Thursday, March 10, 2016

कांग्रेस महाधिवेशनपछि इन्धनमा भारतीय लगाम खुकुलो

रविन्द्र घिमिरे

२८ फागुन, काठमाडौं । भारतबाट तेलको आयात सामान्य उन्मुख हुँदै गएको आयल निगमले बताएको छ । केहीदिन अघिसम्म मागअनसार तेल नआएको बताइरहेको निगमले नेपाली कांग्रेसको महाधिवेशन उदघाटन भएको भोलिपल्टदेखि आपूर्ति सुध्रिएको जनाएको छ ।

यसअघि मुस्किलले ३५ लाख लिटर तेल दिइरहेको भारतीय आयल कर्पोरशेन -आइओसी) ले फागुन २१ गतेदेखि एकैपटक ४० लाख लिटरभन्दा बढी दिन थालेको छ । कांग्रेसको महाधिवेशनमा भारतीय नेताहरु सहभागी भएको भोलिपल्टदेखि आइओसीले एक्कासी तेलको लोडिङ बढाएको आयल निगमका अधिकारी बताउँछन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भारतीय सरकारको नेतृत्वकर्ता बिजेपीका नेता भगतसिंह कोसियारीलाई माओवादी अध्यक्ष प्रचण्डले ‘किन नेपालमाथि नाकाबन्दी गरेको ?’ भनेर प्रश्न उठाएका थिए । सोही मञ्चमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले भारतले नेपालमाथि नाकाबन्दी गरेर गल्ति गरेको बताएलगत्तै तेल आपूर्ति सुधि्रनुलाई आयल निगमका अधिकारीले अर्थपूर्ण रुपमा हेरेका छन् ।

‘ठ्याक्कै यही कारणले सुधि्रयो भन्ने होइन, तर, भारतीय नेता स्वदेश नफर्किंदै तेलको आपूर्ति एक्कासी बढेको हो’ आयल निगमका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने-‘जतिभन्दा पनि नमान्ने आइओसीले कसरी आपूर्ति बढायो भन्नेमा हामी आफैं चकित छौं ।’

त्यसअघि आइओसीले विभिन्न बाहना बनाएर माग अनुसार लोडिङ दिन आनाकानी गर्ने गरेको थियो । यसैवीच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले तेल आयात सहज गर्न भन्दै भारतीय पेट्रोलियम मन्त्रीलाई नै भेटेका थिए ।

कति आउँदैछ तेल ?

आइओसीले केही दिनयता दिनमा औसत ४३ लाख लिटर तेल दिइरहेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

समान्य अवस्थामा नेपाली बजारमा ४५ लाख लिटर तेलको माग हुन्छ । भारतले अब दैनिक २ लाख लिटरसम्म तेलको परिमाण बढाएमा आयात सामान्य अवस्थामा फर्किने प्रवक्ता घिमिरेले बताए ।  भारतबाट अहिले दैनिक ११ लाख लिटरसम्म पेट्रोल आइरहेको छ ।

अहिले आइरहेको पेट्रोलले माग धान्न सक्ने अवस्था छ । तर, उपभोक्तामा अझै अनजावश्यक तेल सञ्चय गर्ने प्रवृत्ति कारण लाइन भने हट्न नसकेको आयल निगमको दावी छ ।

पेट्रोलमा भन्दा डिजेलमा समस्या

बजारमा पर्याप्त तेल आपूर्ति भएपनि मौज्दातका लागि पेट्रोल भण्डारण हुँदा समस्या देखिएको छ । कुल परिमाणमा रक्सौल डिपोबाट २६ लाख लिटरसम्म तेल लोड भइरहेको छ । पेट्रोलमा भन्दा अहिले डिजेलमा बढी समस्या छ ।

हाल विभिन्न कारण डिजेलको माग उच्च भएकाले भारतबाट थप ४ सय किलोलिटर डिजेल लोड हुन सकेमा समस्या निराकरण हुने आयल निगमले बताएको छ ।

‘एकैपटक धेरै जलविद्युत, सडकलगायत ठूला आयोजनामा काम सुरु भएको छ । प्राधिकरणले डेडिकेटेड फिडरबाट उद्योग लगायत ब्यापारिक प्रतिष्ठानलाई दिएको बिजुली पनि कटौती गरेको छ’ प्रवक्ता घिमिरेले भने-‘यसैकारण बजारमा डिजेलको माग सामान्य अवस्थाको भन्दा निकै धेरै छ । त्यसैले डिजेलको आपूर्ति मागअनुसार भएको छैन ।’

यस्तै काठमाडौंका तेल वितरण सहज बनाउन केन्दि्रत हुँदा लामो दुरीका सवारीलाई राजमार्गकै पम्पबाट सहज रुपमा तेल दिन नसकिएको समस्या भएको प्रवक्ता घिमिरेले बताए ।

भारतबाट अहिले डिजेल मात्रै दैनिक २५ लाख लिटरसम्म आइरहेको छ । मागलाई समान्य अवस्थामा पुर्‍याउन ३० देखि ३२ लाख लिटरसम्म आउनुपर्ने प्रवक्ता घिमिरेले जानकारी दिए । पेट्रोलको आपूर्ति भने सामान्य अवस्थामा पुग्न लागेको आयल निगमले जनाएको छ । तर, उपभोक्तालले लामो लाइन बसेर नै तेल भनुपर्ने अवस्था भने विद्यमान छ । ‘पम्पहरुमा मोटरसाइकलको लाइन घटेको छ । जस्तै ढिला भएपनि एक घण्टा लाइन बसेपछि अब तेल हाल्न सकिने भएको छ’ निगम प्रवक्ता घिमिरेले भने- ‘साना गाडीहरुलाई अझ सहज छ ।’

आइतबारदेखि राति पम्पबाट पेट्रोल बाँड्न नपाइने व्यवस्था गरेकाले पनि वितरण सुध्रिएको हो । पम्पहरुले बदमासी गरेर पाएको सबै तेल नबाँड्ने गरेको गुनासोका आधारमा बिहान ७ बजेदेखि नै तेल वितरण गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको थियो ।

अघिल्लो दिनमै पम्पमा आयल निगमले तेल दिनुपर्ने र भोलिपल्ट बिहान पम्पमा परिमाण नापेर मात्रै वितरण गर्ने गरिएपछि केही सहज भएको हो । निगमका अनुसार अहिले ग्यासको आपूर्ति पनि सुधारोन्मुख छ । यद्यपि उपभोक्ताहरुले अहिले पनि सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment