Saturday, March 5, 2016

रेखा थापा भन्छिन्–‘कांग्रेसमा यूवा नेता आउनुपर्छ’

नेपाली कांग्रेसको १३ औै महाधिवेशन चलिरहँदा नेपाली कलाकर्मी समेत अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने बहसमा उत्रिएका छन् । सहभागी मध्ये धेरैले पुराना पुस्तालाई सम्मानका साथ विदाई गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा गरे ।

कतिपयमा आशंका पनि थियो कि कांग्रेस पार्टी सोचे जस्तो छैन । अझै परम्परागत मानसिकताले काम गर्छ । त्यहाँ नयाँलाइ स्थान दिन निकै गार्‍हो छ । अनलाइनखबरले केही कलाकर्मीसँग महाधिवेशन केन्द्रित कुराकानी गरेको थियो । यस्तो छ उनीहरुको भनाईः

नेतृत्व युवालाई दिनु पर्छ : रेखा थापा
मेरो घरमा म मात्रै फरक विचार धाराकी हुँ । मेरो परिवारका सबै सदस्य कांग्रेसलाई समर्थन गर्नु हुन्छ । मलाई अचम्म लाग्छ कि  कांग्रेसलाई समर्थन गर्नेहरु बढी नै रुढीग्रष्त भएको देख्छु ।

पुरानालाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु सर्वमान्य कुरा हो र यसपाली महाधिवेशनमा त्यहि हुनुपर्छ । तर, सजिलो भने छैन । पुराना पुस्ताकाहरु नै नेतृत्व हस्तान्तरण गर्न गार्‍हो मानिरहनु भएको छ । आफूलाई यूवा भन्नेहरु मध्ये कतिपय कार्यकर्ताको विचार पनि प्रौढ छ । किनकी उहाँहरु उमेरमा तन्नेरी भएपनि काम गर्ने स्टाइल पुरानै छ । बीपीको नाम भजाएर खाने प्रवृत्ति अझै छ । बीपीको सम्मान गर्नुपर्छ । तर, नाम सधै भजाउनु हुन्न ।

समृद्धिको कुरा गर्नेलाई नेतृत्व दिनुपर्छः आकाश अधिकारी, निर्माता/निर्देशक
नेपाली कांग्रेसलाई वास्तवमै गतिशील बनाउने हो भने नेतृत्वमा युवा पुस्ता आउनुपर्छ । नेपाली कांग्रेस भनेको मुलुकको ठूलो पार्टी हो । त्यसकारण उसले केबल आफ्नो पार्टीलाई मात्रै हेरेर हुन्न । सिंगो मुलुकलाई पनि हेर्नुपर्छ । त्यसका लागि दुरदृष्टि भएको नेतृत्वको खाँचो छ ।

मुलुकमा आर्थिक समृद्धिको बहस चलिरहेको बेला नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । यदि साँच्चै मुलुकलाई समृद्ध बनाउने हो भने रेमिट्यान्स ल्याएर होइन कलकारखाना खोलेर मुुलुकमा रोजगारी बढाउनुपर्छ भन्नेमा सोच्न जरुरी छ । कांग्रेस पार्टीलाई गतिशिल बनाउने हो भने नेतृत्व नयाँ पुस्तालाई दिनैपर्छ ।

गुटको राजनीति नहोस्ः रामकेशर बोगटी, अध्यक्ष(चलचित्र कलाकार संघ)
हाम्रा राजनीतिक दलहरुको एउटा समस्या भनेको गुटको राजनीति पनि हो । यसपालि महाधिवेशनमा आउनु भएका प्रतिनिधी हेर्दा काम गर्ने शैलिमा परिवर्तन आउला कि भनेर अपेक्षा गर्ने सम्भावना पनि बढेको छ । किनकी यसपालि तन्नेरी पुस्ताका प्रतिनिधी धेरै देखें ।

कांग्रेसमा नेता छान्दा पार्टी चलाउन सक्ने मात्रै ब्यक्ति हेरेर हुँदैन , देश चलाउन सक्ने मान्छे खोज्नुपर्छ । किनकी कांग्रेस मुलुकको सबै भन्दा ठूलो पार्टी हो । गुटको राजनीति गर्नेलाई स्थान दिन हुन्न भन्नेमा प्रतिनिधीहरु सचेत हुन जरुरी छ ।

भारतीय हस्तक्षेप बिरुद्ध बोल्नसक्ने नेता चाहियो ,चेतन सापकोटा (संगीतकार)
अवको कांग्रेसमा आत्मनिर्णय गर्ने सक्ने नेतृत्वको खाँचो छ । रिमोट कन्ट्रोलवाट चल्ने नेतृत्वले पार्टीलाई अघी बढाउन सक्दैन । भारतीय हस्तक्षेपका बिरुद्ध एमाओवादी र एमालेले जसरी डटेर सामाना गरे, कांग्रेमा पनि त्यस्तै क्षमता भएको ब्यक्ति नेतृत्वमा आउनुपर्छ ।

मेरो एउटै मात्रै आग्रह छ । नेताहरुको जुंगा हेरेर होइन विचार हेरेर भोट दिनुस् । वास्तवमै नेपाली कांग्रेसलाई राम्रो पार्टी बनाउने हो भने विचारले स्पष्ट ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment