Saturday, May 7, 2016

डिभी लोटरीको नतिजा: विश्वमै डिभी लोटरी जित्नेमा नेपालीलाई मात्र सिमाबन्दी

– किशोर पन्थी

अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा सार्वजनिक भएको छ । मंगलबार राति देखि २०१७ का लागि इडिभी परे नपरेको हेर्न सकिन्छ । गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर सम्म डिभी भरेकाहरुको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

डिभी परेर अमेरिका आउनेमा दोश्रो नम्बरमा नेपाली

डिभी परेर अमेरिका आउनेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् । आर्थिक वर्ष सन् २०१५ मा डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका थिए ।  नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएनन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका थिए । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।

उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको थियो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक बर्ष चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरिरहेको छ । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ (सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म) ३ सय भन्दा धेरै डिभी लोटरी विजेता नेपालीहरुले भिसा नपाउने निश्चितप्राय छ ।

आर्थिक वर्ष २०१६ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया चलिरहदा अमेरिकी सरकारले एसियाका अन्य देशका तुलनामा नेपाललाई अलग्गै भिसा नम्बरमा सिमित गरिरहेको छ । सन् २०१६ को मे लागि एसियाका अन्य देशका ६८५० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालीहरुका लागि केस नम्बर ५५२५ मा सिमित गरिएको थियो । जुन महिनाका लागि एसियाका अन्य देशका लागि ८ हजार सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालका लागि केस नम्बर ६२०० मा सिमित गरिएको छ । यसरी छुट्टै केस नम्बरको सिमितता तोकिएको विश्वमा नै नेपाललाई मात्र हो । यसरी विश्वमै नेपाललाई मात्र सिमाबन्दी तोकिएको मार्च महिनादेखि हो । यस अगाडि इथोपियालाई पनि सिमाबन्दी तोकिएको थियो ।

कतिलाई परेको थियो डिभी लोटरी

इतिहास हेर्दासन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका छन् । उनीहरुमध्ये पनि कैयन अमेरिका आउन नपाउने निश्चित छ ।

आर्थिक वर्ष २०१७ का लागि गत अक्टोबर १ देखि नोभेम्बर ३ सम्म कैयनले डिभी लोटरी भरेका थिए त्यसको परिणाम सन् २०१६ को मे ३ मा सार्वजनिक भइसकेको छ ।

DV_4

डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु

यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।

अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।

(लेखक अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकका सम्पादक हुन् ।)



from Nepal123.com - डिभी लोटरीको नतिजा: विश्वमै डिभी लोटरी जित्नेमा नेपालीलाई मात्र सिमाबन्दी

No comments:

Post a Comment