Wednesday, March 9, 2016

बसाइँ सरेका गाउँलेको पुनर्मिलन समारोह

२६ फागुन तनहुँ । जिल्लाको मिर्लुङ- १ रतनपुरका स्थानीयले पुनर्मिलन समारोह गरेका छन् । रतनपुर स्थायी घर भएर विभिन्न कालखण्डमा जन्मगाउँ बाहिर रहेका, विवाह गरेर अन्यत्र गएका र स्थायी रुपमा नै अन्यन्त्र बसाइँ सरेर गएकाहरू पहिलोपटक पुनर्मिलन समारोह गरिएको हो ।

बाइसघर मिलिजुली महिला समूहको आयोजना र जनकल्याणकोष रतनपुर बाइसघरको व्यवस्थापनमा पुनर्मिलन समारोह गरिएको हो । समारोहमा काठमाडौं, चितवन, गोरखा, लमजुङ, कास्की, धादिङ, नुवाकोट, कञ्चनपुर लगायत जिल्लामा रहेका आफन्त भेला भएका थिए ।

समूहकी अध्यक्ष कल्पना पन्तको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डा. विष्णुहरि पण्डित रहेका थिए । कार्यक्रममा समाजसेवी उत्तम प्रकाश पण्डितले कार्यक्रमको उद्देश्यका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न समयमा एउटै धाराको पानी खाएर खेलेर हुर्किएका, एउटै विद्यालय पढेका दाजुभाइ तथा दिदीबहिनीका बीचमा कैयौँ वर्षपछि भेटघाटको अवसर सिर्जना गर्दा हर्षका आँसु आएको बताए ।

समाजसेवी यादवप्रसाद पण्डितले अब गाउँघर छाडेर विभिन्न स्थानमा गएकालाई गाउँ र्फकन आग्रह गर्दै सस्तो दरमा घडेरीको व्यवस्थापन गर्ने बताए । त्यस्तै, रतनपुर-चितवन मिलन समाजका सुवास पण्डित, रतनपुर-काठमाडौं मिलन समाजका उपाध्यक्ष, सन्तोष पण्डित, पूर्वसहसेनानी उपेन्द्र पन्तलगायतले बेलाबेला यस्ता कार्यक्रम आयोजना गर्दै जानुपर्नेमा जोड दिए ।

लामो समयपछि एकापसमा भेट भएका दिदीबहिनी रमाएर एकापसमा अंकमाल गर्दै नाचगान गरेको दृश्य निकै हृदयस्पर्शी देखिन्थ्यो ।

बाइसघरको विकास र समाजसेवा योगदान गरेका उत्तम प्रकाश पण्डित, शिव पन्त र ७० वर्ष उमेर पार गरेका १७ जनालाई सम्मान गरिएको थियो । त्यस्तै, समूहले निर्माण गरेको मन्दिरमा डा. विष्णुहरि पण्डितले सहयोग स्वरुप दिएको गजुर राख्ने र उत्तम पण्डितले आफ्नो आमाको स्मृतिमा दिएको बसाहाको प्रतिस्थापन कार्य गरिएको छ ।

रतनपुर-काठमाडौं मिलन समाजले स्थानीय अर्चले युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताका लागि खेलकुद सामाग्रीको हस्तान्तरण कार्यक्रम पनि गरिएको छ । स्थानीय शान्ता भुजेल देउजाले आफ्नो स्वर्गीय हजुर आमाको स्मृतिमा निर्माण गरिदिएको सडकपेटीको समेत उद्घाटन गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment