काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपतिको भारत भ्रमण र भारतका लागि नेपालका राजदूतको फिर्ताबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
संसद्को बैठकमा विशेष समय लिएर उनले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने, उज्जैनमा ठूलो प्राकृतिक विपत्ती आएको, छ जनाको निधन भएको तथा ४० जना घाइते भएको, टेन्टलगायतका सामग्रीको क्षति भएको सरकारलाई सूचना आएका कारण भ्रमण स्थगित भएको बताए ।
आन्तरिक राजनीतिक घटनाक्रम र भारतको तीर्थस्थलमा भएको घटनाका कारण सरकारले भारत सरकारलाई राष्ट्रपतिको भ्रमण स्थगित गर्न आग्रह गरेको उनले बताए ।
उपयुक्त समयमा कूटनीतिक तवरबाट राष्ट्रपतिको भ्रमण गराउने तयारी गर्न आग्रह गरिने जानकारी दिँदै उनले भ्रमण स्थगित भएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमा समेत मागे ।
नेपाल–भारतको सम्बन्धमा कुनै पनि असहज अवस्था नभएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई देशबीच नयाँ आधारमा सम्बन्ध पूर्ववत् सौहार्द र मैत्रीपूर्ण रहेको उल्लेख गरे ।
नेपालको आर्थिक विकासका लागि भारत सरकारले प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारको अत्यन्तै चासो रहेको र कुनै समस्या नरहेको बताए ।
राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै उनले आगामी एक वर्षभित्र भ्रमण हुने विश्वास व्यक्त गरे ।
राजदूत फिर्ताको विषयमा अतिरञ्जित व्याख्या गर्नु आवश्यक नभएको उनको भनाइ छ । राजदूत उपाध्यायले विगत केही समयदेखि गरेको कामलाई सरकारले सामान्यरुपमा लिएको र निरन्तर काम गर्न सुझाव दिएको बताए ।
“राजनीतिक पृष्ठभूमि, आग्रह पूर्वाग्रहका आधारमा फिर्ता बोलाइएको होइन र नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने, नीति कार्यक्रम र दुई देशको सम्बन्धलाई अगाडि बढाउने र सरकारको सोचाइअनुसार काम गर्न फिर्ता बोलाइएको हो, अतिरञ्जित तवरले हेर्न जरुरी छैन,” उनले भने ।
राष्ट्रपतिको भ्रमण स्थगित गर्ने सूचना र राजदूतलाई फिर्ता बोलाउने सूचना उपाध्यायलाई एकैपटक दिइएको भन्दै परराष्ट्रमन्त्री थापाले गलत प्रचार नगर्नसमेत आग्रह गरे ।
नेपाल–भारत सम्बन्धलाई सरकारको प्राथमिकता, नीति, सोचाइअनुसार सरकारले राजदूत फिर्ताको निर्णय गरेको सदनलाई जानकारी गराए ।
उनले नेपाल–भारत सम्बन्ध अझै परिपक्व तवरले अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।
रासस
from Nepal123.com - भ्रमण स्थगित र राजदूत फिर्तामा अतिरञ्जित नगरौँ : उपप्रम थापा
No comments:
Post a Comment