Wednesday, April 27, 2016

‘आकाशमा कति तारा छन्?’- बीरबलको स्वादलाग्दो उत्तर..

राजा अकबरलाई बीरबलको चतुरता अनि बुद्धिको खुबै जाँच गर्न मन लाग्थ्यो। बीरबलसँग पनि आफ्नो सामुन्ने राजाले राखिदिएका चुनौती र समस्याहरूलाई सजिलै हल गर्न सक्ने क्षमता थियो। त्यसैले पनि अकबर र बीरबलको राजामन्त्रीको जोडी देखेर ईर्ष्या गर्नेहरू थुप्रै थिए।

बीरबल त प्रधानमन्त्री थिए, तर उसको यो अधिकार राज्यसभाकै एक सल्लाहकारले खोस्न चाहन्थे। एकदिन सारा राज्यसभाकै अगाडि अकबरले बीरबलको प्रशंसा गर्न थालेपछि उक्त सल्लाहकार जुरुक्क उठे र भने- “हुजूर! हजुरले बीरबललाई बुझ्दै नबुझी प्रशंसा गर्नुहुन्छ। जसलाई हजुरले बुद्धिमानी ठान्नुहुन्छ, ऊ त एक महामूर्ख हो। होइन भने मेरा ३ प्रश्नहरू छन्, जसको उत्तर यदि बीरबलले दिन सक्यो भने मात्रै म पनि उसलाई बुद्धिमानी ठान्छु। तर यदि बीरबलले मेरा तीन प्रश्नहरूको उत्तर दिन सकेन भने उसको प्रधानमन्त्रीको पद मेरो नाममा हुनेछ।”

राजा अकबरलाई पनि ‘के खोज्छस् कानो, आँखो!’ जस्तै भैहाल्यो। बीरबलको चतुरताको परीक्षा लिने अकबरको धोको कहिल्ये पनि पुरा हुँदैन। त्यसैले अकबरले पनि उक्त सल्लाहकारको सल्लाह मानी बीरबललाई प्रश्नको उत्तर दिन आदेश दिए।

तीन प्रश्नहरू यस्ता थिए-

१. आकाशमा कति ताराहरू छन्?
२. पृथ्वीको केन्द्रविन्दु कहाँ छ?
३. यो संसारका कतिजना पुरुष र कहिजना महिलाहरू छन्?

बीरबल पनि कहाँ कम थियो र?

पहिलो प्रश्नको उत्तर दिनका लागि उसले तुरुन्तै एउटा भेडा ल्याए र भने- “यो भेडाको शरीरमा जतिवटा रौँहरू छन्, आकाशमा पनि त्यति वटा नै ताराहरू छन्। यदि हाम्रा सल्लाहकार महोदयलाई विश्वास लाग्दैन भने आफै गन्न सक्नुहुन्छ।”

दोस्रो प्रश्नको उत्तर दिनका लागि बीरबलले भुइँमा केहि रेखाहरू खिचे अनि एउटा लौरी ल्याएर गाढे र भने- “पृथ्वीको केन्द्रविन्दु यहिँनेर पर्छ। यदि सल्लाहकार महाशयलाई कुनै शङ्का छ भने नापे हुन्छ।”

तेस्रो प्रश्नको उत्तर कसरी दिन्छ भन्ने सबैको मनमा उत्सुकता जागिराखेको थियो। यत्तिकै बीरबलले भने- “हुजूर! यो संसारमा कति जना पुरुष र कति जना महिला छन् भनेर ठ्याक्कै गन्न त गाह्रै छ। किनभने यो संसारमा पुरुष र महिलामात्रै छैनन्, हाम्रा सल्लाहकार महोदयजस्ता मानिसहरू पनि छन्, जसलाई न महिला भन्न मिल्छ, न त पुरुष नै! त्यसैले हुजूर, यदि यस्ता न महिला न पुरुषजस्ता मानिसलाई पर हटाउने हो भने मात्रै महिला र पुरुषको ठेट गन्ती निस्किने थियो।”

बीरबलको तीखो उत्तर सुनेर उक्त सल्लाहकार चुप लागेर बस्नुबाहेक अरू केहि गर्न सकेन। अकबर पनि आफ्नो महामन्त्रीको बुद्धि र चतुरता देखेर गदगद हुँदै बसे।

निष्कर्ष– “जहाँ इच्छा, त्यहाँ उपाय!”

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment