१८ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा बल पुर्याउन नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिइने अभियानले जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘सबै अभियन्ताहरुलाई सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग गर्न अभिप्रेरित गरिनेछ ।’
स्वदेशी उत्पादन प्रयोगको सुरुवातस्वरुप पार्टी सदस्यता फारम नेपाली कागजमा प्रकाशित गरिने र स्वदेशी कपडाको कोट तथा नेपालमै उत्पादित जुत्ता प्रयोग गरिने डा. भट्टराईले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति पनि नेपाली कागजमा प्रकाशित गरिएको थियो ।
सदस्यता शुल्क र चन्दा संकलनको सीमा
यसैगरी नयाँ शक्तिले सदस्यता शुल्क र चन्दा संकलनको सीमा तोकेको छ ।
नयाँ शक्ति नेपालले एक आर्थिक वर्षमा एक व्यक्तिबाट ५० हजार रुपैयाँभन्दा धेरै चन्दा नलिने घोषणा गरेको छ । कुनै संस्था, फर्म र कम्पनीबाट भने एक आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा धेरै चन्दा नलिने उसले घोषणा गरेको छ ।
पार्टी सदस्यता शुल्क एक सय रुपैयाँ तोकिएको छ । ‘प्रत्येक सदस्यले साउन १ गतेदेखि मंसिर मसान्त भित्रमा एक रुपैयाँ वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउनु पर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
भट्टराईले काठमाडौं बढार्ने
काठमाडौंलाई सफा र हराभरा बनाउन हरेक हप्ता नयाँ अभियानका संयोजक डा. भट्टराईसहित केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसानहरु काठमाडौं सफा गर्न सहभागी हुनेछन् ।
‘महिला विरुद्ध हिंसामा शून्य सहनशीलता’ अपनाउने, पार्टी कार्यालयहरुमा भ्रष्टाचारविरुद्धको हेल्प डेक्स स्थापना गर्ने र हरियो काठमाडौं, सफा काठमाडौं अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ ।
नयाँ शक्तिले सामाजिक अभियान परिचालन विभागको जिम्मा ध्रुव पराजुलीलाई दिएको छ । सिन्धुपाल्चोकका एमाओवादी नेता पराजुली हालै नयाँ शक्तिमा प्रवेश गरेका थिए ।
स्थानीय विकास विभागको संयोजकमा पाशाङ शेर्पा, दलित तथा अल्पसंख्यक समुदाय विभागको संयोजक महेन्द्र पासवान, कृषि तथा भूमीमामला विभागको जिम्मा नाथुप्रसाद चौधरी र सुकुम्बासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागको जिम्मा सुशीला सिरपाइलीलाई दिइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment