंगाल बनाएको छ भने भारतलाई मालामाल बनाएको छ । २०१४ तिरको डाटा हेरौं । तथ्यांक विभाग र राष्टबैंकको डाटाअनुसार बैंकिङ प्रणालीमार्फत भारतबाट एक वर्षमा ५० हजार करोड बराबरको नेपालमा निर्यात भएको छ । त्यसको २० प्रतिशत खुद मुनाफा हिसाब गर्दा १० हजार करोड हुन्छ ।
यसरी वस्तुहरुको आयातबाट मात्रै भारतीय कम्पनीले नेपालबाट १० हजार करोड ल्याउछन् । यसबाहेक शिक्षामा वर्षेनी नेपालबाट अबौंं रुपैया आइरहेको छ । स्वास्थ्यमा त्यस्तै छ ।
गोर्खालीले कारगिल युद्धदेखि पाकिस्तान र बंगलादेश युद्धमा लडेर भारतलाई जिताए । कश्मिरलाई भारतमा विलय गराउन नेपाली फौज प्रयोग भएको छ
यसका अतिरिक्त महाकालीको पानीमा नेपालको हिस्साको ९५ प्रतिशत भारतले नै प्रयोग गरिरहेको छ । शारदा नदीको पानीबाट सिञ्चित १० लाख हेक्टर भारतीय भूभाग छ जहाँ उत्पादन हुने अन्नको मुल्यको अथाह हुन्छ । कोशी र गण्डकीको सिचाइँको मूल्य बेहिसाब छ ।
यसरी नेपालमाथि ब्रम्हलुट गरिरहेको भारतले ५० वटा एम्बुलेन्स दियो वा २ हजार साइकल वितरण गर्यो भनेर हामी मख्ख पर्छौं । १४०० करोड पेन्सन वितरण गर्दा खुशी हुन्छौं । गोर्खालीले कारगिल युद्धदेखि पाकिस्तान र बंगलादेश युद्धमा लडेर भारतलाई जिताए । कश्मिरलाई भारतमा विलय गराउन नेपाली फौज प्रयोग भएको छ । हैदरावादमा प्रयोग भएको छ ।
सन् १९५० को सन्धिको धारा ७ मा दुवै देशका नागरिक एक अर्काको देशमा निवास गर्न र हिँडडुल गर्न स्वतन्त्र हुनेछन् भनिएको छ । यही नै हो सबै समस्याको मूल जड । भारत नेपालभन्दा सयौं गुणा ठूलो देश । यसको अर्थतन्त्र र जनसंख्या नेपालसँग तुलनै हुँदैन । यस्तो देशसित नेपालले बराबरीको सम्झौता गरेको छ । सीमाना खुल्ला गरिएको छ ।
भोलि नेपालको सिंगो ३ करोड जनसंख्या भारत पसे भने त्यहीँ हराउँछन् । तर, भारतको १ प्रतिशत जनसख्या नेपाल पस्यो भने पनि नेपाल सकिन्छ । मधेस आन्दोलनमा त्यही देखियो । भारतबाट पसेका समूहले नै नेपाललाई नाकाबन्दी गरेर दुख दिए । भारतमा ठूलो बजार भएकाले ठूलो स्केलमा उत्पादन हुन्छ । त्यहाँको कृषि उपजको उत्पादन नेपालमा भन्दा धेरै सस्तो हुन्छ । ती उत्पादनले नेपालमा खुल्ला प्रवेश पाउँछन् । तिनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर नेपालको कृषि क्षेत्र तहस-नहस भइरहेको छ ।
सन् १९५० को सन्धिले नेपाल र भारतबीच विशेषखालको सम्वन्ध बनाइदिएको छ । भारतीय नेताहरुले बारम्बार यही विशेषखालको सम्वन्धको दुहाइ दिन्छन् । यही विशेषखालको सम्वन्ध नेपालका लागि घाँडो बनेको छ । यो सम्वन्धबाट मुक्त भएर अन्य देशहरुसरह सीमित हुनुमा नै नेपालको कल्याण छ ।
वामपन्थी उदार, अरु उस्तै
नेपाललाई हेर्ने दृष्टिकोणमा लगभग भारतमा समानता छ । नेपाललाई भारतको मुठ्ठीभित्रै हेर्न चाहन्छन् यहाँका शासक वर्ग र दलका नेताहरु । यसमा थोरै मात्रै अपवाद छन् ।
भारतका वामपन्थी नेताहरु नेपालप्रति अलिकति उदार छन् । हामी उनीहरुसँग नजिक पनि छौं । मार्क्सवादी र वामपन्थी विचारधारा अङ्गाल्ने पार्टीहरु नेपालको सार्वभौमसत्तालाई स्वीकार्छन् । सत्ता बाहिर रहँदा यसो भने पनि भोलि सत्तामा आउँदा के गर्छन्, भन्न सकिन्न ।
सामाजिक चेतनामा शहरिया भारतीयहरु पनि पछाडि छन् । नेपाली समाजभन्दा पछाडि छ भारतीयहरुको चेतना । उनीहरुको सोचाइ एकदमै रुढिवादी छ
भारतीयहरुले नेपाललाई हेप्नुमा नेपाली नेताहरुकै ठूलो गल्ती देख्छु । नेपालका नेताहरुका लागि भारत तीर्थजस्तै बन्यो । नेपालमा राजनीतिको भर्याङ चढ्नलाई भारतको सहारा खोज्छन् । भारतमा लर्को लागेर आउने नेताहरु प्राय व्यक्तिगत काम लिएर नै आएका हुन्छन् । द्वीपक्षीय सम्वन्धका कुराहरु यस्ता भ्रमणका विषय नै हुँदैनन् । धेरै नेताहरु त आफ्ना सन्तानका लागि छात्रवृत्ति माग्न आएको पाइन्छ । अहिले माधव नेपालदेखि बाबुराम भट्टराईसम्मका सन्ततिहरु स्कलरसिपमा भारतमा पढिरहेका छन् ।
देश माथि उक्लँदै, समाज उस्तै
बिकासको हिसाबले भारत नेपालभन्दा धेरै माथि पुगेको छ । दिल्ली, मुम्मई, कोलकाता चौकाचौध छन् । ठूला संरचनाहरु बनेका छन् । बाटोघाटोहरु बनेका छन् । नयाँ शहरहरु विकास भएका छन् । भारतीयहरु संसारभरि पुगेका छन् । शिक्षा-स्वास्थ्यमा अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ ।
तर, भारतको समाज अझै पनि पिछडिएको अवस्थामै छ । गाउँमा अझै अन्धकार छ, गरिबी छ । मानिसहरु सडकमै दिसा बस्छन् । फाटेको लुगा वर्षभरि लगाउने जनसंख्या ठूलो छ ।
सामाजिक चेतनामा शहरिया भारतीयहरु पनि पछाडि छन् । नेपाली समाजभन्दा पछाडि छ भारतीयहरुको चेतना । उनीहरुको सोचाइ एकदमै रुढिवादी छ । गणेशजीले दूध पिउँछन् भनेर धेरै भारतीय विश्वास गर्छन् ।
प्रस्तुति चिरञ्जीवी पौडेल
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं