Saturday, May 7, 2016

खारेज भएको दलको नेता पनि मन्त्री,निरन्तर पाइरहेछन सेवा सुविधा

निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । तर, सोही पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह भने खानेपानी तथा सरसफाइमन्त्री छन् । निर्वाचन आयोगले तीन वर्ष देखि आय–व्यय विवरण पेस नगरेको भन्दै २३ फागुन ०७२ मा सिंहको पार्टीसहित १५ दलको दर्ता खारेजीको निर्णय गरेको थियो । 

दल खारेजसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भइसकेको कानुन मन्त्रालयकी सहसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् । दल खारेज भइसकेपछि पनि सिंह मन्त्री नै छन् संसद् सचिवालयले उनको पार्टीको संसदीय दलको कार्यालयलाई सेवा–सुविधासमेत उपलब्ध गराइरहेको छ ।

सिंहको सांसद पद र दलको सुविधा के गर्ने भन्नेबारे निर्वाचन आयोगबाट आधिकारिक जानकारी नआएकाले निर्णय गर्न नगरिएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । उनले भने, ‘दलको मान्यता दिने कि नदिने भन्ने अधिकार निर्वाचन आयोगलाई हुन्छ उसले भने बमोजिम संसद् सचिवालयले काम गर्ने हो ।

तर, अहिलेसम्म जानकारी आएको छैन ।’ यसैबीच आयोगविरुद्ध सिंह अदालत जाने भएका छन् । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाविपरीत दल खारेज गरेको भन्दै समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नो दल खारेज गर्न नपाइने सिंहको दाबी छ ।। आजको नयाँ पत्रिका दैनिकबाट ।

 



from Nepal123.com - खारेज भएको दलको नेता पनि मन्त्री,निरन्तर पाइरहेछन सेवा सुविधा

No comments:

Post a Comment