Saturday, March 5, 2016

पहाडमा पनि रोटी र बेटीको अन्तरदेशीय सम्बन्ध

इलाम नगरपालिका–८, घोषका अमृतलाल तामाङले ०६७ सालमा सिक्किम, नाम्चीस्थित छुपापोखरीबाट सुकुलमु शेर्पालाई बेहुली बनाए । नयाँ परिवेश र टाढाको भूगोलमा अमृतलालको अन्तरदेशीय सम्बन्ध गाँसिनु संयोग भने थिएन । उनका दाजु माइला फुर्वाले त्यहीँबाट विवाह गरेकाले सम्बन्ध जोड्न सजिलो भइहाल्यो ।

040320161059511-(4)-1000x0दुई दाजुको सिक्किमसँग वैवाहिक सम्बन्ध गाँसिएपछि भाइ कुलबहादुरले पनि त्यतै ससुराली बनाए । नातागोताको पुरानो हिमचिम र मिल्दो संस्कृतिकै कारण तीन भाइ दाजुभाइकै घरजममा समस्या छैन । “वर्षमा दुई–तीनपटक उता पुगिन्छ,” अमृतलाल भन्छन्, “अर्कै देश भए पनि आफ्नै वारिपारि गाउँजस्तो लाग्छ ।”

यहीँका शिवकुमार श्रेष्ठले ०४७ मा भुटानसँग जोडिएको पश्चिम बंगालको हेमलेटगन्जबाट करुणा श्रेष्ठसँग विवाह गरे । शिवकुमारको मावली सिक्किमको डुगा भएकाले उनलाई पनि उतैको आउजाउ र सारनतारनले जीवनसँगी जोड्न सघायो । नेपाली कांग्रेसका पाका नेता तोयनाथ भट्टराईले पनि दार्जीलिङको कालेबुङबाट विवाह गरेका हुन् । त्यही सम्बन्ध विस्तारपछि बढेको चिनजानका कारण पछि भतिजीको विवाह पनि उतै भएको थियो ।040320161059501-(1)-1000x0

जमुना–९ का प्रदीप गुरुङले दार्जीलिङको लरिङबाट दुलही भित्र्याए । करिब आठ घन्टा पैदल दूरीमा पर्ने गुरुङको सम्बन्ध जोडिनुमा पनि वर्षौंदेखि त्यस क्षेत्रका बासिन्दाबीच चलेको साइनो सम्बन्ध, समान संस्कृति र प्रकृति कारण बन्यो । प्रदीपकै लहनाका कारण छिमेकी डिकेन गुरुङले पनि लरिङकै चेलीलाई चुने । यहाँका सीमावर्ती गाउँमा पारिकासँग वैवाहिक सम्बन्ध नगाँसिएका घर भेट्न मुस्किलै हुन्छ ।

हरेक वर्षको असोजमा इलाम/दार्जीलिङ सीमावर्ती मानेभञ्ज्याङमा फुटबल प्रतियोगिताको आयोजना गर्दा नेपाल र भारतका बराबरी टिमको सहभागिता हुन्छ । रेफ्री कहिले सिलिगुडीका हुन्छन् भने कहिले इलाम र झापाका । खेल मैदानचाहिँ भारततर्फ छ । आयोजकले मानेभञ्ज्याङ फुटबल क्लबबाहेक नेपाल या भारत भनेर ठेगाना छुट्याउँदैन । मिल्दो संस्कृति, जीवनशैली, व्यापार र भूगोललगायत कारण मेची पहाडी जिल्ला सीमावर्ती दार्जीलिङ र सिक्किम क्षेत्र उस्तै लाग्छ ।

खेलकुद, व्यापार, साइनो सम्बन्ध, पर्यटन, भाषा, बिहेवारीजस्ता कारण पनि दुई देशका यी पहाडी क्षेत्रबीचको सामीप्य मजबुत छ । यिनै कारणले चर्चामा रहेको रोटीबेटी सम्बन्ध पनि झाँगिएको हो ।

040320161059495-1000x0

दार्जीलिङ जोरबंगलाका केवल शर्माका लागि इलाम नौलो छैन । बिदाको समय बिताउन अक्सर मावली नाम्सालिङ आउने उनलाई दार्जीलिङको उकुसमुकुसबाट बच्न यहाँका प्राकृतिक सम्पदा अब्बल लाग्छन् । जोरबंगलाका विष्णु शर्मा र इलाम नामसालिङकी नीरा शर्मा (अधिकारी)का छोरा हुन्,  केवल । ०५४ सालमा नीराको कन्यादान जोरबंगलाका विष्णुसँग गरिदिएपछि नामसालिङका अरू धेरैको पनि वैवाहिक सम्बन्ध त्यहाँ विस्तार भएको छ ।

इलामका सबैजसो गाउँबाट भारतका पहाडी क्षेत्रमा सदियौँदेखिको सीमापारि विवाह गर्ने प्रचलन पछिल्लो समयमा थप झाँगिदो छ । दसगजाले छुट्याएको सीमा वारिपारिका नागरिक आफूहरू फरक देशको महसुस गर्दैनन् । बिहे, भोज–भतेर, पूजाआजा, निम्तालु मात्रै होइन, छिमेकीसरह आउजाउ हुन्छ ।

दार्जीलिङका प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन इलामलगायतका विभिन्न क्षेत्रबाट उल्लेख्य सहयोग मिल्यो । दार्जीलिङे प्रतिभालाई काँचको पर्दामा देखेकै आधारमा ओइरिएको सहयोगको अर्थ थियो, पुस्तेनी साइनो सम्बन्ध । “यसपछि कतिपय अवस्थामा मेटिँदै गएको सम्बन्धले पनि पुन:ताजगी हुने अवसर पायो,” दार्जीलिङका ज्ञानेन्द्र अर्याल भन्छन् ।

विवाहका कारण जोडिएको साइनो सम्बन्ध होस् या बाक्लो हिमचिमका कारण पारिको सिको गर्ने क्रम यता बढी छ । बैठक कोठा, फूलबारी र बगैँचाले सजिएको चिटिक्क काठेघर दार्जीलिङका बस्तीमा जस्तै गरी इलामका भित्री गाउँमा पनि देख्न सकिन्छ । “सबै कुरा समान भएपछि आधुनिक जीवनशैली पछ्याउने क्रममा पनि यताकाहरू पछि छैनन्,” श्रीअन्तुका खगराज घिमिरे भन्छन् ।

साहित्यकार तारानाथ शर्माको शैक्षिक आधार दार्जीलिङमा तयार भएको हो । माबुमा जन्मिएका पूर्वअञ्चलाधीश शेखर गुरुङले पनि दार्जीलिङको शिक्षा पाएका थिए । पहिलो स्थानीय चुनावपछि जिविस उपसभापति बनेका चक्रबहादुर साउदलाई पनि दार्जीलिङको पढाइले छोएको थियो ।

नेपाल टेलिकमका पूर्वमहाप्रबन्धक चेतप्रसाद भट्टराई, राजनीतिकर्मी घनश्याम गुरुङलगायतले दार्जीलिङको शिक्षा लिने अवसर पाए । गुणस्तरीय शिक्षा आर्जनका लागि कहलिएको दार्जीलिङका विद्यालयमा पढ्न जाने चलन पुरानै हो ।

बेलायतले शिक्षाको जग बसाएको दार्जीलिङमा पढेर नेपालको उच्च ओहोदामा पुग्नेको संख्या कम छैन । पछिल्लो समय इलाम क्षेत्रमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षालय खुले पनि दार्जीलिङ पढ्न जाने लर्को बढ्दो छ । अझ सीमावर्ती नेपाली क्षेत्रका विद्यार्थी त घरैपिच्छे जस्तोबाट सीमापारिका विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् ।

घरबाट धाएर पुग्ने स्थानबाहेक महँगो होस्टल खर्च बेहोरेर त्यता पढाउनेको पनि संख्या कम छैन । जस्तो : तीन वर्षको उमेरदेखि नै इलाम नगरपालिकाकी समता वैद्यले दार्जीलिङस्थित विद्यालयमा अध्ययन गरिन् । उनको पढाइ खर्चका लागि मासिक १० हजार भारतीय रुपियाँसम्म खर्च पठाउने अभिभावकलाई अहिले केही राहत मिलेको छ । लोरेटो कलेजबाट गणित विषयमा स्नातक सकेपछि उनले सिलिगुडीको नर्थ बंगाल विश्वविद्यालयमा स्नातकोत्तर गर्दै त्यहीँको एउटा विद्यालयमा शिक्षणसमेत गर्छिन् ।

दार्जीलिङका धेरैजसो विद्यालय नेपाली विद्यार्थीकै भरमा टिकेको उदाहरण गोर्खाल्यान्ड आन्दोलनका बेला नेपाल फर्कने विद्यार्थीको लर्कोले प्रस्टिन्थ्यो । दार्जीलिङको सेन्ट जोसेफ, सेन्ट रोवटर््स, सेन्ट गोथेल्स, साउथ फिल्ड, सिक्किमको मणिपाल विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा नेपाली विद्यार्थीहरू अध्ययन गर्छन् । जिल्लाभित्रका निजी विद्यालयसँगै देशभरका विद्यालयमा पनि दार्जीलिङका शिक्षक खोजीखोजी लैजाने प्रचलनसमेत अझै हट्न सकेको छैन ।

दुई देशबीचका नागरिकको निकटपनमा साहित्यले पनि उत्तिकै सघाएको छ । यता साहित्यिक कार्यक्रम हुँदा भारतका स्रष्टाहरू र भारतमा कार्यक्रम हुँदा नेपाली स्रष्टाहरू अर्मपर्मजस्तै गर्छन् । इलामका कवि विमल वैद्य सिक्किम, दार्जीलिङ, सिलिगुडी, कालेबुङ, आसामलगायत ठाउँमा कविता वाचन गर्दै भेटिन्छन् । भन्छन्, “खारिएका साहित्यकर्मी र सचेत श्रोता उता पनि भेटिने हुँदा बाक्लै उता जाने गरेको छु ।”

सिमानानजिकै एफएम सञ्चालन गरेका गणेश रसिक पनि साहित्यिक बहानामा बाक्लै पारि पुग्छन् । उताका साहित्यकार मनप्रसाद सुब्बा, इन्द्रबहादुर राई, मिलन वान्तवालगायतको गन्तव्यमा सीमावारिका क्षेत्र निर्दिष्ट भएको हुन्छ । नेपाल आउजाउका क्रममा र चिनेजानेकाबाट कृतिहरू साटासाट हुनाले थप सामीप्य बढाएको छ ।

भारतको सिंहलिला नेसनल पार्कले बर्खाका तीन महिना वन्यजन्तुको प्रजननको समयमा वन क्षेत्रमा पर्यटक हिँड्डुलमा प्रतिबन्ध लगाउँदा प्रत्यक्ष मार इलामका होटलले खेप्नुपर्छ । भारत भएर आउने पर्यटकका भरमा नेपाली होटल सञ्चालन भएकाले पर्यटक परनिर्भरता यसले प्रस्ट्याउँछ । इलामका बासिन्दा वर्षैपिच्छे घुम्नकै लागि दार्जीलिङ, सिक्किम पुग्छन् भने उताका यता आउने क्रम पनि उस्तै छ ।

दैनिक गुजाराका लागि पनि दुई देशबीचको आत्मनिर्भरता धेरै छ । कृषि कर्मदेखि, प्राविधिक क्षेत्र र मजदुरीमा समेत वारिपारिको अवस्था उस्तै छ । डेढ दशकअघिसम्म चियापत्ती टिप्नकै लागि भारतीय बगानमा सीमावर्ती गाउँकाहरू बर्सेनि जाने गरेका थिए । अहिले यता पनि उत्तिकै बगान विस्तार भएपछि पारिकाहरू यता आउने गर्छन् ।

इलाममा उत्पादन हुने तरकारीजन्य उत्पादन किसान र व्यापारीले भारतीय बजारमा पुर्‍याउँछन् । अकबरे खुर्सानी र केराउ कोसाले नेपाली बजारमा भन्दा भारतीय बजारमा राम्रो मूल्य पाउँछ । लुकिछिपी नै भए पनि भारतबाट उपभोग्य सामग्री नेपाली नागरिकले ल्याउने गरेका छन् । भारतबाट ल्याएका घोडा ग्रामीण बजारसम्म पुग्छन् । नेपालबाट पनि खसी, बाख्रा, गाई, गोरु, बंगुरलगायत पशुहरू
उता लगिन्छ ।

झाँगिदो पारिवारिक सम्बन्धका कारण दुवै देशमा हुने राजनीतिक परिवर्तनले ठूलो प्रभाव राखेको हुन्छ । असहज परिस्थिति हुँदा यताका नागरिक उताको शरणमा पुग्छन्, उताका यता ।

चियाखेतीदेखि दूधको व्यवसायीकरण, अलैँची खेतीलगायत दार्जीलिङ, सिक्किमकै सिको गरेर यता सुरु गरिएको जानकारहरू बताउँछन् । अहिले पनि सिक्किमबाट अलैँचीका बिरुवा ल्याइने गरेको छ । भारतबाटै व्यावसायिक चियाखेतीको सिको गरेका पूर्वी क्षेत्रका किसानले भारतबाटै यसको प्राविधिक ज्ञान पनि सिक्दै छन् ।

अहिले पनि धेरैजसो चिया कारखानामा भारतीय चिया प्राविधिक कुनै न कुनै भूमिकामा छन् । कृषि व्यवसायमा मात्रै होइन, सीमावर्ती क्षेत्रका नागरिकको जीवनशैली र लबज पनि नेपालीभाषी भारतीयसँग मिल्दोजुल्दो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment