२९ फागुन, काठमाडौं । भारतले काष्ठमण्डप, स्वयम्भु लगायत १४ वटा सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको प्रस्ताव गरेको छ ।
आफ्नै लगानीमा विभिन्न सम्पदाको पुनर्निर्माणको अनुमति माग्दै भारतले पुरातत्व विभागमा प्रस्ताव पेश गरेको हो ।
उसले सिन्धुपाल्चोक रसुवालगायतका क्षेत्रका गुम्बाहरुको पुनर्निर्माणमा पनि आफूले सहयोग गर्न सक्ने भन्दै विभागलाई जानकारी गराएको छ ।
तर, भारतको प्रस्तावभित्र परे पनि काष्ठमण्डप र स्वाम्भुमा भत्किएका प्रतापपुर र अनन्तपुर मन्दिरको पूनर्निर्माण उसलाई दिन नसकिने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरसँग बताए ।
‘काष्ठमण्डप महानगरपालिकाले बनाउने तय भइसकेको छ । त्यसका लागि महानगर अन्तिम तयारीमा जुटेको छ’ महानिर्देशक दाहालले भने-‘स्वम्भुका क्षति भएका दुईवटा मन्दिरको पुनर्निमाणका लागि विभागले प्रक्रिया थालिसकेको छ । त्यसैले यी दुई स्थानमा भारतले पुनर्निर्माणको अवसर पाउँदैन ।’
तर, भारतले इच्छा देखाएका अन्य सम्पदाका लागि भने अनुमति दिन विभाग तयार देखिएको छ । काष्ठमण्डप र स्वम्भुको साटो अन्य सम्पदाहरुको जिम्मा दिने विषयमा विभागले गृहकार्य गरिरहेको दाहाल बताउँछन् । बुढानीलकण्ठलगायतका क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतलाई आग्रह गर्ने विभागको योजना छ ।
उत्तरी छिमेकी चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निमाणको जिम्मा लिएको छ । यसका लागि अर्थ मन्त्रालयसँग चीन सरकारले एमओयु गरिसकेको छ ।
काठमाडौं महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने निर्णय भइसकेको छ । त्यस्तै कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरुको पूनर्निर्माणको जिम्मा लिएको छ ।
जापानले पनि प्रस्ताव बुझायो
भारतले जस्तै जापानले पनि दुईवटा मन्दिर निर्माणका लागि प्रस्ताव पेश गरेको छ । त्यसअनुसार विभागले जापानलाई हनुमानढोकाको आगम्छे मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जम्मा दिन लागेको छ । यसअघि श्रीलंकन सरकारले बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने जिम्मा पाइसकेको छ । त्यसका लागि श्रीलंकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विभागले आफैं गर्ने काम
विभाग आफैंले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यकासहित देशभरमा पुरतात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले कार्ययोजना तयार गरेको हो ।
यसवर्ष मात्रै ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुनेछ । यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्यो मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुर्ननिर्माण विभागले नै गर्ने भएको छ ।
यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्रहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापपुर र अनन्तपुर मन्दिरलगायत पुरातात्विक सम्पदाको पुर्ननिर्माणका लागि विभागले काम अघि बढाएको महानिर्देशक दाहालले बताए । यो वर्ष बहुवषर्ीय योजनाअन्तरगत ४३ वटा पुनर्निर्माणका काम सुरु हुनेछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment