Saturday, May 7, 2016

पुस्तकको नामावली सार्वजनिक नहुँदा अभिभावक मारमा

शैक्षिकसत्र सुरु भइसक्दा पनि सिरहा जिल्लामा सञ्चालित अधिकांश निजी विद्यालयले विद्यालयमा लागू भएका पुस्तकको नामावली सार्वजनिक नगर्दा अभिभावक तथा विद्यार्थी ठूलो आर्थिक मारमा परेका छन् ।

सिरहा जिल्लामा सञ्चालित निजी विद्यालयले कमिसनका लागि शैक्षिकसत्र सुरु भइसक्दा पनि पुस्तकहरूको नामावली सार्वजनिक नगरेकाले अभिभावक तथा विद्यार्थी मारमा परेको भन्दै अभिभावक सङ्घ र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले तत्काल पुस्तकको नामावली सार्वजनिक गर्न निजी विद्यालयसँग माग गरिरहेका छन् ।

निजी विद्यालयले पुस्तकको नामावली सार्वजनिक नगरी कमिसन लिएका पुस्तक पसलबाट मात्र पुस्तक खरिद गराउँदा अभिभावकले बढी आर्थिक भार खेप्दै आएको गुनासो गरेका छन् ।

निजी विद्यालयका सङ्घसंस्थाले पुस्तकको नामावली सार्वजनिक नगरी पुस्तक प्रकाशक तथा विक्रेताबाट कमिसन लिई कम गुणस्तरका पुस्तक पठनपाठन गराउँदै आएको गुनासो गर्दै अभिभावक सङ्घ सिरहाका अध्यक्ष रामानन्द गुप्ताले तत्काल पुस्तकको नामावली सार्वजनिक गर्न माग गरे ।

उनले भने,‘पुस्तकहरूको नामावली सार्वजनिक गरेपछि विद्यार्थी तथा अभिभावकले बढी छुट दिने पसलबाट पनि पुस्तक किन्न सकिन्थ्यो, जसले गर्दा अभिभावकलाई आर्थिक भार कम हुन्थ्यो ।’तर त्यो नगरी विद्यालय सञ्चालक तथा शिक्षकलाई बढी कमिसन दिने पुस्तक पसलबाट मात्र पुस्तक खरिद गर्न अभिभावकलाई बाध्य पारिँदै आएको छ ।

निजी विद्यालयका सञ्चालक तथा शिक्षकले विद्यालयमा जुन प्रकाशकको पुस्तक लागू गर्छ, त्यो पुस्तकका प्रकाशक तथा विक्रेतासँग मोटो रकम कमिसन लिने गरेका छन्, अध्यक्ष गुप्ताको भनाई छ । आफ्नो विद्यालयमा पुस्तक प्रयोग गराएबापत विद्यालय सञ्चालक तथा शिक्षकले कमिसनमा पाउने भएपछि पुस्तकको गुणस्तरीयतासमेत ख्याल नगरी कम गुणस्तरका पुस्तकसमेत विद्यालयमा पठनपाठन गराउने गरेको उनको गुनासो छ ।



from Nepal123.com - पुस्तकको नामावली सार्वजनिक नहुँदा अभिभावक मारमा

No comments:

Post a Comment