Wednesday, March 9, 2016

त्यसै सघाएका हैनन् खुमबहादुर खड्काले सशांकलाई, यस्तो छ काँग्रेसभित्रको हलचल

– कमलराज भट्ट

नेपाली काँग्रेस १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा गणतन्त्र नरुचाउने खुमबहादुर खड्का निर्णायक देखिएका छन् । शेरबहादुर देउवालाई सभापतिमा जिताउन सडकमै आएर भोट मागेका खुमबहादुर खड्काले महामन्त्रीमा शशांक कोइरालालाई जिताएका छन् । खड्का र कोइरालाले आफूलाई हिन्दु राष्ट्रको पक्षधर र धर्मनिरपेक्षता विरोधी देखाउने गरेका छन् । देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले प्यानलका सबै भोट पाएनन् । कारण– खुमबहादुर समूहले केसीको ठाउँमा कोइरालालाई रुचायो । निर्वाचनअघि कोषाध्यक्षमा आफ्नो गुटका उम्मेदवारलाई प्यानलमा राख्नुपर्ने माग गरेका खुमबहादुरले भनेअनुसार नभएपछि देउवा प्यानलकै चित्रलेखा यादवलाई समेत हराइदिएका छन् ।

महाधिवेशनले खुमबहादुर खड्कालाई निर्णायक मात्रै होइन, शक्तिशाली समेत बनाएको छ । केन्द्रीय सदस्यको मतगणना हुन अझैं बाँकी नै भएपनि पदाधिकारीको मतपरिणामले खुमबहादुर खड्कालाई शक्तिशाली देखाएको हो । खड्का शक्तिशाली हुनु र महामन्त्रीमा शशांक कोइराला निर्वाचित हुनुले कांग्रेसभित्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार गर्नुपर्ने मत समेत बलियो भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिले समेत पछिल्ला उपलब्धिमा पुनर्विचार गर्नुपर्ने मतलाई अनुमोदन गरेको छ । महाधिवेशनअघि खुलेरै हिन्दू राष्ट्रको पक्षमा अभिव्यक्ति दिएका कोइराला महामन्त्रीमा निर्वाचित हुनु त्यसको प्रमाण हो ।

उपसभापतिमा खुमबहादुर

महाधिवेशनमा देउवा प्यानलमा खुलेर लागेका खड्काले रामचन्द्र पौडेल अर्थात् कोइराला समूहका उम्मेदवार महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादवलाई जिताएर कांग्रेस पार्टीभित्र आफ्नो शक्ति सुरक्षित पारेका छन् । महामन्त्री र कोषाध्यक्षमा देउवा समूहकै उम्मेदवार विजयी भएको भए कांग्रेसमा खुमबहादुर खड्का कमजोर हुने थिए । अब कांग्रेसमा खुमबहादुर खड्का शक्तिशाली भइरहने छन् । महाधिवेशन अघिदेखि नै खड्काले देउवा समूहबाट आफूलाई उपसभापतिमा मनोनित गर्नुपर्ने माग राख्दै आएका छन् । देउवालाई साथ दिने क्रममा खड्का–देउवाबीच त्यही अनुसारको सम्झौता पनि भएको हुनुपर्छ ।

शेरबहादुर देउवाको समूहका उम्मेदवार अर्जुननरसिंह केसी हुँदाहुँदै खुमबहादुर खड्काले त्यसै शशांकलाई महामन्त्री बन्न सघाएका हैनन्, खुमबहादुरको असहयोगका कारण अर्जुननरसिंहमात्रै होइन्, देउवाकी खास पात्र चित्रलेखा यादवसमेत पराजित भइन् ।

केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिएका खुमबहादुुर खड्का विजयी हुने नै छन् । त्यसपछि, देउवाले खड्कालाई उपसभापति मनोनित गर्नु नै पर्ने छ । किनभने– महामन्त्री जितेका शशांक कोइरालालाई साथमा लिएर खुमबहादुर खड्का केन्द्रीय कार्यसमितिमा समेत शक्तिशाली हुने छन् । लामो समय कांग्रेसको नेतृत्व गरेको कोइराला समूहलाई अब शेखर कोइराला र शशांक कोइरालाले मिलेर सञ्चालन गर्नेछन् । जुन समूहलाई खुमबहादुर खड्काले आफू अनुकूल प्रयोग गर्ने छन् । सभापतिमा उम्मेदवार भएर पराजित भएका रामचन्द्र पौडेल त कोइराला समूहका प्रतिनिधि मात्रै हुन् । गुट सञ्चालन गर्ने जिम्मेवारी कोइरालाहरुकै हातमा आएको छ । खड्कासँग मिल्नुपर्ने कोइरालाहरुको बाध्यता पनि हो ।

नेपाली कांग्रेसको विधानको २१ (घ) मा ‘केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री’ मनोनित गर्ने व्यवस्था गरेको छ । विधान अनुसार सभापति शेरबहादुर देउवाले उपसभापतिमा मनोनित गर्ने व्यक्तिको नाम प्रस्ताव मात्रै गर्न पाउने छन् । सभापतिको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ । उपसभापतिमा देउवाले खुमबहादुर खड्का बाहेकका व्यक्तिको नाम प्रस्ताव गरेमा खड्काले त्यो प्रस्ताव असफल बनाइदिने छन् । कोइराला समूहले त्यसमा खड्कालाई सहयोग गर्नेछ ।

खड्का–कोइराला सहकार्य

फरक–फरक समूहमा भएपनि खुमबहादुर खड्का र शशांक–शेखर कोइरालामा धेरै समानता छन् । ०६२÷६३ को जनआन्दोलनपछि प्राप्त उपलब्धि दुबैले मान्दैनन् । खुमबहादुर खड्काले नयाँ संविधान घोषणा हुनुअघि हिन्दु राष्ट्र स्थापनाका लागि महाअभियान नै सञ्चालन गरेका थिए । जसमा शेखर कोइराला समेत सक्रिय थिए । जुन अभियान सफल हुन सकेन । शशांक कोइरालाले पनि कांग्रेस महाधिवेशनअघि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिइसकेका छन् । तसर्थ, कांग्रेस केन्द्रीय कार्यसमितिमा खड्का–कोइराला समूह बलियो हुनु भनेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको कार्यान्वयनमा जटिलता आउनु हो । यसले संविधान कार्यान्वयनमा समेत असहजता ल्याउने छ । देउवा समूहमा रहेका केन्द्रीय सदस्यका उम्मेदवार कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, तारानाथ रानाभाट, लक्ष्मण घिमिरे लगायतका नेता समेत गणतन्त्र, धर्मनिरपेक्षतालाई रुचाउँदैनन् ।

देउवाको स्वभाव

कांग्रेस सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको स्वभाव पनि गणतन्त्रका लागि प्रिय छैन् । देउवा राजनीतिक सिद्धान्तभन्दा पनि पद र शक्तिलाई प्राथमिकता दिन्छन् ।०६२÷६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको सक्रियताका कारण संविधान निर्माणमा शेरबहादुर देउवाको महत्वपूर्ण भूमिका समेत छैन ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा पुनर्विचार गर्न नचाहे देउवाले कांग्रेसभित्रै अल्पमतमा पर्नुपर्ने छ । किनकि– खड्का र कोइरालाको समूह अर्थात् संविधानमा पुनर्विचार गर्न चाहने समूह कांग्रेस केन्द्रीय कार्यसमितिमा बहुमतमा हुनेछ । तसर्थ, देउवाले बाध्य भएर पनि संविधानमा पुनर्विचार गर्न सहमत हुनुपर्नेछ । अन्य पार्टीको साथ बिना संविधान संशोधन गर्न सम्भव नभएपनि कांग्रेसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई महत्वपूर्ण उपलब्धी मान्ने छैन । कांग्रेसमा गणतन्त्रलाई महत्वपूर्ण उपलब्धी मान्ने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेता पराजित भएका छन् ।

शेरबहादुर देउवा शक्तिमा रहन जस्तोसुकै निर्णय पनि गर्ने नेता हुन् । माओवादीले सशस्त्र द्वन्द्व सञ्चालन गरिरहेका क्रममा देउवा दोस्रोपटक प्रधानमन्त्री भएका थिए । उतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गर्न देउवालाई निर्देशन दिए, देउवा ज्ञानेन्द्रको चाहना अनुसार उपयोग भएर संकटकाल घोषणा गरे । देउवाले आफ्नो चाहना बमोजिम काम गर्न असफल भएपछि ज्ञानेन्द्रले देउवालाई हटाए । र, दबाब बढी भएपछि ज्ञानेन्द्रले फेरि देउवालाई नै प्रधानमन्त्री बनाए । परिस्थिति अनुकूल नहुँदा–नहुँदै पनि प्रधानमन्त्री बन्न देउवाले ज्ञानेन्द्रसँग सहकार्य गरे । पार्टी फुटाउनेसम्मको जोखिम मोले । तसर्थ, देउवा शक्ति र पदमा रहिरहन जस्तोसुकै निर्णय पनि लिन्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment