Saturday, March 12, 2016

ट्वाक्क टुक्क

– राजकुमार रेग्मी

गैँडा संवाद

सरकारले चितवनका गैँडा बर्दिया लगेपछिको सवाद :
बर्दियाको गैँडा : कहाँबाट आयौ ?
चितवनको गैँडा : चितवनबाट आएँ, धेरै जना आएका छौँ ।
बर्दियाको गैँडा : अरू गैँडा खोइ ?
चितवनको गैँडा : चर्न गएका छन् ।
बर्दियाको गैँडा : मर्न गएका रे ? किन ?
चितवनको गैँडा : मर्न हैन, चर्न ।
बर्दियाको गैँडा : यहाँ चर्‍यो कि मर्‍यो । चर्न जाने भन्या मर्न जाने हो । थाहा थिएन ?
चितवनको गैँडा : हाम्लाई त थोरै गैँडा छन्, धेरै जंगल छ, मजासँग चरौला भनेर झुक्याएर ल्याएछन् ।
बर्दियाको गैँडा : हाम्रा पुर्खा पनि चितवनबाटै आएका हुन् । चर्दाचर्दै मेरा पुर्खा र नातागोता गायब भए ।
चितवनको गैँडा : त्यसो हो भने हामीलाई चितवन पुर्‍याइदेऊ भन्छौँ ।
बर्दियाको गैँडा : कसलाई भन्छौ ? चितवन होइन, चितामा चैँ पुर्‍याउँछन् ।
चितवनको गैँडा : यहाँबाट चिच्याइ चिच्याइ सरकारलाई भन्छौँ ।
बर्दियाको गैँडा : यहाँ चिच्यायो भने सरकार होइन, तस्करले
चाहिँ सुन्छ ।
(त्यसपछि चितवने गैँडा चिच्याउन थाल्छ, बर्दियाको गैँडा तस्कर आउँछ भन्दै कुलेलम ठोक्छ ।) 

ओलीले नजानेका तीन काम​

प्रधानमन्त्री केपी ओलीले नजानेको काम केही छैन । तब न उनी प्रधानमन्त्री ! तर, उनले असाध्यै महत्त्वपूर्ण तीन काम भने जान्दैनन्, जो यस्ता छन् :
दिन जान्दैनन् : पेट्रोलियमको चर्काे अभाव हुँदा ओलीले सर्वसाधारणलाई मट्टीतेल दिए ? ग्यास दिए ? बरू तस्करहरूले दिए । अहिले पेट्रोलियम केही सुलभ छ, तस्करहरूलाई नै पेट्रोलियम जिम्मा दिने उनको बुद्धि छैन ? तिनले सहजै घरघर पुर्‍याउँदा सरकार र तस्कर दुवैलाई फाइदा, लाइन बस्न नपरेपछि जनतालाई झन् फाइदा । तर, ओलीले दिन जानेनन् ।

किन्न जान्दैनन् : नेपालमा छेलोखेलो पानी छ, बिजुली निकाले हुन्छ तर भारत गएर ओलीले बिजुली किने । नाकाबन्दी गर्ने भारतले भविष्यमा बिजुलीमा पनि नाकाबन्दी गर्ला भनेर किन्ने बेला विचार पुर्‍याउनु पर्दैन ? बरू, लालटिन–टुकी किनेको भए न लोडसेडिङको झन्झट, न नाकाबन्दीको खतरा । ‘सपिङ’ गर्न नजान्ने प्रधानमन्त्री भएपछि यस्तै हो !

माग्न जान्दैनन् : पेट्रोलियम भण्डारणमा पनि नेपाल विश्वमै धनी छ । तैपनि, चीन गएर ओलीले पेट्रोलियम भण्डारणका लागि विशाल ट्यांकी ल्याउने रे ! हाम्रा हरेक घर आफैँमा इन्धन भण्डार हुन् । ग्यालेन, बोतल, भाँडो सर्वत्र भण्डार गर्छौं हामी । पेट्रोलियम किन्न पाए प्रेसरकुकरमा पनि भण्डार गर्न बेर लाउँदैनौँ । भण्डारणमा यति सक्षम छौँ तैपनि ट्यांकी माग्ने रे ! छ्या, माग्न पनि नजान्ने ओली ।

फोहोरमा नयाँ शक्ति

नेताले फोहोर मात्र गर्छन् भन्ने सारा नेपालीलाई थाहै छ । तर, नयाँ शक्तिका नेता बाबुराम भट्टराईले भने काठमाडौँका सडक सफा गर्ने भएका छन् । उनले किन यसो गर्न लागेका होलान् त ? संगठन बनाउन ! सडक बढारेर संगठन कसरी बन्छ ? धेरैले प्रश्न गरिरहेछन् । नयाँ शक्ति त्यसै हुन्छ ? आइडिया पनि नयाँ नयाँ निकाल्ने हुनाले नयाँ शक्ति भएको हो । सडक बढार्ने आइडियाभित्र संगठन निर्माणको महान् रहस्य लुकेको छ ।

जस्तो कि, बढार्दा बढार्दै सडकमा मानिसका दाँत या बंगारा भेटिनेछन् । ‘जनयुद्ध’कालमा धेरै मानिस मारिए, जो माटोमा विलीन भइसके तर ज्ञातव्य रहोस् कि धेरैको बंगारा झार्ने काम पनि भएको थियो, त्यसबेला । सडकमा भेटिएका बंगारा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दै बाबुरामले प्रचण्डले झारिदिएको बंगारा आफूले फिर्ता ल्याइदिएको भन्नेछन् । बंगारा फिर्ता ल्याइदिएबापतको गुन तिर्न पनि त्यो मानिस नयाँ शक्तिको सदस्य बन्नेछ । अनि, पुरानो शक्तिलाई बंगारा अर्पण गरेकाहरू नयाँ शक्तिमा ज्यान अर्पण गरेर लाग्नेछन् ।

यस्ता अनेक आइडिया लगाएर सडक बढार्दा भेटिएजति फोहोरलाई कार्यकर्ता निर्माणको मोहोरमा परिणत गरिनेछ । पुराना शक्तिका कार्यकर्ता फोहोर हुन्छन् तर नयाँ शक्तिले भने फोहोरमैलाबाट कार्यकर्ता सिर्जना गर्छ । अनि, यसो गरे संगठन बन्दैन त ?

कांग्रेसमा आज रमिता छ

अब पार्टीलाई एक ढिक्का बनाउनुपर्छ ।
यसका लागि अर्काे गुटलाई एक मुक्का दिनुपर्छ ।
***
हाम्रो पार्टीको यो चाला भएन । अब सबै जना मिलेर पार्टी बनाउनुपर्छ । पार्टीलाई अगाडि बढाउनुपर्छ । एक जनाले मात्र बनाएर पार्टी बन्दैन, सबैलाई समेट्नुपर्छ । पार्टीको हितका लागि हामी सबैले आ–आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ ।
तर, यसका लागि मैले चुनाव जित्नुपर्छ ।
***
कार्यकर्ता नं १ : महाधिवेशन आयो,
खान्छु पिउँछु !
कार्यकर्ता नं २ : कसले दिन्छ ?
कार्यकर्ता नं ३ : उम्मेदवारले दिन्छन् ।
***
गुटको राजनीति गर्न पाइँदैन ।
गुट बनाएर पार्टीमा फुट गर्न पाइँदैन ।
गुटको अन्त्य गरौँ, सबैलाई समेटौँ ।
यसका लागि हाम्रो प्यानललाई भोट दिऔँ !


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment