काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई स्रोतमा कट्टा कर (टीडीएस) बापत १५ प्रतिशत कर तिर्ने भएको छ ।
एनसेल स्रोतका अनुसार १५ प्रतिशत कर तिर्ने भएको हो । “१५ प्रतिशत करको हिसाब निकाल्ने तयारी भइरहेको छ,” स्रोतले भन्यो, “कति रकम हुन्छ, हिसाब गरेर राज्यलाई कर बुझाउँछौं, अहिले हिसाब भइरहेको छ ।”
सेयर खरिद विक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको हो । त्यसैगरी, पुँजीगत लाभकरबापत एनसेलले १५ बुझाउने र १० प्रतिशत विक्रेता कम्पनी टेलियासोनेराले बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
एनसेलले ठूला करदाता कार्यालयले भने अनुसार १५ प्रतिशत तिर्न तयार भएको हो । तर, टेलियासोनेराले तिर्नुपर्ने १० प्रतिशत पुँजीगत लाभकर भने अझै अन्यौल भएको छ ।
एनसेलले १५ प्रतिशत कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ । टेलियासोनेरा तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।
सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए । एनसेलले आइतबारसम्म खरिदको आयविवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनुपर्ने दायित्व छ ।
यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन् ।
from Nepal123.com - टीडीएसबापतकाे १५ प्रतिशत कर बुझाउन एनसेल तयार
No comments:
Post a Comment