केपी शर्मा ओली नेतृत्वको सरकार करिव ढल्ने अवस्थावाट निरन्तरता पाउनेस्थितिसम्म आईपुग्दा कम्ति राजनीतिक चलखेल भएनन् । त्यतिमात्र कहाँ हो र ? त्यसयता राष्ट्रपतिको भारतभ्रमण रद्ध भएको देखि भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने परिस्थिति सम्मले नेपालको राजनीति निकै असहज स्थितीमा रहेको पुष्टि गर्दछ । त्यसमाथि पछिल्लो घटनाक्रमहरुमा दुई ठूला छिमेकीहरु भारत र चीनको गुप्त सक्रियतालाई लिएर यतिबेला नयाँ बहस समेत आरम्भ भएको छ ।
नयाँ संविधान निर्माणसंगै प्रमुख दलहरुले गरेका अनेक प्रतिवद्दतामध्ये शीघ्र सरकार परिवर्तनलाई स्वीकार नगर्ने भन्नेपनि थियो । नेपालमा चाँडो सरकार परिवर्तनले अस्थिरता बढाएको र यसको बलमा बैदेशिक हस्तक्षेप बढेको निचोडमा दलहरु ढिलै भएपनि पुगेका थिए । तर ओली सरकारले छ महिना पुरा गर्दै गर्दा देखिएको सरकार परिवर्तनको फोहोरी खेलले पुनः नेपाली जनतालाई झस्काईदिएको छ ।
भलै ओली सरकार नढल्ने अवस्था बनेपनि एकीकृत माओवादी र नेपाली कांग्रेसका प्रमुख नेताहरुको सत्ताप्रतिको उत्कट आकांक्षा सतहमा आएको छ । भारतको अनावश्यक हस्तक्षेप र चासोप्रति अनुदार ठानिएको ओली सरकारप्रति जनतामाझ लोकप्रिय छवी छ । यस्तो अवस्थामा कांग्रेसमार्फत एकीकृत माओवादीलाई अगाडि सारेर ओली सरकारलाई विस्थापन गर्न भारतले उक्साएको आरोप सर्वत्र छ । जसको कारण ओली सरकारले कठोर निर्णय लिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गर्नुकासाथै भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ ।
यो अवस्थाले नेपाल र भारतबीचको सम्वन्धमा थप तनाव बढाएको अनुमान लगाउन गाह्रो पर्दैन पनि । यद्धपि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले भने राष्ट्रपतिको भारत भ्रमण स्थगित हुनु आन्तरिक कारण भएको बताउदै राजदुत फिर्ता प्रकरण भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्नुहुन्छ ।
उता ओली सरकार टिकाउन चीनको समेत चर्को दौडधुप रहेको भन्ने विषय र चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली राजदुत महेश मास्केलाई भेटेर आफ्ना चासो व्यक्त गरेको विषयले नेपाली राजनीतिमा अर्को नयाँ बहस सुरु गरेको छ । जे होस् हामी आफै आन्तरिक मामिलालाई सम्वोधन गर्ने हैसियत गुमाउन पुग्यौं भने छिमेकीहरुले बढ्ता चासो लिन्छन् । केही समय अघिसम्म भारतमात्रको बढ्ता प्रभाव रहेको भनिएको नेपालको राजनीतिमा अव आएर चीनले पनि गतिलो स्थान खोज्न थालेको छ । छिमेकीहरुसंग सन्तुलित सम्वन्ध विकास गर्न नसक्ने नेपालका प्रमुख दलहरु नै नेपाली राजनीतिमा वाह्रय हस्तक्षेप निम्त्याउने कारक हुन भन्दा फरक पर्दैन् ।
from Nepal123.com - भारतसँगको सम्बन्धमा फायर खोलेको नभई रोकिएको
No comments:
Post a Comment