११ फागुन, नवलपरासी । सात पटक सेनामा भर्ती हुने प्रयास असफल भएपछि ग्यामबहादुर रजाली मगर २५ बर्षको उमेरदेखि तरकारी खेतीमा लागे । फौजी प्रक्रियामा असफल भएपनि उनी व्यवसायिक तरकारी खेतीमा भने सफल भएका छन् ।
भर्ती हुन जाने क्रममै सेनाका एक कर्मचारीको मुखबाट सुनेको उखानले उनलाई फौजी बन्न नसकेपनि निराशा भने बढाएन । ‘जागिर खाए सरकारी, खेती गरी खाए तरकारी’ भन्ने उखान उनको मनमा निक्कै गढ्यो र फौजी बन्ने रहर त्यागेर व्यवसायीक खेतीतर्फ लागे ।
करिब १३ बर्षको तरकारी खेतीको यात्रामा उनी धौवादीका लागि मात्र नभएर कावासोती क्षेत्रकै लागि सफल व्यवसायिक तरकारी किसानको रुपमा स्थापित भएका छन् ।
रजालीले भने ‘सरकारी जागिर त कस्तो हुन्छ थाहा भएन तर तरकारी खेती गरे राम्रो हुन्छ भन्ने थाहा पाएँ ।’
धौवादी २ सिमलघारी निवासी रजालीले २०५९ सालदेखि तरकारी खेती शुरु गरेका हुन् । उनले शुरुमा ४ कठ्ठामा तरकारी खेती गरेको थिए । पहिलो बर्षमै ७५ हजार आम्दानी गरेपछि उनले तरकारी खेतीमै आˆनो भविश्य देख्न थाले ।
रजालीले भने – ‘पहिलो बर्षको आम्दानीबाट सन्तोष भएपछि अहिले तरकारी खेतीमा लागेको हुँ । अहिले करिव दुई विगाहामा तरकारी खेती गरेको छु।’
उनले अहिले तरकारी खेतीबाटै बाषिर्क ७/८ लाख आम्दानी गरेका छन् । रजाली भन्छन् – ‘पहिलो बर्षमै तरकारी खेती गरेपछि मलाई मेहनत गरे नेपालमै पनि कमाइन्छ भन्ने लाग्यो ।’
मगरले धौवादीको हावापानी सुहाउने क्रांक्रो, सिबी, गोलभेडा, बन्दा, करेला, बोडी, घेरौला, खुर्सानी लगायतका तरकारी खेती गरेका छन् ।
तरकारी खेतीबाट पक्की घर बनाए, दुई विगाहा खेत किने
उनले तरकारी खेतीबाट दुई विगाहा खेती योग्य जमिन जोडेका छन् भने कावासोती नगरपालिकाको हसौरामा पक्की घर बनाएका छन् ।
मगरले भने – ‘सुरुमा २/४ हजार ऋण पनि पाउन गाह्रो हुन्थ्यो । कमाउन थालेपछि उनी आँफै अरुलाई सहयोग गर्न सक्ने भएका छन् । तरकारी खेतीबाटै रजालीले दुई छोराको पढाइ खर्च समेत जुटाएका छन् भने पांच जनाको परिवार त्यसैबाट राम्ररी पालेका छन् । उनका जेठा छोरा अहिले कक्षा १२ मा र कान्छा छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
डेढ सय बढीले व्यवसायिक तरकारी खेती गर्छन्
कावासोतीमा एक सय सत्तरी व्यवसायिक तरकारी खेती गर्ने किसान छन् ।
कृषि उपज बजार विकास समिति कावासोतीका अध्यक्ष लेखनाथ बस्यालका अनुसार सिजनमा आम्दानीमुलक ढंगले तरकारी खेती गर्ने किसान कावासोती आसपासका क्षेत्र मात्रै पांच सयका हाराहारीमा किसान छन् ।
त्यसका अलावा पनि बाह्रै महिना व्यवसायिक तरकारी खेती गर्ने किसान कावासोती आससापको क्षेत्रमा मात्रै एक सय ७० जनाको हाराहारीमा छन् ।
जुकेपानीमा ४२ घर, धौवादीमा ६० घर र कावासोतीमा ६५ घर परिवारले मौसमी र वेमौसमी दुवै तरकारी खेती गर्छन् । रजालीको अनुभवमा मौसमी तरकारी खेतीबाट भन्दा पनि बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी हुने गर्दछ ।
तरकारीको बजार सहज
पहिलेको तुलनामा अहिले तरकारीको बजार पनि बिस्तारित भएको छ । अहिले कावासोतीमै कृषि उपज बजार व्यवस्थापन समितिले तरकारी हाटबजारका साथै थोक तथा खुद्रा तरकारी खरिद विक्री केन्द्र खोलेपछि किसानहरुलाई निक्कै सहज भएको हो ।
कावासोतीमा खपत नभएको तरकारी बुटवल र नारायणगढ लैजाने गरेकाले बजारको कुनै समस्या नभएको रजालीले बताए ।
कृषि विमाले सहज
पछिल्लो समय कावासोतीमा केरा खेतीको जस्तै तरकारी खेतीको पनि विमा हुन थालेको छ । तरकारी खेतीको विमा हुन थालेपछि सहज भएको ग्यामबहादुर रजाली मगरले बताए ।
कावासोतीका तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले तरकारी खेतीको विमा गर्ने गरेको छ ।
सहकारीका अध्यक्ष लेखनाथ बस्यालले तरकारी खेतीको निशुल्क विमा गरिने र क्षति हुंदा क्षति भएको मूल्यको ८० प्रतिशत विमा रकम किसानले पाउने गरेको बताए । बस्यालका अनुसार सहकारीमा आवद्ध भएका किसानलाई कृषि मन्त्रालयको सहयोगमा निशुल्क विमा गरिएको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment