फाल्गुन २६, २०७२- तपाईंले चिसो पानी खाँदा दाँत सिरिङ्ग हुन्छ? अर्थात्, चिसो, तातो, अमिलो खाना वा तरल पदार्थ खाँदा दाँत दुख्छ? यस्तै हुने गरेको छ भने, तपाईंलाई दाँतको संवेदनशीलताको समस्या छ। यो समस्या कायमै रहे दाँतलाई असर पर्ने भएकाले समयमै उपचारमा लाग्नु बुद्घिमानी हुन्छ।
हाम्रो मुलुकका वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुशील कोइरालाकहाँ उपचारको लागि पुग्नेमध्ये करिव १५ प्रतिशत संवेदनशील दाँतकै समस्या लिएर भेट्ने गरेका छन्। अझ डा. प्रवीण मिश्रको आकलन अनुसार त, विभिन्न समस्या लिएर दन्तचिकित्सककहाँ पुग्ने गरेकाहरूमध्ये आधा जतिमा संवेदनशील दाँतकै समेत समस्या फेला पर्ने गरेको छ।
दाँतको भित्र भएको संवेदनशील भागको रक्षा गर्न दाँतको माथिल्लो भागमा एउटा तह हुन्छ, जसलाई इनामेल भनिन्छ। दाँतको संवेदनशीलता मुख्य रूपले इनामेल हटेर वा दाँतले गिजा छोडेपछि देखिन्छ। बढ्दो उमेर, इनामेल कमजोर भएर वा प्वाल (क्याभिटी) ले गर्दासमेत यो हुन सक्छ।चिसो वा तातो ठोस या पेय पदार्थ खाँदा दाँतमा हुने दुखाइ नै संवेदनशील दाँतको समस्या हो। यति मात्र नभई, चिसो हावामा सास फेर्दासमेत तपाईं दुखाइ अनुभव गर्न सक्नुहुन्छ। हेर्दा सामान्य देखिए पनि यस्तो समस्या भएकाहरूले निरन्तर दु:ख पाइरहन्छन्।
बढ्दो सहरीकरण, खानपान शैलीमा परिवर्तन, तनाव लगायत कारकहरूले गर्दा हाल हाम्रो मुलुकमा दाँतको संवेदनशीलता आमसमस्या जस्तै हुन पुगेको छ। यसैले संवेदनशीलता हटाउने दाबीसहितका टुथपेस्टका विज्ञापनहरू छयापछयाप्ती देखिने गरेका हुन्। अझ, यस्तो समस्या भएकाहरूले चिकित्सकीय पुर्जाबिना पाइने यस्ता टुथपेस्ट उपयोग गर्नु दन्तचिकित्सकसँग सल्लाह लिनभन्दा बढी सहज र उपयुक्त ठान्ने गरेकोले यो समस्या विस्तारै जटिल बन्दै जाने गरेको डा. कोइराला बताउँछन्।
विशेषज्ञहरूका अनुसार, दाँतको संवेदनशीलता नछोपिएको डेन्टाइनमा हुन्छ। डेन्टाइन कुनै पनि दाँतको आन्तरिक खण्ड हो। यो इनामेल अर्थात् दाँतको सेतो देखिने भागले ढाकिएको हुन्छ। यसमा खानपान लाग्दा पीडासँगै सिरिङ्ग हुन्छ, जुन दाँतको जरासम्म पुग्छ। विभिन्न कारणले इनामेल पातलो हुन्छ। इनामेल निस्किएपछि जरोलाई ढाक्ने तत्त्व सेमेचम पनि निस्किन्छ। यसले गर्दा डेन्टाइन खुला हुन्छ
‘डेन्टाइनल सेकेन्डरी ट्रिब्युल्स हुन्छ, त्यसमा एउटा तरल पदार्थ हुन्छ,’ डा. कोइराला भन्छन्, ‘यदि तपाईंको दाँतको इनामेल कमजोर भएको छ भने तपाईं हल्का चिसो पानी लिँदा त्यसले एउटा संकेत दिन्छ अनि तपाईंको मस्तिष्कसम्म संवेदनशीलता जान्छ।’
छिटो छिटो, दाँतमा धेरै बढी दबाब दिएर गलत ढंगले ब्रस गर्नाले समेत दाँत संवेदनशील हुने समस्या देखिने गरिएको औंल्याउँदै डा. मिश्र भन्छन्, ‘नरम ब्रिस्टल भएको टुथ ब्रसले बिहान र राति सुत्नुअघि दिनमा दुईपटक दाँत सफा गर्नुपर्छ।’
खानपान सम्बन्धी नराम्रो बानी लगायत अन्य थुप्रै कारणले दाँतको सुरक्षा तह इनामेल पातलो हुन्छ र दाँतमा प्लाक जम्न थाल्छ। प्लाक ब्याक्टेरिया र खानपानको कणकै एउटा तह हो। यो सामान्यत: रातिको खानापछि ब्रस नगर्दा जम्मा हुने गरेको हो। यो प्लाक दाँतको इनामेलमा प्रतिकूल प्रभाव पार्छ। यहाँ पलिरहेका जीवाणुहरूले आफ्नो संख्या बढाएर गिजामा संक्रमण उत्पन्न गर्छन्। यसले गर्दा दाँत संवेदनशील हुनुको साथै कमजोरसमेत हुन्छ। यस्तो दाँतमा संवेदनशीलताको समस्या बढी हुने डा. मिश्र बताउँछन्।
दाँतमा जम्मा भएको प्लाकलाई १० देखि १४ घण्टासम्ममा ब्रस गरेर ननिकाल्दा यो क्यालकुलस वा टार्टरमा परिवर्तित हुन्छ। यसपछि यसलाई ब्रसले निकाल्न सकिँदैन। दन्तचिकित्सकको सहयोगले स्केलिङ गरेर मात्र निकाल्न सकिन्छ।
दाँत संवेदनशील हुने कारण
अम्लपित्त भएकाहरूमा समेत दाँतको संवेदनशीलताो समस्या देखिने गरिएको डा.कोइराला बताउँछन्। एसिडिटीको समस्या भएकाहरूमा समेत दाँतको संवेदनशीलताको समस्या देखिन्छ। एसिडिटी बढी भएपछि पेटमा भएको एसिड अमिलो पानीको रूपमा मुखमा समेत आउने गर्छ। यो एसिडको सम्पर्कमा दाँत आउँदा यसको बाहिरी सुरक्षा तह इनामेल गलेर संवेदनशीलताको समस्या देखिन्छ।
दाँत किट्नेहरूमा संवेदनशीलताको समस्या हुन्छ। ‘प्रत्येक १० जनामा एक जना यो समस्याले ग्रस्त भएको अनुमान छ,’ डा. कोइराला भन्छन्।
निद्रामा दाँत किट्नु एउटा ठूलै समस्याको रूपमा देखिएको छ। यो समस्याले प्रभावितहरूमा थाहै नपाई दाँतको इनामेल नष्ट हुने गरेको छ। यस्ता व्यक्तिहरूले दन्तचिकित्सकको सल्लाहअनुसार नाइट गार्ड लगाउनुपर्छ।
कार्बोनिक एसिड भएका पेय पदार्थको बढी सेवनले समेत दाँत संवेदनशील भइरहेको छ। हामीले उपयोग गर्ने कोल्ड ड्रिंक्सहरूमा भएको अम्लले दाँतको इनामेललाई नष्ट पार्ने उल्लेख गर्दै डा. कोइराला थप्छन्, ‘यसले वयस्क मात्र नभएर स्कुले विद्यार्थीहरूको समेत दाँतको संवेदनशीलतामा असर पारेको छ।’ ग्यास भएको कोल्ड ड्रिंक्सले दाँतको इनामेल नष्ट गर्ने भएकोले समस्या भएकाहरूले यसको उपयोग गर्नु हुँदैन।
चुइँगम, सुपारी, छुर्पी, तमाखु पान आदि चपाउँदा समेत दाँतको इनामेल खुइलिन्छ। कडा वस्तु चपाउने
बानी भएकाहरूमा दाँतको संवेदनशीलताको समस्या देखिने गरिएको उल्लेख गर्दै डा. मिश्र भन्छन्, ‘धेरै बढी पान खाने व्यक्ति जब पान खान छोड्छन्, त्यसपछि उनीहरूलाई चिसो–तातो अनुभव हुन थाल्छ।’
उनको अनुसार राति ब्रस नगरीकन सुत्ने व्यक्तिहरूसँगै पाइरियाको समस्या भएकामा दाँतको संवेदनशीलता बढी देखिने गरिन्छ। यसमा दाँत कमजोर भएर संवेदनशीलता बढ्ने हो।
उपचार
आजकल बजारमा संवेदनशील दाँतको लागि औषधियुक्त टुथपेस्ट माउथ वास भए पनि आफंैले यस्तो टुथपेस्टको उपयोग गरेर समस्या समाधान गर्नुको साटो एकपटक दन्तचिकित्सकसँग सल्लाह लिनु नै राम्रो हुने डा. कोइराला बताउँछन्। संवेदनशीलता प्रबन्धन गर्न यस्ता टुथपेस्टले दाँतमा तह बनाउँछ। अर्थात् दाँतमा भएको ट्रिब्युल्सको प्वाललाई छोप्छ। यो पेस्ट लगाउना साथ रातारात समस्या समाधान हुँदैन। महिना/दुई महिना लाग्न सक्ने आंैल्याउँदै डा. कोइराला भन्छन्, ‘पेस्टलाई आंैलाले दाँतमा लगाउनुस्, दुईतीन मिनेटपछि त्यसको प्रभाव देखिन्छ।’
डा. कोइरालाका अनुसार, संवेदनशीलता कम गर्ने टुथपेस्ट उपयोग गर्नेहरू कोल्ड ड्रिंक्स खानु हँुदैन। संवेदनशीलताको समस्यासँग जुध्दै यस्तोखाले पेस्ट उपयोग गरिरहेकाहरूले कोल्ड ड्रिंक्स सेवन गर्दा महिनौंको प्रयासपछि मस्तिष्कसम्म संवेदनशीलता पुर्याउने ट्रिब्युल्सको छोपिएको प्वाल फेरिउदांगो भएर रोग बल्झिन्छ।
दाँत सिरिङ्ग हुनेहरूले मोसमी, भोगटे, सुन्तलाको रस, कागती ‘साइट्रिक एसिड’ बढी भएको पेय पदार्थ सेवन गर्नु हुँदैन। यसले समस्या झन् बढाउँछ। दाँतमा कीरा लाग्दा प्वाल हुँदासमेत संवेदनशीलता हुने गरेकोले चिकित्सकीय सल्लाहमा फिलिङसमेत गराउनुपर्ने हुन्छ। यति मात्र नभएर, जब डेन्टिनको तहसमेत समाप्त भएको अवस्था छ भने रुट कैनाल उपचार गराउनुपर्छ। यो दाँतमा संक्रमण जरासम्म फैलिए पछि गर्नुपर्ने स्थिति हो।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment