२६ फागुन, चितवन। पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत रत्ननगरको टाँडी बजारमा नमुना सडकको निर्माण थालिएको छ ।
रत्ननगरको टाँडीबजारमा निर्माण गर्न सुरु गरिएको चार लेन सडक एक वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ ।
रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको दुई किलोमिटर ३०० मिटर लामो उक्त सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय भरतपुरले १९ करोड रुपैयाँको लागतमा ठेक्कामार्फत श्रेष्ठ कन्सट्रक्सन प्रालि हेटौँडालाई दिएको हो ।
सो कम्पनीले एक वर्ष तीन महिनामा काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय भरतपुरसँग ठेक्का सम्झौता गरेको छ । कम्पनीले गत माघ १० गतेदेखि निर्माणको काम सुरु गरेको छ ।
सडक निर्माणका लागि चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारी संयोजक रहेको ५७ सदस्यीय सडक निर्माण उपभोक्ता समिति बनाइएको छ । पुरानो ढललाई भत्काएर नयाँ तथा गुणस्तरीय ढल निर्माण र होचो ठाउँमा पर्खाल निर्माणको काम भइरहेको श्रेष्ठ कन्सट्रक्सन प्रालिका सबइन्जिनियर दीपेन्द्र खातीले जानकारी दिए ।
अहिले चार लेन सडकअन्तर्गत सौराहाचोक र टाँडी बजार जोड्ने पुलनजिक कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए । ढल र पर्खाल निर्माणको काम दुई महिनामा सकेर अन्य काम गर्ने योजना रहेको छ ।
ढल र पर्खाल निर्माणको काम सकिएपछि मूल सडक भत्काएर माटोको सतह मिलाउने (सबग्रेट) काम सुरु हुने उहाँले बताउनुभयो । त्यसपछि सडकमा मिश्रण गिट्टी हाल्ने काम गरिने सबइन्जिनियर खातीले बताए ।
गत मङ्सिरदेखि सडक निर्माणको काम सुरु गर्ने योजना रहे पनि नाकाबन्दीका कारण इन्धन असहज भएकाले निर्माण कार्य तीन महिना ढिलो भएको थियो ।
ढिलो भएको समयलाई पूर्ति गर्ने गरी कामलाई तीव्रता दिइएको खातीले बताए । रत्ननगरको निपनीदेखि लौरीघोलसम्म सरकारले राष्ट्रिय आयोजनाअन्तर्गत टाँडी बजारमा पहिलोपटक चार लेन सडक निर्माण गर्न लागेको हो ।
सो सडकमा रफ्तार र ढिलो गरी आवात–जावतका लागि फरक फरक बाटा हुनेछन् भने पैदल यात्रुका लागि छुट्टै बाटो हुनेछ । सडकको बीचमा बगैँचा र सोलार बत्ती जडान गरिनेछ ।
यो ठेक्कामा सोलार बत्ती नपरेको भए पनि पछि सोलार बत्ती र अन्य आवश्यक पूर्वाधार निर्माण हुने जानकारी दिए । यात्रु प्रतीक्षालय, जेब्राक्रस लगायतका सुविधा उक्त सडक क्षेत्रमा हुनेछन् ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर मुकुन्दराज अधिकारीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत नमुनाका रुपमा टाँडीको सडक निर्माण हुने बताए ।
नेपाल सरकारले पूर्वपश्चिम राजमार्गलाई ५० मिटर चौडा गरी स्तरोन्नति गर्ने कार्य अगाडि बढाएको छ । सो सडक ५० मिटर फराकिलो हुनेछ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment