सत्ता परिवर्तन गर्ने कांग्रेसको प्रयास असफल भएकै दिन सरकारले दुईवटा निर्णय गर्यो– तय भइसकेको राष्ट्रपतिको भारत भ्रमण स्थगित गर्ने र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने ।
दुई देशबिचको सम्बन्ध केही सुधार हुनै लागेको बेला भएको सरकारको यो कदमले फेरि सम्बन्धमा चिसो आउने एकथरीको आशंका छ । अर्काथरीले भने सरकारी कदम स्वभाविक भएको टिप्पणी गरेका छन् ।
खासगरी वर्तमान सरकार परिवर्तनको लागि भारतले भूमिका खेलेको र त्यसमा राजदूत उपाध्यायले समेत साथ दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट भएको उहाँ निकट स्रोतको भनाई छ ।
त्यसैले एकीकृत माओवादीसँग बल्लतल्ल सहमति गरेलगत्तै उहाँले राष्ट्रपतिको भ्रमण स्थगित गराउनुभयो भने परराष्ट्र मन्त्रालयमार्फत राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्नुभयो । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्यो भन्नेहरुलाई ओलीको निर्णय सही लागेको छ ।
सामाजिक सञ्जालमा ओलीको कदमलाई सकारात्मक भन्नेहरु धेरै देखिएका छन् । तर कुटनीतिक तहबाट भने यसको आलोचना भएको छ । दुई देशबिचको सम्बन्ध सुधार हुनै लागेको बेला सरकारले उठाएको यो कदमले फेरि आपसी तिक्तता बल्झन सक्ने उनीहरुको चिन्ता छ ।
तर सरकारले भने भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनै लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको दाबी गरेको छ । यस्तै राष्ट्रपति सहभागी हुने धार्मिक कार्यक्रम स्थलमा भएको प्राकृतिक प्रकोप, सरकारको नीति तथा कार्यक्रम प्रस्तुन हुने बेला भएकाले भ्रमण स्थगित गरिएको पनि सरकारको तर्क छ ।
तर सरकारले जसरी प्रष्टीकरण दिएपनि भारतलाई देखाउनको लागि नै यो कदम चालिएको हो भनेर बुझ्न गाह्रो छैन । नेपालको संविधानलाई खुलेर समर्थन नगरेको भारतले मधेसमा भएको आन्दोलनलाई बहाना बनाउँदै लामो नाकाबन्दी गर्यो ।
नाकाबन्दीकै बिच नेपालमा सत्ता हस्तान्तरणको बेला ओलीको सट्टा कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने उसको चाहना थियो । तर उसको चाहना विपरीत ओलीको नेतृत्वमा सरकार गठन भयो । अन्तर्राष्ट्रिय दबाबपछि नाकाबन्दी फिर्ता लिन भारत बाध्य त भयो, तैपनि नेपालको संविधानलाई उसले खुलेर स्वागत गरेको छैन ।
नेपालमा आफ्नो इशारा अनुसार सबैथोक होस् भन्ने चाहना राख्ने भारतलाई ओलीको सट्टा अरु नै प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने लागेको छ । त्यसैले पनि पछिल्लो सत्ता परिवर्तनको खेलमा उसको हात रहेको भन्नेहरु धेरै छन् ।
सुशील कोइरालाको पालामा राजदूत भएर दिल्ली पुगेका उपाध्यायले भने कांग्रेस नेतृत्वमा सरकार गठन होस् भन्ने भारतीय चाहनामा सहयोग गरेको वर्तमान सरकारको आरोप छ । त्यसैले कुटनीतिक क्षेत्रबाट आलोचना हुन्छ भन्ने बुझेर पनि सरकारले उपाध्यायलाई फिर्ता बोलायो ।
पछिल्लो यो घटनाक्रमले फेरि भारतसँगको सम्बन्ध चिसिने भयो भन्नेमा धेरैजना चिन्तित छन् । लामो समय नाकाबन्दी भोगेका नेपालीलाई फेरि त्यही अवस्था दोहोरिने हो कि भन्ने डर छ । तर नाकाबन्दी तत्कालिन समयको रणनीति मात्र हुन सक्ने भएकाले भारतले फेरि त्यही गर्न नसक्ने कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।
उनीहरु भन्छन्–नेपाल सरकारको वर्तमान कदमले भारतीय अधिकारी असन्तुष्ट छन्, तर नाकाबन्दीको समयमा भएजस्तै अवस्था चाहिँ दोहोरिँदैन । दुई देशबिच बिग्रेको सम्बन्ध सुधारको बाटोमा अघि बढेको समयमा फेरि असहज अवस्था आउने भयो भन्नेमा चाहिँ सबैलाई चिन्ता लागेको छ ।
from Nepal123.com - भारतसँगको सम्बन्ध फेरि चिसिएकै हो त ?
No comments:
Post a Comment