विजय थापा
मेची काली जहाँजन्मे पनि, हामी नेपाली
हिमाल, पहाड, मधेश, जहाँका भए पनि, हामी नेपाली
संसारको जुन कुनामा पुगौं, हाम्रो मन नेपाली, हामी नेपाली
एक पल्टको नेपाली, सधैंको नेपाली । एक पल्टको नेपाली, सधैंको नेपाली ।
न्यूयोर्कमा यसपालीको १०६औं अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा एनआरएन एनसिसि युएसएको महिला समन्वय समितिद्वारा आयोजित महिला सांस्कृतिक साँझको शुरुवात यिनै हरफहरुका साथ शुरु भएको थियो l यो हरफहरु उच्चारण गर्दै मञ्चमा कार्यक्रमको सिलसिला अगाडि बढाउन तम्तयार थिइन् उद्घोषिका सच्ची मैनाली ।
विविध गीत संगीत र नृत्यले उपस्थित दर्शकहरुलाई नयाँ खालको स्वाद यो साँझले प्रस्तुत गर्दै थियो । कार्यक्रमको शुरुवात नेपाली राष्ट्रगान र अमेरिकी राष्ट्रगानवाट भएको थियो भने सँगीता मुखिय छोचोन, गीता विर्लाकोटीका कोकिल कण्ठवाट झरेका सुमधुर स्वरहरुले दर्शक श्रोतालाई मुग्ध वनाउन सफल थियो l
वीचवीचमा उद्घोषिकाले प्रस्तुत गरेका काव्याँशहरुले महिला साँस्कृतिक साँझ पक्कै हो भन्ने भान हुन्थ्यो ।
हे नारी, तिमी शक्ति हौ
तिमी सार हौ, तिमी स्नेहको श्रोत हौ
तिमी आकाश हौ, तिमी धरती हौ
तिमी प्रकृतिकै, अनुपम सिर्जना हौ
हे नारी
तिमी सवथोक हौ किनकी तिमी नारी हौ ।
तिमी विना चल्दैन यो संसार
किनकी
तिमी श्रृष्टिकै सुन्दर रचना हौ ।
कार्यक्रममा लोकगीत, आधुनिक गीत, हिपहप नृत्य लगायतका विविध आकर्षणले दर्शकको मन जितेको थियो । कार्यक्रममा गायक गायिका नृत्यकारहरुमा सँगीता मुखिया छोचों, गीता विर्लाकोटी, मञ्जु थापा, देजी शेर्पा, विजया सिम्खडा,रानी श्रेष्ठ, प्राप्ति श्रेष्ठ, रिया मैनाली ,जाइना मैनाली, इन्दु लामिछाने, मेघा शर्मा, रेश्मा खरेल बस्नेत , नीरु सिवाकोटी पूजा न्यौपाने लगायत थिए ।
सो कार्यक्रममा राजदूतको उपस्थितिलाई लिएर उद्घोषकले पढेको यो कविताले राजदूत लगायत सवैलाई मन्त्रमुग्ध बनाइदिएको थियो ।
अनुहारमा सधैं चहकिलो घाम उदाएजस्तो
अमेरिकाको भूमिमा जताततै छाएजस्तो
आज हामी सवै गदगद छौं
राजदूत डा. अर्जुन कार्कीलाई
यहाँ पाउँदा
साँच्चैको अभिभावक पाएजस्तो ।
न्यूयोर्कमा साँस्कृतिक कार्यक्रमहरु भइनै रहन्छन्, तर यो विशेष थियो र यो विशेष बनाउन संयोजक सँगीता मुखिया छोचों, वन्दना कोइराला तथा विशेष गरी कार्यक्रम प्रस्तोता सच्ची मैनालीको विशेष भूमिका रहेको थियो । कार्यक्रम सकिएपछि उद्घोषक संग तस्बिर खिच्न चाहनेको लाम लागेको थियो ।
पर्दापछाडिवाट यो कार्यक्रम सफल पार्न डल्लास एभरेष्ट लायन्स क्लवका चार्टर सभापति लायन अजय छोचोंको विशेष योगदान रहेको थियो भने अन्य कलाकारहरुले गरेको सहयोग पनि सह्राहनीय देखिन्थ्यो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment